सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

शेषराज भट्टराईको व्यङ्ग्यवेद हेर्दा

Nepal Telecom ad

उहिल्यै एकदिन व्यङ्ग्य शिरोमणि वासुदेव शर्मा लुइटेललाई मैले आफ्नो एक कविता सुनाउँदा उनले तिमीहरू भोक, रोग र शोकले मरन्च्याँसे बनेका जनतालाई एकछिन भए पनि हँसाउनेतर्फ नलागी रुवाउने खालका यस्ता कविता लेख्छौ र काम लाग्दैनौ भनेका थिए । वर्तमानका नयाँ नेपाल निर्माण गर्ने नेताहरूले पनि हामी जनतालाई हँसाउँछौँ भन्ने नारा दिएर अगि सरेका भए पनि जुवाडेले जूवा मारेर हाँसेझैँ खालका खाल जूवा मारी आफै गद्गद् भएर हाँसिरहेका छन् । स्वर्ग जान नपाउने गरी पृथ्वीमा तल खसेका मानिसहरू चाहिँ जहाँको त्यहीँ रछानको खाडलमा परिरहनु र नर्के कीराको जीवन बाँचिरहनु चाहिँ लोकोत्तर व्यङ्ग्य भएको छ ।

यस्तो अवस्थामा हामी जस्ता लेखकको के काम छ र ? मरन्च्याँसे जनतालाई हँसाउने दम भए पो ! गम खाएर भन्नुपर्दा नेपाली जनताले आफ्ना प्यारा नेताजीलाई पेट मिचिमिचि गलल्ल हँसाउनुुसम्म हँसाए सत्ताको स्वाद चखाएर; तर उनीहरूको ओठ चाहिँ भोकले कलेंटी परेको प¥यै छ, पेट खुम्री परेको प¥यै छ । नेताहरूले गरेको वाचा–बन्धन र जनताप्रति गरेको हमदर्दी त केवल ‘म खाऊँ, मै लाऊँ, सुखसयल वा मौज म गरुँ’ भन्ने सिद्धान्त नै त रहेछ नि ! आफूले जेलनेल भोगेर आफ्नो अंश सर्वस्व गरी कमाएको दौलत नाथे जनतालाई सम्पन्न पारी हँसाउन होइन नि ! आफै सम्पन्न बनेर हाँस्न पो त्यसो गरेका हुन् त ! हाम्रा नेता त कति बाठा ! जो राजनीतिको रेशमी लाल फेटा टाउकोमा गुतेर सुरा, सुन्दरी र भ्रष्टाचारको मातमा प्रमत्त भै रङ्गमञ्चमा अर्धनग्न बनी प्रदर्शन गर्न तल्लीन छन् । उनीहरूलाई आफ्नो धोती खुस्केको पनि थाहा हुँदैन । नेताहरू त पागल पनि होइनन् नि ! रङ्गमञ्चमा अभ्यस्त रङ्गकर्मी पो हुन् । पागल त सडकमा पो अर्धनग्न बनेर दौडन्छ, पागलले राजनीतिको रेशमी वस्त्र ओढेको हुँदैन, दस ठाउँ दुलो परेको बोरा वा प्लास्टिकले आफ्नो आङ ढाक्तछ । पागल ढी प्रलाप गर्छ, कसैलाई सराप्छ, कतै ढुङ्गा हान्दै, धूवाँ र छारो उडाउँदै, आकाशमा हेरेर थुक्तै पृथ्वीमा दौडन्छ । बोलीको ठेगान हुँदैन । नेताहरू पागल नभए पनि बोलीको ठेगान चाहिँ हुँदैन, यसैले पात्रसँग नेताहरूको हर लक्षण नमिले पनि यो चाहिँ लक्षण सयमा सय मिलेको छ ।

अब यस्तो जमानामा जनतालाई कसरी हँसाउनु र ? बुढा वासुुदेव पो जोक गर्न जान्दथे र ‘कौवा प्रकाशन’ खोलेर पनि जोकर बनी हँसाएका थिए । आफूले त त्यो पनि जानेको छैन । उनले मलाई काम लाग्ने मान्छे होइनौ भनेको ठीक रहेछ ! मैले न राजनीतिको लाल रेशमी फेटा गुतेको छु, न त गरिब जनताको आँसु पुछेको छु ! अनि म कसको काम आएँ र ? पछिल्लो पुस्ताका व्यङ्ग्यविनोदी मेरा मित्र नरनाथ लुइँटेलले एकदिन मलाई ‘कहिले सासूको पालो कहिले बुहारीको पालो’ भन्ने शेषराज भट्टराईको पुस्तक व्यङ्ग्यवेद मेरो हातमा थमाउँदै तपाईं पनि यसमा केही लेखिदिनुहोस् न भनेर आग्रह गर्नुभो ।

मित्रले मलाई उठाउन चाहेको हो कि सुताउन केही थाहा भएन । किनभने म कुनै पुस्तकको पनि विवेचन गर्न जान्दिनँ । त्यसमा पनि व्यङ्ग्यवेद जस्तो बृहद् विषयमा हात म नामको अभयलाई भय भएकै हो; किन ढाँट्नु र ? ढाँटेको कुरा काटे मिल्दैन । नेता भए पो ढाँट्न पनि सुहाउँछ, लेखकलाई त ढाँट्न सुहाउँदैन । सर्वसाधारण जनता राजनीतिमा कता के भइरहेको छ थाहा पाउँदैनन्, चासो पनि राख्तैनन् । उनीहरूको समस्त ऊर्जाशक्ति उँभोपट्टि हाल्ने एउटा मुख र उँधोपट्टि फाल्ने दुईवटा मुख भएको छ । छालाको थैलो भर्नमा नै खर्च भइरहेको छ । यस्तालाई कसरी हँसाउन सकिन्छ र ? शेषराजले पो जनतालाई हँसाएका छन् कि भनेर उनका कृतिमा ‘काकस्नान’ गरियो । पोखरीको डीलमा बसेर कागले नुहाएजस्तो गर्नेले पोखरीको गहिराइ र पानीको परिमाण नाप्न सक्तैन । तर पानीको चिसो र तातोपन भने थोरबहुत थाहा पाइयो ।

शेषराजजी पनि श्लील व्यङ्ग्य गर्न निकै खप्पिस रहेछन् । त्यसमा पनि राजनीतिक माहौलमा रङ्गिएर व्यङ्ग्य गर्न धेरै सिपालु मान्छे भन्नुपर्छ उनलाई । उनको व्यङ्ग्यवेदमा धेरै व्यङ्ग्य र थोरै हास्य भएको पाइयो । हास्यव्यङ्ग्य विनोदी लेखकले त छोरा होऊन् वा छोरी दुवै बराबरी गर्नुपर्ने हो भन्ने मेरो मूढ बुद्धिमा फुरेको हो । हुन त उनको विवेच्य कृति हास्यव्यङ्ग्यवेद नभएर व्यङ्ग्यवेद मात्रै त हो नि ! मैले पनि के भनेको हुँला ! लेखकहरूले लेख्न पाए भने जे पनि लेख्छन् भनेको ठिकै रहेछ जस्तो लाग्छ । मैले पनि मेरा मित्र नरनाथजीको आग्रह टार्न नसकेर शेषराजजीको कृतिलाई सर्सर्ती हेरेर खर्खर्ती लेखिटोपलेको मात्रै हुँ ।

लेखकले जनतालाई, अझ भोकानाङ्गा जनतालाई हँसाउने खालका लेखनिबन्ध रचेर के नै पाउँछ र ? तर शीर्ष दलका शीर्ष नेतृत्वलाई पेट मिची मिची हँसाउने खालका रचना लेख्न सकियो भने मात्रै त लेखकले पनि आफ्नो दशा सुधारेर आफ्नो मरन्च्याँसे जीवनमा काचुली फेर्न पाउँछ । अन्यथा ‘आकाशको फल, आँखा तरी मर’ सिवाय के पाउन सक्छ र ? यता तर्फ लेखकको दृष्टि नपुगेको देखिन्छ । नेतालाई लेखकले वा जनताले अर्ती–बुद्धि दिने होइन, अर्ती–बुद्धि दिने काम नेताको मात्र हो, अरुको यसमा हक लाग्दैन । लेखकजस्तो ‘सडकछाप’ मान्छे भएर पनि शेषराजजीले आफ्नो विचार अर्ती–उपदेशको रुपमा घाममा सुकाउन फिंजाएको बिस्कुन जस्तो मैले सोहोर्न पाएकोमा भने उदेक लागेको छ ।

वास्तवमा काम नलाग्ने मानिस भनेको कवि–लेखक नै हो र साहित्य कसैलाई पनि काम नलाग्ने कुरा हो भनेर लुइटेल बाजेले भनेका होइनन् होला ! उनले मलाई मात्रै काम नलाग्ने मान्छे हो भनेका हुन् भन्ने बुझ्नु आइतवार बार्नु पर्दैन । एक छिन गलल्ल हाँसियो भने एक दिन आयु बढ्छ भन्ने कुरा आफूले मात्रै जानेजस्तो गरे ती बूढाले पनि । मैले पनि यस्तो कुरा जानेकै थिएँ नि ! भैरव अर्यालले अरुलाई ‘काउकुती’ लगाएर हँसाए पनि आफूले चाहिँ हाँस्नु त परै जाओस्, आफूसँग भएको छालाको तीनमुखे थैलो भर्न नसकेर त हो नि ! गोकर्ण छेउको बाग्मतीको पूलबाट हाम फालेर इहलीला समाप्त गरेका । अथवा म जस्ता सम्भ्रान्त परिवारको बारेमा भए नभएका कुरा लेखेर जनतालाई हँसाउने भएको सिल्ली भैरेलाई नमारी छोड्दिन भनेर कुनै संहारक भैरवले नै मारेर फलिदिएका हुन् कि ! के थाहा ? राजदरबार जस्तो सुरक्षित ठाउँमा पसेर नरसंहार गर्ने संहारक भैरवले ‘सडकछाप’ लेखक भैरुलाई मार्न आइतवार बार्नै पर्दैन । त्यसर्थ शेषराजजी ! तपाईँले आफ्नो टाउको कसरी जोगाउन सक्नुहुन्छ ? भविष्यले बताउला ।

विराटनगर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बुढ्यौलीको व्यथा

बुढ्यौलीको व्यथा

सोमराज ‘अभय’
हामी

हामी

सोमराज ‘अभय’
सलाम छ काठमाडौंलाई

सलाम छ काठमाडौंलाई

सोमराज ‘अभय’
विकास कि विनाश ?

विकास कि विनाश ?

सोमराज ‘अभय’
चिहानपूजा

चिहानपूजा

सोमराज ‘अभय’
ढाँटको पुस्तक !

ढाँटको पुस्तक !

सोमराज ‘अभय’