बाँचेँ म कस्तो छल वा बलैमा
म खन्छु खाल्डो दलका दलैमा
म रम्छु धेरै गुट भित्र–भित्र
आनन्द लाग्ने फुटमा विचित्र ।

सराप देउन् जनता सबै नै
हुँदो छ मेरो फलिफाप सिँत्तैँै
म छाड्छु खित्का जनता लिलामी
सिद्धान्त मारी गएको मलामी ।

म पुग्छु टाढा अति माथि माथि
टेकेर थाप्लो चढ पक्षपाती
लुटेर खाने सजिलो कमानी
गो बन्धकी देश छ को जमानी ?

म तेलमा झेल गरी हसुर्छु
बेचैनमा छ दुनियाँ म जुँगा मुसार्छु
यो देशमा छ्रैन नि रोजगारी
बेची तिनै जन्तु भरेँ भकारी ।

खस्दैन पानी छ टुटी सुकेको
टुटी त्यसैले निहुरी झुकेको
आँखा नदेख्ने जनता बनाई
म घुस खाने बिजुली निभाई ।

श्रमी तिमी हौ पसिना बगाऊ
मीठो नखाऊ न त न्यानो लाऊ
सुके सुकुन् ती कर ता तिरी द्यौ
सत्ता र भत्ता तनखा भरी द्यौ ।

फोक्सो कलेजो मुटुको छ खाना
म गर्छु खाली भाषणको वहाना
तानेर आन्द्रा सुकुटी लतार्छु
कस्नू तिमी पेट म ता डकार्छु ।

कलङ्की, काठमाडौँ