विद्यार्थी शिक्षकलाई सोध्दछः प्रश्न छ कि समय के हो ? बेला, अवसर, मौका आदिआदि । हैन बेलालाई कति भागमा थुपार्न मिल्छ । गुरु उत्तर दिन्छन्ः भूत, वर्तमान र भविष्यत् गरी तीन थुप्रोमा । चिप्लिएको बेला भूत, जिप्टिन आँटेको बेला वर्तमान, आत्तिँदा आत्तिँदै झ्वास्स आइपुग्ने बेला भविष्य । समय कहिलेबाट जन्मियो ? यस प्रश्नमा झोक्किने हामी शिक्षक । कहिले यसको अन्त्य छ ? रातो मुख लगाउने हामी मास्टर ? वर्तमानमा कसरी बाँच्नु पर्दछ ? मलाई हेरे भइहाल्यो कस्तो गज्जबको उत्तर । वर्तमानमा कसरी बाँच्नु पर्दछ ? कस्तो छेक्राएको भुइँफुट्टा प्रश्न ? उत्तर नदिऊँ पेशामा धक्का, दिऊँ सित्तै घिचेको पक्का ।

समयलाई कसैले काल भनिदिए । कसैले अवसर बनाए । कोहीकोहीले मौकामा मुन्ट्यादिए । सायद आफूलाई पुगेर नहुने, अरूलाई देखाउन वस्त्र धारण गर्नुपर्ने, खाना खानुपर्ने र यताउति फूर्तिफार्ती झर्कोफर्को गर्ने विवश हुनुपर्ने भएकाले काल भनिएको होला । अवसरको आँखाबाट नियाल्दा गुल्टिएको र नगुल्टिएको भनी भेद गर्नु जाती होला । उछिट्टिएको, पक्रिएको, फक्रिएको र बोक्रिएको गरी ४ भाग लगाउँदा पनि राम्रै होला । मेरा डेढअक्कली छेस्काहरूले च्वास्स घोचे विद्यार्थीहरूलाई । केबल हाँसे उनीहरू यो हास्यव्यङ्ग्यात्मक गुरुको मौसमी लड्डु हो । किनकि यो उत्तर लेखेर पास हुने होइन, केबल हाँस्ने मसला मात्रै हो । एउटा चुरुम्फे विद्यार्थी प्वाक्क बोल्छ, यो हलुवावेदलाई पञ्चमवेद मान्ने काइदा । मेरो हविगत त्यतिखेर तपाईंंले देख्नुभएको भए कुरै नगरौं ।

हाम्रा कवि शिरोमणिले कालमहिमा लेखे । कालको महिमा गाली वा यथार्थबोध के हो, त्यो तपाईंं नै छुट्याउनुहोस् । मैले मात्र थुतुनो बजार्नुपर्छ भन्ने छ र ? तपाईंं पनि म पनि उही नौ महिना बसेको त हो नि आमाको पुन्टुरोमा । घामजून उही हो हामी सबैका । हावा पानी साझा नै हुन् क्यार ! अङ्ग मलाई मात्र बढी दिएको होइन क्यारे । हाम्रा शिरोमणिले के भने त्यो तपाईंंले पनि भन्न सक्नु पर्दछ । हुन त आफ्नो कुरो पनि त राख्नु पर्छ नि ! उनी चानचुने कवि हुँदै होइनन् । उनकै आँखा अगाडि कत्ना कत्ना ध्वंस, विध्वंस मच्चिए । कत्राकत्रा मै हुँ भन्नेहरू थच्चिए । उनकै स्मरणको पेटारीमा व्यास, होमर, आइन्स्टाइन, देवकोटा अस्ताएको इतिहास लुकेको छ । आइन्स्टाइन, देवकोटा छैवैबाट फुत्किएको घटना ताजै छ । आफ्ना कपालमा काली नघस्दा अर्कै लोकको हिममानव हुन आँटिसकियो । अब वनकाली घुम्दा पनि किलागल आकारको गोर्खेलौरीको सहायता लिन विवश हुनुप¥यो अनि किन नजन्मियोस् त, कालको महिमा । अचेल यमलोकमा कार्यव्यस्तता बढेको हुनाले यमपत्र (बडापत्र) मा संशोधन भएको छ । यो कुरो माक्र्स लेनिनले थाहा पाए । यमपत्रको सार्वजनिकसँगै ब्रह्मा, विष्णु, महेश्वर, बुद्ध, जिसस, मोहम्मद, सबै मुचुकुन्द निद्रामा केही दिव्य वर्ष सुतेका छन् । त्यो बेला मृत्युलोकमा जन्म–मृत्युको चरण अवरुद्ध नहोस् भन्नाका खातिर काललाई नै जिम्मा दिइयो । पृथ्वीमा निलेका जति जीवलाई यमलोकमा गई उकेल्नु पर्नेमा अब त्यसो नगर्ने । कालले निलेको जति पचाउन पाउने र उड्दाउड्दै पृथ्वीमा नै विष्ट्याउन पाउने नियम चतुर माक्र्सले देवसम्मेलनबाट बुझेको हुनाले जस्तो माटोमा प¥यो त्यस्तै हुने दर्शनको प्रतिपादन गरेका हुन् । संशोधित असंशोधित यमपत्रको शाब्दिक अर्थ ठम्याउन नजान्दा मात्र पृथ्वीमा उपद्रो मच्चिएको हो । ज्यूँदा स्रष्टाहरूले बुझे बेश र संशोधित वा असंशोधित जता लागेर बहसमा ओर्लिए पनि केही फरक नभएको तर्क अर्काथरी पुच्छर आधुनिकतावादीहरूले मसला बनाउँदा पनि के फरक पर्ला र ? बहकिने मेरो पुरानो रोग ठ्याम्मै गएन । रेसुङ्गा जानुपर्ने मानसरोवरको बाटोजस्तो पो भयो क्यार ! म समयको जनै तान्दै पो थिएँ कोल्टिएछु कन्दनी समाउन । कुरो र कुलो जता लगे पनि जान्छ भन्ने उखानले मलाई अलिकति ढाडस दिएको हो । यसैको कोक्रोमा चहचह गरेकको मात्र हुँ । फेरि जे भन्न पर्ने हो सोझै भन्दा भन्ने कुरा के नै यो बाँकी हुन्छन र ? फेरि चर्चा उसैको ।

हामी जस्ताले आधुनिक वकिलले बहस गरेजस्तो एक्कापट्टि नलागी मीठो–नमीठो, राम्रो–नराम्रो, सकारात्मक–नकारात्मक केलाउनैपर्ने । कलमरूपी हतियार समाउँदा यो इमान कायम नहुँदा पनि खल्लो हुने । समयले मानिसलाई कम मौका दिएन । आवश्यक प¥यो वर्षा गराइदिने, शीतल चाहियो कुइरो, बादल उठाइ दिने, ताप चाहियो आद्रताको प्रतिशत खोसिदिने । न्यानो हावा चाहियो ओरालिने दिने । हावामा मिसिएको वाफलाई सुटुक्क बोलाइदिने । युवायुवतीको मन पगाल्न वसन्तलाई अह्राइदिने, बालीनाली पाक्नु प¥यो शरद्लाई मुन्ट्याइदिने । अब यी प्राकृतिक समयरूपी न्यायलाई मान्छेले कुल्चियो, बिर्सियो र मतलवहीनताको डस्बिनमा यी कुराहरू मिल्काइदियो । आफूलाई जन्म दिने आमाजस्तै नारीलाई खिसिट्युरी गर्न थाल्यो, अझ साहित्य त नाङ्गो पो सुन्दर हुन्छ भन्दै नङ्ग्याउन पो लाग्यो । अब मानिसले समयलाई भूत भन्दै धारे लाउन थाल्यो । समयलाई पूर्ववर्तमान, वर्तमान, उत्तरवर्तमान भन्न पनि हिक्किचायो । अझ मान्छे टाउकोदेखि पाउसम्मलाई एकगठ्ठो रूपमा चिनिएजस्तै समयलाई केही नभनी वर्गीकरण नगरी अहिले मात्र भन्नु सान्दर्भिक ठानिदिए ।

सबैले समयलाई बिर्सेनन् । विश्व मानवसागरमा केही यस्ता अपवाद झुल्किए जसले समयको पूजा ग¥यो, उसले पूर्ववर्तमानदेखि उत्तर वर्तमानसम्म बाँच्न सक्यो, शरीरले नबाँचेर के भयो त ? कीर्तिले ऊ पक्कै बाँच्यो । देवता पनि ऊसँग झुक्यो । समयले पनि उसैलाई मान्यो । कालले पनि उसलाई कम्पोष्ट मलमाथि लगेर गोब्य्राइदियो । अनि फेरि ऊ पुनर्जन्म पाएर समयलाई व्यर्थ र बोझ ठान्नेहरूको वैज्ञानिक, दार्शनिक, साहित्यकार र कलाकार बनेर जन्मियो । ऊ बारम्बार दोहोरियो । अब ब्रह्मादेखि मोहम्मदसम्मको मुचुकुन्द निद्रालाई कालयवनरूपी महामानव र कृष्णरूपी योजनाकार नभई यो क्रम न रोकिन्छ न विधिविधानमा हेरफेर हुन्छ ।

अचेल काल पनि हामीसँग रिसाएको छ । गुन्द्रुक र ढिँडोमा पीएचडी गर्नेहरूले जीवनको उषाकालदेखि खट्ने कालको कसैले अनुसन्धान अन्वेषण गरेको छैन । जतिखेर पनि उसलाई उल्टो धारे हात लगाई सरापिएको छ । भरोरात खट्नुपर्दा न्याय नभएको उसको गुनासो छ । कुनै वीर पुरुषले आफूमाथि न्याय गरेन भन्ने उसको नियमापत्ति छ । कालभद्र व्यक्तिको पर्खाइमा छ । जसले पीएचडी गरोस् र शोधपत्र देवसम्मेलनमा पेश गरोस् र आफूलाई पनि मुचुकुन्द निद्रा दिलाओस् । अब म सुतुञ्जेल ऊ बाँचिरहने छ ।
जय कालमामा !

सिन्धुपाल्चोक