सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भूतको भिनाजुको ‘भीमसेनपाती’

Nepal Telecom ad

भूतको भिनाजु : हास्यव्यङ्ग्यस्मारक

नेपाली साहित्यमा हास्यव्यङ्ग्य विधालाई चुचुरोमा पु¥याउने धेरै स्रष्टाहरू जन्मिसकेका छन् र तीमध्ये कममात्रै विशिष्ट छन्, तिनै विशिष्ट हास्यव्यङ्ग्यकारमध्येका एक स्मारक हुन्– भूतको भिनाजु । लाग्छ– ‘भूत’ व्यङ्ग्य र हाँसोको पर्याय शब्द हो, त्यसैले उनलाई हास्यव्यङ्ग्यका भिनाजु भन्नु पनि सान्दर्भिक देखिन्छ । नेपाली समाजमा अशिष्ट भिनाजुहरू गलत नियतमा साली जिस्क्याउने गर्दछन् । चरित्रहीन व्यवहारको प्रदर्शनमात्र होइन, ‘साली फकाउन पर्दैन ः पिना पकाउन पर्दैन’ भन्ने जस्ता बद्नियत उखान पनि चलेको पाइन्छ । नारीलाई कमजोर ठान्ने, पुरुषको खेलौना तथा अधिकारविहीन ठान्ने प्रवृत्ति समाजको सामन्ती अन्धविश्वास पनि हो । भूतको भिनाजु यस्ता सबै भिनाजुका पनि भिनाजु नाता पर्दछन् । भूतले डर, आश्चर्य, विसङ्गति, पीडक, विगत र विकारलाई बुझाउँछ भने यसैका भिनाजु बनेर नेपाली साहित्यमा विकृतिमाथि ठुङ् मार्न सबल र सफल स्मारक हुन् भूतको भिनाजु । उनले व्यङ्ग्य गरेर सामाजिक विकारको शुद्धि दिए, समाज नबुझेका पाठकलाई ज्ञानात्मक बुद्धि दिए र त्यससँगै हँसाएर मान्छेको शारीरिक तथा मानसिक विकार हटाइदिए । यसकारणनै उनी अथवा भूतको भिनाजु हास्यव्यङ्ग्यका प्रतीक बने, त्यसभन्दा बढी उनी व्यङ्ग्यस्मारक । भूतको भिनाजुले सामाजिक विद्वेषको पर्खाललाई राम्ररी चिने र त्यो पर्खाललाई व्यङ्ग्यलात हाने । भूतको भिनाजुले नेपाली पाठकको रुचिलाई नियाले र तिनमा हास्यशैली थमाए । समाज कुरूप छ, अन्धकार र अव्यवस्थाका साथमा । समाज असामान्य छ, अघोरीपन र अन्याय–अत्याचारका साथमा । समाज शोषित या व्यथित छ, प्रताडित र त्रसित पनि । त्यस्तो समाजको समाधान गर्न पहिला त समाजको त्यो रूपको परिचयनै चाहिन्छ । सोही परिचय दिन आफ्ना झटाराशब्दमा बुन्ने काम भूतको भिनाजुले सम्पन्न गरे । उनले भैरव अर्यालका लेखनबाट नरम छालाका पाठकलाई सावधान हुन अनुरोध गरेका छन् । तर उनको लेखनबाट भने नरम होइन कडा लोभ भएका पाठकलाई सावधान गराइएको छ । समाजका बिग्रिएका ती पक्षहरू भूतनै हुन् जसको भिनाजु बन्न सक्नु महान् हो । भैरव अर्यालले त्यही महान् बाटो खनेका थिए जसमा चौडा थप्ने र बढी वेगशील पार्ने काम भूतको भिनाजुले गरे । वास्तवमै उनी तर्साउनुपर्ने विकारजन्य अवस्थारूपी भूतका भिनाजु बन्न सके । भूतको पहिचानविना त्यसलाई मन्साउन या पन्छाउन सकिन्न । उनले भूतलाई नङ्ग्याए, बङ्ग्याए र दङ्ग्याए । भ्रष्टाचार गर्ने ओहोदावाला भूत, झूटको खेती गरेर सज्जन ठग्ने भूत, सेवाको सिद्धान्त बेचेर आफ्नै पेटको मेवा थुपार्ने भूत, मन्दिरमा कालीको भाकल गर्ने र ताक्परे सालीलाई छड्के आँखा लगाउने चरित्रहीन भेनाभूत, निदारमा चन्दन घस्ने र परिआए देहव्यापार गरेर महलको सन्दुस भर्ने भूत, मुखमा चिप्ला कुरा गर्ने र व्यवहारमा कैँचीमारा बन्ने आदि कोटि–कोटि भूतलाई मन्साउने–पन्छाउने साहित्यिक भिनाजु हुन् उनी उर्फ वासुदेव शर्मा लुइँटेल । समाजका सैतानहरूलाई भूत भनिन्छ र त्यस्तो भूतको सफाया गर्ने आफूलाई भिनाजु भनेर साहित्यिक सार्थकताको उपनाम बचाउन सफल भए भूतको भिनाजु । भूतले आज पनि त्यत्तिकै दुःख दिएको छ । आज भूतका रूपहरू फेरिएका छन्, भूतको स्वार्थ फेरिएको छैन र दुःख दिने भूत मार्ने भिनाजुको अभाव व्याप्त छ । समाजका विसङ्गत पक्षको खारेजीका निम्ति भूतलाई पछार्ने भिनाजुको आवश्यकता सर्वत्र महसुस भएको छ । आज उनै भिनाजुको सम्झना उनका विवेच्य कृतिहरूको विश्लेषणमार्फत गर्नु सार्थक हुन्छ ।

‘भीमसेनपाती’ चढाउँदै…
भूतको भिनाजुले यस कृतिमा मानिसका क्रियाकलापलाई विश्लेषण र मूल्याङ्कन गर्दै तिनलाई भीमसेनपाती चढाएका छन् । समाजका उज्याला र अन्धकारलाई पूजा र घृणा गर्न यो कृति फूलपाती लिएर उभिएको छ । बाह्रमासे विसङ्गत चरित्रको प्रतीकात्मक व्यङ्ग्यस्वरूप बाह्रमासे फूल भीमसेनपातीलाई रोजेर व्यङ्ग्यजात्रा गरेका छन् भिनाजुले । यहाँ भिनाजु व्यक्तिका कुरूपता नङ्ग्याउन कुशल देखिएका छन् । वक्रतानै उनको बिम्ब तथा प्रतीकात्मक भाषा हो, झटारो अनि पाठकका लागि आकर्षणको लठारो हो । ‘भीमसेनपाती’ भूतको भिनाजुको व्यङ्ग्यात्मक कवितासङ्ग्रह हो । भिनाजुले यस कविताकृतिमार्फत सामाजिक विसङ्गतिलाई पूजा गरेका छन् तर पूज्यव्यक्तिलाई उल्टाएर र बाह्रमासे भीमसेनपाती चढाएर । बाह्रमासे शब्दले जुवाको, भ्रष्टाचारको, अल्छीपनको, अविकसित र यस्तै अमिल्दा पक्षको प्रतिनिधिमूलक अर्थसङ्केत गर्छ । यसलाई व्यङ्ग्यकवि भिनाजुले यस कृतिमा राम्ररी पस्केका छन् भीमसेनपाती चढाउँदै । पातीले पनि अर्थका रङ्गीन अवस्थाहरू देखिएका छन् । नेपाली वन्यस्थानमा पातीले जुकालाई मार्छ र अनेक प्रकारका कीराहरूलाई पनि यसले डल्लो पार्दछ । यही पातीलाई भिनाजुले प्रयोग गरी समाजका अनेकथरी कीराहरूलाई मार्न खोजेका छन् । वनको पातीले जुका मार्छ र भूतको भिनाजुको पातीले मानवकीरालाई वा उसको विसङ्गत जीवनशैलीलाई मार्ने प्रयास गरेका छन् । वनको पाती तीतो हुन्छ भने व्यङ्ग्य पनि तीतोनै हुन्छ । तीतेपाती जति जात्ती छ, त्यतिनै व्यङ्ग्यपाती छ र यसलाई ‘गुलियोले कीरा उमार्छ : तीतोले कीरा मार्छ’ भन्ने उखानसँग जोड्न सकिन्छ । तीतो सत्य हुन्छ भन्ने बूढापाकाको उक्तिलाई पनि मननीय मानिन्छ र हास्यव्यङ्ग्य सोही उक्तिको साहित्यिक अभिव्यक्ति हो । त्यसैले भूतको भिनाजुले भीमसेनपातीमा तीतो सत्य ओकलेका छन् र जुन ओकलिएको वस्तुलाई हाामी अशिष्ट शब्दमा छाद भन्छौँ; हो, त्यही तीतो बोलीशैली यस कृतिको विशेषपन हो । भीमसेनपातीको विवेच्यरूपलाई यसरी खोतल्नु राम्रो हुनजाला ः

‘भीमसेनपाती’ : समीक्षात्मक शल्यक्रिया
‘भीमसेनपाती’ आफैँमा एक शल्यक्रिया हो । वा यो नेपाली समाजको समीक्षा, विश्लेषण र मूल्याङ्कन हो । यस व्यङ्ग्य कवितासङ्ग्रहमा २५ ओटा पाती कविताहरू छन् र यी प्रत्येकमा एक–एक वक्र आँखाहरू जडिएका छन् । यिनै आँखावाल पातीले नेपाली समाजलाई हेरेको छ, केरेको छ र बेरेको छ । हेर्नु, केर्नु र बेर्नुमा धेरै कारणहरू छन् । पाती नचढाई कसरी पूजा हुन्छ र ? त्यसैले कवि भिनाजु पाती चढाउँदै जान्छन् र मान्छेलाई चोख्याउँदै ।
प्रथमतः भिनाजुले ‘गाउँले गुण्डा’लाई पाती चढाएका छन् । लिटो खान नपुग्ने ठिटो मुखमा पिठो घसेर हिँड्छ सुन्दर बन्न । तेल भनेर पानी चोपी, टोप्रेलको टोपी, खुकुरी बोकी, चुरोट टोकी नक्कले भेष धर्ने गाउँलेगुण्डाको मुण्डविश्लेषण भिनाजुको पातीपूजा हो । भिनाजुले दोस्रो कविता ‘मान्छे हराए’मा पनि तीतेपातीको तमासा फिँजाएका छन् । देशमा उपद्रो मच्चिएको छ । त्यसलाई मिलाउने भन्दा अझ गिजिल्याउनेहरू छन् । धमिलो पार्दै र माछा मार्ने बहानामा भ्यागुता समात्दै जानेहरूलाई भिनाजुले व्यङ्ग्यमार्फत सर्पै देखाएर तर्साउन खोजेका छन् । गाउँसहरमा वा समाजमा दुःख दिनेहरू बढेका छन् र पुकारा सुन्ने भन्दा डङ्का पिट्ने उर्लिएका छन् । अथवा दिन दुगुना र रात चौगुना ‘जो चोर उसैको ठूलो स्वर’ भएको छ । सान बढ्यो, मान घट्यो । मर्यादा म¥यो, न्याय ट¥यो, अनुशासन खोलातिर झ¥यो, आशा म¥यो र अन्यायनै अन्यायको खात बराबरी प¥यो, त्यसैले भूतको भिनाजु भन्छन् कि मान्छे हरायो बरु स्याल करायो । व्यङ्ग्यात्मक कसीमा यस कविताले मानवीय ह्रासको चिन्ता गर्न ह्रासकर्तालाई खसी पारेका छन् । मान्छे बढेको छ, सङ्ख्या बढेर गुण घटेको छ र न्याय हराएर अन्याय मौलाएको छ, यदि मान्छे हुँदो हो त यस्तो हुन्थ्यो होला र ? तब न भिनाजु मान्छे हराएको सूचना गर्छन् । मान्छेभित्र मान्छे नभएको व्यङ्ग्योक्तिका लागि यो कविताले दरो ठुङ् मारेको छ । तेस्रो कविता ‘मन्दिरको जीर्णेाद्धार भएर के भयो’ मा भिनाजुले भगवान्भक्तिमा शक्ति खर्चनेहरूको स्वार्थको पोको खोलिदिएका छन् । मन्दिर भग्नावशेषमा छ तर भजनमण्डलीको चिन्ता भोजमा छ र पूजारीहरू होटेल चलाएर रक्सी बेच्दै, पैसा कमाउँदै छन् । महाजनलाई आफ्नो बैठकको सिँगारपटारमा ध्यान छ, र सबै आफ्नै तालमा नाचिरहेका छन् । मन्दिरको जीर्णोद्धार भए पनि नभए पनि स्वार्थसिद्ध भएन भने कसलाई मन्दिरप्रति चासो छ ? भन्ने अभिव्यक्ति कविले यसमा प्रस्तुत गरेका छन् । देवताको साइनु गाँसेर आफ्नो दुनोको कुनो सोझो पार्ने प्रवृत्तिलाई भिनाजुको चौथो कविता ‘तीन फुकुवाले दुनियाँ खाए !’ मार्फत छताछुल्ल पारेका छन् । आगो फुक्ने, कान फुक्ने र शङ्ख फुक्नेलाई अवसरवादको प्रतीकात्मक चरित्र मानेर यस रचनामा तिनका लोलोपोतो घस्ने आनीबानीको उद्घाटन गरिएको छ । ‘समानता’ शीर्षकको अर्को कवितामा कविले नेताहरूको भाषण गर्ने तर कामको सिन्को नभाँच्ने स्वभावलाई उदाङ्गो पारेका छन् । पहिलेको नेपालले करिया मोचन ग¥यो, अहिलेको नेपालले फरिया मोचन ग¥यो र त्यसरी होइन भरिया मोचन गरेर समानता ल्याउनुपर्छ भन्ने वक्रअभिव्यक्ति यसमा पाइन्छ । वाचा गरेर जनता छल्ने तथा गरिबका नाममा राजनीति गर्ने शासकहरूको चरित्र जुनसुकै बेला पनि छलछाममा मात्र केन्द्रित रहेको तर्क यहाँ आएको छ । ‘चोर’ कवितामा भूतको भिनाजुले कामचोर र बुद्धिचोर प्रवृत्तिलाई नङ्ग्याएका छन् । ‘कुरै नबुझी बम्कँदै हिँड्ने कुरा चोर हुन्’ (पृष्ठ १०) । ‘यो नेपाल खोल्डो हो’ नामक कवितामा कवि सभ्य बन्न नसकेको नेपालको दयनीयपनमाथि व्यङ्ग्य पोख्दछन् । यहाँ खाडल खनिन्छ भन्ने अभिव्यक्तिले ओरालो लाग्ने शैलीको सङ्केत गर्दछ । खाडल खन्नु भन्नुनै गलत कदम चाल्नु हो र त्यसले देशलाई अधोगतितिर धकेलेको छ । नेपालमा धेरै खाडलहरू छन् अभाव, अज्ञानता, अव्यवस्था, असंयोजन, अमर्यादा र यस्तै–यस्तै । तर हामी त्यस्तो खाडल पुर्नुपर्नेमा झन् नयाँ–नयाँ खाडल खन्छौँ र घाउहरू बल्झाउँछौँ । यही तीतो सत्यलाई यस रचनाले उधिनेको छ । ‘निम्तालुमा नाम दरिएन’ कवितामा नातावाद, चाकरीतन्त्र, घुसखोरी, सङ्कीर्ण मानसिकताजस्ता पक्षमाथि प्रहार गरिएको छ । चाकरी नगर्ने या नाता नपर्ने मान्छेले पाउनुपर्ने निम्ता पनि नपाउने चलन नेपाली चाकरीतन्त्रको विशेषता हो । उनी यसैलाई मूल केन्द्रबिन्दु मान्दछन् र लाटासोझालाई मान्छे नगन्ने प्रवृत्तिको चित्रण गर्दछन् । लेखनाथ पौड्यालले आफ्नो कविता ‘नैतिक दृष्टान्त’मा ‘योग्य स्थानविषे मान सानाले पनि पाउँछ । कृष्णाका तटको ढुङ्गो देवता कहलाउँछ ।’ (लालित्य, कवितासङ्ग्रह) भनेर उपदेश दिएका छन् तर त्यो उपदेश लिने समय नेपालीलाई छ र ? बरु ताससासमा समय निक्लेला या अनावश्यक गफ मार्नमा । स्थान योग्य थियो भने मान्छे पनि योग्य अयोग्य चिनिन्थ्यो र निम्तोको लागि चाकरीको खेती गर्नु पर्दैनथ्यो । वा कामका निम्ति नातावादको फरिया या दौराको फेरो समात्न पर्दैनथ्यो । तर भिनाजु त्यही उपदेशको कमीले पीडित बनेको अवस्थाको चित्रण गर्छन् । ‘म अस्पताल भर्ना हुन्छु ! मान्छे भएर एक छिन बाँच्छु !!’ नामक रचनामा भूतको भिनाजुले एकातिर उपचार नपाएर मर्ने अवस्था र अर्कोतिर अस्पतालको शृङ्गारशैलीको जीवनयापनलाई व्यङ्ग्यात्मक रूपमा व्यक्त गरेका छन् । अस्पतालमा पुगेपछि कसैले सोध्छ कि मान्छेको व्यथा र फलफूलको थुप्रो पनि लाग्छ । मान्छे वास्ता गर्न आउँछन् र मान्छे भएको अनुभव गर्न सकिन्छ । नत्र जीवनबोधनै नभएर बाँच्नु परेको छ भन्दै कवि बिरामी नहुँदा त कसैले माया पनि गरेन र अस्पतालकी नर्सजस्ती राम्री मान्छेको स्पर्श पनि पाइएन भन्ने कुरीतिजन्य चिन्तनको पर्दाफास गर्दछन् । ‘पुतली आई डिग्री हाल्दा– मुसुक्क हाँसी माया माग्छु (पृष्ठ १७) । अर्को कविता ‘बन्छ भने …भन्छ’ मा आर्थिक विपन्नताले युक्त अवस्थालाई सटीक रूपमा उतारिएको छ । यहाँ खारिएको फलामको तरबार र निखारिएको गरिबको रगतबाट दरबार बन्छ भन्ने प्रतीकात्मक अर्थ प्रकट भएको छ । ‘के चाहन्छौ ?’ कविता भने वर्तमानको स्फटिक बनेर आएको छ । हामी बाँच्नका लागि गधाले झैँ काम गछौँ, नाम कमाउन गाईलेझैं शोषित बन्छौँ र राम या ईश्वर बन्न रोई–रोई मछौँ भन्ने तीतो यथार्थ प्रकट भएको छ । ‘भ्यागुते–भजनमाला’ नामक भजनकवितामा चाहिँ फोहोरको भित्तादेखि नेताको फित्तासम्मलाई व्यङ्ग्यको घेरामा पारिएको छ । सुङ्गुरदेखि स्वर्गसम्मका विषयलाई उचालेर वर्तमान समाज कति विकलाङ्ग रहेछ भन्ने खुलासा गरेका छन् भिनाजुले । सुङ्गुरलाई उसकै खोर स्वर्ग हो । मान्छे लोभी छ, त्यसैले स्वर्गको खोजमा अरूलाई नर्कमा पार्ने काममा लाग्छ । जनावरदेखि ईश्वरसम्मका अवतारमा देखिने स्वार्थलोलुपतालाई यस रचनाले राम्ररी घोच हानेको छ । भेनाले गाएका, अनोरिखीले लय मिलाएका र गोवरगणेशले सङ्गीत दिएका यस भजन कविताले प्रयोगशील व्यङ्ग्यको क्षितिज पनि उघारेको छ । कवि भिनाजुले ‘म लामो कुरा जान्दिनँ !’ मा पानीविद्वान् प्रवृत्तिप्रति प्रहार गरी स्वाङ् पार्ने दाँचामा टाँचा मारेका छन् । आफू लाटो सोझो भएको व्यक्त गर्दै जनसामान्यलाई धर्म र उपदेशका नाममा ठग्ने तथा अर्थको अनर्थ गरी आफ्नो दुनो भर्ने मान्छेलाई मार्मिक ढङ्गले सम्बोधन गरिएको छ । त्यसैगरी ‘मेरो मगजमा कीरा प¥यो’ कवितामा धामीझाँक्री विधिमार्फत बिरामीको उपचार गर्ने परम्परा र व्याप्त सामाजिक अन्धविश्वासमाथि व्यङ्ग्य प्रहार गरिएको छ । पैसाका निम्ति सबै इमान र मर्यादालाई कुल्चेर लडाइँमा व्यस्त रहने मानवव्यवहारको विसङ्गत चरित्र उद्घाटन गर्ने कविताका रूपमा ‘नैवेद्यलाई भेटी ! भाग भाग’ प्रस्तुत गरिएको छ । ‘साइत ?’ नामक कवितामा धुलौटो कोरेर भाग्यफैसला गर्ने, साइत वा शुभ अशुभ छुट्टयाउने, दिन हेर्ने, लगन जुराउनेजस्ता अनुमान तथा ज्योतिष–तन्त्र विद्याको अन्धविश्वासलाई चिरफार गरिएको छ । अरूको साइत जुराउनेहरू आफू कुसाइतमा परेका र आफ्नै श्राद्ध गरेका हुन्छन् भन्दै घोर व्यङ्ग्य छेडेका छन् । ‘किन ?’ कवितामा छुवाछूतको विरोध गरिएको छ । हरेक व्यक्तिमा अँध्यारा पक्ष छन् तर अरूलाई मात्र गलत ठान्ने र आफूलाई राम्रो मान्ने क्रियाकलापको चित्रण यस रचनाले गरेको छ । ‘हिजो आज’ कवितामा लेखक, साहित्यकारका विसङ्गत पक्षप्रति आलोचनात्मक प्रहार भएको छ । उतिबेलाको साहित्यकार र अहिलेका साहित्यकारमा पाइने तुलनात्मक विषमता र पलाएका विकृतिलाई केलाउन भिनाजु सक्षम रहेको पाइन्छ । ‘एक, दुई, तीन !!!’ कवितामा चाहिँ भूतको भिनाजुले मुक्तक शैलीमा धोेकेवाजी अनुभव, अपहेलना, गिज्जडपन तथा जीवनको फिक्कापनमाथि प्रकाश पारेका छन् । ‘घर्तीको अर्ती’ नामक छोटो कवितामा नेपाली समाजमा चलेको उक्तिलाई कलात्मक रूप दिइएको छ । फजुल कुरौटो प्रवृत्तिप्रति व्यङ्ग्य गरिएको तथा सटीक तर्क रहेको यो कविता मार्मिक बन्न पुगेको छ । ‘मलाई लाग्छ !’ कवितामा गद्य कवितामा देखिएका उन्मुक्तता र त्यसबाट उत्पन्न विसङ्गतिप्रति वाण हानिएको छ । वर्तमान समयमा काव्यको मर्मविपरीत काव्यका नाममा रचना प्रकाशित हुने चलन जुन आएको छ; त्यसलाई साहित्यको विकृति ठानिएको भाव यस रचनामा पाइन्छ । ‘बस् !’ नामक प्रयोगशील संरचनाको अर्को कवितामा घण्टाघरमा घुमेको घडीको सुईलाई उल्लेख गरिएको छ । यो प्रतीकात्मक रचनाका रूपमा सशक्त छ र यसले आजका मान्छे फगत समय बिताइरहेका छन्, उन्नति, प्रगति या जीवनका सफलता भन्दा पनि व्यर्थतानै विशेषता बनेकोतर्फ लक्षित यस कवितामा मानव जीवनको असफलतालाई बिम्बात्मक रूपमा अभिव्यक्त गरिएको छ । ‘आफ्नै धुनमा’ नामक भिनाजुको कविता ॐकारनाथ उपाध्यायको नाममा रहेको छ । मान्छे बाहिर हाँसे पनि भित्र साह्रै रोएको छ वा अन्तर्पीडानै मानवजीवनको नियति बनेको छ भन्ने कुरालाई यस रचनामा प्रस्तुत गरिएको छ । ‘राष्ट्र – प्रेम’ कवितामा निम्नआदरार्थी सम्बोधनमा मान्छेलाई चाकरीशैलीको भत्र्सना गरिएको छ । मान्छेलाई बाँदरविद्वान्को संज्ञा दिँदै यस कवितामा मानवताको रक्षा गर्न ठाडो उपदेश दिएर हास्यात्मक पारिएको छ । भूतको भिनाजुको यस ‘भीमसेनपाती’ हास्यव्यङ्ग्य कवितासङ्ग्रहको अन्तिम रचना ‘महाकाव्य’ नाम दिइएको छ तर ‘हजूर ? हजूर ! हस् ’ भन्ने तीन ओटा शब्दमै कविता सकिएको छ । यसले साहित्यमा छोटिएको मिहिनेत र व्यवहारमा बढेको चाकरीवादको प्रतीकात्मक व्यङ्ग्यसङ्केत गरेको छ । पुरस्कारको निम्ति हजूर भन्ने, जागिरको निम्ति हजूर भन्ने, स्वार्थ सिद्धि गर्न हजूर भन्ने र त्यसका लागि उचित क्षमता हासिल गर्न मिहिनेत नगर्ने वर्तमान विकृत मानवप्रवृत्तिलाई भिनाजुले सटीक व्यङ्ग्य हानेका छन् । बोल्ने तर काम पूरा नगर्ने वा चिप्लो पारेर आफ्नै दुनो सोझो पार्ने स्वभावलाई यस महाकाव्य नामक तीन शब्दको कविताले साङ्केतिक चित्रण गरेको छ । यसरी भीमसेनपाती कवितासङ्ग्रहमा सङ्कलित रचनालाई सामान्य रूपमा समीक्षा गर्दा यसमा व्यक्तिका अनेक विसङ्गत विचार र व्यवहार, सामाजिक कुरीति, अन्धविश्वास, पलायनवादी वैचारिक मान्यता र ह्रासपूर्ण जीवनको बढोत्तरीजस्ता पक्षमाथि कलात्मक रूपमा प्रकाश पारिएको पाइन्छ ।

सङ्क्षिप्त विश्लेषण
‘भीमसेनपाती’ कवितामा व्यङ्ग्यप्रचुरता रहेको छ । भैरव अर्यालले स्थापना गरेको व्यङ्ग्य शिल्पको छाँट ल्याउने प्रयास यस कृतिमा पाइन्छ । पातीलाई भगवान्को प्रसाद मानिन्छ र त्यसको कुरूप रूप भने स्वार्थ सिद्धिको साधन बनाइन्छ । खोक्रो आदर्श र आडम्बरी सामाजिक रूपरेखालाई यस कृतिले भीमसेनपातीको बिम्बात्मक अर्थबाट छर्लङ्ग पारेको छ । कवि भिनाजुले मान्छेलाई नियालेका छन् र मान्छेका यावत चरित्रहरू माानवताविपरीत हुँदै गएकोमा परिहास पस्केका छन् । हाँसोलाई कसैको कमजोरी या अनौठो वस्तुसित सँगै राखिन्छ । भूतको भिनाजुले हाम्रो समाजमा भएका अनौठा व्यवहारलाई नै आफ्नो परिहासको विषय बनाएका छन् । हास्यभावनै कमजोरीमाथिको आलोचना हो जसले आगामी दिन सुधार होस् र फेरि त्यो रूपमा परिहास गर्नु नपरोस् भन्ने भाव व्यक्त गर्नु हो । हाँसो शैलीमात्र हो तर हास्यविषय चाहिँ गम्भीर हुन्छ । कुनै न कुनै विसङ्गत अवस्थाको चित्रणविना हास्यभावको विकास हुँदैन । त्यसकारण हास्यव्यङ्ग्यकारलाई सामाजिक, आर्थिक धार्मिक, राजनीतिकलगायतका कुरूपता ज्ञात हुन्छ जसलाई पाठकसामु पस्किइन्छ । भूतको भिनाजुले भीमसेनपातीमा यही धर्मनिर्वाह गरेका छन् कि नेपालीहरूको दयनीयपन साँच्चै हास्यास्पदनै छन्, कमजोरीपूर्ण या फितला छन् । यसै कृतिको भूमिकामा समालोचक कृष्णचन्द्रसिंह प्रधानले भनेका छन्– ‘आधुनिक अनुभूति मानिसको लाशमाथि बनेको सभ्यता हो भने आधुनिक साहित्य सम्पूर्ण मनुष्यप्रति गरिएको अवहेलनाहरूको व्यङ्ग्यभण्डार हो (पृष्ठ ५ क) । यसमा भूतको भिनाजुले बौद्धिक दरिद्रता, मानिसका मानसिक र सामाजिक तथा राष्ट्रिय कुण्ठा, भेदभाव, विषम चिन्तन, अधोगतितिर लम्केको मानवयात्रा, अभाव र अज्ञानताले जेलिएको जीवन तथा त्यसबाट प्रतित्युत्पन्न मार्मिक अवस्था आदिलाई हास्यात्मक र व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरेका छन् । मानिसमा असल विचारको सङ्कट आएपछि अनेक समस्याहरू आउँछन् र ती समस्यालाई अचेतन, अभाव, विद्वेषजस्ता पक्षले झनै चकाउँदै लान्छ भन्ने भाव अघि सारिएको छ । यसमा व्यङ्ग्यात्मक आलोचनाबाट नेपाली समाजको सुधार गर्नु भिनाजुको काव्यिक उद्देश्य मानिन्छ । विसङ्गत जीवनलाई सङ्गत बनाउनुपर्ने विचारनै यसमा प्रबल रूपमा उठेको छ । मान्छे बढी अप्राकृतिक बन्दै जानाले आफै फस्दै गएको छ र एकपछि अर्को कमजोरी गर्दै गिर्दै गएको छ भन्ने कुरा भीमसेनपाती सङ्ग्रहमा पाइन्छ ।
संरचनात्मक दृष्टिबाट विश्लेषण गर्दा यस कृतिलाई प्रयोगशील मान्न सकिन्छ । हास्यव्यङ्ग्य भावका निम्ति व्यङ्ग्यात्मक दाँचाको संरचना यस कृतिको उल्लेखनीय विशेषता हो । म. वी.वि. शाहको गर्छिन् पुकार आमा, रोई –कराइ जोडले, होइन मेरो भन्छिन्– सन्तान थरी थरीका’ कवितालाई प्योरोडिक शैलीमा प्रस्तुत गरिएको र यसलाई मंगलाचरण भनी राखिएको छ । यसले नै कवि भिनाजु भावमा मात्र होइन संरचनात्मक रूपबाटै व्यङ्ग्यमार्गमा लम्केको अनुभूत हुन्छ । शीर्षकअनुसारको भाव र भावअनुसारको भाषा अर्को विशेषता देखिन्छ । साथै यस कृतिमा लघु कवितालाई समेटिएको छ । मुक्तक छाँटका र केही मझौला आयामका कविता यसमा छन् तर यी कविताले बिम्बात्मक र प्रतीकात्मक अर्थको लामो स्वरूप बोकेको पाइन्छ । भीमसेनपातीमा उखान–उक्तिलाई प्रयोग गरिएको छ । उक्ति पनि हास्यप्रद पाइन्छ जस्तै –नानीभन्दा नाना ठूलो, गाई बनेर दुहिनु, गधा भएर मर्नु, कुकुर बनेर जुत्ता चाट्नु, भुक्तभोगीहरू आदि रहेका छन् । धेरै कविताका शीर्षकमा विष्मयबोधक चिन्ह प्रयोग अर्को पक्ष देखिन्छ । ग्रामीण–ठेट, सरल र कथ्य भाषालाई प्रयोग गरिएको छ भने हँसौटो प्रसङ्ग र भावको संयोजन गर्ने प्रयास पनि देखिन्छ । यद्यपि यस कुरामा भने अपेक्षित समन्वय हुन सकेको पाइन्न । काव्यको हास्यशैली कतिपय स्थानमा फितलो भएर पनि आएको छ । साथै कवितात्मक कलाको मर्मभन्दा पनि कविको आफ्नै ढङ्ग बढी मौलाएको देखिन्छ । कतिपय स्थनामा भावात्मक क्रमभङ्ग भएकाले यसो हुन पुगेको हो । यस कवितालाई सामाजिक यथार्थवादी कोणबाट हेर्न सकिन्छ । सामाजिक यथार्थवादले समाजको दुरुस्तीकरणको झलक दिन्छ । यसमा नेपाली समाजको दुरुस्तीकरण पाइन्छ । काव्यकलामा भन्दा पनि कवि हास्यकलामा केन्द्रित देखिन्छन् । आलोचना भावका सन्दर्भमा व्याख्या गर्दा भने आलोचनात्मक यथार्थवादको स्वरूप पाउन सकिन्छ । यद्यपि यथार्थवादी साहित्य धारामा जाने सिलसिलालाई भीमसेनपातीले अनुशरण गर्न सकेको पाइन्न । त्यसकारण हास्यरस, सामाजिक विषयवस्तु, यथार्थवादी विचार, प्रयोगात्मक संरचना, कथ्य भाषा, बिम्ब, प्रतीक, अलङ्कारको प्रयोगलाई भीमसेनपातीे कविताकृतिको विशेषता मानिन्छ । अतः विविध दृष्टिकोणलाई आधार मानेर अध्ययन गर्दा भूतको भिनाजुको प्रस्तुत भीमसेनपाती कवितासङ्ग्रह नेपाली हास्यव्यङ्ग्य साहित्यमा एक उल्लेखनीय कृति रहेको पुष्टि हुन्छ ।

प्रमुख सन्दर्भसामग्री
१) अर्याल, भैरव, भैरव अर्यालका हास्यव्यङ्ग्य, काठमाडौँ : भैरव पुरस्कार गुठी, २०६० ।
२) जोशी, कुमारबहादुर, पाश्चात्य साहित्यका प्रमुख वाद, काठमाडौँ : साझा प्रकाशन, तेस्रो संस्करण, २०५४ ।
३) पौड्याल, कृष्णविलास, नेपाली हास्यव्यङ्ग्य र आख्यानकार विश्वेश्वरप्रसाद कोइराला, काठमाडौँ : नवीन प्रकाशन, २०६० ।
४) बराल, ईश्वर र अरूहरू, (सम्पा.), नेपाली कसाहित्यकोश, काठमाडौँ : नेपाल प्रज्ञाप्रतिष्ठान, २०५५ ।
५) लुइँटेल, नरनाथ, (सम्पा.), फित्कौली, (भरतकुमार भट्टराई, ‘पाश्चात्य साहित्यमा हास्यव्यङ्ग्य’ पृष्ठ ३५–३८) काठमाडौँ : वर्ष १, अङ्क ४, पुस, २०६२ ।
६) शर्मा, लुइँटेल, वासुदेव, भीमसेनपाती, काठमाडौँ : रूपायन प्रकाशन, २०२७ ।
नलाङ–६, धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
कुराको छुरा !

कुराको छुरा !

डा.हरिप्रसाद सिलवाल
हावा !

हावा !

डा.हरिप्रसाद सिलवाल
सल्लाहकारको साउती !

सल्लाहकारको साउती !

डा.हरिप्रसाद सिलवाल
साहित्य होस् त यस्तो पो !

साहित्य होस् त यस्तो...

डा.हरिप्रसाद सिलवाल
थुकपीडा !

थुकपीडा !

डा.हरिप्रसाद सिलवाल
भूतको भिनाजुको ‘भीमसेनपाती’

भूतको भिनाजुको ‘भीमसेनपाती’

डा.हरिप्रसाद सिलवाल