म सम्चारप्रिय मान्छे, तर मैले आजकै मितिदेखि सम्चार पढ्न, हेर्न र सुन्न सब छोडिदिएँ । एक्कासि यत्रो ठूलो निर्णय सुन्दा तपाईंलाई अलि अनौठै लाग्ला, तर अनौठो नमान्नोस् । कुरा सुनिसकेपछि आपूmखुसी निर्णय गर्न तपाईंलाई पूरै छुट छ । निर्णय मेरै पक्षमा हुनुपर्छ भन्ने केही छैन । यसमा तपाईंको प्रजातान्त्रिक स्वतन्त्रता र मानवअधिकार कत्ति पनि हनन गरिने छैन ।
उहिले म बिहान बिउझिनेबित्तिकै लगभग निन्द्रामै रेडियाको कान निमोठेर यताउतिका सम्चार सुन्ने गर्थें । अब त ती दिन पनि गइहाले । उहिलेका कुरा खुइलिहाले, कहिले पलाउने हुन् पत्तो छैन । अचेल निन्द्रामै स्वास्नीका गनगने र कचकचे स्वर्णिम सम्चार सुन्न बाध्य छु । सुनको भाउ अकासिएर के भो त ? जति अकासिए’नि फलानाकी फलानीले यति किनी रे, उति किनी रे, मेरो त कर्मै फुटेको, नयाँ सुन भिर्नै नपाई मर्ने भएँ आदि केके भन्दै फतफताइ रहन्छे । ऊ मलाई उसको बाउजस्तै सुन गोदामकै हाकिम ठान्दी हो, तर कुरा त त्यस्तो होइन । अहिले मजस्ता हैसियतको हाकिमले सपनामा बाहेक सुन देख्ने प्रश्नै आउँदैन भन्ने कुरा उसलाई थाहा नभएको हो कि बुझपचाएकी हो ? अहिले सुनमा घुन लाग्या बेला उसका अगाडि मेरो हैसियत जेजस्तो छ, अफिसमा पनि त्योभन्दा बढी छैन ।
एकाबिहानै मेरो नित्यकर्म पानी खोजखाज, घर बढारकुँडार–पुछपाछ सब सक्दा पनि स्वास्नीको गनगने सम्चार सुन्नुपर्दा वाक्कदिक्क भई म पत्रिका पसलतिर लाग्छु र दुईचार अखबार बोकेर फर्कन्छु । बाटामा एउटाले परैबाट नमस्कार सर भन्दै चिया खानुभो भनी सोध्छ । अर्काले सञ्चै छ भन्छ । म मुन्टो हल्लाउँदै अगि बढ्छु । यसो विचार्छु मैले चिया खाए पनि नखाए पनि उसलाई के खाँचो, उसले ख्वाउने होइन क्यारे ! फेरि मेरी स्वास्नी बिहान कति बजे उठेर चिया पकाउँछे भन्ने उसलाई के थाहा ? कुरो रहृयो सञ्चैको— सञ्चै नभए यत्रो हिँड्थो बिहानबिहान जाडामा पत्रिका किन्न ? ठमठमती हिँडिरहेका मान्छेलाई सञ्चै... भनी सोध्दा मेरा कन्सिरीको पारो निकै तात्छ, तर के गर्नु यो अहिलेको फेसन सोजस्तै भएकाले मेरो केही लाग्दैन । अचेल फेसन सोको पनि अर्थविस्तार भई लवाइ प्रदर्शनको सट्टा अङ्ग प्रदर्शनमा रूपायित भएको छ, लगभग निर्वस्त्र रूपमा खत्र्याकखुत्रुक देखाएर महासुन्दरी बन्ने होडमा कागेचिन्डीसमेत निर्लिप्त रहेका छन् अनि यसमा केही गिद्धे–भँगेरे पुरुषवादीहरूको पनि भित्री मिलेमतो रहेको छ जस्ता घोर नारीवादी चिन्तन गर्दै हिँडिरहेका बेला छिमेकतिरकै एउटी बुढीकन्या मैयाले मतिर आँखा सन्काउँदै घण्टी नै नबजेको मोबाइलमा कागेस्वर उराल्छिन् । मचाहिँ यताउति नहेरी घोसेमुन्टो लाएरै नारीवादको केन्द्रीय कार्यालयका रूपमा रहेको मेरै घरमा भित्रिन्छु ।
स्वास्नीको फतफत यथावत् चलिरहेको छ । म सुन्यानसुन्यै गरी पत्रिका पल्टाउँछु । आजकालका पत्रिकामा नेतानेती र हिराहिरीकै कुरा बढी छापिएका हुन्छन् । एउटै नेतोले उही मञ्चमा बोलेका कुरा ठीक विपरीत शीर्षकमा भँगेरे टाउके अक्षरमा छापिने हुँदा कसको छपाइ ठीक भन्ने पत्ता लगाउन हम्मेहम्मे पर्छ । पक्ष र प्रतिपक्षका अघोषित घोषणापत्रका रूपमा रहेका पत्रिका पढिसकेर पचासले भाग गर्दा लगभग सत्यका नजिक पुगिने अवस्था छ । हरेकमा हरेक दिन मर्ने, मारिने र वीरगति प्राप्त हुनेको खबरले मेरो मुटु कटक्क खान्छ, तर के गर्नु खानेको नखाएपछि ? कस्तो बिडम्बना आखिर मराइ मराइ नै हो, तर उही मराइ कसैका लागि स्यालगिद्धको भुँडी भराइ हुन्छ भने कसैका लागि वीरगति तराइ हुन्छ । के गर्नु यसको औषधी अहिलेसम्म बनेकै छैन । कहिले बन्ने हो पत्तो पनि छैन ।
पत्रिका पल्टाउँदै जाँदा क्वाटर, हाफ, फुल आदि विभिन्न साइज र ढाँचाका फोटा देखिन्छन् । पहिलेपहिले त समवेदना÷श्रद्धाञ्जलिका फोटा बढी हुन्थे, चिनेका देखिए कठै भनिन्थ्यो । अहिले त उही पानाको एकातिर छेउमा समवेदनाको र अर्कातिर छेउमा बधाइको अनि बीचमा एकधरो कपडा लाउन पनि झन्डै बिर्सिएको विज्ञापनिक फोटा हुन्छन् । समवेदना त मरेकैको हुन्छ, तर बधाइ र विज्ञापनको विषयवस्तु भने अगणित । कहिलेकाहीँ पत्रकारका आँखा चिप्लिएर होला समवेदना र बधाइको फोटो यताउति पर्दा रहेछ । बीचमा लँगौटे–दुधौरे फोटो देखेपछि नचिप्लियोस् पनि कसरी ? यस्ता करामती फोटाले मजस्ता वृद्धसन्तको मन त उराल्छ भने युवा पत्रकारको नउराल्ने कुरै भएन ।
आजकाल पत्रिकामा नग्नफोटो छाप्ने होडबाजी नै देखिन्छ । एक बित्ता कपडाले... मात्र पनि प्रायः देखिने गरी छोपिएका विज्ञापनरूपी सुन्दरीको फोटो नछापिएको पत्रिकै हुँदैन । उहिल्यै मान्यजनका अगि टाउको छोप्ने ठूला कपडाको बचत गरी अहिले डाँडाखाल्डा मात्र छोप्ने रीतिको विकास गरिएको हो कि ? कपडा महँगिएर मितव्ययिता अपनाइएको त पक्कै होइन होला । नारीवादी युगमा नारीका सबथोक पुरुषलाई निःशुल्क देखाइदिन खोजेको पनि नहुनु पर्ने ? लुकेरभन्दा खुलेरै–खोलेरै सोभैm देखाइदिने प्रबन्ध मिलाइदिएको हो कि ? यस्ताको जबाफ मजस्ता बबुरासँग हुने प्रश्नै भएन ।
अँ ! आजको एक्काईसौँ शताब्दी, पहिलेजस्तो हुने कुरै छैन । उहिल्यै हाम्रा पालाँ कुर्कुच्चो, टाउको र घाँटीसमेत छोप्ने चलन थियो । कथंकदाचित कसैले अलिकति कुर्कुच्चो वा घाँटी मात्र देखाउँदा वा कामका सुरमा मजेत्रो चिप्लिएर कपाल देखिँदा नकच्चरी, नक्कली, वेश्या आदि मानपदवीद्वारा विभूषित हुन्थे भने अहिले त्यति मात्र देखाउनेहरू गाउँले, पाखे, असभ्य आदि मानपदवीद्वारा विभूषित हुन्छन् । उस्तै परे त्यस्ताले पोइ पाउनै हम्मे पर्छ । म त त्यस्तालाई हेर्न छोडेर चुच्चे–बुच्चेतिरै आँखा घुमाउँछु भने अरू झन् सभ्य र आधुनिक भनाउँदाको त के कुरा ?
अझ सुन्दरी प्रतियोगिताको त कुरै छोडौं, विजयको आधारै त्यही हो कि जस्तो देखिन्छ । पशुपति, स्वयम्भूतिर मङ्कीवाक गर्ने सुन्दरी र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको मञ्चमा क्याटवाक गर्ने सुन्दरीको लवाइमा तात्विक अन्तर देखिँदैन । अरूको के कुरा गर्नु आफ्नै घरको हालत योभन्दा फरक भए पो ! सानी छोरीलाई बालसुन्दरी प्रतियोगिताको फेसन सोमा नगै भा’छैन, आजकाल ऊ जतिखेर पनि क्याटवाक गरिरहन्छे । अस्ति खुट्टो खुस्काएर जात्रा— मेरै पैसाको खति । स्वास्नी वृद्ध सुन्दरी प्रतियोगिताको तयारीका लागि हात्तीवाक गरिरहेकी छ, कुन दिन ढाड खुस्काउँछे भन्ने कुराले म दिक्क छु । आपूmलाई त सधैं हतार मात्र भइरहने हुँदा जहिले पनि बिहानदेखि बेलुकासम्म मङ्कीवाक गरिरहनु पर्छ । आजकाल त सपना पनि त्यस्तै देख्न थालेको छु । हुन त अहिले सपना र विपनामा के नै पो फरक छ र ! कतिपय लालबुझक्कडहरू यस्ता गतिविधिलाई उत्तरआधुनिक सभ्यता भन्ने गर्छन् ।
ए, कुरो बरालियो क्यारे— अँ, पत्रिका पल्टाउँदै जाँदा त्यस्तै चुच्चाबुच्चामा आँखा गाडिएको मात्र के थियो, हिजो बेलुकाको काँचोकचिलोले करामत देखाउन थालिहाल्यो । काँचोकचिलाकोे कारणचाहिँ स्वास्नीको कसरत थियो । म हत्तनपत्त ट्वाइलेटतिर लाग्छु, स्वास्नी भित्र गुनगुनाइरहेकी हुन्छे । ढोका ढक्ढक्याउँदा डिस्टब नगर भन्ने च्याँठ्ठिएको आवाज आउँछ । ऊ भित्रै वृद्ध महिला सुन्दरी प्रतियोगिताको रिहर्सल गर्दै रहिछ । ढोका खोल्नै मान्दिन । हप्काउँ भने नारीवादका नारा फलाक्दै मानवअधिकारवादीकहाँ उभ्याउने धम्की दिन्छे । के गर्नु त्यसबेलाको दोहोरो कष्ट बयान गरी साध्यै छैन ।
यतिखेर मेरा घरको खानपिनमा पनि नारीवाद पाक्न थाल्या छ । मिठो–नमिठो, चर्का–अलिनो केही भन्नै मिल्दैन । मन लागे खा नत्र घिच् गर्नुपर्ने अवस्था छ । जसोतसो पानी पिउँदै दुई गाँस टिपेर अफिसतिर लाग्छु । त्यहाँ पनि सम्चारकै कुरा आउँछन् । मर्ने, मारिने र वीरगति प्राप्त गर्नेहरूकै भूमिगत कार्यकर्ता भएको ठाउँमा सम्चारका कुरा नआउने कुरै भएन । कर्मचारीहरू सब एक ठाउँमा भेला भएर आआफ्नो पक्षबाट वकालत गरिरहन्छन् । टेबुल ठोक्छन्, मुक्का बजार्छन् । थुतुनो चलाउने मात्र नभएर ज्यानै मिसामिस गर्छन् । म निरीह भएर टुलुटुलु हेरिरहन्छु, सुनिरहन्छु ।
हुन त म त्यस अफिसको हाकिमै हुँ नि, तर के गर्नु ? मेरोभन्दा पिउनसरको हैसियत ठूलो छ । उहाँ दलदलको सदस्य भएकाले मभन्दा निकै माथि हुनुहुन्छ । म आजसम्म स्वास्नीको पोइबाहेक कसैको सदस्य नबनेकाले अफिसमा पनि तोरीलाहुरेजस्तै भएको छु । पिउनलाई चिया लेसम्म भन्नु हुँदैन उल्टै मेरो सरुवा, घटुवा वा खोसुवाको धम्की दिन्छ । जानकारीविना नै दिनभर गायब हुन्छ, केही भन्न मिल्दैन, उल्टै उसैको खप्की खानुपर्छ, उसैलाई माफी मागेर नमस्कार टक्र्याउनु पर्छ । ठेक्कामा कुल बजेटको नब्बे प्रतिशत काम र दस प्रतिशत कमिसन भन्ने घोषणा हुन मात्र बाँकी राष्ट्रिय नीतिलाई समेत उल्टाइएको टिप्पणी सदर गर्न म बाध्य छु । नत्र मेरो जागिरको के कुरा मकै खानेको आयुसमेत शतप्रतिशत समाप्त पारिदिने धम्की पिउन सर एन्ड कम्पनीबाटै आउँछ । ठेकेदारहरू तिनकै पाटीका कुन्डले–मुन्द्रे–मुजुरे–जुल्पे हुन्छन् । ती मेरा अफिसमा आउँदा बस्ने ठाउँ मेरै कुर्सी टेबुल हुन्छ । ती भित्रिएपछि म चुपचाप लागेर बाहिर निस्कनु पर्छ, नत्र बाफ रे बाफ ... । अफिसका कुनै कर्मचारीलाई काम अराइसक्नु छैन—सङ्घ, सङ्गठन, परिषद् आदिको धम्की आइहाल्छ । कार्वाहीको त कुरै छोडौं, गुनासो पोख्ने ठाउँसमेत कतै छैन । धन्य प्रजातन्त्र, धन्य स्वतन्त्रता, धन्य मानवअधिकार, मबाहेक सबको जय होस् ।
सरकारी काम कहिले जाला घाम भन्दै बल्लतल्ल पाँच बजाएर अफिसको ढोका बन्द गर्छु । त्यसबेला कर्मचारी नामको प्राणी म मात्रै बाँकी हुन्छु । अरूको त के कुरा पिउनसरसमेत कतै सम्मेलनतिर सवारी भएकाले अचेल अफिस खोल्ने–बन्द गर्ने जिम्मेवारी पनि मेरै काँधमा आएको छ । लखतरान पर्दै घरभित्र पस्न पाएको छैन, स्वास्नीको गनगन र कचकच सुरु भइहाल्छ ब्युटीपार्लर जाने कुरालाई लिएर । म घरदेखि अफिससम्म र अफिसदेखि घरसम्म अठ्चालीसै घन्टा सबका गनगन, कचकच र हप्कीदप्की सहँदासहँदा प्रुफ भइसकेको मनुवा, मलाई यी केहीले पनि छुन छोडिसकेको छ । स्वास्नी ब्युटीपार्लरतिर लागेकीले केटाकेटीलाई खाजा बनाएर खुवाउने जिम्मा पनि मैमाथि आउँछ । उपहारै उपहारका पाँडे पँजनीका विज्ञापनले गर्दा कुन चाउचाउ ल्याउने भन्नेमा रडाको मच्चिन्छ ।
ब्युटीपार्लरबाट डेन्टिङपेन्टिङ गरी फर्किनेबित्तिकै स्वास्नी कसैको पाटीतिर लागेकीले बिहानकै बासी भात डढाएर बेलुकाको छाक टारिन्छ । स्वास्नी उतै जिउनार गरेर हल्लिँदै–रल्लिँदै आउँछे । उसको दिनरात घरमा बास छैन, तैपनि म खुसी नै छु । दिनभरका मिटिङ र रातभरका इटिङ, फिटिङ, ड्रिङ्किङ र डान्सिङले गर्दा स्वास्नीसँग सुत्न त परै जाओस् कुरा गर्ने साइत हेर्न पनि ज्योतिषीलाई बोलाउनु पर्ने दिन आएको छ । बिहे गरेको डेढ दशक पुग्दासमेत स्वास्नीसँग एकरात सुत्न पाइया छैन तैपनि सदासर्वदा थाङ्ना धुन र वर्षेनी छोराछोरीको ख्याउटे न्वारान गर्न पाइएकै छ । अहिले म यी सब मिलाएर एउटा छुट्टै पार्टी खोल्ने विचार गर्दैछु र त्यसैको अदक्ष हुने विचारले प्रफुल्ल छु पनि । थसुल्ली स्वास्नीको बामपुड्के पोइले योभन्दा बढी के नै पो गर्न सक्छन् र ?
मेरी स्वास्नीलाई अलि मोटै रकम फुत्काउनु छ भने सियोस् भन्छे, नत्र त उधारोस्, च्यातोस् नै चलाउँछे । बोलीबाटै म उसको स्थिति बुझ्न थालिसकेको छु । ऊ परी नगरवासी लामाकी छोरी, म परो गाउँबासी छोटाको छोरो । त्यसैले उसका अगाडि मेरो जोर चल्ने कुरै भएन । जे भए पनि सहनुको विकल्पै छैन । केही बोलौँ भने म यस्ताकी छोरी उस्ताकी छोरी भनेर फुर्ती लाउन सुरु गरिहाल्छे । पीडैपीडामा जिएको म बबुराका पीडा आफ्नै भनिएकी स्वास्नीले त बुझ्दिन भने अरू पराईले बुझेनन् भनेर के गुनासो गर्नु ?
अँ, बेलुका टिभी खोल्नेबेला मेरा घरमा ठूलै रडाको मच्चिन्छ । रिमोट लुकाउने र फ्याँक्ने होड चल्छ । विचरा त्यसको हुर्मतै लिइसकिएको छ । मेरो सम्चार हेर्ने बेलामा केटाकेटी कार्टुन हेर्न नपाए रुवाबासी मच्चाएर घरै उचाल्छन् । स्वास्नी कसौटी–लँगौटी हेर्न नपाए घरै छोड्ने धम्की दिन्छे । छोडिदिए त ढुक्कै हुन्थ्यो, तर धम्की मात्रै दिएर पो मारी । टिभी बिग्रियो भनेर केटाकेटीको रुवाइ त एकछिनलाई थामथुम पार्न सकिएला, तर स्वास्नीको कसौटी–लँगौटी खुस्काउन सकिने अवस्थै छैन, तैपनि बल्लतल्ल धम्क्याउँदै–हप्काउँदै सम्चार खोल्छु । उही नेतो एउटा च्यानलमा पूर्ण समर्थनमा र अर्काेमा उग्र विरोधमा प्रवचन दिइरहेको हुन्छ । डबिङ हो कि लबिङ हो भन्ने छुट्ट्याउन हम्मे पर्छ । सम्चारका बीचबीचमै डाँडाडाँडी, खोपीझाडी सब देखिने गरी आउने विज्ञापनको त कुरै छोडौँ । यसो यताउति हेर्दा बच्चाबच्ची देखिएनन् भने त्यही हे¥यो नत्र रिमोट घुमायो, बस् ।
मेरा घरमा अहिले मलाई, स्वास्नीलाई र बच्चाबच्चीलाई गरी तीनटा टिभी चाहिया छ । ती सबलाई बेग्लाबेग्लै टिभी पु¥याउने मेरो हैसियतभन्दा बाहिरको कुरा हो । म हरक्षेत्रमा सम्झौतावादी मान्छे भएकाले मैले आजैदेखि मेरो भागचाहिँ कटौती गरिदिने विचार गरेको छु । वास्तवमा किन्न नसकेरभन्दा पनि मेरी प्रिया सम्चारको भाषै बुझ्न नसकेर म यस्तो निर्णयमा पुगेको हुँ । एउटै सम्चार पाँचथरी दिएपछि मजस्ता बबुराले के बुझ्नु सम्चारको भाषा ? मैले आजकै मितिदेखि पत्रिका पढ्ने र टिभीमा सम्चार हेर्ने मात्र होइन अर्काले सुनाएका सम्चार सुन्ने कामसमेत पूरै छोडिदिएँ । डेढ दशकदेखिको मेरो मौनव्रतको साङ्गे यथाशक्य चाँडो साइत जुराएर सम्पन्न गर्ने सोचाइ राखी त्यसलाई ठूलै सम्चारको विषय बनाउने विचार पनि गर्दैछु । सक्कली कुरो बुझ्नुभो, अब आफैं सम्चारको विषय बन्ने सुर कसेपछि यत्रो हेर्नु अर्काको पाँडे सम्चार ?
मेरो गन्थनचाहिँ सकियो । आगे सम्चार पढ्ने, हेर्ने वा सुन्ने काम गर्ने–नगर्ने निर्णय तपाई आफैं गर्नास्, यसमा कुनै धाराउपधारा, दफाउपदफा लाग्ने छ्रैन । निर्णय गर्न तपाईं पूरै स्वतन्त्र हुनुहुन्छ, तर निर्णयचाहिँ बुद्धिमा बिर्का लगाएर नगर्नु होला भन्ने मेरो करजोरी बिन्ती छ प्रभु बिन्ती छ ! ! !
मुकाम : कीर्तिपुर डाँडो
(फित्कौली, अङ्क– ४ बाट)