सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कुरावादको जय !

Nepal Telecom ad

आजदेखि म नयाँ वादको जन्मतिर लागो । मैले सोचो– सबैभन्दा सजिलै र सस्तो सास्तीले जन्माउन सकिने वस्तु वाद नै रहेछ । तर मैले जन्माएको वादको नाम, काम र ठामबारेको चिन्ता भने हटेन । साथै मेरो नयाँ वादसँग पुरानो कुन वाद निकट रहेको छ र के के साम्य–वैषम्य छन् भन्ने कुराले पनि घोच्न छाडेन । यसो सोचेँ– भैगो नाथे वाद जन्माएर न म विद्वान् हुने न कसैको पेटे आन्द्रो भरिने । संसारका यी च्याउ उम्रेसरि उम्रेका वादहरू अरूका पेट भर्नु त कहाँ हो कहाँ आफ्नै नाम जोगाउन पनि धौ’मा छन् भने मेरो वादले आकाशको कुन ज्योति खसाएर कसको झुप्रोमा उज्यालो पोखिदिन्छ र ! यस्तै तर्कनाले मलाई च्याप्न थाल्छ । हाय विचरा वाद ! तिम्रा सिद्धान्तले तिम्रो भजनमण्डलीलाई ‘क’मा तर्कुले लगाएर रेफवाला ‘सी’ बाट बनेको शब्दमा विराजमान गरायो र त्यहाँ टाँसिने, टाँस्सिरहने, प्राण रहुन्जेल लेप्सिरहने गमको खेती गर्न सिकायो । त्यो बाहेक कुनै भोकेआन्द्रा र नाङ्गेआङ भएतिर एक पित्को नजर लायौ ? झोेँक चल्छ– यस्ता निर्दयी वादहरूका अङ्कुरणनै थुक्थुक्का भरमा बुत्याइदिऊँ । अनि फेरि म चिन्तननाच गर्न थाल्छु– यो वाद त काँचो नरीवल पो हो । जन्मै यो पवित्रभावको जटामा बेरिएर आउँछ । पछि जब यो वाद बाँदर–हत्केलामा पुग्छ तब न यसको चोखो अर्थ फित्कौली भएर ‘विचरा वाद’ मा ङिच्च नेताका फेटाफेटामा गुत्थिन थाल्छ । यस–उसकारण मानस–गर्भमा उम्रिसकेको मेरो वादको तुहावट गर्न कुन धर्मले दिन्थ्यो र ? म वादहरूको घारीमा अर्को नयाँ वाद जन्माउन निश्चित भएँ ।
साथी हो, निस्केँ वादविचरणको चिन्तेघारीमा ।

प्रथमतः कुरावाद मेरो माथिङ्गलको मरुस्थलमा मडारिन थाल्यो । मैले कुरावादभित्र हेगेलको बुद्धिवादलाई अटाउन चाहँे, देवकोटाको पागलवादलाई बुझ्न चाहँे, पारिजातको शून्यवादलाई हेर्न चाहँे अनि हेगेलको आदर्शवादले जन्माएका महान् बुद्धिवादीहरूलाई पनि राख्न खोजँे । कसरी भने यी बुद्धिजीवीहरूले अहिलेसम्म धेरै–धेरै कुराको खेती गरे । कुराको खेतीद्वारा कुराबाहेक अरू के जन्माए यिनले ? भन्ने प्रश्नले पनि मलाई यी पण्डितधर्मीहरू कुराविद् नै हुन् भन्ने लाग्यो । साथै हिट्लरको दर्शनमा तर्कले भरिपूर्ण कुराको भकारी नै थियो । अहिले पनि उनका अनुशरणधारीहरू कुरैकुराले काँचा मानवलाई थाङ्नामा सुताएर ‘नयाँ हिट्लर’ मा दर्ज भएका छन् । चाहे ती धर्मभीरू हुन् या राजनीतिक, कुराको काँटी मारेर जिन्दगीको ऐसाराम ठाँटी बनाउने तिनको काइदाकार हतियार कुरा नै हुन् । वेदका साष्टाङ्ग अक्षरहरूमा उपदेशगामी कुराको नौमुरी पहाड खाँदिएको मलाई थाहा छ । गीताको ग्रन्थगाथमा कुरैकुराको षड्यन्त्रकारी चुराले महाभारत–समरको उत्पात रचेर टाउकाका गिंँडहरूले एउटा ऐतिहासिक सभ्यताको लाज उडायो । भारतवर्षीय गङ्गामा रक्तरङ्गको वीभत्सतामा बगेर जिउँदाहरूलाई मशानबासी बनायो । त्यो भयङ्कर समर कृष्ण भगवान्को कुरोको चुरोमा फसेर हुन पुगेको थियो ।

कृष्णको कुरावादलाई मानवतावादी अध्यात्मवाद भन्नु त कताकता वेदका अक्षरहरूमा उल्टै कृष्णलीलाको कुरौटे षड्यन्त्रलाई फलविनाको कर्ममा विश्वास गर्ने बाङ्गो व्याख्या भयो । त्यसैले युरोपमनुवा फलको निश्चित परिणामलाई ताकेर कर्म गर्नतिर लागे, यताका हामी कुरैकुराको धर्मठेलीबाट घोकिएर, घोक्रिएर फलविहीन कर्ममा जोतिँदै आयौँ । त्यसको परिणाम कुराले हाम्रो पेट भरिएन, भोकवादको सूत्रतिर ध्यान दिएनौँ र मगुवा–मानव भएर पश्चिमी आकाशको फलतिर आँखा टट्मराउन थाल्यौँ । उताका मनुवा हाम्रा दाता बने । अन्ततः हामीभित्रका कति हामी ‘फलको निश्चित मापनअनुसार कर्म गर’ भन्ने स्थान पाश्चात्य क्षितिजतिर हुइँकिन डीभीको नम्रनिवेदनका निम्ति ‘त्वम् शरणम् अमेरिका’ गर्दै आफ्नो मौलिक घुँडा चोइटाएर कुद्न थाल्यौँ । हाम्रो कर्मवादलाई कुरावादले खाएको प्रमाण यही होइन त ? अनि हाम्रो पितृथलोमा मरुभूमिको अघोषित टीका पोतिएको यही होइन त ? भन्ने जिज्ञासाले पनि मलाई कुरावादी मान्यताले भित्रैदेखि घच्घच्यायो ।

वेदाङ्गको साष्टाङ्गले बताएनुसार हाम्रो पूर्वेली सभ्यता कुरावादी जीवन–सभ्यतामा खण्डित हुन पुग्यो र हामं्रो आस्थाग्राही परम्परा पाण्डित्यपूर्ण अध्यात्म–सङ्ग्रहमा परिणत भएकाले नै जीवनका चाउरिएका अनुहारले कर्मको भीख माग्न पश्चिमी आकाशभ्रमन्को उडान–सोपानमा निर्लिप्त हुुनुप¥यो । हाम्रा प्राचीन धर्मप्रवक्ता ‘नारद्’ कुरैले महान् भएका थिए । नारदमुनिको कुुरावादले प्राचीन जीवनको पवित्रताबोध अत्यन्त आनन्दित हुन्थ्यो भने त्यस्ता कुरावादी प्रवक्ताहरू आधुनिक कालगोचरमा पनि प्रशस्त पाइन्छन् । आधुनिक नारद्मुनि ‘उर्फ’ हाम्रा प्रवक्ताले हामीलाई कुराको विकास–वाणले लठ्ठ बनाएका छन् । कुराको कैँचीले चट्ट काटेका छन् र कुराको भाँतीले सयाँै झूठका बिटाहरूलाई सत्याभाषी तुल्याएका छन् । त्यसैले हाम्रा टुपीमाथिका टाउकाहरू कुरैले कुर्सीयोग्य महान् बनेका हुन् भन्दा कहाँनिर अन्यायको उल्का खस्छ र कुनचाहिँ मेरो महान् मनुवा खण्डनको खाका बोकेर मछेउ आउँछ ? ल आऊ आउने भए ! तिम्रो वाद पनि सोही शुभबैठकका दिनदेखि त्यही झगरा–तगरावादमा नामाङ्कित भइसक्या होइन र ? कुरावादको कमाल कहाँनिर छ भने यसले स्थापित सारा वादलाई सत्यरोगनमा परिणत गरिदिन्छ । कुरैको कमालले अकानुन कानुन भएको छ । अविधान विधान भएको छ, अविचार विचार भएको छ । अनि त्यसैको उल्टो रूप कानुन अकानुन, विधान अविधान, विचार कुविचार र राज्य अराज्य पनि कुरैको कमालले सम्पन्न भएको छ । म देख्छु– सडकभरि कुराविद्हरू छन्, म देख्छु, कार्यालयभरि कुराविद्हरू छन्, म देख्छु गोष्ठी, सेमिनार र सम्मेलनभरि कुराविद्हरू छन् । अनि म देख्छु पानीपँधेरो र मेलापातमा पनि तिनीहरू नै छन् । कुरावादीमा दर्ता भइसकेकाहरू सबै महान् छन् र महान् कुरा गर्छन् । साँच्चै कुराको वाणगङ्गा भरुन्जेल तिनीहरू महान् नै लाग्छन् । किनभने तिनीहरू कुराले महान् भएका छन् र त तिनको महान्ता तिनकै कुराबाट अन्त्य पनि हुन्छ ।

मलाई लाग्छ कुरावादभित्र केही निकटतम वादहरू मिलेका हुुनुपर्छ । यसो यो राजधानीको सहरी हावामा हुँइकिएको महावासनादार पवित्र बहावमा नाक लुकाउँदै गम खाएर टङ्च्यो भने महान् कुराको काँचुलीबाट हजुरवादको जन्म भएको पाइन्छ । हजुरवादभन्दा माथिको यात्रा गर्दा बक्स्योस्वादको छानो चम्किएको छ । बक्स्योस्वादको कुरा अदूरदर्शी हुन्छ किनभने त्यसलाई कुनै कानुनले पनि छुन नसक्ने हुनाले अदूरदर्शीका कुरा अजिङ्गरको स्वाँ–स्वाँभन्दा कम डरलाग्दो हुन्न । अनि हजुरवादजस्तै अर्को निकटतम र फलदायी दर्शन ‘चचाचुचा’ वाद हो । ‘चचाचुचा’ ले नै हाम्रो कर्मवादको पासा धनुष्टङ्कारवादमा परिणत गरिदिएको हो । त्यसको छोटकरी स्पष्टीकरणको खाँचो यसप्रकार पूरा गर्न सकिन्छ । तपाइँ यो सूत्रलाई सुन्नुहोस् जसलाई रातको रङसँगै यामानका भवनमुसाफिर उठाउनु छ र खस्रो बुद्धिले मान्छे चाटेर आफ्नो जीवनलाई रातारात सङ्गमरमरको भित्तामा टाँस्नु छ । अरूका लागि यो वाद व्यङ्ग्य–तृष्णाको नपिरो मसला हुनेछ भने साहित्यकारका निम्ति वाक्य बनाउने सशक्त गँगटे झाम्टा ।
‘च’ माने चम्चावाद
‘चा’ माने चाकरीवाद
‘चु’ माने चुक्लीवाद
‘चा’ माने चाप्लुसीवाद

म कुरावादको कमालसम्बन्धी कुरा गर्दै थिएँ । कुरावादलाई मैले बिकाउ वस्तु सम्झेको छु । हाम्रो रीतिमा कुरा नै दरिलो कर्म भइसकेकाले कुराको खेती लाउनु मौलिक नेपालीको धर्म होइन र ? जस्तो लाग्दछ । ग्रिसेली कवि होमरले इलियड र ओडेसीमा कुरा होइन प्राचीन गाथा लेखे । सेक्सपियरले म्याक्वेथमा सङ्गीन मुटुका कम्पन लेखे । यता हाम्रा व्यास आजीवन कुरैकुरा लेख्छन् र कुराविद् विद्वान्को संज्ञा लिन्छन् । अनि हामीले चुनेका प्रवक्ताहरू कुराविद्का रूपमा सशक्त नहुन् किन ? कुरावादबाट लोभलाग्दा नयाँवादहरूको रचना सम्भव हुन्छ । हाम्रा महान् कुराविद्हरू सपनामा शत्रुका अनुहार अति भयलाग्दा देख्दछन् । शत्रुसङ्गठनको भयबाट मुक्त हुन पनि तिनले कुराकै खेती थाल्छन् ।

कुराको खेतीबाट जन्मने एउटा रमाइलो वाद हो ‘फुटाउवाद’ । फुटाउवादले शत्रुभञ्जन र आफूलाई दीर्घकालीनता सम्भव गराउँछ । यो कसरी भने हाम्रा कुरावादी महामहिमहरू शत्रुको रूपलाई राति ठूला चट्टान सम्झन्छन् । अनि त्यो चट्टानलाई फुटाउन घनहरू पनि कुराकै सहायताद्वारा निर्माण गर्दछन् । कुरा र भेटीेको मिश्रित योगबाट शत्रुरूपी चट्टान फुटाउने बलिष्ठ घनहरू निर्माण हुन्छन् । अनि चट्टान चोइटिन थाल्छ, फुट्न थाल्छ । चट्टान चोइटिएपछि कुर्सीलेपनका आयुष्मान गमहरू निस्कन थाल्छन् । कतै फुटाउ र कतै जुटाउको सूत्र सफल हुनु नै कुरावादको विशेषता हो । कुरावाद पानीको पँधेरोदेखि महान् माकुराको दरबारसम्मका लागि अचुक आस्था हो । कुरावाद विचारभेषी महान्हरूको लागि रूपान्तरणीय अत्याधुनिक वस्त्र पनि हो । साथै कुरावादले हजुरवादेखि हसुरवादसम्म, फुटाउवाददेखि जुटाउवादसम्म, मुसावाददेखि जुँगावादसम्मका रचनात्मक कार्यलाई सम्पन्न गरिदिन्छ । अतः सस्तो भईकन महङ्गो र महङ्गो भईकन सस्तो हुन पुगेको वादको नाम अब कुरावाद नै सही मानौँ । म एक दिन साइत जुराएर, रिबन किनेर ल्याएर यो वादको भव्य उद्घाटन गर्छु । केही दिनका लागि यो उद्घाटन सम्भव छैन किनभने अहिले रिबन काट्नेहरू महान् वादको बासस्थानरूपी आफ्नै शिरका केश आफै काटिरहेछन्–
कैँचीले चुट्टचुट्ट
कैँचीले चुट्टचुट्ट

किनकि अब तिनले छिट्टै कुनै कुरावादीको लहलहैमा परेर टाउकाभित्रको पुरानो वादको रङ्ग फेर्दैछन् । कुन रङ्गमा आफ्नो मुहार मस्किन्छ र सुरक्षाको कवाफ पाक्छ भन्ने सोचेर ऐना पनि हेर्दैछन्–
आँखा झिम्क्याएर पुर्लुक्क
आँखा झिम्क्याएर पुर्लुक्क

अतः ए महान् दुनियाँ, म छुद्र्रधारी भईकन पनि यो निवेदन खसाल्छु कि अझ बढी महान् बनेर झुप्राझुप्रामा फन्का मार्ने भए, सज्जनका टाउकाटाउकामा झिलिक्क झल्कने तारा खसाल्ने भए र स्वर्गीय विकासका आकाशे जल घततत्त खततत्त खन्याउने भए वा गरिबका रित्ता ताउलामा फततत्त भततत्त खिर छड्काउने भए सर्वोत्तम, सजिलो र भरपर्दो यो गीतमा मलाई साथ दिनुहोस्–
कुरावादको जय !
कुरावादको जय ! !
कुरावादको जय ! ! !

नलाङ– ६, धादिङ
फित्कौली, अङ्क ४ बाट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
कुराको छुरा !

कुराको छुरा !

डा.हरिप्रसाद सिलवाल
हावा !

हावा !

डा.हरिप्रसाद सिलवाल
सल्लाहकारको साउती !

सल्लाहकारको साउती !

डा.हरिप्रसाद सिलवाल
साहित्य होस् त यस्तो पो !

साहित्य होस् त यस्तो...

डा.हरिप्रसाद सिलवाल
थुकपीडा !

थुकपीडा !

डा.हरिप्रसाद सिलवाल
भूतको भिनाजुको ‘भीमसेनपाती’

भूतको भिनाजुको ‘भीमसेनपाती’

डा.हरिप्रसाद सिलवाल