सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पाश्चात्य साहित्यमा हास्यव्यङ्ग्य

Nepal Telecom ad

हास्यको वर्गीकरण
पूर्वीय साहित्यभन्दा पाश्चात्य साहित्यमा हास्यका बारेमा प्रशस्त विवेचना गरिएको पाइन्छ । पूर्वीय साहित्यमा जस्तै पाश्चात्य साहित्यशास्त्रीहरूले पनि हास्यको वर्गीकरण गरी तिनका भेदहरूका बारेमा विस्तृत विवेचना गरेका छन् । यहाँ हास्यका पाश्चात्य भेदबारे विवेचना गर्नका निम्ति केही अङ्ग्रेजी तथा अधिकांश हिन्दी साहित्यका ग्रन्थहरूमा उपलब्ध सामग्रीलाई नै मूलआधार बनाइएको छ ।
साहित्यमा हास्यलाई महत्वपूर्ण स्थान दिँदै हास्यका भेदका बारेमा पर्याप्त विवेचना गर्ने पाश्चात्य साहित्यशास्त्रीहरूले मूलतः हास्यका ६ वटा प्रमुख भेदहरू देखाएका छन् । Humour (हास्य), Wit (वाक्–वैदग्ध्य), Satire (व्यङ्ग्य), Irony (वक्रोक्ति), Parody (विहास) र Farce (प्रहसन) । यी ६ प्रमुख भेदहरूका अतिरिक्त पाश्चात्य साहित्यमा हास्यका अन्य २ भेदहरू पनि महत्वपूर्ण रूपमा देखिएका छन् । ती हुन्— Caricature (अतिरञ्जना) र Comic (उपहास) । यसरी पाश्चात्य साहित्यमा हास्य प्रमुख तथा अरिरिक्त भेद गरी जम्मा आठवटा महत्वपूर्ण भेदहरू रहेका देखिन्छन् जसलाई निम्नानुसार राख्न सकिन्छ ः
१. हास्य (Humour) २. वाक्–वैदग्ध्य (Wit)
३. व्यङ्ग्य (Satire) ४. वक्रोक्ति (Irony)
५. विहास (Parody) ६. प्रहसन (Farce)
७. अतिरञ्जना (Caricature) ८. उपहास (Comic)
पाश्चात्य हास्यका यी भेदहरूलाई विशेषतः हिन्दीमा प्रयुक्त पर्यायवाची शब्दद्वारा नै चिनाउने प्रयास गरिएको छ । हिन्दीमा स्नेह वा स्मित हास्य भनी Humourलाई चिनाए पनि यहाँ चाहिँ ‘हास्य’ मात्र प्रयोग गरिएको छ । व्यङ्ग्य, वक्रोक्ति, प्रहसन र अतिरञ्जना क्रमश: Satire, Irony, Farce / Caricature का निमित्त प्रयुक्त हिन्दी पर्याय नै हुन् भने हिन्दीमा अनुक्ति वा हास्यानुकृति भन्ने पर्याय दिएको भए तापनि Parody को नेपाली पर्याय ‘विहास’ राखिएको छ । ‘उपहास’ शब्दद्वारा Comic लाई चिनाउने प्रयास भएको छ ।
१) हास्य (Humour)
यसलाई हास्यको सर्वोत्तम स्वरूप तथा अत्यन्त सूक्ष्म र तरल मानसिक वृत्ति मानिन्छ । मानवजीवनको उल्लासमय र सुखमय अवस्थामा स्वस्थ हृदयको स्वाभाविक र सहज उच्छलनको रूपमा अभिव्यक्त हुने यो हास्य स्वच्छ, निर्मल एवम् सर्वथा घृणाबाट अलग हुन्छ भनी विद्वान्हरूले अथ्र्याउने प्रयास गरेका छन् ।
प्रसिद्ध तत्ववेत्ता सलीका मतमा यो एक मनोविकार हो तापनि यसले बौद्धिकताको अंश पर्याप्त ग्रहण गरेको हुन्छ ।१ (डा. वरसानेलाल चतुर्वेदी, हिन्दी साहित्यमे हास्य रस, नयाँदिल्ली : हिन्दी साहित्य संसार, इ.१९६३, पृ ३७) खास गरी यसको प्रकृतिको निर्माण संयम, चरित्र, मानसिकता वा चिन्तन, सहानुभूति र करूणाजस्ता मानवीय गुणहरूद्वारा हुन्छ ।२ (जे.ए. कडन, (सम्पा.) ए डिक्सनरी अफ लिटररी टम्र्स, दो.सं. (दिल्ली : क्लेरियन बुक्स, इ. १९८०) पृ. ३१३) यस सन्दर्भमा ए. निकोलले आफ्नो ‘एन इन्ट्रोडक्सन टु ड्रामेटिक थियरी’ नामक पुस्तकमा उल्लेख गरेको मत प्रस्तुत गर्न सकिन्छ । उनका मतमा हास्य असमझदारीबाट पनि उत्पन्न हुन्छ तर यो हास्य चाहिँ समझदारी तथा मानवीय सहानुभूतिले पूर्ण चिन्तनद्वारा उत्पन्न हुन्छ । त्यसले आलम्बनप्रति सहानुभूति र प्रेम हुनु अनि ईष्र्या, सोद्देश्यता आदिको अभाव रहनु हास्यको जड हो । मेरिडिथको मत के छ भने हास्यास्पदप्रति हाँसो उडाउनाका साथै प्रेम र करूणाको भाव हुनु पनि आवश्यक छ ।३ (एन एस्से अन कमेडी, पृ ७९ र ८४) अत हास्यमा आलम्बनप्रति सहानुभूति, प्रेम र करूणाभाव राखिने हुनाले अन्य विरोधी भाव घृणा, क्रोध आदिको अभाव यसमा रहेको हुन्छ । हास्यमा हलुका किसिमले करूण भावको उपस्थिति पनि रहेको हुन्छ र यसले गर्दा नै मान्छे प्रसन्नतापूर्वक हाँस्दा थकानको अनुभवबाट मुक्त भएको ठान्दछ । हास्यबाट प्राप्त हुने यसै लाभप्रति प्रसिद्ध नाटककार ड्राइडनले सङ्केत गर्दै आफ्नो मत प्रकट गरेका छन् । उनका अनुसार निरन्तरको गम्भीरताले आक्रान्त मस्तिष्कलाई करूणामिश्रित हास्यले विश्रान्ति प्रदान गरी स्वस्थ र सजीव तुल्याउँछ ।४ (डा. बरसानेलाल चतुर्वेदी, पूर्ववत्, पृ ३९) वास्तवमा हास्य  हास्य व्यक्तिगत वृत्तिमा आधारित हुने हुनाले कसैलाई सङ्गत लाग्ने हाँसो कसैलाई त्यति सङ्गत लाग्दैन । यसर्थ यसलाई यही विशिष्टताका आधारमा ‘सार्थकमा निरर्थक’ (Nonsense in sense) पनि भन्ने गरिन्छ ।४ (सरोज खन्ना, हास्यके सिद्धान्त और मानसमे हास्य, पृ. ३३) यस्तो हास्य पाश्चात्य हास्य रचनाकार अरिस्टोफेनस, चार्ली चाप्लिन, बेन जोन्सन आदिका रचनामा पाइन्छ ।

२) वाक्–वैदग्ध्य (Wit)
शब्द तथा भाव वा विचारहरूको चमत्कारपूर्ण प्रयोग नै वाक्–वैदग्ध्य वा ‘विट’ हो । यसको सम्बन्ध मस्तिष्कसँग हुन्छ, यसैले ‘विट’ बौद्धिक हुन्छ । शब्दमा विवेकको मितव्ययिताद्वारा उत्पन्न हुने यो ‘विट’ उक्ति चमत्कारका रूपमा देखा पर्छ र यो हास्यको एक बौद्धिक श्रोतका रूपमा रहेको छ । एरिस्टोटलले ‘चामत्कारिक शब्दप्रबन्ध’को रूपमा यसलाई लिएका छन् र उनका कथनमा यो अनुभवी र चतुर स्रष्टाद्वारा रचित अनि विशेषतः साधम्र्य, वैधम्र्य, विशद स्वभाववर्णन आदिका कारणले उत्पन्न भएको हुन्छ ।५ (डा.वरसानेलाल चतुर्वेदी, पूर्ववत् पृ ४०–४१) । उनको कथनबाट अभिव्यक्त हुने तात्पर्य के हो भने ‘विट’ मा अर्थको चमत्कार हुनु अनिवार्य छ । त्यसैले उनी हास्यको उद्रेक हुने चामत्कारिक र आनन्ददायक शब्दप्रयोगका पक्षमा छन् ।
पाश्चात्य विद्वान्हरूले ‘विट’ को व्याख्या ‘विभिन्न पदार्थहरूको समन्विति (Association) द्वारा सृजित विनोदात्मक चमत्कार’ का रूपमा गरेका छन् ।६ (सरोज खन्ना, पूर्ववत् पृ ३३) एडिसनले यसमा अझ केही थप्ने काम गरे । उनले के बताए भने उक्ति चमत्कार वा ‘विट’ त्यस्तो हो जो भाषान्तरमा अनुवाद हुँदा पनि त्यसको आनन्दमा कमी आउँदैन तर यदि यसो हुन सकेन भने त्यो उक्ति चमत्कार नभई शब्द–श्लेष मात्र हो भन्ने सम्झनुपर्छ ।७ (पूर्ववत् ।) एडिसनले पनि ‘विट’ मा अर्थचमत्कार निहित हुनुपर्ने कुरामै जोड दिएका छन् ।
एडिसनले आफ्नो पुस्तक सिक्स पेपर्स अन विटमा ‘विट’का विषयमा अरू कुराहरू पनि प्रकाश पारेका छन् । उक्त पुस्तकको ‘ह्युमर’ नामक निबन्धमा उनले एक रूपकका रूपमा हास्यको वंशावली प्रस्तुत गरेका छन् । त्यस वंशावलीबाट के आशय प्रकट हुन्छ भने ‘विट’मा सत्यता र प्रौढता वा सत्य र प्रौढ अर्थ हुनु आवश्यक छ ।८ (डा.वरसानेलाल चतुर्वेदी, पूर्ववत् पृ ४१–४२) । उनको ‘विट’ को व्याख्याका क्रममा पदार्थहरूको सम्बन्ध दर्शनमा पाठक या श्रोताहरूमा उत्पन्न हुने प्रसन्नता र आश्चर्य वा चमत्कृतिमध्ये पनि विशेषतः चमत्कृति नै ज्यादा बुझिएमा त्यो ‘विट’ हो भनेर चिन्नु पर्दछ भनेका छन् ।९ (जोसेफ टी.सिप्ले, (सम्पा.) पृ. ३६२ ।
एडिसनका पूर्ववर्ती कवि ड्राइडनले चाहिँ ‘विट’ को व्याख्या विषयअनुरूपको विचार तथा भाषा प्रयोगको औचित्य भनेर गरेका थिए ।१० (पूर्ववत्) वास्तवमा यस व्याख्याप्रति आजभोलि आपत्ति जनाइएको पाइन्छ, किनभने भाषाप्रयोगको औचित्य हुँदैमा त्यो विट हुन सक्दैन । त्यस्तै हिन्दी साहित्यका समीक्षकहरू ‘विट’ मा रस र चमत्कार दुवै हुनु आवश्यक छ भन्ने कुरामाथि जोड दिन्छन् । यसै प्रसङ्गमा वाक–वैदग्ध्यका दुई भेद गरिएको पाइन्छ । १. चमत्कार वैदग्ध्य र २. रसात्मक वैदग्ध्य । चमत्कार वैदग्ध्यमा वाक्य वा शब्दको अप्रत्याशित प्रयोग–पटुता वा विचारको आरोप हुन्छ भने यस्तै प्रयोग–पटुताले प्राप्त गरेको त्यस्तो परिस्थिति जहाँ अपूर्व भाव सञ्चारण क्षमता पनि हुन्छ, त्यो रसात्मक वैदग्ध्य हो । मनोविश्लेषणशास्त्री फ्रायडले पनि ‘विट’का दुई भेद गरेका छन्– १. सहज वैदग्ध्य(harmless wit) र २. प्रवृत्ति वैदग्ध्य (Tendency wit) । उनका मतमा सहज वैदग्ध्यमा द्वेषरहित हास्य वा विनोद हुन्छ भने प्रवृत्ति वैदग्ध्यमा परिहास्य वा लक्षित वस्तुप्रति प्रतिकारात्मक वा आक्रामक भावनाले प्रेरित हास्य रहन्छ । ।११ (एम.एच. अब्राम्स, ए. ग्लोसरी अफ लिटरेटी टम्र्स, ते.सं. (न्यूयोर्क : कोर्नेल युनिभर्सिटी, १९७१), पृ. १७९) अथवा सहज वैदग्ध्य भन्नाले ठट्टा र हाँसो मिसिएको विनोद र अट्टहास पर्दछ भने प्रवृत्ति वैदग्ध्यमा चाहिँ ऐन्द्रिय प्रतिकारात्मक भावनामा भएको हास्य पर्दछ र यसमा दृष्टि, भाव, ध्वनि र बुद्धिका विकारहरू पनि पर्दछन् ।१२ (डा. धीरेन्द्र वर्मा (सम्पा.), हिन्दी साहित्य कोश, भाग १, दो.सं., वाराणरसी : ज्ञानमण्डल लि. २०२०, पृ. ९६७)
वाक्–वैदग्ध्यको विशिष्टता यसको सामाजिकतामा छ । हास्य भन्दा पृथक तीन पात्रहरूको आवश्यकता पर्दछ– प्रयोक्ता, प्रयोग गरिने व्यक्ति र सुन्ने व्यक्ति ।१३ (श्री त्रि.ना. दीक्षित, हास्य के सिद्धान्त तथा आधुनिक हिन्दी साहित्य, पृ १००) वाक्–वैदग्ध्य एक किसिमको शाब्दिक अभिव्यक्ति (Verbal expression) हो, जसमा सङ्क्षिप्तता, गम्भीरता तथा विनोदपूर्ण चामत्कारिक प्रभावी सिर्जना गर्ने उद्देश्य रहेको हुन्छ ।१४ (एम.एच. अब्राम्स, पूर्ववत्, पृ. १७९ ।) पहिले वाक्–वैदग्ध्यको सङ्गठनमा हलुकापन हुनु अपेक्षित ठानिन्थ्यो तर आजभोलि यसमा गम्भीरता हुनु आवश्यक मानिन्छ । टी.एस.एलियटको भनाई के रहेको छ भने डोने र मार्भेल प्रभृति कविहरूले गम्भीरतालाई पनि समावेश गरी ‘विट’को रचना गरेका छन् । त्यसैले ‘विट मा गम्भीरता हुनु आवश्यक छ भन्ने कुरामा सबैको सहमति रहेको पाइन्छ ।
‘विट’ का बारेमा अङ्ग्रेजीका वेब्स्टर तथा सेन्चुरी डिक्सनरीमा दिइएका परिभाषा उस्तै–उस्तै छन् । यिनीहरूले ‘विट’ को ब्याख्या यस प्रकार गरेका छन्— “भाषण वा लेखको त्यस्तो गुण वा तत्व जो कुनै विचार र त्यसको अभिव्यक्तिको शुद्ध र सुन्दर सम्बन्धद्वारा उत्पन्न हुन्छ जसले आफ्नो अप्रत्यासित स्वरूपद्वारा मानिसहरूका मनमा आश्चर्य र आनन्द उत्पन्न गर्दछ ।”
यसरी वाक्–वैदग्यध्य भनेको विदग्धतायुक्त कथनद्वारा उत्पन्न हुने आनन्दमय चमत्कार हो र यो हास्यको सबल र एवम् अत्यन्त उत्कृष्ट र कलापूर्ण माध्यम वा अङ्ग हो । यसमा शब्दगत अर्थगत दुवै चमत्कार रहेका हुन्छन्, त्यसैले यो रस र चमत्कार दुवैको संयुक्त शक्तिमा आधारित भई उक्तिमा वैचित्र्य ल्याउन सफल हुन्छ । उक्ति वैचित्र्य वा विलक्षणता यसको मूल सामथ्र्य हुने हुनाले यसको प्रयोगमा भाषा तथा शैलीमा पूर्ण अधिकार प्राप्त गरेको लेखकको मात्र अपेक्षा रहन्छ । नेपालीमा ‘उक्ति वैचित्र्य’ शब्दल ‘विट’ लाई चिनाउने गरेको कुरालाई यहाँ सम्झनु आवश्यक छ ।
हास्य (Humour) र वाक्–वैदग्ध्य (Wit) दुवैमा अन्योन्याश्रित सम्बन्ध रहे तापनि यिनमा सूक्ष्म अन्तर पाइन्छ । यी दुवैको मूलआधार असम्बद्धता हो तापनि पदार्थहरूका बीचको असम्बद्धता विटको विषय हो भने मानवीय स्वभाव र परिस्थिति सम्बन्धी असम्बद्धता हास्यको विषय हो ।
लेहन्टले विट र ह्युमरलाई कहिलेकाहीँ फरक–फरक देखिए पनि यिनीहरूको संयुक्ततामा नै हास्यको उत्तम प्रभाव सिर्जना हुन सक्ने बताएका छन् ।१५ (डा बरसानेलाल चतुर्वेदी, पूर्ववत् पृ. ४४) ह्याजलिटको विवेचना विट र ह्युमरका बीचको अन्तरलाई केलाउन यी दुवैको विषय हास्यकारक नै भए तापनि ह्युमरमा हास्यकारक विषयको वर्णन स्वभावोक्तिद्वारा गरिन्छ र विटमा केही विलक्षण उक्ति (वक्रोक्ति)द्वारा गरिन्छ, जसमा उपमा, विरोधदर्शन आदिको प्रयोग आवश्यक हुन्छ । ह्युमरमा पाइने चमत्कार स्वाभाविक हुन्छ भने विटको निम्ति सुसंस्कृत कल्पना शक्ति र कला ज्ञानद्वारा निर्मित विलक्षणता आवश्यक हुन्छ ।१६ (पूर्ववत् पृ ४४–४५) यसरी विटमा बुद्धितत्वको उपयोग हुनाका साथै पदार्थहरूको त्यस्तो सम्बन्धको खोजी गरिएको हुन्छ, जो अनपेक्षित, अद्भूत र चमत्कारजनक होस् ।
पाश्चात्य साहित्यका चसर, पोप प्रभृति साहित्यकारहरूले ‘विट’ को सफल प्रयोग गरेका छन् ।
३) व्यङ्ग्य (Satire)
व्यङ्ग्यको विकासको आफ्नै इतिहास छ तापनि यसको जन्म दृश्यकाव्यबाट भएको हो । व्यङ्ग्यलाई अङ्ग्रेजीमा ‘सटायर’ भनिन्छ । प्रारम्भमा ‘सटायर’ लाई ठट्टा, हाँसो, दिल्लगी, बेढङ्गी नक्कल आदिको अर्थमा प्रयोग गरिन्थ्यो । तर पछि विस्तारै ‘सटायर’ को अर्थ विस्तार हुँदै आएको छ । वर्तमान समयमा ‘व्यङ्ग्य’लाई त्यस्तो साहित्यक कला मानिन्छ जहाँ कुनै पनि विषयवस्तुलाई उपहास्य तुल्याएर प्रस्तुत गरिएको हुन्छ र त्यसप्रति मनोविनोदद्वारा तिरस्कार, क्रोध वा घृणा उत्पन्न गर्ने उद्देश्य राखिन्छ ।१७ (एम्.एच् अब्राम्स, पूर्ववत्, पृ. १५३) कुनै विषयप्रति हाँसो उडाउनु वा उपहास गर्नु यसको मुख्य उद्देश्य हो र त्यसका निम्ति यसले हास्य (Laughter)लाई उपयुक्त माध्यमको रूपमा अँगालेको हुन्छ । त्यसैले व्यङ्ग्यको विषय स्वयम् आफू (आत्मव्यङ्ग्यमा), कुनै व्यक्ति वर्ग, संस्था, समाज, राष्ट्र वा सम्पूर्ण मानवजाति (The whole race of man) नै पनि हुन सक्छ । व्यङ्ग्यद्वारा यी विभिन्न विषयवस्तुका मूर्खता, कमजोरी, दोष, दुर्बलता, त्रुटि, असङ्गति, विसङ्गति आदिप्रति उपहास गर्दै तीब्र घृणा वा विरोध गरिएको हुन्छ । त्यसैले व्यङ्ग्यलाई विरोध वा घृणा प्रदर्शित गर्ने एक धारिलो हतियार मानिन्छ । ग्रेगले के भनेका छन् भने व्यङ्ग्य पारस्परिक कलहमा प्रयोग गरिने त्यस्तो अस्त्र हो जो घृणाद्वारा प्रभावित हुन्छ ।१८ (जे. वाई. टी. ग्रेग, साइकोलोजी अफ लाफ्टर एण्ड कमेडी, पृ. १७४) वास्तवमा व्यङ्ग्य सोद्देश्य हुन्छ । लेखकले व्यङ्ग्यद्वारा सदैव हँसाउँदै दण्ड दिने (To punish with laughter) उद्देश्य पनि राखेको हुन्छ । यस प्रसङ्गमा मेरिडिथको भनाइ के रहेको छ भने यदि तपाईंले हास्यास्पदको त्यति ज्यादा हाँसो उडाउनु भयो र उसप्रति तपाईंको दयालु भाव समाप्त भयो भने त्यो तपाईंको हास्यव्यङ्ग्यको श्रेणीमा पर्दछ ।१९ (मेरिडिथ, आइडिया अफ कमेडी, पृ. ७९) व्यङ्ग्य सोद्देश्यमूलक भएर पनि दया र सहानुभूति रहीत हुन्छ ।
व्यङ्ग्यको प्रयोग खास उद्देश्यले प्रेरित भएर गरिने हुनाले व्यङ्ग्यको वास्तविक उद्देश्य दोषहरूको सुधार र परिष्कार गर्नु हो (The amendment of vices) । डिफोले ‘सुधार’ (Reformation)लाई नै व्यङ्ग्यको उद्देश्य मानेका छन् । व्यङ्ग्यकारको दायित्व के रहन्छ भन्नेबारेमा मेरिडिथको कथनलाई अघि सार्नुपर्ने हुन्छ । उनका अनुसार व्यङ्ग्यकार एक सामाजिक ठेकेदार हो जसले प्रायः समाजका विकृतिहरूको सफाय गर्नुका साथै फोहोरलाई मिल्काउने काम गर्दछ ।२० (पूर्ववत्, पृ. ८२)
उपर्युक्त विवेचनाबाट के स्पष्ट हुन्छ भने व्यङ्ग्यको विषय सामाजिक यथार्थ हो । वास्तवमा यथार्थलाई पक्रेर हास्य जब विशुद्ध आनन्द वा रञ्जनलाई छोडी प्रयोजननिष्ठ हुन पुग्दछ तब यो व्यङ्ग्यको रूपमा देखा पर्छ । वस्तुतः हास्य आलम्बनप्रति तिरस्कार, उपेक्षा वा भत्र्सनाको भावनाले प्रेरित भएपछि स्वतः व्यङ्ग्य बन्छ । ए. निकोलले के भनेका छन् भने व्यङ्ग्यमा नैतिकताको अभाव र दया, करूणा, उदारताको त्याग गरिएको हुन्छ अनि निर्दयतापूर्वक वा कठोरतापूर्वक मानिसका शारीरिक, चारित्रिक एवम् सामाजिक असम्बद्धताप्रति प्रहार गरिएको हुन्छ । व्यङ्ग्यको भाषामा काउकुती कम र तिक्तता वा कटुता ज्यादा रहन्छ ।२१ (ए. निकोल, एन इन्ट्रोडक्सन टु ड्रामेटिक थियरी, पृ. ५७) यसर्थ उनी अर्को ठाउँमा व्यङ्ग्यको बारेमा के भन्दछन् भने प्रहसनमा व्यङ्ग्यका माध्यमद्वारा हास्यको अवतरण गर्न सकिन्छ, तर व्यङ्ग्यजनित हास्य अत्यन्त अल्पकालीन आनन्द दिने हुन्छ ।२२ (ए. निकोल, द थियरी अफ ड्रामा, पृ. २१२)
यसरी व्यङ्ग्य विशेषतः सामाजिक कुरीतिहरू, रुढीवादी परम्पराहरू समाजका विविध क्षेत्रमा विद्यमान विसङ्गतिहरूलाई निन्दनीय र हास्यास्पद रूपमा प्रस्तुत गर्ने र समाजसुधारको आकाङ्क्षा अन्तर्निहित भएको एक विशिष्ट साहित्यिक अभिव्यक्तिको शैली हो । त्यसैले यसमा समाजको यथार्थ झल्कनाका साथै सुधारको चेतना अन्तर्भुक्त रहेको हुन्छ । स्विफ्टको व्यङ्ग्यसम्बन्धी परिभाषाले यसैतर्फ सङ्केत गर्दै के बताएको छ भने व्यङ्ग्य एउटा त्यस्तो ऐना हो, जसभित्र दर्शकले आफ्नो बाहेक सारा अनुहार हेर्न सक्छ र यही प्रमुख शक्तिले गर्दा यसमा सारा विश्वलाई देख्न सकिन्छ ।२३ (जे. ए. कडेन (सम्पा.) पूर्ववत् पृ. ५९८) अतः पोपका दृष्टिमा व्यङ्ग्यकारचाहिँ स्वयम् नियुक्त संरक्षक हो जसले सामाजिक मूल्य, आदर्श र सत्यलाई कलात्मक मूल्यमा सुरक्षित गरेर राख्दछ ।२४ (पूर्ववत्, पृ. ५९९)
व्यङ्ग्यको प्रयोग गद्य र पद्य दुवैमा गरिँदै आएको छ तापनि विशेष गरी यसलाई गद्यमै ज्यादा मौलाएको मानिन्छ । प्रयोगका दृष्टिले व्यङ्ग्यलाई दुई प्रकारमा बाँडिन्छ । १. प्रत्यक्ष व्यङ्ग्य (Direct Satire) र २) अप्रत्यक्ष व्यङ्ग्य (Indirect satire) । प्रत्यक्ष व्यङ्ग्यमा व्यङ्ग्योक्तिपूर्ण भनाइहरू प्रथमपुरुषमा प्रकट गरिन्छ भने अप्रत्यक्ष व्यङ्ग्यमा कथोपकथनका माध्यमबाट प्रस्तुत गरिन्छ ।
पाश्चात्य साहित्यमा अरिस्टोफेनस, लुसलियस, होरेस, चसर, ड्राइडन, पोप, जुभेनल, भोल्टेयर, दाँते, सर्वान्टिज, मोलियर, ब्वायल्बू, स्विफ्ट, जोन्सन, फिल्डिङ्ग, शेली, वाइरन, भिक्टर ह्युगोर, थ्याकरे, अनातोले फ्रान्स, हक्सले प्रभृति साहित्यकारले व्यङ्ग्यको प्रयोग गरेका छन् ।

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
शहीदको सम्मान

शहीदको सम्मान

डा. भरतकुमार भट्टराई
तीन ठाेकान

तीन ठाेकान

डा. भरतकुमार भट्टराई
व्यङ्ग्यको मूल : विसङ्गति

व्यङ्ग्यको मूल : विसङ्गति

डा. भरतकुमार भट्टराई
फोहोरको थुप्रो

फोहोरको थुप्रो

डा. भरतकुमार भट्टराई