एक्काइसौँ शताब्दीको
पहिलो दशकको मेरो युवक
आक्रोश, क्रोध, घृणाले रन्थनिएर हल्लिरहेछ
सम्पूर्ण उत्तरआधुनिक शिक्षा चाटेर
सडकको क्रुद्ध नागरिक बनेको मेरो युवा
खाते बालकझैं
दैलो–दैलोका क्रुर नेता र
पतीत राजनेताहरूसँग
रोजगारीको भीक्षाटनबाट हारेर
एकै फिलिङ्गोमा बल्ने भएको छ
चौबीस वर्षको भइसकेको
मेरो युवालाई
मतदाता नामावलीमा
नाम दर्ता गर्न मन छैन
निर्वाचन आयोगको आह्वानलाई ऊ
विद्रोह कैद गर्ने सरकारी षड्यन्त्र मान्दैछ
आगामी मतपेटीलाई ऊ
थुक्ने योजनामा छ
वास्तवमा उसलाई अहिले
रोजगारीको परिणाम निस्कने
विश्वविद्यालयको प्रमाणपत्र राख्ने
ढ्वाङ चाहिएको छ
उसका आत्मयोजनाका
श्रमपूर्ण सारा कल्पनाहरू
विश्वविद्यालयको कालो गाउन भिरेर निस्केपछि
खङ्रङ्ग भएका छन्
अब ऊ आफ्नी प्रेमिकासँग पनि भेट गर्दैन
पार्कका फूलहरू छुँदैन
दिनको प्रचण्ड घाममा
उग्र तात्तिएर
ऊ गन्तव्य खोज्दैछ
तर कहीँ पनि छैन उसको गन्तव्य
उसले जता गए पनि हुन्छ
किनभने कतै पनि उसले प्राप्त गर्ने फल छैन
टुङ्गोबिनाका मार्गहरूमा ऊ
अमेरिका, जापान, बेलायत, जर्मन, कोरियाको भिसा कुरिरहेछ
कहीँ आकाशमा उड्न पाइयो भने
एउटा राम्रो ग्रह टिप्ने सपनामा छ ऊ ।

हाल : अमेरिका