आखिरमा म पनि पुच्छर किन्न बजारतिर दौडिन्छु र आफ्ना लागि एकथान पुच्छर किनेर ढुक्क बन्छु । नकिनेर के गर्नु, कुरै त्यस्तो छ । अहिले देशमा पुच्छर नहुने मानिस दुच्छर कहलाउने र हदैसम्मको हन्डर खानु पर्ने खण्ड आएको छ ।
कुरा के हो भने नगरनगरमा एउटा अनौठोको उर्दी भर्खरै जारी गरिएको छ । उर्दीमा अबदेखि घरबाट बाहिर निस्किँदा जोकोहीले आफ्ना जिउमा बाँदरको एकथान पुच्छर देखिने गरी टाँस्नै पर्ने बेहोरा रहेको छ । उपरमाथि थुपर भनेझैँ हरेकलाई आफ्ना पुच्छरको टुप्पामा भएभरका परिचयपत्रका झुप्पा झुण्ड्याउन समेत हेक्का गराइएको छ ।
उर्दी कडा मात्र होइन ज्यादै कडा छ । उर्दीको अटेर गर्नेलाई फेला पार्नासाथ चौखु¥याउने र नेलसहित जेल हाल्ने सजायँ तोकिएका छ । पुच्छर नटाँसी बुच्चो भएर बाहिर निस्कँदा पक्राउबलको कुनै छुच्चो प्राणी आफूलाई समाउन आइपुग्ने हो कि भनेर मैले बेलैमा पुच्छर खरीद गरेको हुँ ।
पुच्छर किनेर कोठामा फर्केदेखि मलाई त्यो लाम्चो र बाउँठो जिनिस एक पटक आफ्ना जिउमा टाँसेर हेर्न उपध्रै सकसक लागेको छ । सकसक लागेर उखुमै भएपछि मैले त कुन सड्का हो कुन सड्का पुच्छर त आफ्ना जिउमा टाँसी पो हालेछु । कस्तो अचम्म, जिउमा पुच्छर जडान गर्नासाथ मेरो मानसिक अडान मात्र होइन मेरा कोठाको सारा सरसामान पनि सिनित्तै फेरिन पुग्छ । जुत्ता र मोजाको नाक फुटाल्ने कुइगन्धले नित्य निवास गर्ने कोठामा सयौँ धूपबत्ती बल्छन् र मेरा नाकमा मीठो बास्ना भरिन थाल्छ । एफ् एम्को मधुर वाणीलाई आफ्नो फुच्चे रेडियोले ख्यारख्यार र घ्यारघ्यारमा रूपान्तरित गरेपछि मात्र सुन्न पाउने मेरा कानमा शङ्ख र घण्टको चोखो धुन बज्न थाल्छ । धेरै वर्षदेखि रङ्गरोगनको मुखै देख्न नपाएर धुस्रे र फुस्रे भएको कोठामा दलिन र भित्ताहरू एक्कासि तेजिलो भएर अचम्मसँग चम्किन थाल्छन् । मेरा चिम्सा पर्दै गएका जोर आँखाले कोठाको भित्तामा एउटा रहस्यमय विराट छायाँ सर्लक्क पलाएको देख्छन् ।
छायाँलाई देख्नासाथ मेरो अन्तरकुन्तरमा श्रद्धाभक्तिको झोलिलो पदार्थ मुहान फुटाएर रसाउँछ र गद्गद् भएर म भित्तामा स्थित छायाँका सम्मुख आफ्नो टाउको लत्रक्क निहुराउँछु । मेरा जम्ल्याहा हात श्रद्धाको बाक्लो लीसामा लिपिस्सै टाँसिएर एकवत् भावले जोडिन्छन् । म देब्रे घुँडा मारेर जन्मजात चाकरका मुद्रामा थपक्क बस्छु र नवजडित पुच्छरलाई सक्तो मास्तिर उचालेर टुप्पामा घुमक्र्याउँछु । म आफ्ना बोलीमा सखरका डल्लाहरू घोलेर मीठो आवाज पोख्छु, “ओहो, प्रभु यहाँ ?”
“हो वत्स, म यहाँ !” छायाँको टुन्याउने बोलीले मेरो मनमथिङ्गलमा झ्वाम्मै मुहुनी लगाउँछ ।
“म धन्य भएँ, प्रभु !” भावातिरेकमा कामेका मेरा ओठबाट लट्ठ परेको स्वर निस्किन्छ ।
“तिमी अझै धन्य हुनपाउनेछौ, वत्स !’ ”छायाँले मतिर फालेका रसभरीजस्ता शब्दहरूले मलाई गुलियोप्रेमी झिंगाझैँ लोभ्याउँछन् ।
“कसरी, प्रभो !” म रसभरीको चासनीमा चिप्लेर लडेझैँ गरी मुख मिठ्याउँदै प्रश्न गर्छु ।
“ल वत्स, यो समाऊ !” भन्दै भित्तामा स्थिति छायाँको एउटा हात तन्किँदै मेरा छेउ आउँछ र एक पाना कागत थमाएर साँघुरिँदै साबिक ठाउँमा फिर्ता जान्छ ।
“यो के हो, प्रभु !” खैनी माड्दा मिसाउने चुनभन्दा सेतो कागतको त्यस पानालाई ओल्ट्याङपल्ट्याङ पार्दै म मनको बिस्मात् अकस्मात् ह्वाल्ल ओकल्छु ।
“यो फारम हो, वत्स !” छायाँको ओठमा हलुका मुस्कान अलिअलि इतरिँदै खेल्न थाल्छ ।
“कस्तो फारम, प्रभु ?” सालनालमा बेरिएको बिचरो भ्रूणझैँ म अज्ञानताको पाठेघरबाट चिच्याउँछु ।
“त्यो वत्स, प्रजातन्त्रको प्रवर्धनका निम्ति प्रारम्भ गरिने मर्यादित निर्वाचनको प्रायोजनका लागि प्रयुक्त हुने फारम हो !” छायाँका मुखबाट निस्केको छर्राको पर्राले मेरो जिउभरि मकै भुट्छ ।
म चाहिँ निर्वाचन शब्द सुन्नासाथ जुलुसले उचालेको पुत्लाझैँ लल्याकलुलुक पर्छु । सर्वाङ्ग भएर म आच्छुआच्छु पर्छु । उखेलेर एकातिर हु¥र्याउँछु । त्यसो गर्नासाथ मेरो मुटुभित्र गानिएको तनाउ स्वाट्टै हराउँछ । साथै साबिक ढाँचाकाँचामा फर्केर कोठाले पनि उही तन्नम रूप धारणा गर्छ । धूपबत्तीको चन्दने मगमग मासिएर फेरि जुत्तामोजाको मन्द गन्धयुक्त झोक्का रुमलिन थाल्छ । शङ्खघण्टको सुरिलो ध्वनिका सट्टा फेरि उही फुच्चे रेडियोको कर्कश ध्वनिसर्कसले कानका पर्दामा सियो घोच्न थाल्छ । भित्तामा प्रकट भएको विराट् छायाँ मुलुकको शान्ति हराएझैँ एकदमै बेपत्ता हुन्छ र कोठामा उही धुस्रेफुस्रे रङ्गरोगन मात्र बाँकी रहन्छ । जे होस्, म त्यस छायाँको रहस्यमय कब्जाबाट मुक्त भएकोमा सारै सन्चो मान्छु र निर्धक्क भएर लामो सास फेर्छु ।
त्यसपछि एक छिन बित्छ, दुई छिन बित्छ र मलाई बिस्तारै फारमबारे अलि खुलस्त कुरो बुझ्ने खसखस लाग्छ । छायाँका मुखबाट निर्वाचन शब्द सुनेर म केही बेरपछि आत्तिनु पर्ने थियो, अलिछिटो आत्तिएछु । कुरो बुझ्न अति नै चौचौ लागेपछि म अघि मिल्काएको पुच्छर भुइँबाट टिप्छु र कत्ति नहडबडाई आफ्ना जिउमा गाँस्छु ।
पुच्छर गाँस्नासाथ फेरि उही धूपबत्तीको चन्दनवन हरर्र सल्किन्छ, फेरि उही शङ्खघण्टको सुरसप्तक घनन्न घन्किन्छ, भित्तामा फेर उही विराट् छायाँको सनसनीपूर्ण दाखिला हुन्छ र म फेरि देब्रे घुँडा मारी अनन्य सेवकको भङ्गिमा अँगालेर थुचुक्क बस्छु । विनीत भावले दुवै हात जोडेर म सुस्तसुस्त आफूभित्रका कुरा बाहिर काढ्छु, “मैले अघि लघुशङ्काले च्यापेर बीचमै कुरो टुटाउने घिङ्न्याइँ गरो, माफ पाऊँ प्रभु ! मैले माफ पाएँ भने प्रभु, मनमा पोको पारेर राखेको सानो बिन्ती बिसाउने थिएँ ।”
“तथास्तु वत्स, मैले तिमीलाई क्षमा गरो । मसँग तिमी कत्ति पनि धक मान्नुपर्दैन, जे भन्नु छ निर्धक्क भएर भन ।” छायाँको उदार वचन सुनेर मेरो अत्ति ने ढुकढुकाएको मुटुको चाल अलिकति भए पनि मत्थर हुन्छ ।
प्रभु, हजुरले अघि मलाई एउटा फारम दिनुभएको थियो । त्यो कस्तो फारम थियो, प्रभु ?” अझै धकमा लकपक गर्दा आफ्नो बक म बल्लतल्ल फुटाउँछु ।
“वत्स, त्यो त निर्वाचनमा उठ्ने प्रत्यासीले नामाङ्कनका लागि भर्नु पर्ने फारम थियो, तर अहिले नगरनरमा त्यसको पूरै वितरण भइसकेको छ । सुन वत्स, मैले तिमीलाई योग्य मान्छे ठानेर एउटा नगरको प्रत्यासी बनाउन त्यो फारम दिएको थिएँ, तर अब त्यसको आवश्यकता रहेन । मैले तिम्रो ठाउँमा तिमै्र छिमेकीलाई प्रत्यासी बनाएँ ।” छायाँका मुखबाट सुत्तसुत्त निक्लेका सबै शब्दकनसुत्लाहरू मेरा कानमा पसेर बेसरी चलमलाउँछन् ।
“मैले अघि नै निवेदन गरिहालो नि प्रभु, मलाई त्यो जाबो लघुशङ्काले ठूलो अलमलमा पा¥यो भनेर !” आफ्नोे दीन र मलिन खाप्चो माथि उचालेर म मनको व्यथा सुसाउँछु ।
“लघुशङ्का होइन दीर्घशङ्का भन, वत्स ! तिमी अहिले वहिष्कारको बाटातिर लागेजस्तो छ नि !” छायाँको स्वर अलिक व्यङ्ग्यतिर ढल्किँदै जान्छ ।
“प्रभुका नजरबाट के नै लुकेको छ र ?” निराशाले बोझिलो तुल्याएको स्वर निकालेर म बाटिएको डोरीझैँ भित्रभित्रै बटारिन्छु ।
“निराश नहोऊ वत्स, तिम्रा लागि यो पेटिका जोगाएर राखेको छु !” काटेको घाउमा मलम लगाउने जस्ता सित्तलसित्तल शब्दहरू सुनेर म केही आश्वस्त हुन्छु ।
“सुन र चाँदीले मोरिएको यो कस्तो पेटिका हो, प्रभु !” पेटिका समाएर त्यसको कलात्मकतामा मुग्ध हुँदै म सोधनी गर्छु ।
“यो नवीनतम मतपेटिका हो, वत्स ! यसलाई लिएर दैलादैलामा जाऊ र प्रजातन्त्रको भजन कीर्तन सुनाएर जनतासँग मतको बिटो मागेर ल्याऊ । सुन वत्स, मैले त्यस्ता मतका अधिकतम बिटाहरू बटुल्ने सङ्कल्प गरेको छु ।” भन्दाभन्दै छायाँको अनुहार कठोर र स्वर कडा हुनथाल्छ ।
त्यो सुन्नासाथ म फेरि अचाक्लीसँग आत्तिन्छु । यस पटक पुच्छर उक्याउनतिर नलागी म दोब्र्याएको देब्रे घुँडो सोझ्याएर जुरुक्क उभिन्छु । भक्तिभावले जोडिएका दुवै हात फट्याएर मुठी बटार्दै हावामा उचाल्छु । माथि उचालिएको पुच्छर लुलो पार्दै वेगसाथ भुइँमा बजार्छु र स्वरलाई भयानक पारेर चिच्याउँछु, “बल्ल मैले बुझो, बाँदरको पुच्छर टाँस्न जारी गरिएको उर्दीको अर्थ ! याद रहोस्, जसरी पहेंला जति सबै सुन हुँदैनन्, त्यसैगरी पुच्छर टाँस्ने जति सबै हनुमान् हुँदैनन् ।”
यति भनेर आक्रोशको हुरीबतासमा बग्दै म आफ्ना जिउमा टाँसेको पुच्छर लुछेर मिल्काउँछु र उर्दीको बेवास्ता गरेर पुच्छरबिनै बाहिर निस्कन्छु ।
रुद्रतारा निवास, ट्याङ्ला, कीर्तिपुर
काठमाडौँ ।
(फित्कौली अङ्क ६ बाट)