१. पृष्ठभूमि

मध्यमाञ्चल विकास क्षेत्रअन्तर्गत नारायणी अञ्चलमा पर्ने मकवानपुर जिल्लाको हेटौँडामा वि.सं. २००९ चैत्र ११ गते जन्मेका रामचन्द्र रिजाल नै अहिलेका साहित्यकार आर.सी. रिजाल हुन् । पेशाका रूपमा सरकारी नोकरी वा सेवा अँगालेका रिजाल हृदयदेखि नै नेपाली भाषा साहित्यको निःस्वार्थ सेवामा जुटेका साहित्यसेवी हुन् । नेपाली साहित्यको विकास र नेपालका साहित्यकारहरूको सम्मानमा हुरूक्कै भएर दिनरात लाग्ने, साहित्यिक सृजनाको महत्तालाई प्रतिकूल परिस्थ्तििमा पनि बचाइराख्न कम्मर कस्ने, आफ्नोे जिल्लामा निरन्तर रूपमा साहित्यिक कार्यक्रमहरू आयोजना गरिरहने, साहित्यका लागि आप्mनो तन–मन–धन अर्पण गर्र्न पछि नहट्ने एक समर्पित र प्रतिबद्ध मकवानपुरे साहित्यकारका रूपमा चर्चित व्यक्ति हुन् आर.सी. रिजाल । उनले नेपाली साहित्यको विकासमा विभिन्न ढङ्गले योगदान गरेका छन् । प्रथमतः उनी एक सिर्जनशील व्यक्तित्व हुन् । नेपाली साहित्यमा कविता, कथा, उपन्यास र निबन्ध लेखेर उनले सिर्जनात्मक योगदान गरेका छन् । ‘अक्षर’, ‘सौरभ’, ‘दिपशिखा’, ‘फित्कौली’ आदि साहित्यिक पत्रिकाहरूको सम्पादन प्रकाशन, प्रचार–प्रसारको संयोजन जस्ता कार्यहरू गरेर पनि नेपाली साहित्यको अभिवृद्धिमा टेवा पु¥याएका छन् । विभिन्न साहित्यिक संस्थाहरूमा संलग्न भएर पनि उनले साहित्य विकासका कार्यमा भूमिका खेलेका छन् । उनी अहिले ‘साहित्य सङ्गम’ मकवानपुरका अध्यक्ष, ‘सिस्नुपानी नेपाल” मकवानपुरका अध्यक्ष, ‘पुष्पलाल स्मृति पुस्तकालय” मकवानपुरका अध्यक्ष भई कार्य गरिरहेका छन् । उनले विशिष्ट साहित्यकारहरूका प्रतिमा स्थापना गर्ने कार्य हेटौँडामा गरेर साहित्य र साहित्यकारप्रति समाजको सम्मान बढाउने अनि साहित्य सृजना गर्नमा नेपालीहरूको मनमा उत्प्रेरणा जगाउने चेतनामूलक वा जागरणमूलक कार्य गरेका छन् । यस्तो पवित्र एवम् प्रशंसनीय कार्यमा जुटेर उनले महाकवि लक्ष्मीप्रसाद देवकोटा, नेपाली आख्यान साहित्यकी शिखर प्रतिभा पारिजातको प्रतिमा स्थापित गराइसकेका छन् भने नेपाली साहित्यका ‘हाँस्यसम्राट” वा ‘व्यङ्ग्यसम्राट’ छन् । साहित्यकार रिजाल उदार हृदयका त्यागी चरित्र हुन् । उनले आफ्नो जग्गा साहित्यिक भवन निर्माणका लागि दान गरेर आफूलाई ‘दानवीर साहित्यसेवी’ सावित गरिदिएका छन् । यसरी सिर्जना र कर्मले राष्ट्रको र सामाजको सेवामा जुटेका आर.सी. रिजाल पत्याई नसकिने उदाहरणीय साहित्यिक व्यक्तित्व बन्न पुगेका छन् । अवसरवादीहरूका भीडमा उनी एक आदर्श पुरुष बनेका छन् ।

‘अक्षर’ साहित्यिक चौमासिक पत्रिकाका सम्पादक र प्रकाशक रहेका आर.सी. रिजालको साहित्यिक यात्रा २०३० सालदेखि शुरु भएको जानकारी पाइन्छ । यही साल उनको पहिलो व्यङ्ग्य निबन्ध ‘कवि बन्ने धुनमा’ प्रकाशित भएको थियो । यसबाट रिजाल हास्यव्यङ्ग्य साहित्यतर्फ प्रारम्भिक अवस्थादेखि नै अभिरुचि लिएर सिर्जनाकर्ममा अग्रसर भएका थिए भन्ने स्पष्ट हुन्छ । उनले विभिन्न समयमा हास्यव्यङ्ग्यात्मक कविता सुनाएर प्रथम तथा द्वितीय पुरस्कार प्राप्त गरेका थिए । रिजालको पहिलो प्रकाशित पुस्तक चाहिँ ‘खरानी भित्रको आगो’ (२०३६) उपन्यास हो । उनको लेखनयात्रामा व्यङ्ग्यात्मक कथा सिर्जनामा लागेको पनि पाइन्छ । उनका फुटकर कविता, कथा र निबन्धहरू विभिन्न पत्रपत्रिकामा छरिएर रहेका छन् । उनका दुई वटा निबन्धसङ्ग्रहहरू प्रकाशित भइसकेका छन्– ‘कुकुरको पुच्छर’ (२०५५) र ‘कण्ठ लँगौटी’ (२०५७) । यी दुवै सङ्ग्रहहरू हास्यव्यङ्ग्यात्मक निबन्धहरू र केही कथाहरूले भरिएका छन् । रिजालको एउटा हास्यव्यङ्ग्य सङ्ग्रह ‘कवि बन्ने लहडमा’ शीर्षकमा प्रकाशोन्मुख रहेको छ ।

सरल एवम् मिलनसार व्यक्तित्वका रिजालले हास्यव्यङ्ग्य साहित्यको विकासमा निरन्तर कलम चलाएका र संस्थागत आधारमा हास्यव्यङ्ग्यको सिर्जना, विस्तार र संरक्षण संवर्धनमा निःस्वार्थ रूपले लागिरहेर कार्य गरिरहेका हुनाले उक्त कार्यको उच्च मूल्याङ्कन गर्दै उनलाई ‘भैरव प्रतिभा पुरस्कार’ (२०५७) द्वारा सम्मानित गरिएको छ ।

यस लेखमा आर.सी. रिजालका उपन्यास, कविता, कथा आदिको चर्चा नगरी उनका दुई प्रकाशित हास्यव्यङ्ग्य निबन्ध (कथा पनि) सङ्ग्रहको चर्चा गरिन्छ ।
२. रिजालका हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह छन्– ‘कुकुरको पुच्छर’ (२०५५) र ‘कण्ठ लँगौटी’ (२०५७) । ‘कुकुरको पुच्छर’ सङ्ग्रहभित्र १५ ओटा रचनाहरू छन् । ती हुन् ‘तँलाईं गोरु’, ‘नैतिकताको ग्रन्थिमा कयान्सर’, ‘धत्तेरिका’, ‘राम्रो म’, ‘भ्रष्टेश्वर महादेव’, ‘खुट्टा तान्नु’, ‘कुकुरको महिमा’, ‘आधुनिकता र मान्छेको मोडल’, ‘प्रजातन्त्र’, ‘कान्छा कान्छी’, ‘भीमसेनका बोका र कस्तुरी मृग’, ‘राजधानीको चलन’, ‘वैतरणी’, ‘माया’, ‘फराँस कान्छा’ ।

‘कण्ठ लँगौटी’ सङ्ग्रह भित्र १२ ओटा रचनाहरू सङ्कलित छन् । ती हुन् ‘गुरुबा गुरुआमा’, ‘तेरो बाबुको पिण्ड लडाइस् हैन ?’, ‘कुकुर त म नेपालकै हुँ’, ‘ज्यू’, ‘चपेटाप्रसादको व्यथा’, ‘कण्ठ लागौँटी’, ‘नकच्चरा’, ‘हामी नै हाँै त बुद्धिजीवी ?’ ‘अच्छा लेकिन’, ‘नेपालका मजदुर एक हौँ’, ‘राष्ट्रिय धमिरा’, ‘लिङ्ग जडान कार्यक्रम’ ।
माथिका दुवै निबन्ध सङ्ग्रहभित्रका निबन्धहरूलाई विषयका दृष्टिले विभाजित गर्दा जम्मा ६ किसिमका देखिन्छन् : १) सांस्कृतिक, २) सामाजिक, ३) राजनीतिक, ४) प्रशासनिक, ५) शैक्षिक र ६) साहित्यिक । ‘कुकुरको पुच्छर’ भित्रका निबन्धहरू सांस्कृतिक, राजनीतिक र सामाजिक क्षेत्रमा व्याप्त विकारलाई उछिन्न केन्द्रित छन् भने ‘कण्ठ लँगौटी’ले अझ विषयगत विविधता अँगाल्दै प्रशासनिक, शैक्षिक र साहित्यिक गरी थप तीन अन्य विषयलाई व्यङ्ग्यको निसाना बनाएका छन् । यिनै छ प्रकारका विषयक्षेत्रलाई आधार लिएर यहाँ रिजालका व्यङ्ग्यात्मक निबन्धहरूको सङ्क्षिप्त विश्लेषण गरिन्छ ।

२.१) संस्कृतिमा आधारित व्यङ्ग्य
नेपाली समाजका विविध क्षेत्रमा विकृति बढेको छ । संस्कृतिमा नेपाली समाज सबभन्दा बढी चिप्लेको छ । सांस्कृतिक मूल्य र आदर्शलाई मान्छेका स्वार्थ, छलकपट, व्यभिचार आदि कुभावना र कुकर्मले ध्वंस गरेका छन् । सांस्कृतिक आदर्श एकातिर छ तर मानिसको यथार्थ व्यवहार वा चरित्र अर्काेतिर फर्केको छ । यही आदर्श र यथार्थबीचको बिब्लायाँटो सम्बन्धले व्यङ्ग्य जन्माउँछ । सशक्त व्यङ्ग्यकारले त्यस्ता बिब्ल्याँटाहरूलाई हास्यको समेत समावेश गरेर तीखो व्यङ्ग्य प्रहार गरेको हुन्छ ।

आर.सी. रिजालका हास्यव्यङ्ग्यात्मक निबन्धहरूमा सबभन्दा बढी संस्कृतिमा आधारित देखिन्छन् । उनका दुवै सङ्ग्रहका निबन्धहरूमा संस्कृति विषयक यी हुन्– ‘तँलाई गोरु’, ‘राम्रो म’, ‘खुट्टा तान्नु’, ‘कुकुरको महिमा’, ‘आधुनिकता र मान्छेको मोडल’, ‘कान्छा कान्छी’, ‘भीमसेनका बोका र कस्तुरी मृग’, ‘राजधानीको चलन’, ‘वैतरणी’, ‘माया’, ‘तेरो बाबुको पिण्ड लडाइस् हैन ?’ र ‘लिङ्ग जडान कार्यक्रम’ । उक्त १२ ओटा सांस्कृतिक सन्दर्भका निबन्धहरूले नेपालीहरूको विकृत संस्कृतिको पर्दाफास गरेका छन् ।

‘तँलाई गोरु’ निबन्धले हाम्रो समाजमा श्रम गर्नेलाई हेप्ने, सताउने, घृणा गर्ने जस्ता कुसंस्कार विद्यमान रहेको देखाई त्यस्तो कुरीतिको व्यङ्ग्यात्मक विरोध गरेको छ । श्रमजीवीको प्रतीक गोरी छ र त्यसलाई सबैले गालीको आधार बनाउने विकृत परम्परा छ । ‘राम्रो म’ निबन्ध स्वार्थी र पाखण्डीको मपाइँत्वको मोहरो काढ्नमा सफल छ । व्यक्ति स्वार्थ र अहम्मा डुबेको मान्छेको कमजोरीमाथि यसमा व्यङ्ग्य छ । नेपाली समाजमा हुर्केको तुच्छ संस्कार हो ‘खुट्टा तान्नु’ र यसलाई उक्त निबन्धमा व्यङ्ग्यको निसाना बनाइएको छ ।

‘कुकुरको महिमा’ ले प्रतीकात्मक रूपमा कुकुरको इमानदारी प्रस्तुत गर्दै राष्ट्रघातीलाई कुकुरको संज्ञा दिएर कुकुरको बेइज्जत नगर्न अनुरोध गरेर राष्ट्रका शत्रुमाथि कठोर व्यङ्ग्य बजारेको छ । व्यङ्ग्यकार रिजाल साधारण जस्ता लाग्ने विषय र प्रसङ्ग उठाएर गम्भीर बुँदामा पुगी व्यङ्ग्यका घनले राष्ट्र र सामाजका दुष्टहरूको मर्ममै प्रहार गर्न सिपालु छन् । ‘आधुनिकता र मान्छेको मोडल’ मा बूढाबूढीलाई हेला गर्ने वर्तमान पुस्ता, बित्ते लुगा, लट्टे कपाल, मुन्द्रे कान हुने अङ्ग्रेजी संस्कृतिका दास बनेका युवायुवती र किशोरकिशोरीको आधुनिक फेसनले कुच्चिएको बानी बेहोरा र चरित्रको धज्जी उडाइएको छ । पश्चिमा संस्कृतिले गाँजेको शहरी जनजीवनको वाकवाकीलाग्दो चित्र यसमा प्रस्तुत छ । ‘कान्छा कान्छी’मा जेठो र कान्छोको सीमा लगाएर गरिने क्षुद्र सोचाइ र व्यवहारको संस्कृतिमाथि चाबुक हानिएको छ । ठूलो राष्ट्रको ठानेर भारतीयले सानो देश नेपालका नागरिकलाई कान्छा कान्छी भनी दब्काउने, चाकरीबाज छट्टूहरूले छोटै उमेरमा पद ओगटेर आफूभन्दा योग्य, अनुभवी र पाकाहरूलाई सिन्का जति नगन्ने, जेठा कान्छाको झगडाले कति दुःख गरी हुर्काएका सङ्घ–संस्था ध्वस्त पार्ने प्रवृत्तिमाथि यहाँ व्यङ्ग्य गरिएको छ । हाम्रो समाजमा प्रचलित सामन्ती संस्कार, चाकरीवृत्ति, शक्तिको मदान्धता र ठूलो राष्ट्रले साना राष्ट्रमाथि देखाउने हैकमवादी प्रवृत्तिमाथि व्यङ्ग्य गर्नु यस निबन्धको मूल स्वर हो । प्रतिकात्मक पद–पदावलीद्वारा व्यङ्ग्यार्थमा तात्पर्य स्पष्ट पार्ने कला यसमा छ ।

‘भीमसेनका बोका र कस्तुरी मृग’ पनि प्रतीकात्मक व्यङ्ग्य हो । भीमसेनका बोकामा समाजका भ्रष्टाचार, दुराचार, पापाचार जस्ता दुर्गन्ध बढाउने ओहदावाल छाडा मानिसहरूको जमातको आरोप गरिएको छ भने कस्तूरी मृगमा इमानदार, कर्तव्यनिष्ठ, विवेकी, सदाचारी र सङ्घर्षमय जीवन बिताउने निरीह जनताको वर्गको आरोप गरिएको छ । वास्तवमा यो वर्ग द्वन्द्वमा आधारित समाजको कलात्मक चित्र हो र उच्च वर्गले निम्न वर्गमाथि जथाभावी शोषण गर्ने सामाजिक कुसंस्कारको कलात्मक उद्घाटन हो । त्यसैले निबन्धकार व्यङ्ग्य गर्दै बोका वर्गको पोल खोल्छन् ‘गौ प्राणी निरीह जनता कर जोरी बिन्ती गर्छन् । बोकाहरू गर्धन फुलाउँछन् र निरीहहरूलाई नैतिकताको पाठ पढाउँदै हिँड्छन् ।” निबन्धकार रिजाल ‘राजधानीको चलन’ मा काठमाडौँबाट फिँजिएको विवाहको भड्किलो, प्रतिस्पर्धी र फजुलखर्ची उच्चवर्गीय संस्कृतिको भयावह प्रभावहलाई समाजमा फैलिन नदिन हास्य व्यङ्ग्यात्मक अभिव्यक्ति दिन्छन् । ‘वैतरणी’ मृत्यु संस्कारमा गरिने गौदानले निम्त्याएको अन्धविश्वास र पुरेतको स्वार्थी चालमाथि सशक्त ढङ्गमा गरिएको हास्य र व्यङ्ग्य भेटिन्छ । यो हास्यव्यङ्ग्य कथा हो । ‘माया’ निबन्धले आजभोलि माया जस्तो पवित्र भावनात्मक पक्षमा पनि पश्चिमी हावा संस्कृतिले प्रभाव पारेर हुर्कन पुगेको विकृतिको धज्जी उडाइएको छ । ‘तेरो बाबुको पिण्ड लडाइस् हैन ?’ निबन्धले संस्कारका नाममा बढ्ने थरीथरीका विकृतिको पर्दा चयातिदिएको छ र कुकर्मभन्दा सुकर्मतर्फ लाग्न प्रेरित गरेको छ । ‘लिङ्ग जडान कार्यक्रम’ निबन्धले समाजमा गधा भै मिहिनेतसाथ काम गर्ने वर्गलाई ठूलाठालू वा शोषकवर्गले गर्ने थिचोमिचोको समन्ती संस्कारमाथि स्वैरकल्पनाको समेत उपयोग गरेर गमभीर व्यङ्ग्य गरेको छ ।

२.२) राजनीतिमा आधारित व्यङ्ग्य
व्यङ्ग्यकार रिजाल राजनीतिलाई व्यङ्ग्यको घुएँत्रो हान्ने आधार बनाउँछन् । दुई व्यङ्ग्य सङ्ग्रहहरूमा रहेका रचनाहरूमध्ये राजनीतिक विषयमाथि प्रस्तुत व्यङ्ग्य रचनाहरू निम्नलिखित छन् । ‘नैतिकताको ग्रन्थिमा क्यान्सर’, ‘धत्तेरिका’, ‘प्रजातन्त्र’, ‘कुकुर त म नेपालकै हुँ’, ‘चपेटाप्रसादको व्यथा’, ‘नकच्चरा’, ‘नेपालका मजदुर एक हौं’ ।

‘नैतिकताको ग्रन्थि क्यान्सर’ बहुदलीय प्रजातन्त्रमा भ्रष्ट र अनैतिक बन्दै नैतिक रूपले पतीत नेताहरूलाई व्यङ्ग्यबाण हान्न लेखिएको निबन्ध हो । यसमा व्याजस्तुतिका माध्यमले प्रेतात्मा जस्ता भई दशघाती र मानवताहीन भई नकच्चरो राजनीतिक व्यवहार गर्ने नेताहरूको दुष्टताप्रति सिस्नुपानी प्रयोग गरिएको छ । ‘धत्तेरिका’ काङ्ग्रेस र कम्युनिष्ट दलमा विभाजित मानसिकताका दुई दाजुभाइ तथा तिनका समर्थकहरूबीच चर्केको बदलाको भावनाले मानवता र मानवअधिकार तथा प्रजातन्त्रको मर्ममािथ गम्भीर प्रहार गरेको यथार्थलाई सजीव रूपमा प्रस्तुत गर्दै त्यस्ता दुष्प्रवृत्तिमाथि गरिएको व्यङ्ग्यले भरिएको कथा हो । राजनीतिक प्रतिशोधका ज्वालामा पिल्सिएको मानव समाजको ज्वलन्त चित्र हो यो कथा । प्रजातन्त्र निबन्धले सर्वसाधारणका आँखामा प्रजातन्त्र के कस्तो देखिन्छ भनी हास्यात्मक र व्यङ्ग्यात्मक वर्णन गरेको छ । मर्म नबुझे प्रजातन्त्र टाठाबाठाहरूको स्वार्थ पूर्तिको माध्यम बन्ने कुरा यसमा व्यक्त छ । ‘कुकुर त म नेपालकै हुँ ?’ निबन्ध स्वैरकल्पनाको प्रयोग गर्दै प्रस्तुत गरिएको राजनीतिमा आधारित व्यङ्ग्य हो र यो प्रतीकात्मक बनेको छ । ‘चपेटाप्रसादको व्यथा’मा राजनीतिक चपेटामा परेका नेपाली जनताको प्रजातन्त्र पुर्नवहालीपछिको अवस्थालाई हास्यात्मक र व्यङ्ग्यात्मक रूपमा प्रकट गरिएको छ । बहुदल विरोधीहरूको उत्पन्नतिर बहुदलवादीहरूको अवनतिको मार्मिक समसामयिक यथार्थको विसङ्गत चित्रण यसमा छ । ‘नकच्चरा’ले राजनीतिक वृत्तका नकच्चराहरूको स्वार्थी, अवसरवादी र धनलोलुप, पदलोलुप प्रवृत्तिमाथि व्यङ्ग्य गर्छ । ‘नेपालका मजदुर एक हौँ’ निबन्धमा मजदुरका नाममा टाठाबाठा मन्त्रीमहोदयहरू र ठूलाबडाहरूले नै तर मार्ने गरेको यथार्थ प्रस्तुत गर्दै त्यस्तो बेथितिको विरोधमा उत्रने सन्देश दिइएको छ । यसरी बहुदलीय राजनीतिक परिवेशभित्र फिँजिएका बेथिति र दुर्गन्धको व्यङ्ग्यात्मक चिरफार यस वर्गका निबन्ध तथा कथामा गरिएको पाइन्छ ।

२.३ समाजमा आधारित व्यङ्ग्य
समाज सचेत साहित्यकार समाजका अनेक पक्षमा विद्यमान यथार्थलाई सूक्ष्म रूपले अवलोकन गर्छ । व्यङ्ग्यकार रिजाल पनि समाजसचेत भएकाले समाजको दुर्गन्ध र विकारलाई खोतल्छन् । यस क्रममा उनका समाजमा आधारित व्यङ्ग्यहरू दुवै निबन्धसङ्ग्रहमा परेका छन् । ती हुन् ‘भ्रष्टेश्वर महादेव’, ‘फराँस कान्छा’, ‘हामी नै हौँ त बुद्धिजीवी ?’ ‘अच्छा लेकिन’ र ‘राष्ट्रिय धमिरा’ ।

‘भ्रष्टेश्वर महादेव’ निबन्धले समाजमा बढ्दो भ्रष्टाचारको कालो प्रवृत्तिमाथि व्याजस्तुतिका माध्यमले प्रतीकात्मक प्रस्तुति गरेको छ । वर्तमान समाजको आर्थिक धरातल जर्जर बनाउने डरलाग्दो महामारी भ्रष्टाचार नै हो । महादेव झँै सबैको प्यारो बनेर यसले मानव समाजलाई तहसनहस पारेको छ । यस्तै सामाजिक कलङ्कको व्यङ्ग्यात्मक विरोध निबन्धमा भएको छ । ‘फराँस कान्छा’ कुलत र दुव्र्यसनका लप्कामा लपेटिँदै गएको मानवीय कमजोरीमाथि व्यङ्ग्य गर्ने मुटुतोड निबन्ध हो । ‘हामी नै हौँ त बुद्धिजीवी ?’ निबन्ध बुद्धिमा सर्वश्रेष्ठ ठानिएको मान्छे नै बुद्धिहीन भई दलगत स्वार्थमा लिप्त भई मूर्खतापूर्ण मार्गमा चल्न थालेकामा हास्यात्मक व्यङ्ग्य गर्दछ । ‘अच्छा लेकिन’ निबन्ध कामको खोजीमा विदेशमा गएका नेपालीको पारिवारिक जटिलता, टाढिँदाको वियोग व्यथा र परिवारलाई समाजका फटाहाहरूले खेलौना बनाएर रुनु न हाँस्नु परिस्थितिमा पु¥याएको यथार्थप्रति व्यङ्ग्यात्मक छेडपेच गर्ने रचना हो । विदेशको सेवामा लाग्न विवश नेपालीहरूको व्यक्तिगत पारिवारिक जिन्दगी बेहाल हुन्छ भन्ने मर्म खोल्नु यसको उद्देश्य हो । ‘राष्ट्रिय धमिरा’ निबन्धले राष्ट्रलाई धमिराले खाएझँै भित्रभित्रै नाश पार्ने भ्रष्ट तत्वहरूको ब्रम्ह्लुट गरेर मोजमस्ती गर्ने दुश्चरित्रको पोल उदाङ्गो पारिएको छ । यसरी सामाजिक–आर्थिक पक्षका कमजोरीहरू केलाउने कलात्मक व्यङ्ग्य यस वर्गका निबन्धहरूमा देखिन्छ ।

२.४) प्रशासनमा आधारित व्यङ्ग्य
रिजालको प्रशासनिक क्षेत्रसँग सम्बन्धित व्यङ्ग्यात्मक निबन्ध एउटा मात्र देखिन्छ– त्यो हो ‘कण्ठ लँगौटी’ । यसले प्रशासनतन्त्रमा हाकिमहरूले तल्लावर्गका कर्मचारीहरूमाथि कति निर्दयी व्यवहार र मानसिक यन्त्रणा प्रकट गर्छन् भन्ने कटु यथार्थ ओकलेको छ । प्रशासनभित्रको निरङ्कुशता एवम् स्वेच्छाचारिताको नग्न तस्बिर यहाँ प्रस्तुत छ ।

२.५) शिक्षामा आधारित व्यङ्ग्य
रिजालले शिक्षा क्षेत्रको बेथितिलाई चित्रित गर्ने प्रयास एउटा निबन्धमा गरेका छन्– त्यो हो ‘गुरुबा गुरुआमा’ । शिक्षण पेशामा कार्यरत बुद्धिजीवीहरू कति ठग, कामचोर र झूट व्यवहार गर्न चतु¥याइँ गर्छन् भन्ने हास्यात्मक एवम् व्यङ्ग्यात्मक प्रस्तुति यहाँ भएको छ ।

२.६) साहित्यमा आधारित व्यङ्ग्य
रिजालले साहित्य क्षेत्रमा व्याप्त विसङ्गतिलाई एउटा निबन्ध मार्फत् चिरफार गरेका छन्– त्यो निबन्ध हो ‘ज्यू’ । साहित्यमा राजधानीवादले कति सताएको छ र उपत्यका बाहिरका साहित्यकारहरू कति उपेक्षित हुनुपर्दछ भन्ने विसङ्गत् यथार्थको अभिव्यक्तिमा यो निबन्ध केन्द्रित छ ।

 

३. निष्कर्ष
मकवानपुरे साहित्यकार रिजाल आफ्ना दुई हास्यव्यङ्ग्यात्मक सङ्ग्रहहरूबाट एक स्थापित व्यङ्ग्यकारका रूपमा परिचित हुन पुग्छन् । छोटा आकारका पठनीय व्यङ्ग्यहरूबाट उनले नेपालका सास्कृतिक, राजनीतिक, सामाजिक आर्थिक, प्रशासनिक, शैक्षिक, साहित्यिक आदि क्षेत्रका विकृति विसङ्गतिलाई सरल, स्पष्ट, प्रतीकात्मक, बिम्बात्मक, उखान–टुक्कायुक्त, अर्थपूर्ण भाषामा शिष्ट–शालीन, कलात्मक अभिव्यक्ति दिनमा सफलता पाएका छन् । हास्य न्युन व्यङ्ग्य अधिक रहने उनका निबन्ध र कथाहरू गहिरो समाजचेतना र युगचेतना राखै समसामयिक जीवनजगत्को बेथिति केलाउन सक्षम छन् । नचाहिँदो गन्थनबाट मुक्त रहेको निर्भीक अभिव्यक्ति कला उनमा पाइन्छ । तत्सम, तद्भव र आगन्तुक शब्दको यथोचित प्रयोग गर्ने रिजाल स्वैरकल्पना, मिथक, पौराणिक, ऐतिहािसक प्राकृतिक सन्दर्भहरूबाट व्यङ्ग्यका सामग्रीहरूलाई बोधगम्य तुल्याई व्यक्त गर्छन् । त्यसैले उनका व्यङ्ग्यहरू बज्र–व्यङ्ग्य मानिएका हुन् र उनी समाजका यथार्थ पर्गेल्ने सूक्ष्म अन्वेषक ठानिएका हुन् ।

त्रिवि, कीर्तिपुर