सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ह्यापी व्रत !

Nepal Telecom ad

यो संसार त्यसै राम्रो भएको हो र ? यहाँ त अनेकथरी ढाँचाका जीवन बाँच्ने र बाँचेका भाँतीहरू छन् । एकातिर भुँडीले चारबित्ता जमिन ढाक्ने खन्चुवाहरूको ताँती, अर्कोतिर सारङ्गीको खोक्रोजस्तो बोक्रो भुँडी भएको खन्टट्टु भोकमरीहरूको ताँती, अझ अर्कैतिर खान पाएर पनि जानी जानी नखाने व्रतालुहरूको ताँती छन् । संसारका यी अनेकथरी बहुचताँती मानिसहरूमध्ये व्रतालुहरूलाई चाहिँ मैले मानो । मानो मात्र होइन तिनलाई त महान् नै मानो । यसका धेरै धेरै कारणहरू छन् । पख्नोस् म सारा गुह्य कुरा ओकल्छु । मलाई अनविश्वास नगर्नोस् कि म ठूला ठूला नेताजस्तो वास्तविकता भन्न साइत पर्खिरहने र अरूलाई पर्खाइरहने मान्छे होइन । मैले ती व्रतालुहरूलाई यसरी मानो कि तिनलाई जति मान्नुपर्ने अरू प्राणी आजसम्मन् देखेको भएपनि के कसम खाउँ ल ‘ढँटुवा नेता नै बनुँ’ सिद्धान्त कसम सै । तिनलाई वा महान् प्राणी व्रतालुलाई यसकारण मानो कि तिनका क्यावात काइदाहरूले मेरो मननै प्रशन्न गरायो । हुनसक्छ यी व्रतालुहरूको व्रत व्याख्या मबाट सम्भव नहोला । म जो खानपाए अव्रत र खान नपाए मात्र व्रत बस्छु, यस्ता व्रतमारा÷भातमारालाई कुनै महान्ताको व्याख्या गर्ने नैतिक आधार र नैतिक शक्ति नै कहाँबाट प्राप्त हुन्छ ? धृष्टता गर्न पनि विधि चाहिन्छ । धृष्टता गर्न पनि कुनै ‘पाउरदार’ कुर्सीमा बसेको हुनुपर्छ । ती सबै मबाट दुःखलाग्दोगरी टाढा भएका छन् ।

त्यसउसले व्रतमहात्म्यको महान् कन्थोको चोसोमोसो मिलाउने मेसो मेरो नक्कली अक्कलमा कताबाट फुर्नु र ? र, पनि म तम्सिन्छु कि महान् व्रतालुहरूले यो संसारलाई पु¥याएको महान् योगदानको व्याख्यामा मेरो फित्के जिब्रोले सकसक गरेरै छाड्यो । आखिर यो समय पनि त यस्तै छ नि जहाँ सके पनि र नसके पनि, भए पनि र नभए पनि जोसुकैले जेसुकै गर्न थालेका छन् । यो मेसोमा आफूले देखेको महान् व्रतव्याख्यामा किन पछि हट्ने ? संसारलाई खाँटी शब्दमा किटेर भन्नुपर्दा मनुवाजगत्लाई कता हो कता गुन लगाउन सफल व्रतालुहरूको व्याख्या गर्न पुरानो उखाने उक्तिलाई एक छिन् सापट लिएर भन्ने हो भने पनि हजार जिब्रावाल शेषनागले पनि नसक्ने कुरोमा मजस्तो जिब्रै नभएको वा जिब्रोबेचुवा ( यसो किन भनेको भने मलाई अमेरिकाले उसको व्यापारिक कम्पनीमा निर्माण भएको चक्लेट दियो भने त्यो अति स्वाद मानेर मेरो जिब्रोले तारिफ गर्छ, उसैगरी जापानले, चीनले, बेलायतले, रसियाले, आदिले जे जे दिन्छ, त्यही त्यही मिठो मानेर खान्छ र मेरो जिब्रोलाई जोसुकैले जसुकै दिउन् त्यो स्वादिष्ट नै लाग्छ । यद्यपि कुनै न कुनै दाताले दिनुप¥यो र दिएको बखत् दाताख्वामित्मा यो बहादुर शिर निहुराउनु प¥यो) आफ्नो जिब्रो हुनेलाई त आफ्नो उद्योगको उत्पादित खाना मिठो लाग्छ हैन र ? कि मेरो भनाइ उल्टो त भएन ?

म जिब्रो भएको उद्योग नभएको ‘महान्प्रसाद बहादुर’ पो हो त ! ठीकै छ उल्टो कुरा नगरी मन्त्री बन्न त नसकिने जमानामा व्याख्याता बन्न कहाँ सकिन्छ ? उल्टोलाई एकपटक फेरि उल्टो पार्दा सुल्टिहाल्छ नि । देख्नु भा’छैनर हाम्रो देशाँ भएभरको राजनीति उल्टो भएर सुल्ट्याउन फेरि उल्टो पार्दै लगेको ? ओ हो मलाई पनि अब चाहिँ नेताकै हावाले छोएछ कि क्या हो ? भन्नुपर्ने र भन्नलागेको कुरा नभन्ने अरू अरू कुरा गरेर दुनियाँ भुलाउने । अब म पनि सच्चिन्छु, देशमा घरिघरि कुन्नि के ‘सच्चेको’जस्तो गरी ।

अब लागौं आजको प्रसङ्गतिर । कुरा उही महान् व्रतालुहरूको हो । व्रतका धेरै ढङ्ग र रङ्गहरू छन् । एकादशी व्रत, द्वादशी व्रत, सोमबारे व्रत, मङ्गलबारे व्रत, बिहीबारे व्रत, शनिश्चरे व्रत, मैले नसुनेको होकि शायद बुधबारे र शुक्रबारे व्रत पनि छ होला । अनि आउँछ साउनको सोमबारे व्रत र तीर्थधामी व्रत, बेलाबखतको चाडबाडे व्रत, चोखोनितोको व्रत, दानधर्म, पिण्डपूजा, कर्मविधि, पितृपूजा, मरण–करण व्रत, कामकाजको वा मन्दिर, देवदवी, मन्त्रतन्त्रको व्रत, पूजापाठको व्रत, आक्कलझुक्कल भाकलको व्रत आदि आदि । यीबाहेक पनि व्रतका धेरै रूपहरू छन् –जस्तो कि ताउलो नतातेको दिनको व्रत, मट्टितेल नपाएको दिनको व्रत, ग्याँसको हाहाकार परेको बेलाको व्रत, धारामा पानी नआएको दिनको व्रत, आनि व्रत बस्दा बस्दा पेटमा ग्याँस भरिएर खानै नरुच्ने भएपछिको अरुचि व्रत, दुःखभोगको चोटिलो दिनको शोक व्रत, रक्सीले पेट डुम्क्याएको बेलाको व्रत, घरझगडातगरारूपी रिसको व्रत, घुर्कीफुर्कीको व्रत कोटि कोटि ।

यतिमात्र कहाँ हो र ! बन्दको दिनको व्रत, अस्पतालमा इन्डोस्कोपि र शल्यक्रिया उपचार गर्ने दिनको व्रत, पाटिमा सुतेका दिनको व्रतजस्ता कोटि कोटि व्रतहरू । यतिले कहाँ पुग्यो र ? पेसाकर्मी, राजनीतिकर्मी, धर्मकर्मी, शरणार्थीकर्मी, विविध पीडादायी वर्ग आदिले गर्ने कोटि कोटि व्रतहरू । ती व्रतका चलेका आधुनिक नामहरू हुन्– अनसन, रिले अनसन, उपवास, आमहड्ताल, भोकहड्ताल आदि । खोतल्दै जाँदो हुँ त लहरोमा पहरोको चोइटो खस्न थाल्छ । नढाँटी खाँटीले भन्नुपर्दा म त सपनामा मन्त्री हुन पनि आमहड्ता वा व्रत नै बसेको हुन्छु । हुँदा हुँदा अब मानिसहरू यसो गर्लान् कि मन परेको मान्छेसित बिहे गर्न पनि भोक हड्तालमा बस्लान् । यी सबै व्रतका रुप र प्रारुपहरू हुन् । व्रतको सम्भावना ज्यादै फराकिलो बन्दै गएको छ ।

यसो विचार गर्नुहोस् त मोटाउनेहरू पनि व्रत नै बस्छन् । स्वास्थ्यको सुधार गर्छन्, खान नपाउनेहरू पनि घरिघरि व्रत नै बस्छन् र आर्थिक मामिलाको सुधार गर्छन् । चाहे भगवान्का नामका व्रत हुन् वा मान्छेको नामका, चाहे माग पूरा गराउने व्रत हुन् वा मागै नभएर गरिएका व्रत । चाहे औँशीका व्रत हुन् वा पूर्णिमाका दिनका व्रत । चाहे रातका व्रत हुन् वा दिनका व्रत । चाहे अँध्यारो विरुद्ध गरिएका व्रत हुन् वा लाखबत्ती बालेको बेलाको व्रत । चाहे अग्निहोत्रको व्रत हुन् वा पानी मागको व्रत । अथवा यसो भनौँ कि चाहे रहरका दिनको व्रत हुन् वा करका व्रत । यी सबै व्रतले संसारलाई ठूलो योगदान दिएको छ । यसकारण व्रतको योगदानलाई कम आँक्न मिल्दैन ।

व्रतको योगदानको मूल केन्द्रबिन्दु नै खानपानको जोहो हो । अब हाम्रो देशलाई कसैगरी पनि गरिबीबाट मुक्त गर्न रसकिरहेको बेलामा व्रतअभियानलाई मैले ठूलै काइदा नै ठानो । हुन पनि दिनप्रतिदिन व्रत बस्नेको ताँती बढ्दै गएको छ । आखिर जेका निम्ति व्रत बसे पनि अन्नपातको जोहो हुन्छ नै । त्यसमाथि सरकारी भार पनि कम हुँदै जान्छ र ओहोदावालाहरूलाई कुर्सीमा घुम्न सजिलो पर्छ । व्रतबारे एउटा दन्त्य कथन पनि छ– ‘चलाख किसान र बिराला मूसाको व्रत ।’ एकादेशमा बिरालाहरू व्रत बसेछन् । त्यहाँ मूसाज्यूहरूको बिगबिगी सुरु भएछ । बिरालाको माग रहेछ– मूसाहरूलाई ठूला ठूला होटलमा परिकार बनाउन लान नपाइने । त्यो समस्या समाधान गर्न एक मन्त्री बिरालाको व्रत यानेकि भोकहड्ताल तोड्न मरेको मूसो बोकेर आएछन्, हामीकहाँतिर जुस ल्याएजस्तै । तर एक जना चलाख किसानले मन्त्रीलाई बाटैमा रोकेर भनेछन् कि मन्त्रीज्यू उपवासका बेला बिरालाहरूले मरेको मूसो खाँदैनन् ।

मन्त्री बाटैबाट फर्केछन् जिउँदा मूसाको खोजीमा । चलाख किसान मन्त्रीभन्दा पनि अघि मूसाहरूकहाँ पुगेर भनेछ– मूसाहरू, हिजो मन्त्रीले एउटा मूसो मारेको विरोधमा मूसाअधिकारको निम्ति भोकहड्ताल वा व्रत बस । नत्र बिरालाका छेउमा बिमीहरूलाई ती मन्त्रीले जिउँदै बोकेर लानेछन् । मूसाहरू हत्तपत्त उपवास वा व्रत बसेछन् । त्यसपछि किसानको अन्न जोगिन थालेछ । त्यसउसले व्रतले हानि होइन, नाफा नै गरेको छ । धर्म कमाउन होस् वा कर्म, मर्म बचाउन होस् वा सर्म । रिस पोख्न होस् वा माया गर्न, दान गर्न होस् वा ज्ञान लिन । व्रतले एकसे एक योगदान गरेको छ । व्रतलाई खासै विधि पनि नचाहिने, खासै तिथि पनि नचाहिने , सपनामा कुनै अनौठो कुरा देखेमा पनि कुन बार देखेको हो त्यही बारलाई व्रत बनाए भइहाल्यो ।

रोगनिवारणदेखि भोकनिवारणसम्म, शोकनिवारणदेखि झाोकनिवारणसम्म सबै काममा उपयोग गर्न सकिने व्रतलाई अझ विकसित गर्नु मनासिव देखिन्छ । यस्तो लाग्छ कि देशमा धेरै धेरै चाडपर्वहरू अटेका छन् । यति ठूलो गुन भएको व्रतलाई पनि राष्ट्रिय स्तरको चाड मान्न अब ढिलो गर्नु हुन्छ र ? अनि हामी अभिवादनका क्षेत्रमा ज्यादै धनी हुँदै गएका छौँ । चाडवाडले देशको शोभा घट्ने होइन झन् बढ्छ । अब आर्थिक मेलोमेसोमा ओरालो लागेको देशले यस्तो चाडको सुरुआत गर्नुपर्छ कि त्यो चाड मनाउँदा पैसा खर्च हुनुको सट्टा झन् जोगियोस् ।

लौ गमखाएर भन्नुहोस् त व्रतजस्तो चाडले पैसा जोगाउँदैन ? यसको यही गुण नै सर्वप्रिय, लोकप्रिय बन्नेमा म ढुक्क छु । यसमा सारा व्रतप्रेमी व्रतालुजनले पनि मलनई साथ दिनुहुनेछ भन्नेमा पनि म कत्ति डगमग गर्दिनँ । खाँचोअनुसारको साँचोको उत्पादन गर्नुपर्छ भन्ने बूढापाकाहरूको उक्ति अहिले पो ठ्याम्मै मिलेजस्तो लाग्यो । अनि पहिला पहिला त म भन्थो – बिनसित्ती आफ्नो पेट मारेर केको व्रत बसेको होला ? टन्न खाएर पो धर्म हुन्छ । नखाएर पेटै मारेर पनि देउता खुसी हुन्छन् ? म लाटोलाई केही थाहा नै रहेनछ । कुरोको चुरो नबुझेर व्रतको विरोध गर्ने मेरो जिब्रोको सहस्र लप्काले आज सोही व्रतको कोटि कोटि नमस्कार गर्न अघि सरेको छ । कहाँ देउतामात्र मान्छेलाई दङ्ग पार्न सक्ने यो व्रतकमाललाई बुझ्नु पनि महान् काम हो । आफूले जीवनमा बाध्यताले बाहेक कहिल्यै व्रत नबसे पनि अब धेरै भन्दा धेरैलाई व्रत बस्ने सल्लाहमा जुट्छु भन्ने लागेको छ । हामीकहाँ पैसा खर्च गरेर मनाउने चाडवाडहरू निकै छन् । ‘टाटा’ ‘बाईबाई’, ह्यापी भ्यालेन्टाइन डे, ह्यापी बर्थ डेजस्ता रमणीय शब्दसम्बोधनमा मलाई खुब थप्न मन लागेको छ– कुनै न कुनै कारणले, कुनै न कुनै उद्देश्यले भोको बसेको होस् निजलाई भित्री हार्दिकताको अन्तरदेखिनै संस्कृत भाषाको प्राच्य वाणीमा अङ्ग्रेजी मिसाएर दुई शब्दले– ह्यापी व्रत !

‘फित्कौली’ अङ्क ६ बाट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
कुराको छुरा !

कुराको छुरा !

डा.हरिप्रसाद सिलवाल
हावा !

हावा !

डा.हरिप्रसाद सिलवाल
सल्लाहकारको साउती !

सल्लाहकारको साउती !

डा.हरिप्रसाद सिलवाल
साहित्य होस् त यस्तो पो !

साहित्य होस् त यस्तो...

डा.हरिप्रसाद सिलवाल
थुकपीडा !

थुकपीडा !

डा.हरिप्रसाद सिलवाल
भूतको भिनाजुको ‘भीमसेनपाती’

भूतको भिनाजुको ‘भीमसेनपाती’

डा.हरिप्रसाद सिलवाल