मन्त्रीज्यू ठाँटिएर बाहिर निस्कनै आँटेका थिए, हाईस्कूल स्तरमा पढ्र्ने छोरो पनि बोराजस्तो झोला पिठ्यूँमा बोक्दै कोठा बाहिर निस्क्यो ।
निकै दिनपछि बाउछोराको जम्का भेट भयो । अन्यथा बाउले छोरोलाई नदेखेको र छोरोले बाउलाई नदेखेको निकै भैसकेको थियो । हुन त मन्त्रीसँग समय थिएन, उनलाई शान्ति स्थापनाको महान कार्य गर्न एउटा पाँचतारे होटेलमा भाषण गर्न जानु थियो तथापि छोरो अगाडि नै आएर एम्बूसजस्तो तेर्सिएको अवस्थामा मन्त्रीज्यूसंग एम्बूसलाई वास्ता नगरी जाने हिम्मत थिएन । त्यसैले उनी टक्क अडिए ।
तर यस पटक पनि र निकै दिनपछि पनि मन्त्रीज्यूले छोरोसँग पहिले आफै बोल्ने मौका पाएनन्, छोरालेनै सोध्यो– बुआ, म हजुरको बारेमा एउटा निबन्ध लेखूँ ?
मन्त्रीज्यू दङ्ग परे । गतिला पत्र पत्रिकाहरूले मन्त्रीज्यूमाथि कुनै राम्रो सामग्री त परै जाओस्, मन्त्रीज्यूको नामै पनि छाप्न नचाहिरहेको अवस्थामा छोराले नै आफूमाथि निबन्ध लेख्न आँटेको देखेर मन्त्रीज्यूलाई गर्व लागेर आयो । उनले मनमनै साचे, हुने विरुवाको चिल्लो पात । यो पनि एकदिन नेपालको महान् मन्त्री बन्छ बन्छ, लक्षण नै त्यस्तो छ ।
ममाथि निबन्ध लेख्ने ? स्यावास् । के सन्दर्भमा लेख्न थालेको यो निबन्ध ?– मन्त्रीज्यूले उत्साहित हुँदै भने ।
त्यतिन्जेल मोटी, थसुल्ली मन्त्रीज्यूको असुली एजेन्टको रूपमा कार्य गर्ने तेजोन्मत्त मन्त्राणी पनि लोग्नेछेउ आएर उभ्भिसकेकी थिइन् ।
हम्रो स्कूलमा एउटा निबन्ध प्रतियोगिताको आयोजना भैरहेको छ । एउटा गैरसरकारी संस्थाले यो आयोजना गरेको छ । विजयी प्रतियोगीलाई पुरस्कारको पनि व्यवस्था छ ।– छोरोले प्रष्ट पार्दै भन्यो ।
त्यो त बुझें कि, तर निबन्धको विषय पनि त होला नि । जस्तै हाम्रो महान् नेता, महान् राष्ट्रसेवक मन्त्री, वर्तमानको महापुरुष । निबन्धको विषय के हो बाबु ?– मन्त्रीज्यूले गर्वोन्मत्त हुँदै सोधे ।
छोरोले अलि सङ्कोच मान्दै भन्यो– निबन्धको विषय महान् नेता, वीर पुरुष, महान् इमान्दार केही पनि होइन, निबन्धको विषय हो– राष्ट्रिय जोकर ।
छोरोको कुरा सुनेर बाउको वाक्यै बन्द भयो । रिसको अधिकताले गर्दा केही बोल्नै सकेनन् । बरु आमाचाहिँले चिच्याउँदै भनिन्– के कुरा गरेको तैंले ? तेरो बाउ राष्ट्रिय जोकर हुन् कि क्या हो ? बुद्घिसुद्घि छ कि छैन ? जस्ले जे भन्यो त्यसैको लहलहैमा लाग्ने । राष्ट्रिय जोकर त मह, सन्तोष पन्त, गजुरेलहरू पो हुन् त । तेरो बाउ राष्ट्रिय जोकर हो ?
लौ, आमालाई त थाहै रै‘नछ । मह, सन्तोष पन्त इत्यादि त हास्यव्यङ्ग्य कलाकार हुन् । तिनीहरू कहाँका जोकर हुनु ? तिनीहरू त राष्ट्रिय प्रतिभा पो हुन् । जोकर कसलाई भन्छन् त्योे त थाहा रहेनछ आमालाई ।– छोरोले बुझाउने पारामा भन्यो ।
तँलाई नै थाहा छ सारा । पढ्ला लेख्ला, ठूलो मान्छे बन्ला, मजस्तै ठूलो पदमा पुग्ला भनेको त यो त नचाहिँदो कुरामा पो लागेछ । छोरोले पढ्ला लेख्ला, बाउको इज्जत बढाउला भनेको त यो त बाउलाई नै जोकर पो भन्दोरहेछ । कोसँग सिकेर आइस् यस्तो कुरा ? त्यै आन्दोलन सान्दोलनमा लागेका गुन्डाहरूको कुरामा लागिस् कि क्या हो ?– मन्त्रीज्यूले बेस्सरी झपारे ।
कोहीसँग सिकेको पनि होइन, कसैको लहलहैमा लागेको पनि होइन, पढेर, लेखेरै सिकेको हो । अब हेर्नुस् बुआ । मन्त्री भनेको के हो ? मन्त्री कसरी बन्छन् विचार गर्नुभएको छ ? मन्त्री भनेको सरकारलाई जनताको तर्फबाट चलाउन जनताले नै छानेको प्रतिनिधि हो । तपाईंलाई कस्ले छानेको हो ? जनताले छानेको प्रतिनिधि हो तपाईँ ? जिन्दगी कहिल्यै तपाईंले चुनाव जितेको थाहा छैन । मन्त्री बन्नलाई पहिले जनताले चुनेर सांसद बन्नु पर्छ, अनि मन्त्री बन्न पाइन्छ । यो के अठारौं शताब्दि हो कि कसैले तपाईंलाई मन्त्रीको बिर्ता दियो, तपाईं मन्त्री बन्नु भयो । यस्तो जनाधार नभएको, जनताको प्रतिनिधित्व नभएको, जनताको अधिकार नपाएको कुनै मान्छेले म मन्त्री हुँ, यो मेरो सरकार हो, भन्दै मुलकलाई जथाभावी निचोर्दै, फलाक्दै हिंड्छ भने त्यस्तालाई राष्ट्रिय जोकर नभने के भन्ने ?– छोरोले पनि नाक फुराउँदै भन्यो ।
मन्त्रीज्यू अक्क न बक्क भए । तर आमाचाहिं बीचमै च्याँठिएर चिच्याइन्– मान्छे कहाँबाट मन्त्री बनूँ भनेर कचौरा लिएर हिंडिरहेका छन्, तँलाईचाहिं बढ्ता भो । यी आन्दोलन गरेर हिंडिरहेका नेताहरू छन् नि, यिनलाई पनि बोलायो भने चारहात खुट्टा टेकेर धनुषटङ्कार गर्दै आइपुग्छन् मन्त्री बन्न । पद भनेको त्यस्तो हुन्छ । तँलाईचाहिं बाउ मन्त्री बनेको जोकर बनेको हुन्छ ।
हेर्नुस् आमा, तपाईं साहै सोझी हुनुहुन्छ । सरकार भनेको जनताको हुन्छ । कसैको व्यक्तिगत सरकार, व्यक्तिगत राज्य, व्यक्तिगत देश हुँदैन । जनताको मत, विश्वास नपाइकन अनाधिकार मन्त्री हुँ, मेरो सरकार हो भनेर जनता अल्मल्याउने, जनता ठग्ने सबका सब जोकर त हुन् नि ।– छोरोले बुझाउने प्रयास गर्यो ।
त्यतिन्जेल मन्त्रीज्यूको रिस आकाशमा पुगिगो ।
के जनता जनता भनेर कराएको तँ ? हामी पनि त जनताले दुःख पाए, दलका नेताहरूले भ्रष्टाचार गरे, शान्ति पाएनन् भनेर त जनता सेवा गर्न मन्त्री बनेको । हामी कुन आफ्नो रहरले मन्त्री बनेका हौं ? जोसँग सत्ता छ, कार्यकारिणी शक्ति छ उसले मन्त्री बनाएपछि हामी नबन्नूँ ? हामी आफ्नो लागि मन्त्री बनेका हौं र, हामी त शान्ति, प्रगति र प्रजातन्त्रको लागि मन्त्री बनेका हौं । –मन्त्री पनि चिच्याए ।
बुआ ! हजुरहरूले प्रजातन्त्रको कुरै न गरे हुन्छ । प्रजातन्त्रको राजा जनता हुन्छन् तर तपाईंहरूले जनता उल्याउने काम बाहेक अरु केही गर्नु भएको छैन । तपाईंहरूलाई यति जाबो कुरा पनि थाहा छैन कि नेपालको संविधानमा सार्वभौमसत्ता जनतामा निहित छ भनेर ? हावादारी कुरा गरेर अरु बढी जोकर्याईं नगर्र्नुस् बरु ।– छोरो पनि चिच्यायो ।
मन्त्रीज्यू बोल्नै सकेनन् । फेरि आवाजलाई नरम पार्दै भने– तँलाई कसैले बहकाएको जस्तो छ । हामी शान्ति, प्रगति र प्रजातन्त्रको लागि लागिपरेका छौं । सबै बिग्रेका, भत्केका कुराहरूलाई मिलाएर प्रजातन्त्रको शुद्घिकरण गर्दै छौं । तैंले कसो कुरो नबुझेको ।
छोरोले बाउको कुरा सुनेर व्यङ्ग्यात्मक हाँसो हाँस्दै भन्यो– मलाई तपाईंहरूको कुरा सुुनेर हाँसो उठ्छ । एउटा कथा त बुआहरूले पनि पढ्नुभएको होला नि– राजाको नयाँ लुगा भन्ने कथा । त्यो कथामा राजाले लुगा नै लगाएका हुँदैनन्, नाङ्गै हुन्छन् तर सारा चुक्ली, चाकडी र चापलुसीमा लागेका भारदारहरू राजाको अद्भूत बस्त्रको प्रशंसा गरिरहेका हुन्छन् । त्यस्तै असत्य छ हाम्रो मुलुकमा । न कतै शान्ति छ, न कतै प्रगति छ, न कतै प्रजातन्त्र छ तर तपाईंहरू नानाभाँतिका शब्द र वाक्य प्रयोग गरेर हुँदै नभएको कुराको काल्पनिक प्रशंसा गर्नमा व्यस्त हुनुहुन्छ । अनि तपाईंहरूलाई जोकर नभने के भन्ने ? म मुलुकका सम्पूर्ण युवाहरूको तर्फबाट उद्घोष गर्छु कि तपाईंहरू राष्ट्रिय जोकर हो ।
तेरो दिमाग खराब भएजस्तो छ, तँलााई जे मन लाग्छ त्यै गर । तर मेरो नाममा केही लेख्नु परेको छैन– मन्त्रीज्यूले छोरासँग हार खाए ।
बुआ ! मलाई हजुरको बारेमै लेख्नुपर्छ भन्ने केही छैन । त्यो त हजुरको बारेमा लेख्दा मलाई धेरै सोधीखोजी गर्नु पर्दैन भनेर हो । हजुर नाईं भन्नुहुन्छ भने लेख्दिन । अरुकै बारेमा लेख्छु । नेपालमा जोकरहरूको के कमी छ र । दैनिक जन्मिरहेका छन् । यसो भन्दै छोरा फन्फनिंदै घर बाहिर निस्क्यो । मन्त्री–मन्त्राणी हेर्याहेर्यै भए ।
जनकपुरधाम ।
(फित्कौली– अङ्क ७ बाट)