हास्य–व्यङ्ग्यका रचना त हुन् नि भनेर अशुद्ध शब्द र वाक्यहरू पर्नदिनु होला कि नहोला ? कि कसैले एउटासम्म अशुद्धि फेला पार्न नसकून् भनेर नै लेख्ने गर्नुपर्ला ?

सिद्धहस्त हास्य–व्यङ्ग्यकार भएर पनि हँसाउने नाउँमा वा व्यङ्ग्यवाणको बहाना बनाएर अश्लील अर्थात् फोहर शब्द अथवा वाक्यको प्रयोग गर्नु होला कि नहोला ? किन हुँदैन र भन्ने लाग्छ भने कसरी हुन्छ त भन्ने कुरा बताइदिनुहुन्छ कि ? हुँदैन नै भन्ने लाग्छ भने हामीले यसबारे पनि अझ बढी होसियार भएर लेख्ने गर्नुपर्ला नि ! हैन त ?

धेरैले बुझ्न सजिलो भाषा–शैलीमा लेख्न सकिन्छ भने किन थोरैले मात्र बुझ्न सक्ने किसिमबाट लेख्नपट्टि लाग्नुपर्ला र ?

हाम्रा शिक्षालयका प्राथमिक कक्षादेखि उच्चतम कक्षासम्मका पाठ्यक्रममा हास्य–व्यङ्ग्यका रचना पर्ने गरेका छन्–छैनन् भनेर पनि जाँच्नुपर्ला कि ? यसतर्फ ध्यान गएको रहेनछ भने ध्यानाकर्षण गर्नुपर्ला कि ?

जुनसुकै विषयको पत्र–पत्रिकामा पनि हास्य–व्यङ्ग्य सम्बन्धी स्तम्भ समेत राख्नैपर्ला नि ! यसबाट सम्बन्धित प्रकाशनका पाठकहरू थपिंदैजान पाउँछन् भन्ने कुरा तपाईं प्रकाशकलाई पनि त थाहा छँदैछ होला नि ! हैन र ?

जस्तोसुकै बिराम गर्नेलाई पनि जति भने पनि हिर्काइरहनु पर्ला कि साना, ठूला र सबभन्दा ठूला नराम्रा कामहरू गर्ने भनी तीन समूहमा बाँडेर त्यसैका आधारमा मात्रा मिलाएर व्यङ्ग्यको प्रहार गर्नु नै न्यायोचित नीति होला ?

आफ्ना गलती र कमजोरीहरू सच्याउँदै सुधार्दै जानेहरूलाई उत्साहित पार्ने किसिमबाट पनि हास्य–व्यङ्ग्य परिकारहरू पस्कनुपर्ला कि ?
राम्रा काम–कुराबाट देश र दुनियाँको भलो गर्दै आएकाहरूको अभिनन्दन–सम्मान प्रदर्शित हुने किसिमका हास्य–सामग्री प्रस्तुत गर्न सकिएला कि नसकिएला ?

हास्य–व्यङ्ग्यका रचना प्रकाशित गर्दा प्रुफ पनि सारै राम्ररी हेर्नुपर्ला नपर्ला ? नत्र मुद्रा–राक्षसले अर्थको अनर्थ गरिदिन सक्तैन र ? जस्तै— (क) “सेलाउला” को सट्टा “सेल आउला” र (ख) “त्यसले गुलियो खायो” को सट्टा “त्यसले गु लियो, खायो” हुन के बेर ? यस्ता उदाहरण अरु पनि प्रशस्तै प्रस्तुत गर्न सकिन्न र ?

स्वास्थ्यतर्फ पनि त हास्य–व्यङ्ग्यले शिक्षा दिन सक्ला नि ? मानिसका अस्वास्थ्यकर खानपिन र आनिबानी आदिको उदाहरण दिएर उनीहरूलाई कुलत छाडी स्वास्थ्यरक्षाका नियमहरू पालन गर्नपट्टि प्रयत्नशील रहन प्रेरित गर्न सकिन्न र ?

‘फित्कौली’ अङ्क– ४ बाट