उदेक भयो, आश्चर्य भयो
मलाई पो पखालाले लखतरान बनायो ।

पखालाले सिताङ्ग र शिथिल भएका
तन्तुहरू केलाउँदै
हैन, किन लाग्यो मलाई पखाला ?
यही प्रश्न मनमा खेलाउँदै
घरी उठ्छु, घरी बस्छु
सुतिरहेको म जुरूक्क उठेर
पेट समाउँदै घरी ट्वाइलेट पस्छु ।

थाहा छ सबैलाई–
अपच हुन्जेल धेरै खायो भने पखाला लाग्छ
खान नहुने र खान नपर्ने वस्तु हसु¥यो भने
बेतोडसँग पखाला चल्छ
यो पनि थाहा छ–
अभक्ष पदार्थ पेटमा परेपछि पखालाले सताउँछ ।

म गाईप्राणी मान्छे– त्यस्तो केही खाएको छैन
न घुस खाएको छु, न जुस खाने सामथ्र्य छ
न योजना बजाएको छु, न बजेट सोहर्ने हैसियत छ
उदेक र आश्चर्य लाग्दो कुरा
मलाई पो पखालाले सोत्र्यान्त पारेको छ ।

खाइरहेछन् खानेहरू– निघृणी पाराले लपालप
हसुरी रहेछन् हसुर्नेहरू– दाउ पारी पारी खपाखप
थुतेर देशका आन्द्रभुँडी,
मुटु कलेजोसँगैको भित्र्याँस
पक्कु लगाउँदै खाइरहेछन्
धाक र धक्कु लगाउँदै खाइरहेछन्
खै तिनीहरूलाई पखाला लागेको ?

मच्चाएर राष्ट्रिय ढुकटीमाथि लखनौ लुट
कमिसनको करोडौँ क्याँट हसहस हसुर्दा छन्
लाग्दैन त्यसमा भ्याट, क्या ! जुँगा मुसार्दा छन्
हैन, पखाला तिनलाई लाग्नु पर्ने हैन र ?

म बबुरो ! एउटा पिलन्धरे मास्टर
म विचरो ! सोझो ! र निर्धो
बोर्डमा मार्कर रगडेर दैनिकी चलाउने
सधैं सागमा झोल हालेर गुजारा गर्ने
अनि मलाई नै पखालाले सताउनु पर्ने ?

देश खानेहरूलाई लागोस् नथामिने गरी पखाला !
भ्रष्ट अखडाका नायकहरूलाई लागोस् बेजोडसँग छेपर्टी !
तर उदेक भयो, आश्चर्य भयो
मलाई पो पखालाले लखतरान बनायो !!

कलङ्की, काठमाडौं