सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

करुणामय भाइरस महिमा

Nepal Telecom ad

रिङरोडकै एउटा व्यस्त चोकको किराना पसलमा अण्डा बेचिरहेका एक पसलेजीसित सोधें, “बर्डफ्लुको यत्रो बिगबिगी छ, तपाईँ निर्धक्कसित अण्डा बेचिरहनुभएको छ । डर लाग्दैन?” सडकपारि ठीक अगाडि को मासुपसलतिर देखाउँदै पसलेजीले भन्नुभयो, “उः त्यस पसलबाट दिनमा सयौं किलो कुखुराको मासु बिक्री हुन्छ । सबै किनिरहेका छन् खाइरहेका छन् । मैले त अण्डा मात्र बेचेको छु ।” “अण्डा बेच्दा हातले प्रेमपूर्वक समातेर उठाउँदै दिँदै गरिरहनुभएको छ । बेचेपछि तपाइँ हात पनि धुनुहुन्न । तपाइँका घरमा पनि केटाकेटी बुढाबुढी होलान् । रोग सल्कला कि भन्ने डर लाग्दैन ?” मैले पूरक प्रश्न गरेँ । पिलिक्क मेरो अनुहारमा हेरेर आत्मविश्वासका साथ पसलेजीले भन्नुभयो, “डराएर व्यापार चल्दैन हजूर ! मैले अण्डा नराखे सँगैको अर्को पसलेले राखेको छ । मेरो ग्राहक पनि त्यता पलायन हुन्छ । यसै भएर पनि मैले अण्डा राख्नुपर्छ, बेच्नुपर्छ, बुझ्नु भो ?” पसलेजीको उत्तरसहितको प्रश्नले म निरुत्तर भएँ । मैले व्यापारिक मनोविज्ञान बुझेँ पनि ।

बर्डफ्लु फैलिएको छ । अण्डाबाट मासुबाट भाइरस फैलिने खतरा छ भने यसको ओसारपससार र बेचबिखनमा कडा प्रतिबन्ध लाग्नु पर्छ । बजारमा कसैले कानून मिचेर बेचेको छ कि ? निरन्तर र व्यापक रेखदेख अनुगमन हुनु पर्छ । कसैले प्रतिबन्ध मिचेर ओसारपसार बेचबिखन गरेको भेटिए त्यसमाथि कडा कार्बाही गरिनुपर्छ । त्यो परिपाटी त हाम्रो मुलुकमा छैन । हाम्रो मुलुकमा राजनीतिदेखि व्यापारसम्म दोहोरो मापदण्ड चलेको छ ।

अनिश्चयको भुँवरी पनि सँगसँगै चलायमान छ । नेपाली कांग्रेसमा बि.पी. छँदै एक पटक एउटा छलफल चलेको थियो कांग्रेस पार्टी ठूलो कि यसका नेता बि पी ठूला ? नेकपा एमालेमा केही समयअघि यस्तै एउटा छलफल चलेको थियो देश ठूलो कि पार्टी ठूलो ? गणतन्त्र नेपालको निर्दलीय सरकारमा अहिले छलफल चलेको हुनु पर्छ जनस्वास्थ्य ठूलो कि उपहारमय व्यापारीहरूको धनार्जन स्वार्थ ठूलो ? व्यवसायमैत्री र जनस्वास्थ्यबीच कुन ठूलो ? जनस्वास्थ्य जो अमूर्त छ । हाँस्दै र हात मल्दै मन्त्रालयमा दाखिल हुँदैन । प्रतिनिधिमण्डल आउँदैन । धम्की दिँदैन । उपहार व्यवस्था पनि छैन जनस्वास्थ्यसँग । लुखुर लुखुर पसल गएर कुखुराका अण्डा किन्छ मासु किन्छ चुपचाप खान्छ जनस्वास्थ्य । बिरामी भए पनि अस्पताल जाँदैन जँचाउँदैन जनस्वास्थ्य । जाँचे पनि अस्पतालले बर्डफ्लु भन्दैन । सरकार नै बर्डफ्लुप्रिय छ भन,े त्यसैको व्यवसायप्रिय छ भने यत्रो महान आदर्शमा धक्का लाग्ने गरी अस्पतालका प्याथोलोजी मसिनहरूले कसरी काम गरुन् ? गर्दैनन् । प्याथोलोजी मसिन अझै बेलायतमा मात्र विराजमान छ कि नेपालमा पनि आइपुगेको छ ? जनतालाई यत्ति पनि जानकारी छैन । कल्ले दिएको छ र जानकारी ? सरुवारोग निदान र उपचारसम्बन्धी मुलुकको एक मात्र अस्पताल भइआएको राजधानीको टेकु अस्पतालमै पनि बर्डफ्लु हो होइन पर्केल्ने आधुनिक मसिन उपलब्ध गराइएको छ छैन जनतालाई थाहा छैन । थाहा नभएरै ढुक्क छ जनता । यही यस्तै खतरनाक ढुक्क तोड्न उहिल्यै पनि रुपचन्द्रले थाहा आन्दोलन चलाएका रहेछन् कि ? अहिले रुपचन्द्र पनि छैनन् थाहा आन्दोलन पनि छैन । यदा कदा समाचार पढ्दा सुन्दा यस्तो लाग्छ अस्पतालमा एकाध पुराना मसिन उपलव्ध रहेछन् भने पनि ती व्यवसायप्रेमी बनिसकेका हुन सक्छन् । ती मसिनहरूले बर्डफ्लुका भाइरल देख्दैनन् । देखे नै भने पनि निमोनियाँ मात्र देख्छन् । यसै भएर हिजोआज हाम्रो मुलुकका अस्पतालमा कुनै बिरामी मरिहालेछ भने पनि बर्डफ्लुले मर्दैन । निमोनियाँले मरिदिन्छ । बाँचेकाले मात्र व्यवसायप्रेमी हुनुपर्छ भन्ने छैन नि ? माथिबाटै यति आदर्श व्यवस्था स्थापित भएपछि आजको नेपालमा सम्भावित बर्डफ्लुबाटै मरेकाहरू र मर्नेहरू पनि व्यवसायप्रेमी भइदिने भए । हैन त ?

मैले अण्डा मासु किनेर फर्किरहेका ग्राहकहरूसित सोधेँ, “जताततै बर्डफ्लु फैलेको छ । तपाइँ अण्डा मासु किनिरहनु भएको छ । तपाइँलाई डर लाग्दैन ?” मेरो प्रश्नमा धेरैजसो ग्राहकको उत्तर एउटै थिया, “खै ! खाइराखिएको छ, सवैले खाइराख्या छन् । पसलमा बिकिराख्या छ । खान नहुने भए पसलमा पनि नराख्दो हो नि । पसलमा त जताततै छ त ।” यो उत्तर सुनेपछि जसकसैलाई पनि लाग्न सक्छ ग्राहकहरू पनि व्यवसायप्रेमी भइसकेका छन् । पसलेले पसलमा राखेपछि हामी ग्राहकहरूले किनिदिनु पर्छ भन्ने सोच बनिसकेको छ भने यो पनि नमुनालायक व्यवसायप्रेम नै हो ।

प्रेममै दंग पर्ने हो भने समस्या छैन । प्रेममा निर्धक्क मरिदिने पनि परम्परा नै छ । जताततै प्रेम छ, करुणा छ । गरीबहरू गरीवीकै प्रेममा छन् । धनीहरू धनको प्रेममा छन् । रोगीहरू रोगको प्रेममा छन् । डक्टरहरू पनि रोगकै प्रेममा छन् । रोग भइदिएन भने व्यवसाय चल्दैन । सरकार व्यवसायप्रेमी छ । व्यवसायीहरू त व्यवसाय प्रेममा छँदैछन् । रहिरहने छन् । यस स्थितिमा बर्डफ्लु पनि प्रेममय बनेको छ । करुणामय बनेको छ । भाइरस पनि करुणामय बनेको छ । शव्दान्तरमा भन्नुपर्दा बर्डफ्लुले मुलुकमा ठूलाबडाको प्रेम पाएको छ । करुणा पाएको छ ।

यस प्रेमको, यस करुणामयताको अर्को पक्ष पनि छ । नेपाली जनता जति राजनीतिसचेत छन् त्यति स्वास्थ्यसचेत छैनन् । जति भोकसचेत छन् त्यति भोज्यसचेत छैनन् । कति क्षेत्रमा उपलव्ध हुनै पर्ने जानकारीको अभाव छ । प्रस्तुत प्रेम र करुणाकै क्षेत्रमा पनि आवश्यक जानकारीको अभाव छ । सचेतनताको अभाव छ । कुरा फेरि पनि थाहाकै छ । थाहाको अभाव छ । दिनुपर्नेले नै थाहा लुकाएका छन् । जसले थाहा पाउनै पर्ने हो त्यसलाई थाहा दिएका छैनन् ।

बर्डफ्लुबाट कसलाई बढी खतरा छ ? जो यस फ्लुको बढी सम्पर्कमा रहन्छ त्यसलाई बढी खतरा छ । कुखुराका खोरमा काम गर्ने, सुली सोर्होर्ने, कुखुरा उचाल्ने पछार्ने र ओसारपसार गर्ने, काट्कुट् गर्ने जोख्ने पोको पार्ने र बेच्ने कामदारहरू जो बढी ती रोगी कुखुराका सम्पर्कमा रहन्छन् ती बढी जोखिममा पनि रहन्छन् । जोखिममा रहने यो समूह नै जोखिमप्रति जानकार छैन । आवश्यक सचेत छैन । व्यवसायप्रेम र भाइरल करुणाको विशेष सिकार बन्ने समूह यही हो ।

पसलेले बेच्छ । किनेर लाने ग्राहकका घरमा बालबालिका बुढाबुढी र भान्छामा काम गर्ने जसकसैले पनि त्यो अण्डामासु समात्न सक्छ । नपाकी खाइदिन पनि सक्छ । विशेषतः जो ओसारपसारका भरिया छन्, जो काटकुटको काम गर्छन् ती अझै बढी खतरामा छन् । जो खतरामा छन् तिनैलाई खतराको ज्ञान छैन । थाहा पाउनै पर्ने कुरा पनि थाहा छैन । यस समुदायको यस अज्ञानप्रति मुलुकमा कुनै कोही जिम्मेवार छ कि छैन ? समयको प्रश्न यो पनि छ ।

पशुशाखाका आदरणीय निर्देशक महोदयलाई बर्डफ्लुको जोखिम नहोला । हाकिम, मन्त्री, प्रधानमन्त्री, प्रहरी, र ठूला ठूला कुखुरा फार्मका मालिकहरूलाई पनि यसको जोखिम नहोला । यी महोदयहरू कुखुरा समात्दैनन् । काटकुट बेचबिखन केही गर्दैनन् । तैयार परिकार टेविलमा आइपुगेपछि काँटा चम्चाले उठाएर ज्युनार मात्र गरिदिन्छन् । यसैमा आफूलाई सुरक्षित एवम् चिरन्जीवी ठान्नु सर्वथा स्वाभाविक पनि होला । यसमा वहाँहरूलाई साधुवाद भन्नै पर्छ । बधाइ दिनै पर्छ ।

निष्कर्षतः जुन समुदाय खतराको सर्वग्रासी सम्भावनाबारे जानकार छैन त्यो समुदाय सरकार र व्यवसायीहरूका निरपेक्ष्य व्यवसायप्रेमको निरीह सिकार बन्दै छ । बनिरहेको छ । चौतर्फी सुरक्षित बातावरणको व्यामोहमा तक्षकबाट जोगिएको ठानेर मख्ख देवीभागवत महापुराणका महिमामण्डित राजा परीक्षितजस्तै हाम्रा यी प्रसस्त थाहा पाएका विशिष्ट जानकार सत्तासीन सुरक्षित महोदयहरू पनि सत्कारका फूलमाला र ज्यूनार परिकार ग्रहण गर्ने क्रममा अचानक कतै कुनै क्षण भाइरल लसपसको सिकार बन्ने हुन् कि ? यस सम्भावनालाई चाहिँ कसले रोक्न सक्ला ? करुणामय एवम् महिमामय भाइरसलाई पनि यसको चिन्ता लागेको हुनुपर्छ । हैन त ?

बालाजू, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad