काठमाडौं । जेठ ३१/राजधानी स्थित शिल्पी थियटरमा सिस्नुपानी नेपालद्वारा आयोजित हास्यव्यङ्ग्यकार चट्याङ मास्टरको एकल कविता वाचन कार्यक्रम सम्पन्न भयो ।

वरिष्ठ चलचित्रकर्मी यादव खरेलको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा चट्याङले आफ्ना करिव डेढ दर्जन हास्यव्यङ्ग्य कविता वाचन गर्नुभएको थियो । देशको समसामयिक विसङ्गत पयावरणमाथि तीव्र व्यङ्ग्य गर्दै हाँसो उडाएका उहाँका कविता स्रोताहरूले अत्यधिक रूचाएका थिए ।

सोही अवसरमा यादव खरेलले चट्याङ मास्टरको हास्यव्यङ्ग्य कृति ‘चट्याङका उट्पट्याङ’ लोकार्पण गर्नुभयो । माकिरत्न शाक्यद्वारा सङ्कलित र सम्पादित यस कृतिमा कविता इतर ४३ वटा हास्यव्यङ्ग्य सिर्जना समावेश गरिएको छ ।

प्रमुख अतिथि यादव खरेलले विमोचन मन्तव्यका क्रममा पुस्तकमाथि संक्षिप्त समीक्षा गर्दै हास्यव्यङ्ग्यमा चट्याङको उट्पट्याङ एउटा नयाँ प्राप्ति भएको बताउनु भयो । कार्यक्रममाथि प्रकाश पार्दै सङ्ग्रहका सम्पादक माणिकरत्न शाक्यले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

हास्यव्यङ्ग्यकर्मी मनोज गजुरेलद्वारा मनोरञ्जक ढङ्गले सञ्चालन गरिएको कार्यक्रममा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले पहिलो एकल हास्यव्यङ्ग्य कविता वाचन कार्यक्रम भएको र स्सिनुपानी नेपालले यसलाई निरन्तरता दिने सोच रहेको बताउनु भयो ।

निबन्ध कविता वा अन्य कुनै पनि विधामा नसमेटिने खालका चट्याङ्का उट्पट्याङहरूको यस सङ्कलनलाई भुँँडी पुराण प्रकाशनद्वारा प्रकाशित गरिएको हो ।