सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

खा.पा. संस्थानलाई धन्यवाद

Nepal Telecom ad

पानी ! पानी !! पानी !!! भनेर कराउने जनताको घाँटी भिजाउने अविभारा खाने पानी संस्थानले लिएको छ । यसलाई छोटकरीमा खा.पा. संस्थान पनि भन्ने गरिन्छ । खा, को अर्थ खानु हो । यसलाई भूत, भविष्य, वर्तमान तीनवटै कालमा प्रयोग गर्न सकिन्छ भने पा. को अर्थ पानी, पाए, पाउनु (भेटाउनु) आदि धेरै लगाउन सकिन्छ । यहाँ खा.पा. सित जोडिएकोले पा.को अर्थ पानी पाए खानु वा खाइयो, खाइन्थ्यो, खाउँला आदि लगाउँदा राम्रो हुन्छ । किन कि पहिले उपत्यकामा यतिविधि जनसङ्ख्या थिएन । जताततै पानीका धारा थिए । सफा सुघ्घर र शुद्ध पानी खाएका उपत्यका बासी अहिले पानी पाए पो खानु !, बरु ई खाइस् ! भनेर लोप्पा खानुपरेकोले टाउकोमा हात राखेको देखिन्छ ।

तै पनि कुनै दिन खास नेताले नेपालमा जन्म लियो भने पानी खाउँला, भन्ने आशा चाहिँ गरेकै छन् है जनताले । किन कि आशा गर्ने काम जनताको हो । नत्र तीन वर्षभित्र मेलम्चीको पानी ल्याएर काठमाडौँमा सडक धुने पानी पुर्याइदिने अठोट गरेका भट्टराई बासित सती जाने थिए कि क्या हो ? भट्टराई बा त गइहाल्नु भो त्यसपछि सत्ता समालेका नेताहरूले २२÷२३ वर्ष सत्ताको स्वाद लिइरहनुभएकै छ । सत्ता पाउनेले आशा देखाउनुहुन्छ, नपाउनेले चेलाचपेटा उठाएर बिरोध गराउनुहुन्छ । तैपनि जनताले आशा भने गरेकै छन् ।

तपाइँले भन्नुहोला– “तँ पनि त झुठो बोल्छस् नि !” भनेर । तर म त्यत्तिसारो झुठो भने बोल्ने गरेको छैन है । लेखक बनिटोपलेको हुनाले कहिले कहीँ तिललाई पहाड बनाउने कामसम्म गर्नेगरेको छु । त्यो मेरो बाध्यता हो । सही कुरा लेख्यो भने सम्पादकज्यूलाई मन पर्दैन र मेरा रचनाहरू छापिन्नन् । सत्यतथ्य जेसुकै होस् पत्रिकामा छाप्नको लागि आकर्षक शीर्षक र फूलबुट्टा भर्नै पर्ने हुन्छ । त्यसो गरे मात्र नाम पनि दाम पनि हुन्छ । हेर्नुस् त १०/२० वटा कविता बाक्लो गाता राखेर छपायो । ठूला बढा लेखक, कवि, पत्रकार जम्मा गरेर विमोचन गरायो । अनि पुरस्कार गुठीहरूमा दौडधूप ग्यो । बस, पुरस्कृत भइहाल्छ । डोकाभरी किताब लेख्ने खास खास लेखकहरूको न त नाम सुनिन्छ न त तिनीहरू पुरस्कृत भएको । त्यसै भएर मैले पनि लेख्ने बेलामा अलि अलि बेइमानी गर्नुपरेको हो । गाँठी कुरो यत्ति हो । मरिजाउँ ! अरु छलछाम गरेको भए ।

हेर्नुुस्, खसो खास कुरा भन्छु त्यस्तो अप्ठारोमा परे पनि मैले नेताहरूले जस्तो भने मरिकाट्टे ढाँटेको छैन । हुन त नेताहरू भनेका बिचरा हुन् । उनीहरूले जनतालाई नढाँटे कसलाई ढाँट्ने ? श्रीमती, छोराछोरी, साला, साली, नातागोता, इष्टमित्रलाई ढाँट्न मिलेन क्यारे ? झन् ‘ए’ लेबलका कार्यकर्ताको त कुरै भएन । उनीहरूको त जुलुस निकालेर हुन्छ कि नेपाल बन्द गरेर हुन्छ ? हरेक खत माफ गराउनै पर्छ । किन कि उनकै भरमा राजनीति गर्नुपरेको हुन्छ । बरु बाबुआमालाई ढाँट्न सकिन्छ । उनीहरूलाई ढाँट्न त मिल्दै मिलेन नि ? किन कि राजनीति गरेकै तिनैको लागि न हो । आजकाल जनता र देशको लागि राजनीति गरेर को ठूलो भएको छ र ? जोगी हुनलाई राजनीति गर्ने कुरो त आएन नि ! सके सात पुस्तालाई नभए पनि एक/दुई पुस्तालाई त पुग्ने व्यवस्था गर्नै पर्यो क्यारे ? भट्टराई बा’ले जस्तै सधै छाता र सुराइ मात्र बोकेर पनि त भएन नि ! त्यो कुरा तपाइँ हामीले पनि बुझिदिनुपर्छ । त्यति पनि नबुझ्ने हो भने त हामी जनता हुन पनि लायक हुन्नौँ ।

नेताज्यूका कुरा धेरै गर्न हुन्न । छोडिदिनुस् नेताज्यूका कुराहरू । किन कि उहाँहरू अब्बल दर्जाका प्राणि पो त । उहाँहरूलाई न त ऐनकानुन लाग्छन् न त संविधानले नै छुन सक्छ । पहिले यस्ता कुराको छुट राजालाई मात्र थियो । अहिले सबै नेताज्यूहरूलाई छ । त्यसै भएर त जनताका छोराछोरीलाई टुहुरा बनाएर, युवतीहरूलाई विधवा बनाएर र बृद्धबृद्धालाई असहाय बनाएर देशमा गणतन्त्र ल्याइएको हो नि ? यो हामीले बुझ्नुपर्छ ।

हेर्नुस्त, उहाँहरूकै संरक्षकत्वमा बाँचेको खाने पानी संस्थानको सौजन्यबाट हजारौँ हजारलाई पहेँले रोगले थला पार्यो । हैजाले समात्यो । तिनीहरूले औषधिको कुरा त परै जाओस् एक बोतल शुद्ध पानी पनी खान पाएका छैनन् । ती मध्ये १२÷१५ जना त अर्कै लोकको यात्रामा पनि गइसके । तर कुनै नेतालाई साधारण रोग लाग्यो भने पनि उहाँको लागि लाग्ने सबै खर्च देशले व्यहोरेर विदेश लगिएको हुन्छ । किन कि उहाँहरूले त यत्रो देश बोक्नुपर्छ, शाखासन्तानको भविष्य बनाउनुपर्छ । जनता जस्तो हो र ? दुई÷चार हजार जनता मरेर के हुन्छ र ? नेतालाई त जसरी पनि त बँचाउनु पर्यो नि ! खै कुरो बुझेको ?

अँ मैले त आग्राको कुरो गाग्रामा पो पुर्याएँछु ! माफ गर्नुस् है ! कहाँ खा.पा. संस्थानलाई धन्यबाद दिन लागेको मान्छे कहाँको ढाँट्छल् र रोगव्याधीको कुरामा पो पुगेँछु । खास कुरा के भने मेरो धारामा पानी आउन छाडेको ६/७ महिना भएको थियो । पहिले पहिले ८/१० पटक त खाने पानी संस्थानमा गएको थिएँ । तर कहिले के कहिले के भनेर पन्छाउने काम भयो । म पनि दिक्क भएर धारै बिग्रेको होला, लौ त मरोस्, भनेर जान छोडेँँ । पानी नआएकोले दस्तुर पनि तिर्न गइन ।

एक दिन मेरी नातिनी धारा नजिक खेल्दै रहिछ धाराबाट स्वाँ ! ! गर्दै आवाज आएको सुनेर “लौ, हाम्रो धारोमा के पसेछ, एकदम सुसाएको छ” भन्दै चिच्याउँदै आई । के भए छ त भनेर सबै जना गएर हेरेको त मिटर पनि यता र उता हल्लेको रहेछ । सायद मेनलाइनमा पानी दगुरेकोले यतातिर हावा आएको हुनसक्छ भनेर मैले अनुमान लगाएँ र अर्को दिन खा.पा. संस्थानका फाँटवाला साहबलाई गुहार्न गएँ ।

उहाँले “पाँच रुपियाँको रसिद लिएर यो फारम भर्नुस् र हाकिम सहबको तोक लगाएर ल्याउनुस् ।” भन्नुभयो । मैले सोही अनुसार फारम भरेर हाकिम साहबकहाँ लगेँ । उहाँले पानीको महसुल तिरेको प्रमाण ल्याउन अराउनु भयो । म पुनः फाँटवाला साहबकहाँ गएँ ।

उहाँले लेखा शाखामा पठाउनुभयो । म अनुशासित विद्यार्थीजस्तै ज–जस्ले जे जे भन्छन् त्यसै गर्दै लेखा शाखामा पुगेँ । लेखापाल साहबले “तपाइँले महसूल नतिरेको ७ महिना भएछ । कति उठेको छ, मिटर नहेरी हुँदैन । मिटर हेर्नलाई भोलि मिटररिडरलाई पठाउँला । तपाइँ पर्सि आउनुस् ।” भन्नुभयो म लुरुक्क फर्केर घर आएँ ।

मिटर रिडर साहबको साइत एक हप्तापछि जुरेछ । उहाँ आएपछि मिटर हेरेर भन्नुभयो– “तपाइँको मिटर बिग्रेछ । चलेको छैन । अफिसमा आएर निवेदन दिनुुस् ।” म फेरि खा.पा. कार्यालय पुगेर लेखापाल साहबमा नमस्ते बजाएँ । उहाँले कम्प्युटर हेरेर– “तपाइँको मिटर बिग्रेको र सात महिना देखिको महसुल बाँकी रहेछ । मिटर बिग्रेपछि मिटर नभए सरह मासिक रु. ७८५ का दरले ७ महिनाको ५४९५ र १० प्रतिशत, २० प्रतिशत र ५० प्रतिशत आदि आदि जोडेर झण्डै आठ हजार र त्यसमा ढलको ५० प्रतिशत समेत जोडेर करीब १२ हजारको बिल मेरो सामुन्नेमा तेस्र्याउँदै यो बिल भुक्तानी गरेपछि बल्ल अरु काम अगाडि बढाउन मिल्छ” भन्नुभयो ।

“हजुर, मेरो धारामा पानी नै आएको छैन । कसरी मिटर घुम्छ ?” मेरो रुन्चे भनाइ ।
“तपाइँले बेलैमा आएर खबर गर्नुपर्थ्यो । अहिले भनेर हुन्न तपाइँले तिर्नै पर्छ । नभए कार्यबाही हुन्छ ।” यो थियो लेखापाल साहबको हुँकार । न्यायधीशका सामुन्ने कसैले मान्छे मारे त देखिजान्ने, सुनीजान्ने प्रमाण नभए मुद्दा लाग्दैन । पुलिसका अगाडि घुमिरहने अपराधी पुलिसका नजरमा फरार ठहर्ने देशमा बसेको म बबुरोले धेरै पटक आएर निवेदन गरेको थिएँ भनेको प्रमाणलाई पाएसम्म खाने अड्डाले मान्यता दिनुपर्ने कारण केही रहेन । पैसा नबुझाइकन त्यहाँबाट छुटकारा पाउने आशा नदेखेपछि लेखापाल साहबले भने जति जरिबाना सहितको महसुल मेरै मुटुमा शूल भए पनि तिरेर हाकिम साहबकहाँ हाजिर हुन गएँ तर हाकिम साहब भने साइड भिजिटमा पाल्नुभएछ । त्यो दिन पनि म लुरुक्क फर्केर घरै आएँ ।

अर्को दिन दशै बजे पाए खाने सस्थानमा फेरि गएँ । १२ हजार बुझाएको बिल देखेपछि हाकिम साहबले मुसुक्क मुस्काएर बाहुलिनिशान दिनुभयो । त्यो लिएर फाँटवाला साहबकहाँ गएर नमस्कार सहित तोक लाएको निबेदन टत्र्mयाएपछि उहाँले एक जनालाई देखाएर– “आज उहाँलाई अन्यत्र खटाएको छ । भोलि आएर उहाँलाई लिएर जानुस् र पम्प लगाउन भन्नुस् ।” भन्नुभयो । त्यो दिन पनि भोलिको तारिख लिएर आएँ ।

फाँटवाला साहबले देखाइदिएको मानिसलाई लिन अर्को दिन दशै बजे पुगेँ । उहाँले भने मप्रति बडो दया देखाएर भन्नुभयो– “हुन त मलाई अर्को ठाउँमा पनि जानु छ । तै पनि तपाइँले धेरै दिनदेखि दुःख पाउनु भएको छ । तपाइँकहाँ नै पहिले जान्छौँ । तर साइकिल लिएर जाउँ भने तपाइँ छुट्नुहुन्छ । तपाइँको घर देखिएको छैन । यो त्रिखुट्टे पम्प बोकेर पैदल जान सकिन्न । त्यसो भएर एउटा टेक्सी लिनुस् सँगै जाउँला ।” ठीकै छ त भनेर उहाँहरूलाई टेक्सीमा राखेर ल्याएँ । पम्प लाएर २÷३ बाल्टी पानी पठाएपछि जाने बेलामा मेरो मुखमा हेरेर भने– “साइकिल ल्याइएन यो सामान लैजानुपर्ने ।” हो त नि ! भनेर टेक्सीलाई पुग्ने रु तीन सय दिएँ । फेरि मेरो मुखतिर हेरेर भने “पम्प चलाउँदा थाकिएको छ । भोक पनि लागेको छ ।”

हो त नि ! त्यत्रो पैसा त त्यसै तिरियो भने यी निम्न स्तरका कर्मचारीलाई चिया खान नदिनु पनि त राम्रो भएन नि ! भनेर त्यो पनि दिएँ । त्यसको भोलिपल्ट त साँच्चै पानी रसायो । छोराछोरी, बूढाबूढी सबै मिलेर हाते पम्प चलाएको त साँच्चै नै हततत गर्दै लेदो सहितको पानी आयो । त्यो देखेर केटाकेटीहरू “हाम्रो धारामा पनि पानी आयो” भनेर उफ्रे । नउफ्रुन् किन र ? ६/७ महिनादेखि कमिला हिँड्ने पाइपबाट हिलै भए पनि चिसो झोल झरेको थियो । पम्प चलाउँदै गयौँ । एक छिनपछि माटो कम तर पहेँलो दाल जस्तो झोल भातका सिताहरू देखिए । केटाकेटी फेरि उफ्रे “लौ अब त पानीको साथै दाल र भात पनि आयो ।” भनेर । तर दाल थियो वा के थियो कुन्नि ? आची जस्तै गनाएको थियो ।

हामीले नाक खुम्च्याएर भए पनि पम्प चलाई नै रह्यौँ । यो पालि त झन् टमाटरका बिया र केही झाम्टा झाम्टी आए । “लौ तर्कारी पनि आयो ।” भनेर केटाकेटी फेरि कराए । त्यसपछि त गड्यौलाका टुक्राटुक्री पनि देखिन थाले । अहिले त मेरो जेठो छोराले अथ्र्यायो– “खा.पा. संस्थानलाई धन्यवाद दिनै पर्ने भयो । उसले त हामीलाई पानीका साथै दाल, भात, तर्कारी र मासु समेत पठाइदियो ।”
म भने हेरेको हेर्यै भएँ । यत्रो मेहनत र खर्च गरेर धारोमा के आयो ? भनेर ।

२०७१/२/१० धुम्बाराही, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
धन्य प्रजातन्त्र

धन्य प्रजातन्त्र

रमेश गौतम ‘पाल्पाली’
श्रीमती महात्म्य

श्रीमती महात्म्य

रमेश गौतम ‘पाल्पाली’