हाम्रो बस्तीको केन्द्रमा नयाँ नयाँ प्रलोभन प्रचारका साथ जनसेवाव्रती नामबाट एउटा शिक्षण अस्पताल खुल्यो । अस्पतालमा लगानी गर्ने राजनीतिक नवधनाढ्यहरू, डक्टरहरू र सत्तासम्पन्न राजनेताहरू अस्पतालबाट अथाह आमदानी हुनेमा ढुक्क नहुने कुरै थिएन । सवै उत्साही थिए । चहलपहल भव्य थियो ।

डाक्टरी पढ्ने भनेको प्रसस्त हुनेखानेका छोराछोरीले हो । नहुले के खाएर डाक्टरी पढ्छन् ? यसै सोच मुताबिक गम्भीर चिन्तन–मननका साथ खुलेको जनसेवाव्रती शिक्षण आस्पतालमा पढाइशुल्क पचासलाखभन्दा घटी राखिनु सम्भव थिएन । यसका अतिरिक्त डोनेसनको ग्राह्यता छुट्टै थियो । प्रवेशका लागि विद्यार्थीको पढाइ खास प्राथमिकतामा थिएन । जसले बढी डोनेसन दिन सक्थ्यो त्यसले सहजै प्रवेश पाउँथ्यो । हुनेखाने परिवारका किशोर किशाोरीका लागि लोकतान्त्रिक गणतन्त्रले जुटाइदिएको अपूर्व वरदान थियो यो । छिमेकी मुलुकबाट पनि विद्यार्थीहरू आए । आवश्यक सिटसङ्ख्या पूरा हुन धेरै समय लागेन ।

हेर्दाहेर्दै भव्य रुपमा चालु भयो शिक्षण अस्पताल । वरपरका बिरामीहरू पनि उपचारका लागि आउन थाले । उपचारका एक एक पाइला महँगा थिए । ‘विद्यार्थीबाट महँगो शुल्क असुलेपछि बिरामीलाई त निःशुल्क उपचार गरे पनि नोक्सान पर्ने होइन । चारैतिरबाट धेरै बिरामी आउँछन् । नाफै हुन्छ । निःशुल्क नभए थोरै शुल्कमा सस्तो उपचार गरिदिए मात्र पनि शिक्षण अस्पतालप्रति स्थानीय जनता कृतज्ञ हुन पाउँथे । शिक्षण अस्पताल चलाउनका लागि बिरामीहरू अत्यावश्यक पूर्वाधार नै पनि हुन् ।’ कतिपय वौद्धिकहरूले अस्पताल प्रशासनसमक्ष यस्तो सल्लाह सुझाव राखे । प्रशासनको कानमा बतास लागेन । एक जना डाक्टरले त मुख फोेरेर जवाफै दिए, “अस्पतालको आमदानीले अस्पताल चल्यो भने पो विद्यार्थी शुल्कले हाम्रो लगानी उठ्छ, नत्र कसरी उठ्छ ?”

एक जना जोदाहा वौद्धिक पनि थिए स्थानीय समुदायमा । उनले मुस्कुराउँदै भने, “एक वर्षको शुल्कले तपाईंहरूको लगानी उठ्छ । अर्को वर्षको शुल्कले के उठाउनुहुन्छ ?” यस प्रत्युत्तरमा डाक्टर मुस्कुराए । केही बोलेनन् ।

एक दिन अस्पताल प्राङ्गणमा स्थानीयहरूको जुलुस आयो ।
“मैले ढ्याङ्ग्रो ठोकेर, कुखुरा काटेर मनाइआएको देउदेउता त्यसै गरी मनाउन पाउनुपर्छ । यहाँ आएको एउटा मेरो छिमेकी बिरामी छ । त्यसको व्यथा डाक्टरको ओखतीले निको हुने व्यथै होइन । त्यसको जड के हो डाक्टरलाई थाहै छैन ।” जुलुसमा आएको झाँक्री साहिँलाले ढ्याङ्ग्रो बजाउँदै प्राङ्गणमा एक फन्को मा¥यो र औँला ठड्याउँदै गज्र्योे– “खरदार,बिरामी मर्ला !”

“म यस सेरोफेरोको नामुद धामी हूँ । गाउँमा बिरामी हुँदा मैले धम्यौल गर्न पाउनुपर्छ । आङमा आउने देउताले के बक्छ त्यस मुताबिक मैले ओखती गर्न पाउनुपर्छ । मैले यस्ता हजारौं बिरामीलाई धामी बसेर निको पारेको छु । अकार्थमा मेरो अपमान गर्न पाइँदैन !” बाहुला सुर्कँदै बुढा धामी भूतनाथ कराए ।

“यो फुकेर निको हुने रोग हो । अस्पतालले नानाभाँती ओखती कोच्याएर रोग बढाउने काम गरेको छ । रोग निको पार्न अस्पतालको कुनै ओखती चाहिने नै होइन । म फुक्छु । सात दिन फुकेपछि चेट् हुन्छ । मैले फुक्न पाउनुपर्छ ।” झारफुके चन्द्रलाल बर्बरायो ।

“जडीबुटीको महिमा बेग्लै छ । जडीबुटी भगवान्को सृष्टि हो । मान्छे पनि भगवान्को सृष्टि हो । मान्छेकै रोग निको पार्न भगवान्ले विभिन्न जडीबुटी सिर्जेका हुन् । मेरो जिम्मा दिनुहोस् म विभिन्न जडीबुटीबाटै रोग निको पार्छु !” झारीखण्डे दीपक माझीले सक्दो चिच्याएरै आफ्ना कुरा राखे ।

जुलुसनजिकै उभिएका वैद्य एकनाथले चारैतिर आँखा नचाउँदै भने, “हाम्रो त वास्तै छैन ल । हामी वैद्य । आयुर्वेदका ज्ञाता हामी । आयुर्वेदको इतिहास हज्जारौँ वर्षको छ । अथर्ववेदबाट सुरु भएको छ आयुर्वेद । यसमा युगौँयुगको अन्वेषण र अनुभव गाँजिएको छ । यस्ता जटिल रोगको उपचार त हामी वैद्यले गर्न पाउनुपर्ने हो ।”

यसैबीच जुलुसमा केही मानिसहरू थपिए । शायद तिनैको प्रतीक्षामा थियो जुलुस । एक्कासी गगनभेदी आवाजमा नारा सुरु भयो, “धामी झाँक्री एक होऊँ । झारफुके झारीखण्डे भाइ भाइ । हाम्रो परम्परा जिन्दावाद । समावेशी प्रथा लागु गर् । थोत्रो अस्पताल चाहिँदैन, एकलौटी गर्न पाइँदैन । हाम्रो एकता जिन्दावाद !”

नारा जुलुसले क्रमशः जोड पक्रँदै थियो । ओपीडीमा बिरामी जाँचिरहेका डाक्टर त्रिकाल मल्लले बिरामीका सहयोगीहरूतिर हेर्दै भने, “जानुस् हल्ला शान्त बनाउनुस् । हल्लाको बेला पारेर बिरामी ल्याउनेले आफ्ना बिरामीका लागि हल्ला शान्त गराउन सक्नुपर्छ नि ।”

“मान्छे साइत हेरेर बिरामी हुने हो र ?” त्यहाँ उभिएका एक जनाले प्वाक्क भने । अरु मुसुमुसु हाँसेर चुप लागिरहे । डक्टर मल्ल वरिष्ठ काय चिकित्सक । प्रतिक्रिया दिनेतिर लागेनन् । एक पटक छड्के आँखा हानेर काम चलाए । त्यतै नजिकै उभिएका जनवादी पार्टीका कार्यकर्ता तालीराम बन्दाले सँगै उभिएका साथीहरूसित भन्यो, “डाक्टरको सनक ठीक छैन, जुलुसको माग जायज छ । अन्य क्षेत्रमा जस्तै चिकित्सा क्षेत्रमा पनि समावेशी सिस्टम त लागु हुनुपर्छ नि ! धामी, झाँक्री, झारफुके, झारीखण्डे आदि विधिको उपचार स्ांस्कृति परम्परागत रहेको समाजमा अस्पताल ठड्याएर यिनीहरूलाई नै बाहिर पार्न मिल्छ ? धामी विभाग, झाँक्री विभाग, झारफुके विभाग, झारीखण्डे विभागको पनि व्यवस्था हुनुपर्छ नि ! संस्कृतिको अङ्गलाई नकार्न मिल्दैमिल्दैन । जाऊँ हामी पनि जुलुसमा मिसिएर नारा लाऊँ !”

एक छिनपछि यी जनवादी युवाहरू जलुसमा पसेर उफ्री उफ्री नारा लगाइरहेका देखिए । नारा जुलुसको आवाजले अस्पताल परिसर हल्लियो । प्रशासन पनि हल्लियो । जुलुसबाट प्रतिनिधि बोलाएर वार्ता गर्न तैयार भयो अस्पताल प्रशासन । प्रतिनिधि मण्डलमा जनवादी राजनीतिका कार्यकर्ता नपर्ने कुरै थिएन । सन्जोगले उनका बा पनि धामी नै रहेछन् । उनी आफै पनि धामी विद्यामा धेरथोर जानकारी राख्दारहेछन् । छोरालाई भने चिकित्सा विज्ञान पढाएर डाक्टर बनाउने आकाङ्क्षा रहेछ उनको ।

वार्तामा नेतृत्व गर्दै जनवादी कार्यकर्ताले भने, “गणतन्त्रमा अब अस्पताल पनि समावेशी हुनुपर्छ । धामी झाँक्रीलाई पनि ठाउँ दिनु पर्छ ।”

“आउनुहोस् बस्नुहोस् । हामी कोठा दिन्छौं । अस्पतालको रुल नियम त तपाइँहरूले पनि पालन गर्नु पर्छ । गर्नुहोला । थप कुरा के छ भने बिरामी बिसेक भएन भने कुनै कुनै बिरामीका मान्छेले हङ्गामा पनि गर्नसक्छन् । के के मन्त्र के के जरीबुटी कुन किसिमको धम्योल कसरी उपयोग गरेर उपचार गर्ने हो त्यो चाहिँ बिरामीको पुर्जामा नबिराई लेखिदिनुपर्ने हुन्छ । यो पनि अस्पतालको नियमकै कुरा हो ।” अस्पतालतिरका वार्ता प्रतिनिधिले चलाखीसाथ आफ्ना कुराको किलो गाडे ।

“पुर्जा ? पुर्जा त हाम्रो परम्परा होइन त, हामी त ढ्याङ्ग्रो ठटाउँने हो, ढ्याङ्ग्रो । अनि आफ्नो विद्या भट्ट्याउने हो । यो कुरा पुर्जामा किन लेख्नुपर्छ ?” झाँक्री साहिँलाले आफ्नो विमति सहितको प्रश्न उभ्यायो ।

“पुर्जाको झन्झट हामी गर्दैनौँ” सँगै आएका प्रतिनिधि धामीले थपे । “म त जडीबुटीको नाम लैख्नैपर्छ भने पुर्जा बनाएर लेखिदिने हुँ” झारीखण्डेका प्रतिनिधिले भने । “मन्त्र चाहिँ पुर्जामा लेखिदिन मिल्दैन है, बित्यास पर्छ ।” झारफुकेले आफ्नो कुरा राखे ।

जनवादी पार्र्टीका प्रतिनिधिले आफ्नो विशिष्ट राजनीतिक वुद्धि परिचालन गर्दै समावेशवादी साथीहरूतिर आँखा झिम्क्याए अनि अस्पताल प्रतिनिधिहरूतिर हेर्दै भने, “जुगजमाना बदलिएको छ । बदलिएको जुगजमानाको आशय बुझेर चल्न हामीले पनि जान्नैपर्छ । हाम्रा प्रतिनिधि साथीहरूले चित्त बुझाउनुहुन्छ र अस्पताल प्रशासनले पनि मान्छ भने म समस्या समाधानका लागि बीचको प्रस्ताव राख्छु । त्यो के भने मुलुकका धामी, झाँक्री, झारीखण्ड,े झारफुके सवैले आआफ्नो क्षेत्रमा सदा झैँ आफूले गरिआएको काम गर्ने, त्यसका लागि अस्पतालले ठाउँ दिनु नपर्ने । तर यो टिचिङ अस्पतालले हामी धामी झाँक्री झारीखण्डे र झारफुकेका छोरालाई प्लस टु मा जतिसुकै नम्बर ल्याओस् डाक्टर पढ्न खुरुक्क भर्ना लिनु पर्ने । यो कुरामा सम्झौता गरौँ । हुन्छ कि हुन्न ?”

“यो त हुन्छ, किन नहुनु ?” भाँक्री साहिँलाले भन्यो, “मेरो छोरो मङ्गले अहिले १२ को जाँच दिएर बसेको छ । त्यो डाक्टर भयो भने मैले झाँक्री किन हुनुपर्छ ? ल हुन्न, म झाँक्री, छोरो डाक्टर हुन्छ भने म झाँक्री हुन्न । अनि धामी काका, तपाइँको विचार के हो ?”

“मेरो विचार पनि त्यही हो” धामीले भने । झारीखण्डे र झारफुकेले पनि यस कुराको अनुमोदन गरे । डक्टरी पढ्ने विद्यार्थीको भर्ना समावेशी हुनुपर्ने, धामी झाँक्री झारीखण्डे र झारफुकेका छोराले डक्टरी पढ्न अनिवार्य रुपमा निःशुल्क कोटा पाउनै पर्ने मागमा सवै एक बने ।

अहिले हुन्छ भन्ने र पछि बेइमानी गर्ने दृढ निश्चयका साथ अस्पताल प्रतिनिधि सवैको मनमनै कुरा मिल्यो । “अहा राम्रो प्रस्ताव ! हामी यसमा पूर्णतः सकारात्मक छौँ ।” शिक्षण अस्पतालतर्फका प्रमुख वार्ता प्रतिनिधिले भने ।

अस्पतालको वार्ताटोलीमा डा. रश्मी पनि थिइन् । सहज बन्न खोज्दै हाँस्दै उनले भनिन्, “तपाइँहरूको छोरीले चाहिँ डाक्टर पढ्ने कोटा पाउनु नपर्ने ? कसैको छोरी मात्र छ, छोरा छैन भने के गर्ने नि ?”

“खै यस्ता कुरा त हाम्रो दिमागमा आएको छैन है !” धामीले भने, “हुन त हो नि, हिजोआज छोरीमान्छे पनि कति डक्टर छन् । तपाइँ पनि डक्टर नै हुनुहोला हैन ?” “हो, म डक्टर हूँ” रश्मीले भनिन् ।

हतारिँदै आइपुगेको पत्रकार प्रतिनिधिले धामी झाँक्रीका प्रतिनिधिसित सोधे, “तपाइँहरूले आफ्ना छोरालाई आफूजस्तै बनाउन नखोजेर डक्टर बनाउन खोजेको चाहिँ किन नि ? बताइदिनुहुन्छ कि ?”

“डक्टर बनेपछि छोराले कुस्त पैसा कमाउन सक्छ । हामी त एउटा कुखुरा, एक माना चामल, पाँच रुपयाँ दाममा चित्त बुझाउँदै आएका छौँ । हाम्रोजस्तो आशामुखी पेसाले अब काम चल्दैन क्या ! डक्टर भएपछि त कुरै बेग्लै ।” झाँक्री साहिँलाले भन्यो ।

“हो झाँक्री साहिँलाको कुरा ठीक हो ।” धामीले पनि सही थापे । झारीखण्डे र झारफुके बोलेनन् ।

म यस विवरणको लेखक । आज म फुर्सद मिलाएर अस्पताल छिरेको थिएँ आँखा जँचाउँन । आँखा विभागमा पसेँ । चिकित्साकर्मी एउटै भेटिनँ । दिनभरी यही जात्रा हेरेँ र साँझमा घर फर्केँ ।

बालाजु, काठमाडौं