सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

श्याम गोतामेको हास्यव्यङ्ग्य

Nepal Telecom ad

क. विषय प्रवेश 

श्याम गोतामे (१९९६–२०५५) नेपाली हास्यव्यङ्ग्य साहित्यक्षेत्रका एक उज्ज्वल नक्षत्र हुन् । काठमाडौँको पाको पोखलड्याङमा जन्मिएका गोतामेले समय सुहाउँदो शिक्षा आर्जन, पेशा अबलम्बन सँगसँगै साहित्य सिर्जनाले आफूलाई अमर बनाएका छन् । गोतामेको मूलसिर्जन विद्या निबन्ध हो । उनका ‘मपाइँ’ (२०२६) ‘जदौ’ (२०२७), ‘कायनवाचा’ (२०३३), ‘श्याम गोतामेका प्रतिनिधि हास्यव्यङ्ग्य’ (२०४६) जस्ता महत्वपूर्ण निबन्धकृतिहरू पढ्न पाइन्छ भने करिव दुई सयजति फुट्कर रचनाहरू पत्रपित्रकामा छरिएर रहेका छन् । उनका कतिपय रचनाहरू अप्रकाशित अवस्थामै पनि रहेका छन् ।
गोतामेका प्रकाशित सबै निबन्धात्मक कृतिहरूको रचनाशैली हास्यव्यङ्ग्ययात्मक रहेको छ । उनका निबन्धहरूमा नेपाली समाजमा व्याप्त विसङ्गतिहरूको पर्दाफास गरिएको पाइन्छ । प्राय राजनैतिक, साहित्यिक, सामाजिक, प्रशासनिक, मानवीय र पेशागत विसङ्गतिहरू नै गोतामेका निबन्धका विषयवस्तु बनेर आएको देखिन्छ । नेपाली भाषासुद्धिका लागि मरिमेट्ने गोतामेका निबन्धकृतिहरू नेपाली हास्यव्यङ्ग्य लेखनमा भाषिक अनुशासनका नमुना पनि हुन् ।
गोतामेका हालसम्म प्रकाशित निबन्धकृतिहरूमध्ये पछिल्लो कृति श्यामगोतामेका उत्कृष्ट निबन्धकृतिहरूको सङ्कलन हो । गोतामे जीवितै छँदा निस्किएको सङ्ग्रह हुँदा आफ्ना उत्कृष्ट निबन्ध कृतिहरू गोतामेले पनि स्वीकारेको देखिन्छ । उनले यस अघिका सङ्ग्रहमा पनि आफूलाई उत्कृष्ट लागेका निबन्ध दोहो¥याएर प्रकाशनमा ल्याएको देखिन्छ । यस सङ्ग्रहमा अघिल्ला सङ्ग्रहमा सङ्ग्रृहित, पत्रपत्रिकामा प्रकाशित एवम् प्रथमपटक सङ्ग्रहमै सङ्कलित जम्मा २२ ओटा निबन्धहरू रहेका छन् । ती २२ ओटा निबन्धलाई पुस्तककै अनुक्रममा निम्नानुसार अध्ययन गर्न सकिन्छ–
१ चर्चो पानीको : चियो घुसको
प्रस्तुत निबन्ध प्रथमपटक यसै सङ्ग्रहमा प्रकाशन भएको देखिन्छ । यस निबन्धमा शीर्षक जस्तै पानीको चर्चा गरेर घुसको चियो गरिएको छ । निबन्धकारले जीवनलाई पानी र कर्मचारीलाई घुसको महत्व उत्तिकै रहेको देखाएका छन् । यता महँगी शब्दले कर्मचारीलाई बाँच्न पुग्ने तलव नपाएकोतर्फ पनि सङ्केत गरिएको छ । एउटै कुरा र काम गराई व्यक्तिअनुसार भिन्न हुने प्रसङ्गहरू ज्यादै रमाइला छन् । बीचबीचमा उपकथाका रूपमा आएका प्रसङ्गले निबन्धलाई रोचक बनाएका छन् । प्रस्तुत निबन्धले नेपाली प्रशासनिक क्षेत्रमा व्याप्त विकृति र विसङ्गतिलाई नङ्याउँदै घुसपेस, चाकडी, चाप्सुसी जस्ता कुराहरूसँग विमति प्रस्तुत गरेको छ । पानीको चर्चा गर्ने क्रममा एकातिर पानी नपाइने र अर्कातिर मादक पानी पिएको विषय उट्घाटनले सामाजिक विसङ्गतिलाई पनि औँल्याएको देखिन्छ । पानीका, खुवाइका, खाद्यपदार्थका र घुसका विविध रूप एवम् ‘मोही माग्ने ढुङ्ग्रो लुकाउने’, ‘तातैखाउँ जलीमरूँ’ जस्ता उखान प्रयोगले निबन्ध रोचक पनि छ ।
२.मेरो नाम खोइ ?
‘कायनवाचा’ निबन्धसङ्ग्रहमा प्रथमपटक सङ्ग्रृहित प्रस्तुत निबन्धले नेपालको राजनैतिक विसङ्गतिलाई प्रष्ट पारेको छ । असक्षम मान्छेहरू मन्त्रिमण्डलमा कसरी पुग्छन् वा मन्त्रिमण्डलका मान्छेको अवस्था कस्तो हुन्छ भन्ने पक्षको उद्घाटननै प्रस्तुत ‘मेरो नाम खोई ?’ निबन्धको उद्देश्य हो । मोटर हाँक्न सक्ने, स्मार्ट देखिने, तास खेल्न जान्ने, अक्षरसम्म चिन्ने, पार्टी फेरिरहने पात्रले मन्त्रिमण्डलमा नाम खोई भनेर नाम खोजिरहेको प्रसङ्गले नेपालको तत्कालीन राजनीति मात्र होइन वर्तमान यथार्थ पनि प्रष्ट देख्न सकिन्छ ।
३.पू्रफ रिडर–
प्रस्तुत निबन्ध पनि प्रथमपटक ‘कायनवाचा’ मै सङ्गृ्रहित निबन्ध हो । यस निबन्धबाट गोतामेले नेपाली भाषामा अङ्ग्रेजी र हिन्दी जस्ता भाषाको अनियन्त्रित प्रवेश एवम् शुद्ध भाषा लेख्नसक्ने भाषाविद्हरूको अभाव पक्षलाई मूल विषयवस्तु बनाएर व्याकरणको घाँटी अँचेटिएका, शब्द सामथ्र्यको टाट पल्टाइएका, छाडावादी लेखनको अनुसरण गरिएका आदि वाक्यका उदाहरण पस्किँदै प्रूफरिडर शब्द नै शुद्ध नेपाली नभएको र नेपाली लेखकहरूमा भाषा शुद्धाशुद्धिको ज्ञान नभएको पक्षलाई व्यङ्ग्य गरिएको छ । गोतामे स्वयम् एउटा प्र्रूफरिडर भएकाले उनले भोगेका प्रुफरिडरमाथि हुने गरेका शोषणमूलक पक्षहरू पनि उत्तिकै देखाएका छन् । विभिन्न व्यक्तिलाई भेटेर प्रुफसम्बन्धी प्रश्न गरेर ठूलाबडाहरूको आफ्नो भाषाप्रतिको दृष्टिकोण अत्यन्तै फितलो भएको पक्षलाई औँल्याउँदै आजको नेपाली मुद्रण तथा प्रकाशन व्यवस्थालाई भीरबाट खस्न लागेको गोरुझैँ सावित गरिएको छ ।
४.खजाञ्ची बाजेको सम्झना
प्रस्तुत निबन्ध प्रथमपटक यो सङ्ग्रहमा सङ्गृहित देखिन्छ । निबन्धमा एउटा बूढो खजाञ्चीलाई विषय बनाएर नेपालको कर्मचारी वर्गका कमी–कम्जोरी र चाकरी–चाप्लुसी प्रवृत्तिलाई उदाङ्यो पारिएको छ । एकजना महिलाकर्मचारी अफिसमा हाजिर गरेर कसैलाई नसोधी सिनेमा हेर्नगएकी र फर्किएपछि किन यसो गरेकी भन्दा “जसलाई सोध्यो उही पछिलाग्ला भनेर” भन्ने जवाफ दिएको रमाइलो घटनावस्तुले निबन्ध रोचक बनेको छ ।
५.डा.द्रव्यपिशाच
‘डा.द्रव्यपिशाच’ हास्यको तुलनामा तीव्र व्यङ्ग्य भएको एक सफल निबन्ध हो । प्रथमपटक कायनवाचा सङ्ग्रहमा सङ्ग्रृहिन यस निबन्धले नेपाली चिकित्सकहरूको सेवा प्रदानभन्दा आर्थिक सङ्कलन प्रयासले ल्याएका विसङ्गतिलाई नङ्ग्याएको छ । विभिन्न उदाहरणले निबन्ध रोचक पनि बनेको छ ।
६.छोलेभुटुरेको विमोचन
प्रस्तुत निबन्धले नेपाली लेखकका समस्या र ढोँगलाई समेत आफ्नो आधार बनाएको छ । प्रथमपटक यसै सङ्ग्रहमा सङ्गृहित प्रस्तुत निबन्धले एकातिर लेखकमाथि हुने शोषणलाई देखाएको छ भने अर्कोतिर लेखकहरूकै कारणले त्यस्ता शोषकहरू उँभो लाग्दैगएको पक्षलाई पनि देखाएको छ । यस निबन्धमा कृति प्रकाशनदेखि वितरण व्यवस्था र विमोचन समारोहसम्मको सन्दर्भ प्रस्तुत गरिएको छ । कथ्यको स्वरूपले निबन्ध पढौँपढौँ लाग्ने बनाएको छ ।
७.मपाइँ
‘मपाइँ’ गोतामेका निबन्धहरूमध्ये सर्वोत्कृष्ट निबन्ध हो । प्रथमपटक ‘मपाइँ’ सङ्ग्रहभित्र सङ्ग्रृहित यो निबन्ध कमजोर मनस्थिति र लुलो कलम हुने लेखकको व्यवहारलाई उदाङ्गो पार्ने निबन्ध हो । यसले आफ्नो प्रसंशा आफैँ गरेर नाउँ कमाउन चाहनेलाई कायल बनाएको छ । म पात्र बनेर आफैँलाई क्रमशः नङ्ग्याउँदै साहित्य क्षेत्रमा व्याप्त यस किसिमको विकृतिलाई उदाङ्गो बनाउन सफल देखिन्छन् । निबन्धमा पात्र र कथानक पनि अटेकाले रोचक र उत्कृष्ट छ ।
८.विज्ञापनको विज्ञापन
‘विज्ञापनको विज्ञापन’ प्रथमपटक यसै सङ्ग्रहमा सङ्गृहित निबन्ध हो । यस निबन्धले स्थापनाकालताका रेडियो नेपालले फुक्ने गरेका प्राय सबै विज्ञापनलाई आफ्नो विषय बनाएको छ । विज्ञापन विषयको लेखलाई ‘विज्ञापनको विज्ञापन’ शीर्षक दिनु निकै सान्दर्भिक देखिन्छ । यस निबन्धबाट सामानको गुणस्तरभन्दा पनि केवल विज्ञापनको गुणस्तर उठाउनेतर्फ सङ्केत गरेको छ । विज्ञापनमा सबै सामग्री राम्रा हुने तर व्यवहारमा वा उपयोगमा नराम्रा हुने तथ्य अघि सार्दै विज्ञापनको पछिलागेर गुणस्तरीय उत्पादन सामग्री हात नपर्नेतर्फ सङ्केत गरिएको छ । यस निबन्धले उत्पादन कम्पनिहरूमाथि प्रत्यक्ष व्यङ्ग्य गर्नुले एक किसिमको जोखिमपूर्ण लेखन पनि देखिएको छ । विज्ञापनबाट आर्जित र विसङ्गतिलाई नङ्याउनु निबन्धको मूलआशय रहेको छ ।
९.तिहारको उपलक्षमा दाजुलाई बहिनीको निम्ता
‘कायनवाचा’ निबन्ध सङ्ग्रहमा प्रथमपटक सङ्गृहित प्रस्तुत निबन्ध निकै रोचक छ । यसले गोतामेका निबन्धहरूमध्ये भक्तपुर रमाइलो अँगाल्न सकेको देखिन्छ । २०३१ सालताका रचित प्रस्तुत निबन्धले एकातिर पञ्चायतमा नेतृत्व गर्नेहरू र तिनका व्यवहारलाई देखाएको छ भने अर्कातिर नेपाली नारीहरूको दयनीय स्थितिलाई प्रष्ट्याएको छ । नेपाली नारीहरूले दासी सो सरह जीवन बिताउनु परेकोतर्फ सङ्केत गर्दै प्रस्तुत घटना, उपघटनाले व्यवहारिक समस्याहरूलाई पनि उजागर गरेको छ । पढ्न थालेपछि नबिसाई पढौँपढौँ लाग्दछ ।
१०.मेरा पाहुनाहरू
‘मेरा पाहुनाहरू’ पाहुना लाग्ने संस्कृति बनिसकेको नेपाली समाजको यथार्थ चित्र उतारिएको निबन्ध होे । यसअघि ‘कायनवाचा’मा देखा परिसकेको यस निबन्धले रचनाकालीन पाहुना संस्कार त देखायो नै वर्तमानमा पनि जीवन्तता पाएकै छ । कोही मान्छे केही गर्न सक्ने भए जताबाट नाता जोडेर पनि आफ्नो भएको र आफू नै अलि कमजोर भइयो भने जस्तै विपतमा पनि नजाने नेपाली पाहुना संस्कारलाई कायल बनाउनु निबन्धको लक्ष रहेको छ । पाहुनालाई लामखुट्टे र उपियाँसँग दाँज्नु, पाहुनाको वर्गीकरण गर्नु, सानातिना पटकथा उठाउनुले निबन्ध व्यङ्ग्य मात्र नभएर पूरापूरी हास्यव्यङ्ग्य बनेको छ ।
११.घाँस
यो निबन्ध प्रथमपटक यसै सङ्ग्रहमा सङ्गृहित देखिन्छ । घाँसलाई जागिरको प्रतीक बनाएर, जागिर दिनेले खटाइखटाई खुवाउने गरेको उल्लेख छ । यस देशमा लेखकहरू पनि घाँस खाने पशु वा सोसरह गनिएका छन् भन्ने देखाउँदै सम्पादकसँग २, ४ डोका घाँस माग्नुले नेपाली लेखकहरूको स्थिति पनि औँल्याइएको छ । यस निबन्धमा मूलतः श्रममा बाँच्नेहरूको अवमूल्यन भएको पक्ष समातेर मर्मान्तक व्यङ्ग्य प्रहार गरिएको छ ।
१२. साहित्यमा वर्णिक वृत्ति
यस निबन्धमा साहित्य क्षेत्रमा व्याप्त विकृति र विसङ्गतिलाई औँल्याएको छ । धन र बलले साहित्यकार हुनेहरूको भीड बढ्दैजाँदा साहित्य चेप्टिँदै गएकोमा निबन्धकार असन्तुष्ट देखिन्छन् । दुईचार जना मान्छे चिनेर लेखाउने छपाउने र रामै्रराम्रो भयो भनेर समालोचना गराउँदै महान् भनाउने प्रचलनप्रति लेखकको गम्भीर असहमति छ । हुँदाहुँदा आफूलाई साहित्यकार हुँ भन्नुभन्दा अनुभव प्राप्त व्यक्तिका रूपमा मात्र चिनाउन चाहनुले लेखक यस क्षेत्रको विकृतिदेखि दिक्क छन् । यसमा पनि विभिन्न रमाइला प्रसङ्गले निबन्धलाई सरस बनाएको देखिन्छ ।
१३.भुँडी सेवा नियमावली भुँडीसेवा
यो नियमावलीकै शैलीमा तयार पारिएको निबन्ध हो । यसमा प्रस्तावना, सङ्क्षिप्त नाम प्रारम्भ, उद्देश्य, परिभाषा सङ्गठन, शाखाहरू, आमदानीको स्रोत, कोषको सुरक्षा, पुरस्कार दिने पर्ने, सम्पतिको बाँडफाँड सामाजिक न्यायको आधारमा गरिने, उपनियमहरू बनाउने, खारेजी र बचाउ, कदर हुने, नियमावली निष्क्रिय हुने जस्ता अङ्गहरूबाट नियमावलीलाई पूर्ण गरिएको छ । यसबाट देशको प्रशासनिक विसङ्गतिलाई औँल्याउँदै देशसेवाका नाममा केवल भुँडी वा खल्ती सेवामा सक्रिय पदाधिकारीहरूलाई नङ्ग्याउने प्रयास भएको छ । सज्जनका आँखामा पट्टि र बदमासीमा सहयोग गर्नेलाई उचित कदर गरिने प्रसङ्गबाट निबन्ध रचनाकालीन मात्र नभएर समकालीन यथार्थ पनि झल्कन्छ । नियमावली वा प्रस्तावका शैलीमा लिखित यस निबन्धले नेपालमा च्याउसरी खुल्ने सङ्घ संस्था वा योजनालाई कत्ति पनि बाँकी नराखी व्यङ्ग्यवाण प्रहार गरेको छ ।
१४.महान् व्यङ्ग्यकारसँग अन्तर्वार्ता
यो निबन्ध एउटा ढोँगी लेखकलाई नङ्ग्याउने रचना हो । अन्तर्वार्ता शैलीमा रचित यस निबन्धमा आफू ठूलो, आफूले लेखेका सबै कृति राम्रा, अरूका कृति पढ्ने आवश्यकतै नरहेको, जे जति भएका पुरस्कार आफैले पाउनुपर्ने धारणा राख्ने व्यक्तिसँगको अन्तर्वाता प्रसङ्ग रहेको छ । यस्तो प्रवृत्तिले हामी साहित्यक्षेत्रमा पछि परेको छौँ भन्ने देखाउन प्रस्तुत निबन्ध सफल छ । अन्तर्वार्ताका क्रममा आएका प्रसङ्ग रोग छन् । निबन्ध हास्यव्यङ्ग्य पूर्ण छ ।
१५.लेखन उद्योग र धनोपार्जन
लेखन उद्योग र धनोपार्जन साहित्य क्षेत्रमा व्याप्त विकृति र विसङ्गतिको पर्दाफस हो । पटकथाका रूपमा आँखाका प्रसङ्ग र उपप्रसङ्ग ज्यादै रमाइला र सान्दर्भिक छन् । नेपाली साहित्यमा लेखक बढे भाषा मरे भन्ने स्वनिर्मित उखान सार्थक देखिन्छ । बीचमा कविताका टुक्राटुक्री रहनुले निबन्ध झन् रोचक बनेको छ । ठूलाबडाले अर्कै लेखकको रचनालाई पढ्दै अर्कै लेखकको नाम लिने बुद्धुपनको राम्ररी नै पुष्टि गरिएको छ । लेखन उद्योगमा धनोपार्जन त्यागौँ र अन्य क्षेत्रको महँगीलाई समर्थन गरौँ भनेर साहित्यको भविष्य खतरामा रहेको देखाइएको छ । प्रस्तुत निबन्ध गोतामेका उत्कृष्ठ निबन्धमध्ये एक हो ।
१६.सेलाएको साहित्य
सेलाएको साहित्य पनि साहित्य क्षेत्रमा व्याप्त विकृति र विसङ्गति कै झाक्रो झार्ने निबन्ध हो । निबन्धकार म पात्र बनेर स्वयम्ले देखेभोगेका घटना र अनुभवहरू निबन्धका विषय तुल्याएका छन्, गरिमा पत्रिकामा रचना नछापुन्जेल लेखक दारिन सकिँदैन भन्ने प्रसङ्गबाट खोतल्न थालिएको साहित्यिक विसङ्गतिको उद्घाटन लेखन, सम्पादन, समालोचना, अनुसन्धान, विद्यावारिधि, पुरस्कार प्राप्ति सबै क्षेत्रसम्म पुगेर गर्न सकेको देखिन्छ । सत्ताका केस्रा केलाउने भन्दा रचनाकारका बोक्रा छोडाउने प्रवृत्तिको उद्घाटन मर्मस्पर्शी देखिन्छ ।
१७.बहिदारको छनोट
बहिदारको छनोट निबन्ध जागिर दिने र खाने बिचका विसङ्गतिको पर्दाफास हो । एउटा बहिदारको आवश्यकता पुर्तिका निम्ती गरिएको विज्ञापन पछि उपस्थित प्रत्याशीहरूका विचारबाट यस क्षत्रका विसङ्गति नङ्ग्याइरहेको छ । निबन्ध संवादात्मक वा नाट्यात्मक बन्न पुगेको छ । जति पात्रको उपस्थिति त्यति हाँस्य व्यङ्ग्य रहेकाले निबन्ध उत्कृष्ट छ । प्रमाणपत्र र अनुभवपक्षका प्रसंगहरू ज्यादै सान्दर्भिक देखिन्छन् । एउटा निजामतीकर्मचारीले कर्मचारीका गुणहरू बताउने क्रममा त्यसक्षेत्रका विसङ्गति औल्याएको छ भने प्रत्यासी भध्ये नाम निस्किएको दिनको प्रसंगले समग्र जागिर दिने र लिनेको लहरो तानिएको छ।
१८.लेख कसरी तयार गर्ने ?
लेख कसरी तयार गने पनि यस सङ्ग्रह भित्रका मपाइँ, घाँस, साहित्यमा वार्णिक वृत्ति, महान् व्यङ्ग्यकार सँग अन्तर्वाता, लेखन उद्योग र धनोपार्जन र सेलाएको साहित्य आदि साहित्यीक विसङ्गतिलाइृ नङ्ग्याृने निबन्ध कै कोटिमा पर्दछ । यस निबन्धमा लेखक कसरी बन्ने भन्ने शिर्षक सार्थक बताउादै कैची, प्रकाशित सामग्रीहरू, चिनेका पत्रकारहरू र नातेदार समालोचकहरूलाई आवश्यक कुरा देखाइएको छ । उक्त सामग्रीहरूलाई कैचीले प्रकाशित कुरा काटेर भेला पर्ने चिनेका मत्रकारलाई छाप्न दिने र नातेदार समालोचकलाई समालोचना गर्न लगाएर ठूलो लेखकहरू लाउने गरी उपयोग गर्न पनि सिकाइएको छ । यस किसिमका लेखक प्रसस्त पाइन्छ । गोतामेले भन्नका लागी लेखकका पुर्पुरामा उहल्को उढ्ने गरी व्यङग्य प्रहार गरेका छन् । निबन्ध निकै उत्कृष्ट छ ।
१९.माड्साप
गोतामेको सर्वोत्कृष्टमध्येको एक निबन्ध यो पनि हो । यस निबन्धको सुरुवात एक हासयव्यङ्ग्यकार वा वासुदेव शर्मा लुइँटेलबाट गरिएको छ । जर्सापलाई पढाउने माड्साप, त्यसपछिका माड्साप यस समाजमा छरिएका विसङ्गतिपूर्ण पात्रहरू हुन् । जो माड्सापका रूपमा चिनिन्छन् र समाजलाई अधोगतितर्फ धकेल्छन् । अरूलाई अनुशासनको पाठ सिकाउँछन् र आफैँ अनुशासन उल्लङ्घन गर्छन् । यस निबन्धबाट शैक्षिक र प्रशासनिक क्षेत्रमा व्यापत विसङ्गतिलाई देखाइएको छ । निबन्ध तुलनात्मक रूपमा अन्यभन्दा बौद्धिक छ ।
२०.शुद्ध किन लेख्ने ?
गोतामे स्वयम् भाषा शुद्धिका निम्ति मरिमेट्ने लेखक हुन् । उनले ठाउँठाउँमा आफ्ना लेखहरूबाट नेपाली भाषा लेखन भित्रका विसङ्गतिलाई औँला ठड्याउँदै आएका छन् । प्रस्तुत निबन्ध पनि अशुद्ध भाषा लेखेर महान् कहलाउनेहरूलाई चड्कन हो । अखबार पत्रपत्रिका, पुस्तक र ग्रन्थको त के कुरा शब्दकोशसम्म भाषा अशुद्धिले ग्रस्त देखिन्छन् । एकातिर गल्ति गर्ने गल्ति गर्छ अर्कातिर त्यो गल्ति ठम्याइदिने पनि छैनन्, थुप्रै पण्डित, स्नातकोत्तर, विद्यावारिधि र ग्रन्थकारहरू छन् तर तिनलाई भाषा अशुद्धि त्यति ठुलो कुरा बन्दैन भनेर गरिएको व्यङ्ग्य ज्यादै सान्दर्भिक छ । विभिन्न उदाहरणहरूसहित प्रस्तुत निबन्धको मूल उद्देश्य भने कम्तिमा पनि लेखकमा भाषा सचेतता रहनुपर्ने अडान हो ।
२१.लेखक र बुटपालिस
लेखक र बुटपालिस नेपाली साहित्यमा घटित एक घटना वा आन्दोलनलाई विषय बनाएर लेखिएको निबन्ध हो । लेख्नुभन्दा बुटपालिस गर्नु महत्वपूर्ण कार्य हो भन्दै नेपालमा लेखकलाई हेर्ने दृष्टिकोणमाथि कडा व्यङ्ग्य गरिएको छ । यस निबन्धमा एकातिर आदरणीय लेखकहरू बुटपालिस गर्न सडकमा ओर्लंदा समेत सरकारी सञ्चार माध्यमले महत्व नदिएको पक्ष देखाइएको छ भने अर्कातिर नेपाली लेखकको मूल्य जुत्तापालिस गरेर बस्नेहरूको जति पनि नभएको सङ्केतबाट जटिल व्यङ्ग्य पस्किइएको छ । कुकुरले मान्छे र मान्छेले कुकुर टोकेका, फलानो र फलानी जोइल पोइल गएका, शोध गरेका, विद्यावारिधि गरेका, पत्नीकाबारे शोध गर्दै वर्तमान र भविष्य खण्ड सिध्याएर अतितबारे सामग्री सङ्कलन गर्दा हृदय गति बन्द भएका जस्ता रमाइला प्रसङ्गले निबन्ध व्यङ्ग्यात्मक मात्र नभएर हास्यात्मक पनि छ । प्रस्तुत निबन्धले कायनवाचा सङ्ग्रहमा चर्चाको स्थान पाएको थियो ।
२२.बन्दको बन्दोबस्त
हाम्रा पितापूर्खा बन्दकोपी भनेपछि हुरूक्कै हुनाले बन्दको संस्कार हाम्रो पुख्र्यौली आर्जन मान्दै सुरू गरिएको प्रस्तुत लेख शीर्षक हेर्दा वर्तमान समयमा हुने गरेका बन्द जस्तो लागे पनि अलिक भिन्न छ । यहाँ बन्दका विभिन्न प्रकार र बाँकीहरू अटाएका छन् । बन्दकोपी, बन्द व्यापार काम बन्द, भाषा बन्द, पढाइ बन्द, बकवास बन्द, नेपाल बन्द जस्ता बन्दका प्रसङ्ग उठाइएका छन् । कुरोको चुरो भने नेपालबन्दसँग ज्यादै निकट छ । प्रस्तुत निबन्ध रचनाताकाभन्दा झन् समसामायिक बन्न थालेको देखिन्छ । बन्दग्रस्त वर्तमानमा महत्व पाएको यस निबन्धले व्यङ्ग्य जतिकै हास्य पनि अँगाल्न सकेको देखिन्छ ।

ग. समापन
उपर्युल्लिखित अध्ययनमा श्याम गोतामेको समग्र नभई केवल प्रतिनिधि निबन्धका रूपमा २२ ओटा निबन्धको चिनारीसम्म दिइएको छ । गोतामेका प्रस्तुत निबन्ध प्रतिनिधि हुनुमा लेखकको आत्मस्वीकृति पनि पाइन्छ । समग्रमा प्रस्तुत निबन्धले सामाजिक, राजनैतिक, साहित्यिक, सांस्कृतिक, प्रशासनिक, शैक्षिक, आर्थिक लगायतका क्षेत्रहरूमा व्याप्त विसङ्गतिहरूको उठान गर्दै तिनमाथि पर्याप्त व्यङ्ग्य गरिएको छ । गोतामेका हालसम्म प्रकाशित कृतिहरूमध्ये मानक कृति यही हो । करिब दुई सय निबन्ध सङ्कलन हुन बाँकी नै रहेकाले उनका निबन्ध रचनामध्ये सर्वोत्कृष्ट रचनाहरू यिनै हुन् भन्न चाहिँ सकिदैन । गोतामेबारे थप अध्ययन अनुसन्धान हुन आवश्यक छ । नेपाली हास्यव्यङ्ग्य निबन्धलेखन परम्परामा गोतामेको उपस्थिति निकै गहकिलो र चहकिलो दुवै छ ।
पाँचथर
(फित्कौली– अङ्क ७ बाट)

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जय वासुदेव बाजे

जय वासुदेव बाजे

डा. रमेश शुभेच्छु
घिराैँलाे

घिराैँलाे

डा. रमेश शुभेच्छु
तीन टुक्रे कविता

तीन टुक्रे कविता

डा. रमेश शुभेच्छु
चार ठोकान

चार ठोकान

डा. रमेश शुभेच्छु