एक

माफ गर म कुनै हालतमा पनि तिम्रो हनुमान हुन सक्तिनँ
तिमी जतिसुकै प्रलोभन देखाऊ म तिम्रो पाउ धुन सक्तिनँ
बरू एक छाक खान्छु टालेको लाउँछु बरू थोत्रै घरमा बस्छु
बिर्सेर होस् कहिल्यै पनि म तिम्रो जयजयकार गाउन सक्तिनँ ।

दुई

चुनाव जित्यौ माथि गयौ योभन्दा बढी तिमीले के गर्यौ र !
खल्ती भर्यौ गाडी चढ्यौ योभन्दा बढी तिमीले के गर्यौ र !
हामी त तिम्रा दास न हौँ बोल्यो भने पार्टी विरोधीमा दर्ता गरिहाल्छौ
विदेश घुम्यौ महल ठड्यायौ योभन्दा बढी तिमीले के गर्यौ र !

तीन

राजनीतिको मुखुन्डो लगाएर राजनीतिको रूख ढाल्ने धेरै छन्
साहित्यको निम्ति आँसु बगाएर साहित्यको हाँगा काट्ने धेरै छन्
हेर्दा उस्तै देखिन्छन् कुरा सुन्दा होनहार लाग्छन् भित्री उद्देश्य के थाहा हुन्छ र !
बाहिर प्रेमको नाटक देखाएर भित्र प्रेमको व्यापार गर्ने धेरै छन् ।

चार

बिरामी हुँदा हिजो साथीहरू औषधि गर्नतिर लाग्थे आज ‘मरे हुन्थ्यो’ भन्छन्
पिरमा डुब्दा हिजो साथीहरू ‘के भयो ?’ भनेर सोध्थे आज ‘खुच्चिङ’ भन्छन्
कुर्सीको लागि जे पनि हुनथाल्यो हजुर ! कुनैबेला जसको बुई चढेर जोजो माथि पुगे
आज तिनै साथीहरू त्यो साथीलाई बिदा गर्न ‘आर्यघाट कहिले जान पाइएला ?’ भन्छन् ।

हेटौंडा