आदरणीय ससुरा बा जधौ,

हुन त छोरी दिन मन नलागेको केटाले सिधै ससुरा बा भन्दा झनक्क रिस उठ्यो होला है हजुरलाई ? हजुरले जे सोचे नि, मैले हजुरकी छोरी नै ब्या गर्ने निधो गरीसक्या छु र हजुरकी छोरी डल्लीले पनि ‘बा आमाले जेसुकै भनून्, म त तिमीसँगै ब्या गर्ने हो’ भनेकी छिन् । त्यही भ’र मैले त हजुरलाईनै ससुरा बा स्विकार्न थालिसकेको छु । छोरी राम्रै हिसाबले दिनु भएछ भने ठिक्कै छ, नत्र हाम्रो कुरो छँदै छ ।

ल्या, सन्चो बिसन्चो त सोध्नै बिर्र्सेेछु, आरामै छ नि, हैन ?? अनि सासूमाको बाथले घुँडा खूब दुख्च रे भन्ने सुन्या थेँ, अहिले कस्तो भ’को छ कुन्नि ? कहिलेकहीँ त सासूमाको कर कर कर कर सुन्दा झर्को लाउँदो हो है हजुरलाई पनि । अनि सालो केटो पनि खूब बरालिँदै हिँडेको छ रे भन्ने सुनेको छु । पिर नगर्नु होला, हजुरकी छोरीसँग ब्या गर्ने बित्तिकै सालो केटालाई अरपतिरको एउटा भिसा जसरी भए नि झार्ने छु । तै’नि यता आएपछि सुध्रिन्छ कि ?

नेपालमा छोराहरू अरपतिर आउनेका बाउआमालाई छोरो फिलिपिनो केटीसँग लागेर बिग्रयो कि भन्ने साह्रै त्राहि त्राहि हुन्छ अरे । हजुरले पनि मलाई त्यही नजरले हेर्नु भ’को भएर छोरी दिन गाह्रो मान्नु भएको हो भने, धरोधर्म, बिद्या नष्ट, मैले त्यस्तो केही गर्या छैन । किन हो किन, यो फिलिपिनो भन्ने बित्तिकै मेरो त दिमाग तातेर आउँछ । हजुरकी छोरी डल्लीले के मोहनी लगाई लगाई, त्यस्लाई बाहेक अरू कसैलाई सोच्न पनि मन लाग्दैन ।

यति भनिसक्दा हजुरले बुझी सक्नु भो होला, हामी दुई बीचमा कस्तो डिप लप पर्या रछ भनेर । यो बुढेसकालमा आएर हामी जस्तो जोडीलाई छुट्याउन हजुरको मन छ भने, म राम राम मात्र भन्न सक्छु काँध थाप्न सक्दिन ।

हजुरको मनमा यसले आज किन यस्तो चिठी लेख्यो भन्ने कुरा खेलीरा’ होला है । वास्तवमा कुरा के भने नि, आज नुहाउँदै थिएँ, बाथट्युवमा पानी बल्क भयो, के भयो भनेर यसो हेरेको त, अलि अलि कपालका रौ देखेँ। अनि अल्लि खोतलखातल पारेको त मेरा बाबै....!!! ड्रेनेजको प्वाल त पुरै रौँले भरिएको रहेछ । अनि हत्तपत्त किचेनमा गएर काँटा ल्याएर प्वाल खोतलेको त गतिलो एक मुठी कपाल निस्क्यो । अनि ऐनामा गएर आफ्नै तालु हेरेँ, तालु त भर्खर धान रोपेको खेत जस्तो देखिएको रहेछ । मलाई साह्रै पिर पर्यो । पिर यस अर्थमा पर्यो कि यसै त हजुरले छोरी दिन गाह्रो मान्नु भ’को छ त्यही माथि यो तालु यस्तरी खुइलिँदै गयो । हुन त उमेर सँग–सँगै धेरै जसोको तालु खुइलिँदै जान्छ, यसै त मन नपरेको केटो अझ तालु पनि खुइलिएको देख्दा हजुरको मन अझै खिन्न होला कि भनेर यो चिठ्ठी लेखेको हुँ । घरोधर्म, यस्तरी तालु खुइलिने नै उमेर त भएको छैन, विश्वास गर्नुहोला ।

हेर्नुस् ससुरा बा, यो अरपको पानी साह्रै रुखो हुँदो रहेछ । यहाँ ५–६ वर्ष बिताउने हो भने तालु त चिल्लै हुने रहेछ । नपत्याए मेरा मित्र समुन्द्रजीलाई हेर्नोस् । म मात्र कहाँ हो र ? मेरा साथीहरूको पनि तालु खुइलिँदै गएको छ, डल्लीलाई भनेर मेरो फेसबुकका फोटाहरू हेर्नोस् त ।

खैर, तालु हेरेर ज्वाईं बुढो पर्यो नभन्नु होला । मिलेसम्म म यही मङ्सिरमा आउने छु । डल्लीलाई घरको कामकाज सिकाउनु होला । हजुरले माने पन्चे बाजा बजाएर ब्या गरौँला नत्र हाम्रो कुरो छँदैछ ।

उही हजुरको हुनेवाला डोरीलाउरे ज्वाइँ
डल्ले

सभार : http://krishol.com.np