श्री गणेशाय नमः भन्ने बित्तिकै गणेशको वाहन मुसो सम्झनु पर्छ । त्यत्रा धम्मरधुस भुँडे गणेशलाई ढाडमा राखेर दगुर्ने मुसो कम बलियो हुन्न । बत्ती झिलिक्क बाल्न नपाई मिलिक्क गरेझैं कुद्ने मुसो गणेशजी ढाडमा चढेर आसन जमाएपछि के कुद्न सक्थ्यो ? त्यसैले कुमारजी विश्व भ्रमण गरेर फर्कंदा मुसोले आफ्ना मातापितालाई एक फन्को लगाउनसम्म भ्याए भनौं । छोरो टाठोबाठो होला, विश्व यात्रा गर्ला भनी महादेव पार्वतीले परीक्षा लिएको त आफ्नो पिलन्धरे वाहन देखेर गणेशजीले मातापितालाई नै विश्व बनाए ।

धन्य प्रभु ! यस्ता आफ्ना सेवकको इज्जत राख्ने गणेश साँच्चिकै मङ्गलकारी हुन् तर गणेश दायाँबायाँ लाग्दा लड्डु उडाउन मुसो के कम ? मुसा भनेका मन्त्रीका पीए सरह हुन् । पीएले हाकिमको आँखा छली कहाँ प्वाल पार्नुपर्छ ? कहाँ काट्नु पर्छ ? कहाँ चट पार्ने ? कहाँ कहाँ चाहार्ने ? कहाँ दार्ने ? सबै मुसाभन्दा कम्ता गर्दैनन् । त्यसैले मुसा घरमा होस् कि वनबारीमा सबैतिर भ्याउँछन्– दुलो खन्न, जाल काट्नदेखि कुन ठाउँमा प्वाल पार्ने ? कुन ठाउँको खाद्य मुखमा पार्ने ? र भुँडी भर्ने सबैमा खप्पिस हुँदाहुँदा नेपालका मुसा त वायुसेवा निगममा आतङ्क फैलाउन समेत पछि परेनन् । हवाईजहाज चढेर देश भ्रमन गरे, ककपिटमा पुगेर दृश्यावलोकन पनि गरे र पाइलटलाई उडाइदिने धम्की दिएर गायब भए । यी मुसा मान्छेसँग डराउन्नन् । पपुआ न्युगिनीको जग्गर डेढ दुई किलोका असी बयासी सेन्टिमिटर लामा मुसाभन्दा हिमाली मुसा के कम ? जालमा परेका सिंहलाई निकाल्न सक्ने मुसा विष पचाउन महादेवभन्दा के कम ? उस्तै परे संवेदनशील ठाउँमा दार्न र ओढ्ने ओछ्याउने उदार्न पछि पर्दैनन् । लोडसेडिङ गर्न ग्रिड सञ्चालन कन्ट्रोल रूममा पसी विद्युत सर्ट गरेर फिडर चट पार्न र आगो लगाउन सक्ने शक्ति राख्छन् । मुसो उस्तै परे पूरै घर मुसे घर बनाउन पछि पर्दैनन्, जसरी संसद बेकम्मा बनाउन जनप्रतिनिधि भनाउँदा अघि सर्छन् । मुसाले उस्तै परे घर झ्याङ प्वाल, बारी खाल्डाखुल्डी पार्नेदेखि प्लेगको महामारी फैलाई मान्छेलाई चट् पार्न पनि पछि पर्दैनन् । उहिले पो पाइड पाइपरले ठीक पारे । अहिले डुकुरे मुसोलाई कसले ठाउँमा ल्याउने ? जङ्गली मुसा सहर पसेपछि त झन् बर्बाद ! यी सहरको सोखमा बसेपछि ठूलै कोखमा जन्मे सरह धाक, धमास, धम्की दिने मात्र हो र ? मुसे महाराज भएर गम्फी बस्छन् र निमुखालाई चम्की चम्की धम्की दिने र खान्की लिन पछि पर्दैनन् ।

घर वनबारीका त मुसा भै हाले । मान्छेका हात र गर्धनका मुसोको अर्को उत्पात ! मुसो पनि काम नपाएर कहिले घाँटीमा त कहिले खाँटी ठाउँमा देखा पर्छ । न चिमटेर फाल्नु न चुना हाल्नु । न बान्नु न हतियारले हान्नु । अविवाहित वर भएका भए बर्बाद ! नाकको प्वालमुनिको मुसोको टुसो हेर्दै हाँस्थे । उहाँ भने सिद्धिमुनि गणेशको वाहन के खान आएको होला नाकमुनि ? गणेशको वाहन भएकैले होला ‘एक जना मित्रले मुसोलाई मुद्धा हालेको फड्को किनाराको साछी भएर ठीकै गर्यो’ मात्र के भनेको थिएँ नाकको प्वालनेर एउटा सानो कोठीजस्तो ढिस्को देखियो । दारीजुँगा सफाचट पार्दा आइलाग्यो मुसाको अवरोध । हेर्दाहेर्दै नाकको प्वालमुनि मुसो देखा पर्यो । ठूलो मुसो भएर दुलोनेर बस्ने सुर कसी ठ्याक्कै देब्रे प्वालमुनि जुँगाको जङ्गलमा मुसो देखा पर्यो । दिन दुगुना रात चौगुना बढ्दै सिङ जस्तो टुसो देखियो । नाकको प्वालमुनि देखिएको टुसोजस्तो मुसो क्या गज्जब सृष्टि ! न दुलाभित्र जाने मुसो हो न घाँस झैं दारी काट्ने मुसो । फेरि अरू ठाउँमा नआएर किन नाककै प्वालमुनि र जुँगाको घारिभित्र टाढैबाट टड्कारै देखिने गरी बढेको होला ! कतै ग्रान्ड डिजाइन त हैन ?

मेरो रूप बुढेसकालमा पनि कुनै हिरोको भन्दा कम थिएन तर मुसो आएपछि आफ्नो आकर्षण जिरो ! कुनै राजनीतिक नेताले प्रतिपक्षलाई गरे झैं कुनै अभिनेताले हिरोलाई जिरो पार्न मुसो लगाएको त हैन ? तर आछुँ खाएँ बाछुँ खाएँ झुसे बारुलो ! मुसोलाई ठीक पार्छु भन्दा भन्दै नेताको भुँडी उक्सेझैं निस्कँदै आयो । हिरोलाई जिरो बनाउँदै लगेपछि आफूलाई ज्यानमारा खुर्सानी खाएझैं पिरो भयो ।

बाटामा हिँड्न हुन्न, हैन–नाकमुनि के आयो ? टर्रा प्रश्नको पर्रा आयो । सबले सोध्न थाले । आँखा भएर पनि आफूले देखेको हैन । ऐना हेरेपछि पो देखियो सक्कली रूप ! सिङमाङगढे राजाको टाउकामा उम्रेको सिङजस्तै मुसो ! नाकमुनिको मुसोको टुसो केले छोप्नु ? सधैं प्रदूषणको फुर्लुंगे पट्टी लगाउन पनि भएन । पख्लास् मुसो ! भन्दै जुँगा पालेर जङ्गलमा दबाएर राखेँे तर जुँगाभन्दा लामो भएर नाकको प्वाल ढाक्लाझैं भयो । सधैं हेर्नेले अचम्म मानेर हेर्न थाले । कसैले यो त बढेर ढाक्छ । हैन यो त पछि पाक्छ के गर्नु ? रेजर लाउनु पनि भएन न त इरेजरले मेट्ने नै । मान्छेका कुरा सुन्दा त यसले मानौ ब्रह्माण्ड ढाक्छ । अनि आफ्नो ब्रह्माण्ड नखल्बलिने कुरै भएन । एउटा मित्रले भन्यो, यसलाई त साबदानाले ठीक पार्छ । होमियोप्याथीमा पाइन्छ । नभन्दै साबदानाजस्तै सेता दाना दिएपछि मुसोको टुसो जिउँदै गिर्यो । दुच्छर मुसाको पुच्छर टुक्रियो । मुसो झोक्रियो । बस, धागोले टनटनी बानेर घाँटी अठ्याएपछि फुत्रक्क झर्यो तर मुसोको टाउकाको टुसो सानै भए पनि सहिदको सालिक झैं टक्रक्क देखियो । यसले मन फक्रक्क पर्यो । मुसोको टुसो झार्न यारलाई जति प्यार गरेर अनुरोध गरे पनि अवरोध आएझैं दललाई हतियार बुझाउन यारलाई जति प्यार गरेर अनुरोध गरे पनि हतियार बुझाउन अवरोध आएझैं भो ! पहिल्यै हतियारले चट हुन्थ्यो तर स्याल सिध्याउन बाघ मार्ने गोली किन ठोक्नु भनेर मुसोलाई गोली त गोली गोली ओखती दिएको मुसोले मान सम्मान ठानेर अझैै बढ्ने दाउ गर्दैछ । जुँगालाई जङ्गल र नाकको प्वाललाई ट्रेन्च ठानेर तन्कन खोज्दै छ । पख्लास् मुसो रूपलाई कुरूप पार्नेसँग कोही लाग्दैन चुप !

नाकमुनिको मुसोको टुसो नामेट नभएसम्म जे भने पनि मैले आतङ्ककारी नै घोषणा गरेँ । मुसो उडाउन कतै गणेश नै पुज्नु पर्ने हो कि ? मैले सम्झें भक्तपुरको एउटा विचित्र चित्र । स्यालहरूले हात्तीलाई घेरेको वरिपरि । घेराउमा परेको हात्तीको ढाडमा स्याल चढेको । उही बेलैमा भविष्य चिन्तन ! स्यालको कुरो त छँदैछ । मुसा पनि कम्ता छैनन् । उही कहिलेकाहीँ आफैं चढेको जहाज प्वाल पार्छन् र ! नत्र कुन ठाउँमा खाना छ त्यसलाई पत्ता लगाउन कुनै वैज्ञानिकले भेट्ने हैनन् । मुसोको उपद्रो पनि गजब गजबका ! पुनरमुसीको भव भन्ने त हामीले सुनेकै हौं तर मुसोले श्रीपेच लगाएको कथा चाहिँ कतै कसैले नभेटे पाँडे पुराणमा पाइन्छ ।

एउटा काँठको मुसोले धेरै बच्चा पाएपछि हुर्काउन गाह्रो भयो । डल्ले मुसोलाई उसकी आमाले कामको खोजीमा सहरतिर लगी । छोरालाई कोदोको बाला काट्ने काम सहरमा पाइन । अनि एउटा सुचिकारको कपडा काट्ने काममा डल्ले मुसोलाई उसकी आमाले राखिदिई । आफूचाहिँ बाटोको सुरुङ खन्ने काम गर्न थाली । छोरो डल्ले मुसो सहरको खानाले मोटायो । सहरको नानाले खुसायो । सहरको गानाले रमायो । उसले आफ्नो घर बिर्सिंर्दै गयो । सुचिकारले काट भनेको लुगा नकाटी सुचिकारकै कोट काटेर हाँस्न थाल्यो । नकाट भन्दा पनि टेरेन । आफ्नो घर बिर्सियो । सुचिकारले निकाल्यो । ऊ अब कतै पनि टिक्न सक्ने स्थितिमा थिएन ।

डल्ले मुसोले आफ्नो घरमा टाढा टाढा पुगेर कोदोको बाला काटेर खान गाह्रो थियो । कसैले देख्यो भने उसलाई हिर्काउँछन् भन्ने डर थियो । जङ्गली बिरालोले घिसार्दै लगेको र पटकपटक थप्पु हान्दै लडाएको उसले देखेको थियो तर उसले सबै बिर्स्यो । डल्ले मुसो सुचिकारको छोरोजस्तै घुर्की लगाउँथ्यो । फुति गर्थ्यो । यो देखेर सुचिकारलाई हाँसो उठ्थ्यो ।

सुचिकारको घरमा एउटा सिंहासन थियो । डल्ले मुसोले ‘यसमा चढेर बस्न पाए कस्तो हुँदो हो’ भन्ने सोच्यो । उसले खुब विचार ग¥यो । त्यो सिंहासनमा मखमल मोड्न सुचिकारकहाँ ल्याइएको थियो । एक दिन सुचिकारको आँखा छली मुसो सिंहासनमा चढ्यो । डल्ले मुसो दङ्ग परेर हेर्दै थियो । सुचिकारलाई देख्यो । सुचिकारले पनि सिंहासनमा बसेको मुसोलाई देखेर छक्क पर्दै हेर्दै थियो । मुसोले आफू सुचिकारको काम गर्ने मुसो भन्ने बिर्सेंछ । उसले सुचिकारलाई भन्यो– ‘ए सुचिकार दाइ ! म सिंहासनमा बसेपछि श्रीपेच खोइ त ? मलाई श्रीपेच चाहियो ।’

सुचिकारले पनि यसलाई लगाइदिनै पर्यो भनी प्वाल परेको हाँडीमा कुचो घुसारी ‘लौ लगा श्रीपेच’ भन्दै हाँडीले टाउको मात्रै हैन, पूरै जिउ ढपक्कै छोपिदियो । मुसो हाँडीभित्र उफ्रिरह्यो । कल्फी हल्ली नै रह्यो । आफ्नो नाकको मुसोले श्रीपेच कहिले लगाउने हो, हेर्दै छु कल्की हल्लाउने प्वाल ।

‘युवामञ्च’ २०६८ मङ्सिर