स्कुल तहको दस साले बह शान्त पार्ने र उच्च शिक्षाको मह चाट्ने धुनमा हरेक वर्ष एस्.एल्.सी. जाँच अङ्ग भाँच गर्दै लहर लिएर बहर बनी डुग्रन्छ । त्यसैले त कतिपय बुज्रुकहरू एस्.एल्.सी. परीक्षालाई ‘ए सिल्ली परीक्षा, चिट प्रशिक्षण जाँच, गेस पेपर अभिलेखीकरण पर्व, चिट चोरीको दीर्घ सेवापट्ट परीक्षण तिथि, नानी र बाबुका गलपासो, यमराजको सहोदर भाइ’ आदिका उपमा भिराएर उल्लीबिल्ली बनाउँछन् । नेपालमा सरकारी स्कुलहरूको जनशक्ति अधिकतम चोरन्ते छन् भने निजीका धेरै जडसूत्रवादी र घोकन्ते बनेर कीर्तिमान् कायम गरेका छन् भनेर धेरैले आरोपको खोप कोप नगरी हानेका छन् । यस जाँचमा कोठा निरीक्षक, ब्लक निरीक्षकको गार्ड बन्छन् भने ब्लकवाला रनिङ गार्डको । त्यसै गरी रनिङ गार्ड सहायक केन्द्राध्यक्षको र सहायक केन्द्राध्यक्ष केन्द्राध्यक्षको निरीक्षण गरेर परीक्षार्थीहरूलाई पूर्ण प्रजातन्त्र दिँदै जाँचको झारा तिरी थारा जनशक्ति बिरिल बिरिल उत्पादन गर्न हलभित्र कल नगरी ‘चीट सप्ताह’को यज्ञ निर्विघ्नतापूर्वक चलाएको चलायै छन् गाँठे ! धन्य छ यी पुराना, खोक्रा र नयॉ बोक्रा जनशक्तिको नाममा दरिएका चाण्डाल वा पिचास तागतलाई । हचुवा सरकारी परीक्षा परिणामपछि भने कयौं नानीबाबुहरू फेल भएको झाेंकमा झेल महसुस गरी आत्महत्याको कुखेलले परिवार र समाजलाई नै आँसुको भेलमा सुताएर चिल्लीबिल्ली पारिदिन्छन् बा !

सि.डि.ओ., डी.एस्.पी., जि.शि.अ.र इनेगिनेका भुरेटाकुरे नेताका श्रीमती, साली, छर्छरी, प्रेमिका, भतिजा, भान्जा सबैलाई परीक्षा हलमा सुविधायुक्त सिटको व्यवस्था गरिदिनाले परीक्षासित सम्बन्धित सबै सञ्चालकहरूलाई स्थानीय सिमे भूमेको त्रास रहने भएन । गुडन्ते र उडन्ते नियन्त्रण कार्यालयबाट खटाइएका आकस्मिक सुपर निरीक्षकको गार्डमा स्वयं केन्द्राध्यक्ष नै खटिने हुँदा ती राहुकेतुका भय पनि मय बनेर नाच्न नसक्ने नै भए । बर्दीका प्रहरी टन्न थुपारेर बाहिर परीक्षा कडा भएको हल्ला पिटाई भित्रभित्र चिट सप्लाई केन्द्र खडा गर्छन् । अनि यस्तै कठपुतलीका दोस्रा औतार चिप्ला केन्द्राध्यक्ष लगायतकाहरू नै शिक्षादिवसमा भिक्षा नमागी नगद पुरस्कार र तक्माका हकदार हुन्छन् । आन्तरिक र खुल्ला बढुवामा सिंढी चढुवा बन्दछन् । त्यसैले त ‘जो चोर उसकै ठूलो स्वर, जो अगुवा उही बाटो हगुवा, काम गर्ने कालु मकै खाने भालु’ जस्ता उखान बर्सेनि पुनरावृत्ति भइरहेको छ । दुष्ट नेता र भ्रष्ट प्रशासकका अह्रौटे, भरौटे, कुरौटे अनि विद्यालयको पठनपाठनमा अल्छी गर्ने अयोग्य, अक्षम एवं शिक्षण सिकाइकलामा मिति गुज्रिएका नै प्रायः ए सिल्ली परीक्षा अर्थात् एस्एल्सी चलाउने ठेक्दार हुन्छन् भनी पगरी नपाएर कचरी गर्ने असन्तुष्ट जमात कौलासिरहेको दृष्य पनि मार्मिक र हेर्नलायक नै हुन्छ ।

पूर्व प्राथमिकदेखि विश्वविद्यालय तहसम्म नेपालको परीक्षा सिर्जनशील र अनुशासित हुन सकेन भनेर यसैबाट पालित भुँडीभक्त प्राविधिक विद्वान्हरूको गर्जना पनि चर्कै छ । मेधा हुँदै नभएका, गवेषणामूलक साधना गर्न पूरै अल्छी गर्ने, गम्भीर चिन्तन र लगनविना प्रा.डा. पड्काएका बग्रेल्ती बजारिया महा— पण्डितहरूका सतही विचार स्तम्भहरू पनि यस्तै यस्तै बरालिएका तर्कहरू दिन्छन् । विषय विशेषज्ञ भनेर दरिएका अज्ञ र अनजान बिचराहरू गेसपेपरकै प्रश्नावली सारेर आपूm माथापच्ची नगर्ने अनि गेसपेपरले पुरिएका अनाथ परीक्षार्थीहरूलाई होलो बनाउने तरिकाले गाइडकै प्रश्न सोधेर काइट बनाइदिने रमिता बढोत्तरी नै छ । वास्तवमा शिक्षाको सामान्य सिद्धान्तअनुसार कुनै पनि विषयको प्रश्नले मूलतः विद्यार्थीहरूको ज्ञान, सीप र अभिवृत्तिलाई समेट्न सक्नु पर्छ । बिडम्बना ! यहाँ भने सीप र अभिवृत्तिलाई गलहत्ती लगाएर घोकन्ते र चोरन्ते उग्र दक्षिणपन्थी एवं अति वामपन्थीजस्ता देखिने कुरुप बाटोबाट लाटोलाई पनि थाहा हुने गरी परीक्षार्थीहरूको ज्ञानमात्र जाँच्ने जडसूत्रवादी सोच यहाँका प्राविधिक धुरन्धरमा कोचाकोच पो छ त गाँठे !

जसरी पनि पास गराउने नाममा सास जाउन्जेल विद्यार्थीलाई घोकन्ते र चोरन्ते बनाउने मजस्ता सिल्ली मास्टरलाई चिल्लीबिल्ली तथा उल्लीबिल्ली लगाएर डोजर नलाएसम्म यहॉको चिटतन्त्र चलाउने अभिजनवर्ग मासिदैन । त्यसैले अब यहाँ गोल्डेन हाइण्डसेकभन्दा पनि आइरन हाइण्डसेक गर्न अबेला भै सक्यो मजस्ता दीर्घसेवी, पाटेअल्छी, जिब्रोमै लेसन प्लान गर्ने पढ, पढ भनेर स्वाँ फ्वाँ ! गर्ने कुम्भकर्ण जमातलाई । अनि सिद्धान्तमात्र रटेका र व्यवहारमा नखटेका ठेट्ना बाच्छाहरूलाई पनि नियन्त्रण तथा सन्तुलनको चेपमार्फत गोरुबाट गुरुमा रुपान्तरण गर्न तुरुन्तै पटुका कस्नु पर्छ । अर्कोतिर चिट चोराउन फिटफिट भएर नारा जुलुसको सहारा लिने प्रतिगामी र पश्चगामी अभिभावकहरूको जथ्थामा चेतनाको लाठीचार्ज गर्न बेला घर्किसकेको छ । उल्टै निमुखा पुलिस र इमान्दार निरीक्षकका दाह्रा खसालेर तारा देखाउने अभिभावक, विद्यार्थी र अन्य सहयोगीलाई मण्डी धुलाइको चरणहरूको संवरण गर्न लाउनै पर्छ । सरकारी तबरमा विषय विशेषज्ञको फुली लगाएर चुली चुमेका ढोंगीहरूलाई नाङ्गेझार पारेर अवकासपत्र थमाइदिनु उचित पुरस्कार होइन र ? नीति निर्माताका पिता बनेर बसेका ‘खोपडी मरु कसो गरुँ’ का सत्ताका मान्छेलाई बेपत्ता बनाइ दिए परीक्षाले मर्यादामा बाँच्न पाउँथ्यो कि ? हैन भने एस्एल्सी याने ए सिल्ली परीक्षाको परिणाम सधैं उल्लीबिल्ली, चिल्लीबिल्ली र बिचल्ली भै रहने भो । सबैलाई चेतना भया ...।

धादिङवेंसी