मान्छेलाई बानी परेपछि के लाग्छ र ? जस्तो बानी लगायो मन लुरुलुरु पानीमा भिजेको मुसोझैं उतैतिर डोरिन्छ । सुरुमा मान्छे आफू बानीलाई पालीताली गरी हुर्काएको टुहुरो सन्तानझैं सम्झन्छ, पछि उसको पञ्जामा थुपुक्क बसिदिन्छ । अनि बानीलाई पराजित गर्न असफल भई उसैको भक्त बन्दछ, अन्धभक्त । आज हजारौं मान्छेहरू बानीका थुनामा कोचिएका भर्भराउँदो भुङ्ग्रोमा झोसिएका छन् ।

बूढापाकाको कुरा बित्थामा हतपती किन खेर जान्थ्यो र ! कुनै कुरा मनमा उम्रनै नदिनु । मनको सिंहासनमा राज गर्न दिएपछि त्यसले बिस्तारै कब्जा जमाउँछ । पछि उसैको खटनपटनको नोकर बन्नु पर्ला । हुन पनि हो, एक–दुई दिन पढाइ हेरौं त भन्दा जीवनपर्यन्त मास्टरीमै जीवन अर्पे कतिले । एक–दुई दिन पछि लागी हेरौं भन्दाभन्दै कतिपय जीवनभर अह्रौटेभरौटे हुन विवश भए । एक–दुई सर्का तानौं न त भन्दा कति त दुव्र्यसनीमै दह्रिए । कपाल काट्न जानिएला त भन्दाभन्दै कतिले हजाम पेशा नै अपनाउनु प¥यो । एक–दुई साल खेती गर्छु भन्दाभन्दै कति ख्यालख्यालमै जीवनभर किसान बने । दुई–चार अक्षर लेखौं न त कति अर्काको मात्रै पढौं भन्नेहरू पछि लेखक नभई सुखै पाएनन् । एक–दुई चोटि विदेश त गइहेरौं भन्नेहरू दसौं पटक नगई सक्दैसकेनन् ।

बानीकै कुरो गर्दा तपाईं हामीले अनौठा अनौठा मान्छेहरू भेट्न पाउँछौं । कसैको जति बहस चर्कियो उतिउति टोपी झिक्दै टेबुलमा राख्दै बारम्बार त्यही क्रम दोहो¥याउने तेहे¥याउने बानी हुन्छ । कसैको लगाइराखेको चस्मा घरिघरि नाकको बीचडाँडीमा ल्याउने र बारम्बार घुचेट्ने बानी हुन्छ । कोही खल्तीमा केही नभए पनि बारम्बार हात हालिरहन्छन् । कोही कोही रिस वा खुश जे उठे पनि चिम्म आँखा चिम्लिँदै गाला, पाखुरा र गोलीगाँठो कन्याउन थालिहाल्छन् । कसै कसैको त जतिखेर पनि खल्तीबाट कलम झिक्दै घरीघरी बिर्को खोल्दै लगाउँदै फेरि सिउरिँदै गर्ने बानी नछुट्ने नै गरी टाँसिएको हुन्छ । कोही किताब किनिरहन्छन् पढ्दैनन् । कोही पढिरहन्छन् जीवनमा कहिल्यै किन्दैनन् । एक जना मेरा मित्र थिए । मेरो कोठामा आउँदा पढिरहन्थे । उनीकहाँ जाँदा एक–दुई वटा श्राद्ध र रुद्रीका पुस्तकबाहेक केही हुँदैनथ्यो । एक दिन नयाँ हेर्ने चीजवस्तु भेट्टाएन छन् । केही नपाएपछि खाटमुनि राखेको जीरामरिचको पोको फुकाएर तन्दामाथि छुट्टाछुट्टै थुप्¥याएर पढेछन् र त्यत्तिकै छाडेछन् ।

‘बानी भए रानी हुन पाइन्छ, मोरी’ भन्ने लोकआहान त्यत्तिकै चलेको होइन कि भन्ने लाग्छ कहिले त । सामान्य मानिस त के ठूल्ठूला दार्शनिक, वैज्ञानिक र साहित्यकारहरू पनि बानीकै चक्करमा परेको कुरा पढिन्छ पनि । कोही रेलमा चढेपछि कविता फुर्ने, कोही झरनाको तहगत वहावलाई नियालेर गीत गजल लेख्ने । कसैलाई चुरोटको सर्को, कतिलाई हाँसको लर्को र कसैकसैलाई त पत्नीको झर्कोफर्को भएपछि पो सिर्जनाको मूल फुट्थ्यो रे ! कति चकमन्न रातमा लेख्थे र त कति टहटह जूनमा । कोही पानी झमझम पर्दा त कोही छ्याङ्ग आकाश उघ्रँदा पोखिन्थे । यो पनि सायद बानीकै सेरोफेरोअन्तर्गत झुल्किने उदाहरण होला ।

बानीको कुरो गर्दा अझै मलाई केही भनौं जस्तो लाग्यो । मेरा एक जना शिक्षक मित्र थिए । उनी विश्वसुन्दरीको चर्चा गर्दा होस् वा फिल्मका नायिकाहरूको चर्चा गर्दा पनि मुख बङ्ग्याउँथे । उनी हत्तपत्त महिलाहरूको फोटो पत्रपत्रिकामा समेत हेर्दैनथे । तर पत्नीका अगाडि ‘चुँ’ नबोल्ने जेजे अह्रायो खुरुखुरु गर्दथे । एक दिन मैले पत्रिकामा भाउजूको फोटो छ त भन्दिँदा दिनभरि पत्रिका पल्टाउँदै खोजेको दृश्य गज्जबको थियो । एक दिन हामी चार–पाँच जना उटुङ्गे केटाहरू खोलाको किनारमा गएका थियौं । ती मित्र पनि साथमै थिए । आज यिनलाई एक मुठी बोके टिम्मुर खुवाउनु प¥यो भनी सल्लाह मिलायौं । हामीहरूले एक–दुई दाना टिम्बुर चपायौं । उनलाई पोहोर साल भाउजूले दुई–तीन मुठी ग्वामग्वामी खानुभएको थियो तपाईंं सुक्नुहुन्छ त भन्दा उनले पनि सक्दछु भनेर एक मुठी बजाइहाले । पछि किक्लिक किक्लिक गरी फुस्रा आँखा लाउँदाको क्षण झण्डै दुःखद बनिसकेको थियो । स्वास्नीका सबै कुरा ठीक भन्ने बानीले उनी बारम्बार हास्यपात्र बनिरहन्थे ।

बानीले पार्ने केही सकारात्मक र नकारात्मक प्रभाव पनि उल्लेख गरौं । एक जना शिक्षक मित्र सदा टीका लगाउने हुँदा उनी ‘टीके’ सर भनी बुझिन थाले । कुनै एक अभिभावकले आफ्नो बच्चालाई पिटेको निहुँमा तराईवासी शिक्षक कालो वर्णको मात्र हुन्छन् भन्ने भ्रम उनमा थियो । उनले कालो मास्टर खोज्दै जाँदाको शिकार एक पहाडी शिक्षक बनेको सुन्दा हाँसो नउठे पनि उल्का भने पक्कै लाग्ला । बानीकै कारण कति त पछिसम्म पनि त्यही कामसँग मिल्ने नामबाट चिनिन पुग्दछन् । अर्का एक साथी विद्यालयमा आउँदा खाना खाएपछि हातमुख राम्रोसँग नचुठी आउँथ्यो । हामी उसलाई ‘जुठे’ भनी बेलाउँथ्यौं । हामीले उसको घरको नाम के थियो मतलब गरेनौं । अहिले जस्तो अभिभावहरू बच्चा लिएर विद्यालयमा भर्ना गर्न जाने चलन त्यो बेलामा थिएन । सरहरूले सबैले जुठे भनेका कारण त्यही होला न त नाम भनेर जुठबहादुर खत्री राखिएछ । हालसम्म उसलाई आफ्नो नाम कसले राखिदियो पत्तै छैन । पछि उसका सबै प्रमाणपत्र र नागरिकता पनि त्यही नामबाट बन्यो । अर्को एउटा साथीको नाम मैले नै भनेर राखिदिएँ । खालि सुँक्कसुँक्क गरिरहने हुनाले उसको नाम सुक्कबहादुर राखिदिएँ । किन सुक्कबहादुर राखेको भन्ने कुरा उसलाई पनि पत्तो थिइएन । पछि नागरिकता लिने बेलासम्ममा ऊ सुकबहादुर भइसकेको थियो ।

अब सन्दर्भलाई किन विषयान्तर गरौं र । अब म मेरै गथासो यहाँको माझ लम्पसार पारौं । भूमिकाले बुझाइहाल्यो । म पनि बानीकै शिकार भएको छु । प्रायः बस्दा खाटमा होस् वा डाइनिङ टेबुलमा, ढुंगामाथि होस् वा भुइँमा, गुन्द्री ओछ्याएर बस्दा म प्रायः उपरखुट्टी लगाउने गर्दाे रहेछु । मेरो नाम हुँदाहुँदा उपरखुट्टी नै व्याप्त भयो । वास्तवमा खास नाम मेरो अर्कै थियो । चासो लाग्ला यहाँलाई वास्तविक नाम ‘बुर्कुसीकुमार शर्मा’ । नागरिकता, लालपुर्जा र जागिरे नियुक्तिपत्रमा मात्र सीमित भयो बुर्कुसीकुमार । मलाई त उपरखुट्टी भनिदियो चित्तै बुझेको थियो तर मेरी अर्धाङ्गिनीलाई भने उपरखुट्टीनी भनिदिएछन् केही उल्क्या मेरामोरीले । एक दिन दाल पाक्दापाक्दैको कुकर उठाएर झण्डै मेरो पुर्पुरो सेकिनन् बिचरीले । झन्डै खाटामुनि छिर्न नपाएको भए ज्यान धरापमा । अन्यत्र जहाँ उपरखुट्टी लागाए पनि खास उनलाई त्यति समस्या पर्दैनथ्यो । सुत्दा सिरकभित्र पनि प्रायः उपरखुट्टी नै हुँदो रहेछ क्यार ! धेरै पटक कुहिनुले घुच्च्याएर उपरखुट्टी खुस्काइ दिएकी थिइन् । त्यही रिस पनि थपिएको हुँदो हो कि क्या हो । त्यो दिन उपरखुट्टीको सावाँ ब्याज नै झन्डै नअसुलेकी मोरीले । एक–दुई दिन अगाडिदेखि उनलाई अर्को कुरोले निकै जङ् चलाएको रहेछ । छोरालाई उसका साथीहरूले उपरखुट्टे उपरखुट्टे भनेर जिस्क्याउँदा रहेछन् । छोरो आमाचाहिँलाई गुनासो गर्दो रहेछ । अनि पो त्यो दिन रणचण्डीको रूप धारणा गरेकी रहिछे जैरीले ।

अँ, अब बानी त बसि नै हाल्यो । सुरुसुरुमा त उपरखुट्टी भन्दा अलिअलि जङ चल्दथ्यो । बिस्तारै त्यो पनि बानीमा फेरिँदै गयो । बरु धेरै नरिसाओस् भनेर केही आदरसूचक शब्दको फुर्को पनि जोडिदिन थाले आफन्तजनले । उपरखुट्टी माड साहेब, उपरखुट्टी दाइ, उपरखुट्टी लेखक, उपरखुट्टी मित्र आदिआदि । कहिलेकाहीँ त मलाई उपरखुट्टी बानीले पनि फाइदै पु¥याएको छ । केही साथीहरू आँपको रुखमा चढेर आँप टिप्दैथे । म रुख चढ्न त्यति जाँगरिलो थिइनँ । माथि रुखमा बसेका साथीहरूले सल्ला गरेछन् । आँप दिएको जस्तो पनि हुने उपरखुट्टीमै ताकेर हान्न पनि पाइने ।

विचरा उनीहरूले एउटा–एउटा पाकेको आँप खाए वा खाएनन्, मैले भने एक दर्जन भेट्टाएको थिएँ । एक पटक एउटा भोजको कार्यक्रममा सबै जनाले उभिएर खानुपर्ने भयो । बस्नलाई एउटा मात्र कुर्सी रहेछ । सबैले मेरो उपरखुट्टीको दृश्यावलोकन गर्न त्यो कुुर्सी मलाई सुम्पिए । मलाई के पत्तो । एक पटक अम्बा खसाल्न रुखमा के चढेको थिएँ, हाँगैसुद्ध जिप्टिएछु । तल आइपुग्दा त डङ्रङ्ग हुँदा पनि उपरखुट्टी बन्न भ्याइहालेछु । अब अति भएपछि एक दिन अर्धाङ्गिनी र छोरालाई फकाउँदै भनेँ, अघि पछि त भइहाल्यो, तुलसामोठमा लगाउनुअघि चाहिँ उपरखुट्टी खुस्काइदिनू है ।

सिन्धुपाल्चोक