सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जय झापड

Nepal Telecom ad

स्वम् वा अन्य कसैका गालामा नाडीदेखि मुन्तिर र नङदेखि मास्तिर सुल्टोपट्टिको हत्केलाको भागले कस्सेर बजाउनुलाई झापड भन्दछन् । ‘झापड’ मुक्का, घुस्सा, बक्सिङ, लात्ती आदिको समकक्षी ब्यावहार जनाउने गतिलो शब्द पनि हो । हात छोड्नु, हात चल्नु जस्ता वाक्यहरूले पनि झापडसँग निकटको नाता राख्छन् । चढ्काउनु, हान्नु, बजाउनु, ठोक्नु, गोद्नु, पड्काउनु आदि शब्दहरू झापडसँग ठ्याक्कै मिल्नेगरि प्रयोग हुन्छन् । अर्थात् अङ्ग्रेजी अक्षर ‘त्त’ पछाडि ‘ग्’ लागेर जसरी शब्द बन्छन् त्यसरी नै झापड पछाडि माथि उल्लेखित शब्दहरू प्रयोग हुन्छन्÷गरिन्छन् ।

झापडलाई अथ्र्याउने केही भनाइहरू पनि छन् । जस्तैः एक झापड खाएपछि तोरीको फूल देख्लास्, तिरिमिरि झ्याँई हुनेगरी झापड खालास्, एक झापडमा बाबुको विहे देख्लास्, एक झापडमा स्वर्ग पु¥याईदिउँला आदि । यी भनाइहरू भन्न जसले थालनी गरे पनि झापड हान्ने र झापड खानेहरूका लागि ‘ढुङ्गा खोज्दा देउता’ मिले जत्तिकै सार्थक छन् ।

नेपालको इतिहासमा झापडले सुनौलो अक्षरको स्थान पाएका कतिपय उदाहरणहरू जिउँदा छन् । बिस्तारै नेपालीको संस्कार बन्दै गइरहेको परिप्रेक्षमा झापडले चितवनमा गोली चलाएका पारस शाह र काठमाडौंमा भिओआइपि चलाएका रुवेल चौधरीकै वा सोसरहको चर्चा अखवारका पानामा पाएको छ । जसरी विगतमा ‘अग्रगामी छलाङ’, ‘निरन्तरताको क्रमभङ्ग’, ‘पुरानो सत्ता’, ‘प्रतिगमनका पृष्ठपोषक’, ‘अराष्ट्रिय तत्व’ आदि शब्दले नेपालको राजनीतिक बृत्तमा उच्च स्थान र अखबारका पानामा मान पाएका थिए, त्यसरी नै झापडले पनि सोही सरहको मान पाएर सान कमाएको छ । यस उसले अहिलेको चिसो मौसममा तातो सुर्को भएर आएको यो झापडलाई भेट्न पापड वा अन्य कुनै पनि शब्दलाई हम्मेहम्मे परेको छ ।

चित्त नबुझ्दा, चित्त दुख्दा, रिस उठ्दा, निहुँ खोज्दा, जोरी खोज्दा, ‘मै हुँ’ भन्दा आदि कारणले चरमविन्दु छोएपछि कसैले कसैलाई झापड हान्ने गरेको देखिन्छ । कुरा गर्दै गर्दा वा कुरा सुन्दै बस्दा भएका कुरा वा गरिएका व्यावहार देखेर÷सुनेर रिसको पारोले सगरमाथा छोएपछि झापड हान्न मन लाग्ने रहेछ ।

झापडको प्रसङ्गले एकपटक भारतको नागाल्याण्ड राज्यको दयापुर भन्ने ठाउँको स्कुलमा २ कक्षामा पढ्दाको घटना ताजा भएर आयो । सानो लात्ते भकुण्डो नदिएको झोंकमा सहपाठी मित्रको नाकबाट रगत झर्नेगरी बजाएकाले कछाडी हेड मास्टरले बेतको लौरोले मेरो सेखी झारेका थिए । त्यसपछि आजका मितिसम्म म हिंसा विरोधी शान्तिकामी नागरिक भएको छु । त्यो झापडले मलाई झापडको विमुख बनायो तर नेपालको राजनीतिक बृत्तमा झापडले धेरैलाई हिरो बनाएको छ ।

त्यसो त झापड खानेहरू ठूलाठूला मान्छे भएका छन् । त्यसैको अघिल्लो उदाहरण हुन् नेपाली काँग्रेसका एकजना नेता रामचन्द्रर पौडेल । उनका चिल्ला गालामा कुनै बेला गोल्छे सार्कीले झापड हानेका थिए । त्यही झापडका परम्कृपाले उनी उपप्रधानमन्त्रीसम्म भएका थिए । भर्खरै सोह्रौ पटकको प्रधानमन्त्रीको लज्जाजनक हारको चटक पनि उनले नेपाली रंगमञ्चमा देखाएका थिए । यो देखेपछि आफूले झापड नखाएकाले कुनै ठूलो भाग भेट्न नसकेको गुनासो केहीमा रहेको छैन भन्ने आधार नभएको हैन । झापड खाने र झापड हान्नेहरू रातारात चर्चाको चुलीमा उक्लिएकाले पनि धेरैलाई झापड नखाएको वा नहानेकोमा खेद प्रकट गर्दै हिँडेको देखिएकै हो । रातो अबिर र थुङ्गे फुलको मालाले सम्मानित हुने र अखबारका पानामा मानित हुने झापडवाजहरूको कृति देखेर जल्नेहरू पनि प्रसस्त छन् ।

त्यस्तै छ्यासमिसे मन्त्री करिमा वेगमले मन्त्रीमण्डलकै गरिमा घट्ने गरि एक जना सिडियोका गालामा चड्काएकाले नेपालका टेलिभिजनमा भिडियो हेर्न पाइएकै हो । थोत्रो गाडी पठाएकाले मन्त्रीले रिष पोखेको खबर सत्य भए पनि उनले भने सिडियोले हात समाएर साडी उचाल्न खोजेको आरोप लगाएकी थिइन् । त्यो सुनेर नेपाली जनता खित्का छोडेर हाँसेका थिए । मन्त्रीले ‘पावर’ कसरी देखाउछन् र निर्दोष जनताका ढाड कसरी सेकाउँछन् भन्ने कुराको गतिलो जवाफ करिमाले दिएकी थिइन् ।

सुनसरीको इटहरीमा एउटा आमसभामा एकजना वाम पार्टीकै कार्यकर्ता किसान देवीप्रसाद रेग्मीले झलनाथ खनालको रुवाजस्तो गालामा झापड हानेकाले उनी प्रधानमन्त्री भएका छन् । झापड नखाएका भए उनको प्रम हुने सम्भावना त के झिनु आशसम्म पनि नहुँदो हो । झापडमा कति शक्ति छ भन्ने कुराको प्रमाण अहिलेका प्रमले बाहेक कसले दिन सक्छ ? झापडको यस्तो चमत्कार देखेर र सुनेर अन्य नेताहरू सुनसरी नजालान् भनेर ठोकुवा गर्ने कोही छ भने त्यो ब्यक्ति ‘प्रतिगामी’ मात्र हो ।

त्यस्तै काठमाण्डौको एउटा भेलामा एमालेकै अर्का नेता खगराज अधिकारीले गालामा दुई झापड खाएका थिए । तर नाम बद्नाम हुने डरले झापड हान्नेको नाम सार्वजनिक गर्न तिनका कार्यकर्ताले दिएनन् भन्ने भनाइ आएको छ । अब हेर्दै गर्नुहोस्, ती नेताले पनि कुनै ठूलो भाग नपाउलान् भन्न सकिने अवस्था छैन । आगामी मन्त्रीमण्डलमा उनले कुनै ‘सुत्केरी मन्त्री’ हुने निविर्रोध पक्कापक्की छ ।

इराकको एउटा पत्रकार सम्मेलनमा तात्कालिन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसलाई जुत्ता प्रहार गर्ने इराकी पत्रकार मुन्तजार अल जैदीले यो संस्कारको विश्वव्यापी थालनी गरेका थिए । त्यसैको पछिल्लो संस्करण नेपालमा देखिएको झापड हो ।

जे होस् झापडले रेग्मीलाई हिरो र खनाललाई प्रम बनाएकाले यो झापड खाने मोह धेरैलाई पलाएको साँचो हो । रेगिस्तानमा बसेर धन कमाउन नसकेकाले मलाई पनि झापड खाने मोह पलाएको छ । तर एउटा कुरो स्पष्ट हो कि नेपालमा खाएको झापडले नै महान् बनाउने देखिएकाले म चाहिँ गाला देखाउँदै सुनसरीतिर जान लागेको । तपाईंलाई पनि ठूलो मान्छे बन्नु छ भने छिटो गर्नुहोस् । देवीप्रसाद रेग्मीसँग झापड सीमित छ रे । झापड सकियो भने तपाईंसँग गुनासो बाहेक केही रहने छैन । साथै तपाईं यो जूनीभरि केही हुनुहुने छैन । जय झापड !!

हाल : दोहा, कतार 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad