नियम न कानुन, बेला न कुबेला । फुर्सद न हत्तार आफूलाई तटस्थ राखी दोष पराइलाई थोपर्नु अत्तो होला कि ? कुरोको चुरो उधिन्न नसक्ने हुतिहारादेखि निमेषभरमा हजार शब्द ओकल्ने शेषनागरुपी नेताले समेत अत्तो थाप्या छैनन् त ? लोग्नेको माया नपाउनेदेखि ससुरालीलको दया नजाग्नेदेखि दही दुनोमा थापेर खानेसम्मका बवुराहरूले रमाई–रमाई अत्तो थाप्ने गरेकै छन् । कोही खल्ती छामेर नगदनारायण चिलिमच्वाँट्ट भएकोमा आफैंलाई अत्तो थाप्छन् । कोही लाटी छोरीको घर कालिमाटीमा नपुगी फर्केकामा छोरालाई फुलेको र रक्सीमा भुलेको अत्तो थाप्छन् ।

यस देशमा अत्तोको कैयन उदाहरण छन् । सत्ता अत्तो, भत्ता अत्तो । लाटी अत्तो, पाटी अत्तो । साली अत्तो, सोल्टिनी अत्तो । नेता अत्तो, नाता अत्तो । तन्दा अत्तो, फन्दा अत्तो । लाहुर अत्तो, माहुर अत्तो । बाली अत्तो, नाली अत्तो । लेख अत्तो, शेष अत्तो । घोडा अत्तो, जोडा अत्तो । धक्कू अत्तो, लक्कू अत्तो । उदाहरण कति–कति । केही उदाहरण हेर्दा वेश भैहाल्ला । धारामा मझेत्रोमा पानी हालेर माड्दै गनगनाउँदै माइली खनाल्नी दुखेसो पोख्छे,– “घाँटी हेरेर हाड निल्नु नि ! होस् गुम्ने गरी घिच्नु हुन्छ ? झिरलो पिरलोमा कतिन्जेल बाँच्नु ? बिहान उठेर हेर्दा कुन साइतमा अएर पसारिएको हुन्छ असत्ति ! अझ, गाउँगाउँमा के–के पो उपद्रो ग¥या होला ? उसैको लनतनमा ज्यान जीर्ण हुने भो । यस्तालाई ल्याएर दिने मेरा बाको आँखा फुटेकै हो ।”

‘हैन, बिहे ग¥या पाँच वर्षमात्रै भो । यति चाँडै चार चारवटा भन्ट्याङ– भुन्टुङ भैसके तिम्रा ? के गर्नु दिदी माउ र बाउको चेपुवामा मैले गोता पाएँ । बिहे गर्दिनँ, गरे पनि सज्जन पढेलेखेको हुनुपर्दछ भन्दा भएन । कप्तानको नाति हेरे, मुन्द्री लाउने । अहिले न ज्यानको सम्भार, न बच्चाको उपकार । न ससुरालीको मान न आधुनिक परिवार नियोजनको ज्ञान । म त उडूँ कि गुडूँ भो । मन लाग्छ झुन्डिएर त्यही बाबुआमालाई सत्तोसराप गरी मरुँ कि ?’ पँधेरोमा पम्फे र सुकला बीचको गथासो ।

‘ओइ ! यो भुन्टी त बूढी पो भइछ । यति चाँडै गालामा बत्तिसमुजा परिसकेछ । हैन, तैले कति खाइस् उमेर हँ ?’ टपरीको लागि पात टिप्न लागेका स्वास्नी मानिसहरू खिसिट्युरीको स्वरमा पेच हान्दै थिए भुन्टीलाई । मुर्दाहरूको बाँझो होस् ! म जस्ती सोझीलाई चौध वर्ष नपुग्दै पराइघरमा बुहार्तन खेप्न लगाउने । पच्चीस पुग्या छैन नौवटा बच्चा भैसके, अनि के रहोस् ज्यानको सत्तो परान । पारी गाउँको कानढिके खत्री, धापको किर्ने माइलो । नाल्दुम टोलको नेप्टे जिम्मा मरेर यस्तो भा’को । बजियाहरूको भष्मखरानी होस् घरमा सिस्नु उम्रियोस् । मर्ने बेलाँ स्याउँस्याउँती कीरा परोस् । मेरै आँखाले कुहेर मरेको देख्न परोस् । अर्चले खेत किन्या त्यसै हो र किर्ने माइलाले । प्रभु ! उत्तानो टाङ्ग पर्या देख्न पाए हुन्थ्यो ।

रिपोटर्स क्लबमा आज घम्साघम्सी भयो । मुखमा बहुदल व्यवहारमा निर्दलीय चरित्र पस्कने नेतादेखि । संविधानभन्दा ठँस्कने र झस्कने नेतादेखि, संविधानको उच्चारण गर्दा मस्कने र निर्धक्क उपादेयता पस्कने नेताहरूको समेत राज थियो आज । प्रजातन्त्रको घाँटी निमोठियो भन्नेहरूले प्रमाण देऊ । तिमरको पालामा कतिवटा काम यसअनुकूल भए ? अनि त्यो सन्धि, अनि त्यो सम्झौता । अझ त्यो प्रकरण ! अरु कति छन् मसँग । उक्त फट्याङ्ग्रे अत्तोको पर्वाह नगरी सत्र वर्ष चिसो सिँढीमा भुँडी सुन्निने गरी बसेका नेता चुर्मुरिए । ए ! पञ्चखत माफी पाउनेको यत्रो रफ्पूm ? तिमेरका पालामा जेलमा कोचिँदा सुन्नेको भुँडी कति ओखती खाँदा पनि भएन, उल्टो बढ्यो । यो तेरो जस्तो हो ? तेरो पेटाँ नूनदेखि सुन काण्ड, ऊनदेखि चुनकाण्ड सबै भा’थ्यो । हाम्रो पालमा के भा छ ? उही सुत्केरी औषधी काण्ड । त्यहीमाथि यसभित्र प्रजातन्त्रको भ्रुण रोपियोस् कि भनेर प्रजातान्त्रिक सन्तान बृद्धि होस् भन्या बुझिस् ? तिमेरुबाट निर्दलीय सन्तान जन्मन्छ तर यस देशमा प्रजातन्त्रको सन्तान बढाउन आवश्यक छ । बाझाबाझको तापमान बढेपछि उद्घोषकले पुनः मौका दिने आश्वासनमा दुवैलाई रोके ।

माघ महिनाको अति ठन्डीमा बैकुन्ठेचौरमा मुढा जोतेर बूढाहरू आगो तापिरहेको बखतमा सरकारको विरोधी विचार पस्कने प्रशान्तेले अत्तो थप्यो । सालीको पोइसम्म पचाउने र सुनको धुलोमा पानी अचाउने त्यो थापा कम मापाको छैन । ल्हासादेखि झापासम्मका मुसी लुक्ने दुलोदेखि भन्सारमा बसी कुम्ल्याउने हाकिमको चुल्होसम्म के पाक्छ अड्कल काट्ने ताकत राख्छ यसले । आवश्यक परे उदानवायू र अपानवायूसम्मको भाषा बुझ्न माहिर त्यो थापा नै समस्याको जड हो बुझ्यौ ।

आफ्ना आस्थाको धरोहरको सत्तोसराप गरेको सुनी मालभोगे बम्क्यो । हाम्रा थापालाई मापाको भन्ने तँ कहाँको फुइँदार होस् ? यिनको के दोष ? बाँसुरी बजाउनेले नै बाँसको झाञ उगालेपछि ? सारङ्गी बजाउनेलाई केको आरोप ? केको सारङ्गीका श्रोतालाई पेच हानी नौरङ्गी व्यथा ओकल्नुपर्दछ ? त्यहीमाथि पनि सारङ्गी उनी हुन भने गन्धर्व अर्कै हो । गन्धर्व खोज न के हो सारङ्गीको अरी बन्छौ ? चर्काचर्की निकै बढेपछि पण्डित लम्बरीकान्त लम्साल धर्मपत्नीले दिएको मन्डी पट्याउँदै सम्झाउन तम्सिए– ‘श्रीराम ! श्रीराम !! के को कोकोहोलो हो यो ? यी सबै ग्रह नक्षत्रको फल हो बाबु ।’ किन अर्काको दशामा निधार, चाउरी पार्नु ? जे–जे भो–भैगो । यो राहुकेतुको दोषको अत्तो थापे उनले । दाह्रीमा जुम्राको घारी पालेका पण्डित लम्बरीकान्तको एउटा जुम्रो मन्डीमा फुत्त खस्यो । हत्तपत्त अर्कोले देखाईदिँदा उनले अत्तो थापे– स्वास्नी अल्छी भएर यस्तो दुःख पाइयो ।

उनले बेफ्वाँकमा आफ्नो गल्ति धर्मपत्नीका नाउँमा सिउरी अत्तो थापे । सुशीलाको उज्यालो अनुहारको भाषा बुझ्ने थोरबहुत मानिस थिए । तीन–तीनवटी सौताले छोरी पाउँदा छोरो पाउनको लागि उनलाई भित्र्याइयो । पहिलोपटक गर्भ बोक्दा उनको मनमा पुत्रलाभको आशा अधिक थियो । यो पाला पक्कै छोरो जन्मन्छ भन्नेमा पण्डित निमकराम पनि ढुक्क थिए । बेलाबेलामा पुक्क गाला बनाउँदै कान्छी पत्नीको भुँडी मुसार्दथे । माघे सङ्क्रान्तिमा सुत्केरी व्यथा लाग्यो । सुशीलाका लागि सबै सौतासौती स्याहारमा तल्लिन थिए । न स्वर्गको ढोका उघ्रन्छ कि ? भित्र बच्चाको चीत्कार सुन्नासाथ गालामा कटकटिएका सिँगान चोरऔलाले कोट्याउँदै सोध्न पुगे । पिण्डपानीको दाता जन्मियो ? सबै अवाक भए, भन्न सकेनन् । कुरो बुझे उनले निराश भई फर्कन लाग्दा दलिनमा ठोकिई भूँईमा लडे । हत्तपत्त उठी भने ‘छोरो भो कि भनि हेर्न गाको राँडीको ।’ ठोकिएको अत्तो श्रीमतीलाई थोपरे । हत्तपत्त जेठी धर्मपत्नीले थपिन ‘माहुर’ खुवाउँदा बहिनीलाई जित्न दिएको भए हुन्नथ्यो ? हार्न नहुने कहीँ पनि, त्यसैको परिणाम हो ।

दलिनमा ठोकिएर रनाहामा परेका निमकरामलाई ‘माहुर’ मा जितेको अत्तो थापिन जेठी धर्मपत्नीले । पिँडालुबारीका मोइतिघ्रे पण्डित खुब धनको धक्कु लाउँथे । जतिखेर पनि धनको धक्कू लागउनु उनको विशेषता थियो । चमेनागृहदेखि मलामी जाँदासम्म उनको धनकै बखानमा समय बित्थ्यो । कोही उनको बडपप्नमा खुसी हुन्नथे । बरू उल्टो जहिले पनि धन खोकेको भन्नेहरू थिए । उनको कुरामा बढी आडम्बर देख्ने पीताम्बर फुयाल थिए । मनमा जतिसुकै असहमति रहे पनि चुपचाप रहनु उनको स्वभाव थियो । मलामी गा’को बेलाँ उमानाथले पिताम्बरसँग सोधे पण्डितको कस्तो चुरीफुरी छ हगि दाइ ?

जवाफमा उनी झन्केर बोले– ‘ससुरालीको अपुताली पनि उसैलाई चार बाबुहरूको अपुताली पनि उसैको । अनि किन नहोस् चुरीफुरी ? हाम्रो जस्तो पन्ध्र भाइलाई बाँड्नुप¥या भए के हुन्थ्यो बुङ्गाको ? अपुताली हसुरेको लाग्छ शेष ! हेर ! न छोराछोरी कस्ता खान नापाका मरन्च्याँसेजस्ता ? त्यसैको शेष हो बुझ्यौ ?’ उनले शेषको अत्तो थापे । खत्रीका दुई भाइमध्ये जेठो कन्कर्ने धनी थियो । भाइ मनपर्ने खत्री गरिब थियो । बराल माहिलाको छोरीको विवाहमा दाइभन्दा तँ किन निम्छरो ? प्रश्न गर्दा भाइ कन्कर्ने खत्री भन्छ – ‘लाहुरमा सम्पत्ति लुटी भागेर आ’को अनि किन नहोस् धनी ?’ त्यसमा पनि अत्तो ।

अत्तो कति अचम्मको छ । न यसको प्रमाण न सम्मान । न यसले आत्तिनुप¥या छ न पात्तिनु । कमजोरी लुकाउनदेखि निहुँ पारी सातु बुकाउन समेत यसको प्रयोग भएको छ । विपक्षी दुलोदेखि सुनको धुलोसम्म खोज्न जमर्को यसैबाट गरिन्छ । घ्याम्पे भुँडीदेखि अपारको मुढीसम्मलाई यसले एकोहोरोर्याउन, चुर्मुर्याउन र सुरुवालभित्रै खुल्खुल्याउन मद्दत गरेको छ । त्यसैले अत्तोको पत्तो खोज्दा राम्रो । शंका लाग्नु र अत्तो थाप्नु एउटै कुरो होइनन् । एउटा अव्यक्त हुन्छ भने अर्को व्यक्त । बित्थामा दोष व्यहोर्नुपर्दा आलोच्य आत्मा दुःखीत भइहाल्छ नै । तर बिना कसुर दोष थोपारिदिँदा कतै सत्यमा नै नपुगिने त होइन ? म त्यसैमा एकोहोरिन्छु । तपाईं नि ...?

सिन्धुपाल्चोक