राजनीति र नेता, पानी र घैँटो बराबर हुन् । जस्तो घैँटोमा हाल्यो, राजनीति उस्तै हुन्छ । त्यसो त घैँटाका पनि अनेक रूप हुन्छन् । जति हाले पनि नभरिने घैँटो, जति हसुरे पनि नपुग्ने नेता बराबर हो । राजनीतिको घैँटोमध्ये लोटा जाति असङ्ख्य हुन्छन् । लोटाको भाग्य गजबको हुन्छ राजनीतिमा । तिनको प्रवेश पाइखानाबाहेक अन्यत्र हुन्न । यस्ता लोटे कार्यकर्ता केही झर्ला र घैँटे भुँडी भरौंला भन्दाभन्दै आफू रित्तिन्छन् । अर्थात्, यस्ता लोटाको प्रयोग पत्तै नदिई नेताले के जाति धुवाइका लागि गरसिकेको हुन्छ । लोटालाई नेताले काँधमा बोक्दैनन्, हातमै च्याप्छन् । यस्ता लोटामा प्राध्यापकदेखि प्रोजेक्ट प्रापक, पत्रकारदेखि साहित्यकार र दूतालय पोषित अरौटे–भरौटे कर्मचारीदेखि स्वयम् घोषित एवम् पद र पगरी खोसित सांसदसम्म पर्छन् । जल भरिने घैँटो राजनीति पल्टा खायो भने मल भरिने बन्छ, जसरी अबिर दलिने नेता कालोमोसो दलिने बन्छन् ।

राजनीति पोखिएपछि घैँटो रित्तो ढ्वाङ बन्छ । नमच्चिने पिङको सय झड्का भनेझैं रित्तो ढ्वाङको आवाज चड्का ! जसै नेता महान् बन्छन्, ती कलशझैं पुजिन्छन् । कलश र लोटामा काँधमाथि र कम्मरमुनि जत्तिकै भिन्नता छ । शक्तिबिनाको राजनीति रित्तो घैँटो बराबर ! नेता शक्तिसहित र शक्तिरहित हुन्छन् । शक्तिसहितको नेता स्यालै भए पनि बाघको ओढारमा उभिँदा आफूलाई बाघ ठान्छ । शक्तिरहित नेता बाघै भए पनि जुँगा उखेल्दा पनि मरेको बाघझैं बन्छ ।

शक्तिको लोलुपताबाटै राजनीति अर्थात् नेतागिरी प्रारम्भ हुन्छ । नेताको खेल भन्नु नै म्युजिकल चेयर हो । मानौँ, कुर्सी झिँगाका लागि कुनै अपचवालाले छाडेको वस्तु हो । हेर्नोस्, कुर्सी चारखुट्टे भए पनि यो जनावर होइन । यसको चार पाङ्ग्रा नभएकाले यो गतिवान पनि छैन । सायद गति दिन घुम्ने मेचवालाले पाङ्ग्रा हाल्छन् । तर, ती निश्चित सीमाबाट उम्कन चाहिँ सक्दैनन् । गति नहुनेको दुर्गति हुन्छ । यसैले कुर्सीमा कोही पनि सदाकाल बसिरहन सक्दैन । न त बसिराख्छु भनेरै बस्न पाउँछ । हो, कुर्सीबाट झार्ने र कुर्सीमा आफ्नालाई पार्ने खेल नै राजनीति हो । कुर्सीमा गति नभए पनि त्यसमा बस्नेको प्रगति चाहिँ रोकिन्न । यसैले त कुर्सी नछोडी त्यसैमा सद्गति चाहने पनि छन् । नेता र कुर्सीको सम्बन्ध जीव र अजीव जत्तिकै छ । अर्थात्, जनतामाझ नेता जिउँदो जीव भएर जान्छ र जब जित्छ कुर्सीमा बसिसकेपछि निर्जीवजस्तै हुन्छ । यो अजीव हुँदै पुनः जीव बन्छ । अर्थात्, पुतली र झुसिलकीराजस्तै नेताको रूप जीवन प्रणाली सायद कमैले बुझ्छन् । जीवन दर्शनका दृष्टिले देखिएको सत्य होइन । राजनीतिमा सत्य झूट र झूट सत्य हुने कारण नै सफेद झूट हो । अर्थात्, अर्थलाई निरर्थ र निरर्थलाई अर्थपूर्ण पार्ने नै राजनीति हो ।

नेताको रूपलाई मानव विकासको अवस्थासँग जोड्न सकिन्छ । चुनावताका अवोध बालकझैं माया पाउन लालायित बन्छ । अर्को बालस्वरूप नेतासँग कुस्ती प¥यो भने रोएर पनि जित्न खोज्छ । चुनाव जित्ने बित्तिकै ऊ वयस्कझैं अरिगठे गज्जबको काँठे बन्छ । नजानेको कुरामा पनि यसरी भाषण छाँट्छ ।

मानौं, ऊ नै सर्वत्र हो । फुकेको राँगोझैँ नेता यतिखेर गुन्डा बन्न पनि सक्छ । तर, जब खाँदा खाँदा भुँडी फुट्न खोज्छ, ऊ बिरामी पर्छ । बस्, भोगपछिको योग हेर्न लायक हुन्छ । उसको जति भुँडी बढ्छ, उति टाउको सानो बन्छ भन्ने कुरा सत्य सावित हुन्छ । अर्थात्, मूर्तिकारलाई नेताको मूति बनाउन दुईटा बल भए पुग्छ । ठूलो बलमाथि सानो बल राखेपछि उसको सही सालिक बन्छ । उसको यो रूपमा मान्छेले केही लछारपाटो लगाउन नसके पनि कागले देखाइदिन्छ । उसका अनुयायी भए ‘बिष्टा सफा आयोग’ बन्ला ! नभए उसको रूप बिष्टामय बन्ला ! राजनीतिको उलटपलट भनेकै यही हो ।

नेताको यस्तो रूप देख्दादेख्दै मान्छेहरू नेतै हुन खोज्छन् । अझ गजब त कहाँ छ भने एउटा नेताले अर्को नेतालाई तिल बराबर गर्दैनन् । यस अर्थमा तिनलाई के कुराको ज्ञान हुँदैन भने बुहारी पनि सासू बन्छन् र सासू बन्ने बित्तिकै आफू बुहारी भएको बिर्सन्छन् । अझ् कुनै कुनै नेता छोरा जन्मिसक्दा पनि सधैं आफू मात्र बाबु हो भन्ठान्छन् जबकि नाति निक्लिसकेको हुन्छ ।

वास्तवमा नेता बनाउने जनता भए पनि जनता बनाउने नेता कमै छन् । जनता र नेता अन्योन्याशृत हुन् तबसम्म, जबसम्म नेता जनता बन्दैनन् र जनता नेता बन्दैनन् । नेताको नारा लगाएर खाने जनता र जनताको नारा लगाएर खाने नेतामा भिन्नता नदेखिए पनि जनताले नेताको नारा लगाउन छोडिसके पनि नेताले जनताको नारा लगाउन छोड्दैनन् ।

नेता दुई किसिमका मात्र छन् । एकथरी नेता अर्कालाई नाङ्गो पारेर आफू लुगा लगाउँछन् । अर्काथरी नेता आफू नाङ्गिएर अर्कालाई लुगा लगाइदिन्छन् । अर्कालाई नाङ्गो पारेर आफू लुगा लगाउने नेताले भोलि आफूलाई पनि नाङ्गो पार्छन् भन्ने कुरा बिर्सन्छन् । आफू नाङ्गिएर अर्कालाई लुगा लगाइदिने नेतालाई लुगाको खाँचो हुन्न भन्ने कुरा धेरै नेताको आत्मज्ञान हुन्न । नेतालाई नेता बनाउने जनता हुन् । तर, जनतामा पनि आत्मज्ञान नदेखेर नेताको सपना कहिल्यै साकार नपारेका हुन् । जनताको आत्मज्ञान भएको भए अब जनता सहिद हुने पालो पुग्यो, नेता हुनु प¥यो, नेता भन्नु पर्यो । जनता र नेतामा भिन्नता नै यही हो कि जनता सहिद बनेपछि नेता बन्छन् । नेता सहिदै नबनी नेता दरिन्छ । अर्थात्, जनता सहिद भएर जिउँदो बन्छ । नेता जिउँदो भएर मरेतुल्य हुन्छ । यो सिद्धान्त त्यतिबेलासम्म लागू हुन्छ, जतिबेलासम्म नेता जनता बन्दैनन् र जनता नेता बन्दैनन् । अर्थात्, जनताले नेता बनाउँदैनन् र नेताले जनता बनाउँदैनन् ! नेता जननेता भन्दाभन्दै धननेता बनेको पत्तै हुँदैन । यसैले त नेता घैँटो हो भनेको । बुद्धिको बिर्को नउघारी घैँटोमा घाम के लाग्ला ?

जाउलाखेल, काठमाडौं