अलि बूढो छाँटको चस्मा नाकले थमाएका, दुब्लोपातलो ज्यान भएर पनि ज्ञानको अभिमानले गमक्क परेका, थोरै बोल्ने धेरै अरूलाई पोल्ने, मपाइँवादी मान्छे भएर पनि मौका परे जदौ ठोक्ने, ताकपरे तिवारी बन्न नसकेका, राष्ट्रिय ब्यापारी बैङ्कमा जागिर खाएका, पाकोमा बसेर काँचो कचिलामा रमाउने, भुँडीसेवा नियमावलीका व्याख्याता, भन्टाङ्ग–भुन्टुङ्गका जन्मदाता अकस्मात् मास छर्न गएपछि भोटाहिटी निवासी रत्ने साहूलाई बाटो फुक्यो । उसले सबभन्दा पहिले पसलमा धूप सल्कायो र आफ्नो बल्छीलाई जदौ ग¥यो । बेपारको पासो भन्नुस् वा बल्छी, त्यस धन्दाबाट उसले थुप्रै लेखकको उद्दार गरेको छ । वर्षदिन लगाएर तयार गरेको कुनै पुस्तक पाए बाह्रसयसम्म लेखकस्व दिने ठूलो काम उसले गर्दै आएको छ र एक हजार छपाएँ भनेको पुस्तक तीन गुना बढी छपाएर नाफा खानु उसको धरोधर्म भित्रैपर्छ । त्यसो भएर नै श्याम गोतामेको निधनमा ऊ खुसी भयो र हत्तपत्त मोल बढाउने निर्णय ग¥यो । छ रुपियाँमा बेचिराखेको पुस्तक जदौलाई बाह्र रुपियाँको स्टीकर टाँस्दै चाङ लगायो र धेरैसँग दुःख जनायो– “बिचरा खजाञ्जी बाबु खसेछन् ! क्या वेश मान्छे थिए ।”

परिश्रमको मोल घटेका बेला पैसाको मोल बढ्छ । अर्काको पसिनामा रमाउनेहरूको अनुहारमा धनको मात चढ्छ । मुखमा धरोधर्म जीवनमा असत्ती कर्म गर्दै आएका ठालू–बाबुहरूको सेवामा जुटेका घुस्याहा कर्मचारीको कुरा उनले गरेनन् । बरु “हेर भाइ सोर्स नभई जागिर पाइँदैन” भन्ने शास्वत वाणीलाई निखार दिँदै अन्तरवार्ता लेखे । जदौ सङ्ग्रहको तगारोमा बसेको यो निबन्ध पढेपछि मात्र ‘सङ्गीत साँझ’को रमझमबीच पुगिन्छ । त्यस साँझ तपाईं होइन मपाईंका लेखक श्याम गोतामे कसरी रिसेप्सनमा रमाउँछन् त्यो निकै काइदाको कुरा छ । सङगीत साँझको बेला आधुनिक गीत–गजलको साटो लोकगीतको लैबरीमा लर्बराएका लेखन्तेलाई नेपालीमा रबाफी बोली चढ्दैन । उनी हिन्दीमा चुरोट माग्न पुग्छन् । अलिकति अङ्ग्रेजी मिसाउँछन्, दुईचार वटा उर्दू र काठमाण्डूली नेपाल–भाषा हाल्छन् र जनकपुरिया मैथिलीसमेत मिसाइदिन्छन् । श्याम गोतामेसँग भाषा–ज्ञानको भकारी छ भनेर देखाउने उनको रौस धेरैलाई थाहा हुँदैन । तैपनि आलुलोचकहरूबाट टिप्पणी भइछाड्छ– “श्याम गोतामेको व्यङ्ग्य फुरौला भन्दाभन्दै उफ्रौलामा पु¥याउने खालको छ । नेपाली पढ्दा–पढ्दै हिन्दीमा हिँडाल्ने गर्छ ।

हास्यव्यङ्ग्यमा चिन्तन पक्ष हुँदैन भन्ने उरन्ठेउलाको उक्साइमा उनी फसे जस्तो छ । तैपनि सामाजिक दायित्व नबिर्सी हिँडेमा आशालाग्दो औतार मान्नै पर्छ (भैरव अर्याल, भूमिका, मपाइँ कौवा प्रकाशन २०२६, पृ. ख ।) संगीत–साँझ उनले रिसेप्सनमा आफ्नो आदर्श–सिद्धान्त फलाक्दै थिए– “साहित्यमा स्वदेशी विषयवस्तुको चयन गरिनु देशप्रेमको प्रदर्शन र प्रतीक हो ।” तर उनका यी भनाइ सुनेर तपाईं भन्नुहोला– श्याम गोतामे त भयङ्कर राष्ट्रवादी रहेछ । कुरा त्यसो होइन । श्याम गोतामेको विचारधारा अलग छ । उनले आफूलाई सकेसम्म अन्तर्राष्ट्रवादी नै बनाउन चाहन्थे ! सकेनन् त के भयो ? “अन्तर्राष्ट्रिय ज्ञानको अभावले ग्रसित” बुद्धिजीवी भन्ने पगरी पाएकोमा उनी खिन्न हुँदैनन् र भन्दछन्— “मेरो हृदय विशाल छ तसर्थ यी सानातिना उपाधिले मलाई द्रवीभूत तुल्याउँदैनन्” (जदौ पृ. २१) वास्तवमा श्याम गोतामेको सिद्धान्त स्त्रीवाद रहेको हुँदा नै उनी रिसेप्सनमा रमाए । उनी भन्दछन्— “मानिसका आ–आफ्ना वाद हुन्छन् । कोही उदारवादी छन् त कोही भाग्यवादी र कोही पुरुषार्थवादी छन् । म चाहिँ स्त्रीवादी हुँ । मेरो पपुलारिटीको अधिकांश श्रेय मेरी पत्नीलाई नै जान्छ” ( श्याम गोतामे, जदौ, रत्न पुस्तक भण्डार २०२७, पृ. २३ ।) समयको स्वाद लिन सिपालु श्याम गोतामे रसिक छन् । पैसा–तन्त्रको रजगज भएका बेला फरियावादको फलिफाप नहुने कुरै भएन । अघि–अघिका पुराणकथामा त स्त्रीवाद हावी छ भने अहिलेको विकासे युगमा स्त्रीवादमा को मोहित नहोला ? कृष्णजीका गोपिनी सम्झँदै भजन गाउँदा भगवान् खुशी हुन्छन् रे, रासलीलाको रङ्गरस सम्झँदै सोमरस पिउँदा स्वर्ग झुम्छ रे ! अनि नारीवाद र सारीवाद सरोबरी भएका बेला श्याम गोतामेले स्त्रीवादी भएँ भन्नु कुन आश्चर्यको कुरा भो त ! आखिर लोग्नेले स्वास्नी छाड्ने र स्वास्नीले लोग्ने छाड्ने अर्थात् पारपाचुके गर्ने चलन पहिले पनि त थियो । यस तथ्यलाई बाली र सुग्रीवको कथाले दर्शाएकै त छ । जेहोस् जदौमा व्यङ्ग्य बाजेले जे लेखे, त्यो बजारभाऊ भनौँ वा चलनचल्ती अनुसार गाईजात्राको उपलक्ष्यमा मात्र लेखेका होइनन् । सधंैभरि आइरहने गाईजात्राका कारण नै लेखेको देखिन्छ । उनी भन्छन्— “राष्ट्रवाद स्वार्थपूर्तिको कवचयुक्त साधन र व्यक्तिगत उत्थानको सुगम र सफल सोपान हो । स्वार्थ पूर्तिमा अड्काउ परेमा राष्ट्रवादबाट राष्ट्र चाहिँ “वाद” हुन्छ ।” (जदौ– पृ. ६८)

व्यङ्ग्य लेखको बजार–भाउ सम्पादक रूपी फौबञ्जारद्वारा नियन्त्रित छ । त्यसो हुँदा व्यङ्ग्यले कसैप्रति आक्षेप वा प्रहार नगरोस् भन्ने चाहना उनीहरूको हुन्छ । फेरि आजभोलि व्यङ्ग्य भन्ने कुरा हास्यसँग जोडिएर आइरहेको छ । हजामको हातमा कैंची र काइँयो नाचे जस्तै सम्पादक महोदयका हातमा पनि कैंची–कलम नाचेको हुन्छ । त्यसो हुँदा समीक्षा लेख्नेहरूको टिप्पणी अथवा आलोचना चुटुक्क काटेर सुटुक्क रद्दीको टोकरीमा फ्याँकिने खतरा पैदा हुन्छ । मलाई पनि व्यङ्ग्यशैलीमा साहित्यको समीक्षा गर्नुप¥यो भनी केही जुँगे सम्पादकहरूले बेला–मौकामा कचकच गर्ने गर्दछन् तर उनीहरूले बजारभाऊ सम्झेर लौ त आशावादी अर्याल तिमीले पनि भात खाऊ भनेर यसोक्क पारिश्रमिक भनी दुईचार सय दिने जाँगर कहिल्यै देखाउँदैनन् । साहित्यकारको व्यथा छाक टार्नेमा टाक्सिएको छ, राजनैतिक नेताहरू साँप्रा दार्ने होडमा करोडको हिसाब गर्दै मस्त छन् । अनि श्याम गोतामेले राजनीतिप्रति वितृष्णा नदेखाएर के गरुन्् । नयाँ वर्षको भविष्यफल यस्तै विसङ्गतिको विवेचना बनेको छ । उनी भन्दछन्– “साहित्यकारले सामाजिक दायित्व रूपी पर्खालका भत्केका ईंटाहरूलाई भरथेग गरी थामथुम पारिरहेको छ भने राजनीतिज्ञहरूले कोठामा गफ गरेर हुन्छ कि मञ्चमा भाषण भट्याएर हुन्छ, आफूहरूको नेताङ्गी जिनतिन बचाएकै छन् । दुवै सजग, सक्रिय, समर्थ र सभ्य छन् तसर्थ देशका निम्ति यी दुवै निधिहरूको हाल खाँचो परेको देखिँदैन ।” (जदौ पृ. ४४) वास्तवमा श्याम गोतामेका लागि राजनीतिक स्वप्नद्रष्टा र साहित्यिक स्रष्टा दुवै नै भोगटे र बिमिरोभन्दा बढी महत्व राख्दैनन् । डवल विरोधको तात्पर्य हो– समर्थन । यसलाई गणितशास्त्रले सिद्ध गरेकै छ– माइनस माइनस प्लस भन्ने सिद्धान्तद्वारा । त्यसैले श्याम गोतामेको यसरी आलोचना लेखिरहँदा म निकै डराएको छु– कतै यो डबलविरोध नभइदेओस् ! भोलिभोलिको नियतिमा झुण्डिएको आशावादी, भानुभक्तदेखि भैरव अर्यालसम्मका भजमने भोलिविद्बाट पीडित छ । त्यसमा श्याम गोतामे थपिए– “हामी भोलिभोलिको निश्चिततामा अडिग र निश्चल छौँ, किनभने भोलिको झोली भरिने दिन कहिल्यै आउने छैन ।” अनि कसरी मन बुझाउने ?

चिप्लेटी खाएका मन्त्रीसँग एउटा भेटवार्ता–जदौ–मालिकले गरे । भूतपूर्वमा भौतारिएका भाग्यहीनहरूको चर्चा प्रभातले अन्यत्रै गरेको छ । अहिले गोतामे बाबुको प्रसङ्ग छ । उनले भूतपूर्व मन्त्रीको मनगढन्ते गन्थन आफै तयार पारेका रहेछन् । पत्रकार परिवेशमा पञ्चायतकालीन गुटबन्दीको मात्र होइन, “गाउँफर्के” प्रवृत्तिको पनि घुमाउरो विरोध गरेका रहेछन् । पञ्चायत नीति तथा जाँचबुझ समितिका आँखामा नपरेका हुनाले गोतामे कारवाहीमा परेनन् । नत्र उनको जागिर चिलिम्च्वाँट हुन्थ्यो । हुन त उनी त्यसरी जागिर खोसिएको लेखकका रूपमा अमर बन्न चाहन्थे । उनी प्रष्टवक्ता थिए भन्ने कुरा यस सन्दर्भमा स्मरणीय छ । उनी भन्दथे म अमर हुन चाहन्न । वास्तवमा अमर हुन मर्नुपर्छ वा मारिनुपर्छ भन्ने कुराबाट उनी तर्सिएका थिए । देवकोटाप्रति गरिएको दुव्र्यवहारबाट उनी त्रसित थिए । घुमाउरो पाराले साहित्यिक चोर भनेकोमा उनी खुशी हुन्थे तर अमरत्वको कुरा गर्दा दिक्क । एकपटक उनलाई कसैले भारतीय हिन्दी–व्यङ्ग्यकार हरिशंकर परसाईं र शरद जोशीहरूसँग जोडेर लेखेछ । उनीहरूका रचनाको भावानुवाद लिएको आरोप पनि लगाएछ । तर त्यसलाई श्याम गोतामेले बडो सहज र हार्दिकतापूर्वक लिएर भनेछन्— “यो त तपाईं जस्ता विवेकशील पाठकहरूको मप्रतिको कृपादृष्टि हो, अन्यथा म त्यति योग्यता भएको त कहाँ हुँ र ?” (जदौ पृ. ६०)

साहित्यकारहरू संवेदनापूर्ण प्राणी हुन् भन्ने कुरालाई श्याम गोतामेले पनि सिद्ध गरेका छन् । उनले आफ्नो कदर नभएको खण्डमा नेपाल छाड्ने धम्की दिएका छन् । मेरो कदर गर्नुहोस्, अन्यथा नेपाल छाड्न्या छु– भन्ने शीर्षकमा उनी आफूलाई “विकट–यथार्थवादी र उत्कट–अर्थवादी” भन्न पुगेका छन् । शब्दको गहिराईमा नपस्ने हुँदा उनले यस्तो पदावली प्रयोग गरे । भनाइको गम्भीरता नखोतल्ने हुनाले आलोचकहरूले पनि उनको यस घोषणाको तात्पर्य केलाउने काम गरेनन् । अन्यथा विकट यथार्थवादी भन्नुको साटो उत्कट यथार्थवादी र विकट अर्थवादी भन्ने थिए । अर्थशास्त्रका दृष्टिले अर्थवादी हुनु भनेको आर्थिक फाइदाका आधारमा पाइला चाल्ने चिन्तन हो भने साहित्यशास्त्रका दृष्टिमा विकट यथार्थवादी हुनुभनेको नाङ्गो यथार्थवादी बन्न पुग्नु हो । उनले भावको गहिराईमा यी पदावलीको प्रयोग गरेका छैनन् । सतहमा बग्दै पैसाका निम्ति मरिहत्ते हाल्ने जागिरे मनोवृत्तिलाई नै उत्कट अर्थवादी भन्न पुगेको पाइन्छ । उनको यो सञ्चेतना समवेदना प्रकट गरिसकेका अवस्थामा चर्चा गर्नुपर्दा मलाई पनि विकट परिस्थिति भोग्नु प¥या छ । तैपनि ज्यूँदो मान्छेलाई बिर्सने र मरेकालाई सम्झने चलनचल्तिको पछि लागेर गोतामेलाई जदौ गर्दैछु । साहित्यकार गोतामेप्रति देशले जे जति सम्मान ग¥यो त्यो उनको “प्रतिनिधि हास्यव्यङ्ग्य” नाममा एकेडेमीबाट एउटा पुस्तक छापिदिने काममा फलिभूत भयो । एउटा कलमको कारिन्दालाई सिपाहीले करसाहेवलाई झैँ मानमनितो गरून् भन्न त नसकिएला तर करसाहेब नै दुई थरि भएका बेला कर्णेलका कुरा छाडेर करका हाकिम सम्झने खतरा पनि त उत्तिकै रहने भयो । त्यसैले शब्दको सन्दर्भ नखोजी अर्थ खोतल्न सकिँदैन । भन्न त श्याम गोतामेले— “सङ्गीत र साहित्य सार्वभौम वस्तु हुन्” भनेका छन् । (जदौ पृ. ६९) तर उनले वस्तु भन्ने बित्तिकै माल बनेर मुद्रामा साटिने कुरा चटक्कै भुलिदिएका छन् । जब माल, मुद्रा र मालिकको चक्रमा घुम्छ त्यहाँ अतिरिक्त मूल्य आर्जन हुन्छ । अतिरिक्त मूल्य अतिरिक्त श्रमबाट निर्मित हुन्छ । यी सप्पै कुराहरू सार्वभौमिक भएका छन् तर मामुमाको सूत्रलाई अर्का माले अर्थात् माक्र्सले माल–मुद्रा–मालको चक्रका रूपमा आफ्नो ठूलो पुस्तक पूँजीमा विवेचना गरिसकेका छन् ।

कान्तिपुरीबाट स्वर्गपुरीतिर हिँड्ने बेलामा श्याम गोतामेले व्यङ्ग्य साहित्यको उत्थानका निम्ति पाकोमा भेटघाट गर्ने बन्दोवस्त मिलाएका थिए । काठमाडौंमा साहित्यिक जमघट गर्ने थलोको अभाव शौचालयको अभावसरह खट्किएको महसुस गरी आफ्नै घरको वैठकमा सके कुसन हालेर बस्नु, नसके जे इच्छा लाग्छ गर्नु भन्दै थिए । यो कुरा सुनाउने नारद स्वर्गबाट आएका थिएनन्, धोवीधारातिर बस्ने उनै महामहिम बिरालोपाध्या याने कि खुस्कान थिए । उनले जदौको अन्तिम रचनाको शीर्षक सापटी लिँदै कुरा गरे— “खजाञ्ची बाबुले अर्थात् श्याम गोतामेले भने—सिंहरदरबारबाट भोल्गाकारमा बसेर पुल्चोक पुगुन्जेल जीउका जोर्नी–जोर्नी फत्तक्क गल्छन्, आँखा पोल्न थाल्दछ, जरो नै आउला झैँ हुन्छ र आफ्नो डाइङ–रूममा खुट्टा टेक्ने बित्तिकै औषधि स्वरूप एक “पेग” सेवन गर्न म बाध्य हुन्छु ।” सम्पादक मुस्कानको भए पनि सिस्नुपानीले नहान्दासम्म मात्तिएको मान्छे भनेर चिनिने खुस्कानले नै शायद मलाई पनि “श्याम त खुस्किए नि ! आर्यघाटतिर पो लाग्दैछन्” भनेर कु–सूचित गरेका थिए । बेलुकासम्म ठमठम हिँड्दै गरेका गोतामे आफै हिँडेर अस्पताल गएछन् र त्यहीँबाटै बिदावारी भएछन् । उनले भने अर्थात् खुस्कानले भने– तर उनी सिंहदरबारबाट पुल्चोकतिर कारमा हिन्ने हरिपहरूभन्दा धेरै महान् छन्, किनभने श्याम गोतामे गोतामे भएर पनि ताकपरे तिवारी हुन पुगेका चङ्ख व्यक्तिमा पर्दैनन् ।

जदौका आधारमा हेर्दा उनी जदौ गर्न लायक एउटा समाजपरक यथार्थ टिपेर त्यसलाई आफ्नो चेतनद्वारा बाङ्गे–बोलीमा लोली व्यक्त गर्ने व्यङ्ग्यकार देखापर्दछन् । उनका रचनाले नेपाली व्यङ्ग्य साहित्यको भण्डार भर्दछन् । त्यसैले व्यङ्ग्य–शैलीमा लेख्ने लेखन्तेहरूले उनको निरन्तर सम्झना गर्दछन् । मैले पनि उनको सम्झनामा जदौ केलाउँदै जदौ गर्छु– जदौ गोतामे जी ! जदौ ! !

‘फित्कौली’ अङ्क ५ (श्याम गोतामे विशेष) बाट