चट्याङ मास्टर नेपाली पाराका साँच्चै उट्पट्याङ मान्छे हुन् । प्रत्युत्पन्न मति चट्याङको विशेषता हो । नेपाल बाहिर कृषि क्षेत्रका बिख्यात विज्ञ भनेर उनलाई चिनिन्छ । यो नेपाल यस्तै छ– त्यस विख्यात मान्छेलाई यहाँ भने खालि उट्पट्याङ गर्ने साधारण मान्छे बाहेक अर्को परिचय नै छैन कि जस्तो लाग्छ । हामी हास्यव्यङ्ग्यप्रेमी भने चट्याङलाई उट्पट्याङ विज्ञकै रूपमा पाएर गद्गद् छौँ ।

माणिकरत्न शाक्यद्वारा सङ्कलन र सम्पादन गरिएको ‘चट्याङका उट्पट्याङ’ नामक एउटा नयाँ कृति प्रकाशित भएको छ । यस कृतिलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो । ‘चट्याङका उट्पट्याङ’ भित्र विभिन्न समयमा विभिन्न पत्रपत्रिका र केही पुस्तकहरूको भूमिका मन्तव्यका रूपमा छापिएका लेखोटहरू समेत सङ्कलन गरिएको छ । सूची नदिइए पनि ४३ वटा छेडखान, हाँसोमजाक, व्यङ्ग्य विनोद गरिएका सामग्री यसमा परेका छन् । यसको समष्टी शीर्षक दिइएको छ ‘चट्याङका उटपट्याङ’ । हास्यव्यङ्ग्य सामग्री एकप्रकारले उटपट्याङ खालका नै हुन्छन् । तथापि यस सङ्ग्रहमा परेका चट्याङका उट्पट्याङ अलि भिन्न स्वादका छन् । निबन्ध र कवितामा बढी फस्टाएको छ वर्तमान नेपाली हास्यव्यङ्ग्यको फाँट । तर यस कृतिमा समेटिन आएका अधिकांश उट्पट्याङपूर्ण सामग्री निबन्ध र कविताभन्दा इतर छन् । यस भित्र परेका केही सामग्रीहरूमा परम्परागत उखानटुक्कालाई अहिलेको सन्दर्भ दिएर पुनरलेखन गर्दै उट्पट्याङ गरिएको छ । एक दुई वटा फाँकीको उदाहरण दिन मन लाग्यो–

जितेको नेता र हारेको जुवाडेले अर्काको कुरा सुन्दैन ।
हाकिमले घुस खायो भन्दैमा आफूले फाइल चपाउन मिलेन । (पृ. ७)

जुस नखाने बिरामी र घुस नखाने नेता टिक्दैन ।
थोरै खाए पो घुस, धेरै खाए त चन्दा । (पृ.१३)

भ्रष्टाचार नगर्नेलाई सिंहदरवार के काम ? (पृ. २५)

यसरी उखानलाई बटारेर उट्पट्याङ गर्दै हाँसो छर्ने चट्याङ मास्टरले बेलाबेला प्वाक्क प्वाक्क महानवाणीहरू पनि ओकल्ने गरेका छन् । यस सङ्कलनमा उनका त्यस्ता महानवाणीहरू समेत सङ्कलित छन् । बज्रपाणीका केही वाणि यस्ता छन् :

डाक्टरलाई छालाको रोग मन पर्छ किनभने न बिरामी मर्छ, न रोग विशेष हुन्छ ।
प्रजातन्त्रिक आन्दोलनका लागि प्रजातान्त्रिक नारा यस्तो हुनुपर्छ– निरङ्कुश शासन चाहिँदैन, चुनाव गराउन पाइँदैन ।
(पृ.५२)

उहाँले राष्ट्रलाई यति क्षति पु¥याउनु भयो कि राष्ट्रले उहाँलाई राष्ट्रिय नेता नमानी सुखै पाएन । (पृ. ५५)

कात्रोले ढाकेको मान्छे भए पो चितामा राखेर तलबाट आगो लगाउन हुन्थ्यो, मुर्खताले ढाकेकालाई त्यसो गर्न मिल्दैन ।
(पृ. ५६)

चट्याङको यस सङ्ग्रहमा २ हरफे अभिव्यक्तिदेखि आठ पृष्ठसम्मको फैलावट भएका अभिव्यक्ति शृङ्खला समेटिएका छन् : 
प्रेम गर्नोस् झगडा नगर्नोस्
दुवै गर्न मन भए बिहे गर्नोस् । (पृ. ७२) दुई हरफेको एक फाँकी मैले उठाएँ ।

यसरी यस कृतिमा हामी र हाम्रा बीच ठिङ्ग उभिएको विकृतिको पहाडलाई छ्यास्नसम्म छ्याँसेर सम्याउने आकाङ्क्षा सहितको सार्थक उटपट्याङ अर्थात हास्यव्यङ्ग्य सिर्जना प्रस्तुत भएको देखिन्छ । समाज, हाम्रो समाजिक जीवन, राजनीति, नेता, पार्टी र दलहरू, शिक्षा, प्रशासन यावत क्षेत्रमा प्रभावकारी प्रहार चट्याङका उटपट्याङमा फेला पार्न सकिन्छ । पढ्दा हाँसो फुत्किन्छ, व्यङ्ग्यको प्रहार निसानामा परेको देखेर बडो स्वाद आउँछ । मज्जा लाग्छ । यस खाले मज्जालाग्दो उट्पट्याङका लागि चट्याङलाई धन्यवाद दिनै पर्छ । छरिएर रहेका यस्ता स्वादिला उट्पट्याङलाई एकमुष्ट बनाउने माणिकको सिपलाई पनि साधुवाद भन्नै पर्छ ।

कलङ्की, काठमाडौं