अघाइदिनु पनि हगाइदिनु पनि झट्ट सुन्दा उदेक लाग्दो कुरा । तर उदेक किन मान्ने ? वास्तविकता नै यसैमा छ । गाईभैंसीलाई टन्न घाँसपराल र दानापानी दिनु भएन भने न दुध दिन्छ न मल । मल भए पो बारी बगैंचामा फल हुन्छ । यहाँ कुरा गर्न खोजिएकोचाहिँ गाईभैंसीको होइन, राता र हरिया मसीवाला मान्छेहरूको हो । मान्छे अघाउने कुरा त्यति सजिलो छैन । राता र हरिया मसी बोकेका मान्छेहरूलाई दालभात, तरकारी, अचार, माछा, मासुजस्ता परिकारले पुग्नेवाला छैन । सुराका बोतलमा उनीहरूलाई चोपलिनु पर्छ, पाँचसय पचपन्नको दण्डिकाको सर्को लाउनुपर्छ ।

हाम्रा टोलमा एकजना हाकिम साहेब छन् । उनको दिन दुगुना रात चौगुनाका दरले गाउँटोलमा इज्जत र प्रतिष्ठा बढेको छ । नबढोस् पनि किन ? यसो केही गर्नु पर्दा नोटको बिटो उनले नै निकाल्छन् । हरेक शनिवार आप्mनै घरमा जुवातासको मेला लगाइदिन्छन् । पहिलेपहिले खोयाबिर्के समेत ल्याउन हिम्मत नगर्ने उनी अचेल विदेशी ब्राण्डमात्र झिक्छन् । उनको नाम र दाम एकसाथ बढिरहेको छ । यसको रहस्य उनी सबैसँग खोल्दैनन् । कहिलेकाही“ अलि बढी मात्रा परेको बखत भने नढाँटी सुनाउछन् ।

“सोझो औंलाले घिउ आउँदैन, झगडा नगर्नेले निहुँ जान्दैन । आसेपासे बतासेलाई ठीक ठाउँमा राखेपछि नक्कली पनि सक्कली हुन्छ । कागज मिलायो र दाता, भूत र महाभूतहरूको पूजाअर्चना गर्न जान्यो भने यो दुनियाँमा इन्द्रेका बाबु चन्द्रेले पनि केहीगर्न सक्दैनन् रे” उनी भन्छन् ।” को को रहेछन् त्यस्ता दाता, भूत र महाभूत जो चन्द्रे भन्दा पनि माथि छन् ?” मैले हाकिमसाहेबसँग जिज्ञासा राखें ।

“दाता अनि आफूभन्दा माथिका हाकिम जसले भण्डारसम्म ल्याइदिन्छन् । उनलाई बेलाबखत कोसेली चढाउनुपर्छ, । भूत र महाभूत भनेका विशेष मान्छेहरू हुन् । उनीहरूको मसीमा ठीक बेठीकको कसि हुन्छ । आकाशमा उडाउने कि सडकमा गुडाउने उसकैको हातमा हुन्छ । अघाइ र हगाइ मिल्यो भने मसीले आयु बढाइदिन पनि सक्छ तर मिलेन पेटभित्र वायु बढाइदिन पनि सक्छ । आयु बढाइदियो भने त बाँच्ने रहर पनि साँचिन्छ, अझै मुलुक खाने गरी बाँचिन्छ, बायु बढाइदियो भने अजीर्ण बनाइदिन्छ र शरीरलाई विदीर्ण बनाइदिन्छ । शुभलाभ हुनेभएपछि विशेष मान्छेहरूलाई अघाइदिनु पनि पर्छ र हगाइदिनु पनि पर्छ ।

यो अघाइदिने र हघाइदिने पर्व हाम्रा सरकारी अड्डाहरूमा हरेक वर्ष चल्ने गर्छ । असार मसान्त सकिनासाथ आउने पर्व यही हो । राता मसीवाला आएर खसी कटाउँछन् र वर्षभरि छुट्याएको दानदक्षिणा पट्याउँछन् । चल्तीको खल्ती भरेपछि सुरा पान गर्छन् र राता मसीले रुजुतान चलाउँछन् । अघाउने र हगाउने काममा अलिकति गडबडी भयो भने वर्षभरि बनाएको नक्कली काम र त्यसबाट असुलेको दामले हामीजस्ता हाकिमसाहेबलाई पोलेर कालो डाम बनाइदिन्छ । राता मसीवालालाई दान दक्षिणा गरेर पठाए लगतै हरिया मसीवाला भिआइपिहरूको आगमन हुन्छ । राता मसी भन्दा हरिया मसी सुपरपावरवाला हुन्छन् । यिनीहरूको मसीमा अमेरिका, रुसको हातमा भएकोजस्तो भिटो हुन्छ, भिटोकै कारण यस्तो मसीसँग जहिलेसुकै नगदको बिटो हुन्छ । यिनीहरूलाई अघाउन र हगाउने काममा गडबड भयो भने अड्डाको हाकिमले वर्षभरि खाएको छाद्नु पर्ने पनि हुन सक्छ । बेरुजुको अंक चढेर वर्षैभरि पादिरहनु पर्ने हुन सक्छ । त्यसैले त हाकिमहरू यिनीहरूले डकारे पनि खकारे पनि मुसकुराइरहन्छन् । उनीहरूको अपान वायुलाई पनि आप्mनै आयु बढाउने ओखती सम्झेर सुँगिरहन्छन् ।

यी हरिया मसीवालाहरू ह्विस्की ब्राण्डीमाथि सुत्छन्, बेहोसबेहोस भएर ओछ्यान मै मुत्छन् र पनि हामीजस्ता हाकिम साहेबहरूले दूध दिने गाईको लाती सहनु भन्दै सबै व्यवस्था मिलाउँछौं । सित्तै पाउँदा कोल चाट्ने भने झै यी हरिया मसीवालाहरू त्यस पर्वताका त जुसले कुल्ला गर्छन् । कतिपयलाई त परीलोकको दर्शन पनि गराइदिनुपर्छ ।

हरियाहरूको भरिया हुन सक्यो भने तपाइँले अङ्गार खाएर हगेको भएपनि सेतो बनाइदिन्छन् उनीहरू । नक्कलीलाई सक्कली र सक्कलीलाई नक्कली बनाउने तागत बोकेका हरिया मसीहरूले सारा कर्तुतलाई लुकाइदिन सक्छन् तर ऐनकानुनअनुसार गरेको छु भनेर मख्ख परियोे र उनीहरूको भलाकुसारीमा धक्का लाग्यो भने बेरुजुको भारी बोक्ने पक्का ।

नेता अनुसारको शासन, शासनअनुसारको प्रशासन र प्रशासनअनुसारको राशन भएको देशमा हामीलाईचाहिँ किन साँढेसाती लाग्नुपर्ने छ र ? सिमेभूमेलाई मन्सिने, राता र हरिया मसीहरूको भाग लगाउने । पर्वविशेषमा अघाइदिने र हगाइदिने गरिदिएपछि यो दुनियाँमा सफल हाकिम होइन्छ । उता सफल छु र न म यता पनि सफल छु हो कि होइन ?” हाकिम खित्का छोडेर हाँसे । म उनको हाँसो सक्कली हो कि नक्कली हो छुट्याउन नसकेर अवाक् भएँ ।

धादिङ