रङ्गढङ्ग मिलेमिलोस नमिले भुत्रैसित । शिर पुच्छर तन्काएर कसैलाई खुट्टो उझाउनु लातको नाता हो । रीसको रन्कामा दाहिने वा देब्रे खुट्टो कसैमाथि निर्विवाद बजार्नु लात होला । समाजमा अनेक प्रकृतिका लात्तेहरू छरपस्ट छन् । स्तर हेरी, सिरान फेरि झोकमा बजारिहाल्छन् ? सकेसमम सत्य काममा नभए आफ्नो भित्री छलछामको थाँक्रो अड्याउने टाउके उद्देश्य यसले बोकेको भान हुन्छ । लातकै सहाराले लात्तेहरू बाँचेको अनुभूत गर्दछन् । ठाउँ न ठहर झ्याप्लीको रहर भनेझैँ तान न तुलमा लातको उदाहरण दियो भनेर तपाईँ मसँग झन्कनु होला । मलाई फेला नपार्दा अँगेनीमा जोत्या ठुटोझैँ पड्कन पनि बेर नलाग्ला । तपाईँलाई के थाहा लात्तेहरू कस्ताकस्ता छन् । फेरि रीसको पारो तपाईँको ह्वात्तै बढ्ला । मलाई नजान्ने बनाउने ताकत तैँले कहाँबाट आर्जन गरिस् भनेर । तपाईँ झोक्किनु हुन्न भने म भनौँ । फेरि रन्कनचाहिँ मनाही छ । फन्कन भनेसम्म तपाईँको स्वतन्त्रतालाई म खोस्न सक्दिनँ । खोस्न खोजे पनि तपाईँ लर्तरो पाराले हट्ने मान्छे हुँदै होइन मलाई थाहा नभएको हो र !

बिहान उठेर मशाल बाल्दै हिँड्नोस् त कस्ताकस्ता लात्तेहरू झुल्किन्छन् । समाजमा अहिले प्रचुर प्रकृतिका लातहरू पचाएर लात्तेहरू बौरिएकाछन् । घोडे लात, जोडे लात, होडे लात, भैँसे लात र कुखुरे लात कतिकति । छिन्लाञे मा.वि.को प्राञ्गणमा सम्साझैँ गाउँका चेली जिस्क्याउने रने माहिलो देखेर माझ घरे पाछपुछे आगो बन्छ । थालमा हाल्दियाजति सबै पाछपुछ गरी खाने हुनाले उसको नाम पाछपुछे राखिएको थियो । धेरैपटक उसको चालामाला बुझेको उसले रिसको आगोले जल्दै उसको नजिक पुग्छ र भएभरको ताकत सँगालेर बजाउँछ । बिचरो रनेको झन्डै प्राणपखेरु चिलिमच्वाँट भाथ्यो । गाउँमा गाइँगुइँ चल्यो रनेले आज घोडेलात भेट्यो । तेरी बहिनीलाई डाँडाघरे बर्नेले उडायो । आज बसमा हालेर काठमाडौँ कुदाइसक्यो । त्यो सुनेर रीसको आगो शान्त पार्न सकेन बल्ढ्याङ्ग्रेले ।

एयरपोर्टमा सुरक्षामा खटिएको बेला परेछ । हाकिमसँग विदा मागेर लोकन्थलीमा गाडी पर्खेर बस्यो ऊ । दैवसंयोग त्यही बेला गाडी आइपुग्यो । भित्र पसेर हेर्दा त बहिनीको चालामाला देखेर लात्ती उझायो बेर्नेमाथि । अरु पाइनस र मेरै बहिनी दाग्ने भन्दै बजाएथ्यो बल्ढ्याङ्गे्रले । जोडा बनाएकै दिन जोडे लात तात्तातै भेट्टायो बेर्नेले । कन्सुत्ले र गड्यौँले गाउँका नामी काक्राचोर थिए । बाबुआमाले उनीहरू साना छँदै सिलटिमुर खाइसकेका थिए । माख्लाघरे काकाको घरमा आश्रय पाएका थिए तिनीहरूले । हुर्किएपछि लामो हात गर्ने बानी उनीहरूमा पलाएको थियो । गाउँघरका मानिसहरू उनीहरूका चोरीकर्मबाट सशञ्कित थिए । कुनै न कुनै बेला गाउँलेहरू उनीहरूलाई रञ्गेहात पक्डन आतुर थिए । नभन्दै एक दिन चौतारिमा गाउँलेहरू गफ गरिरहेको बेला लुले ढकालको काँक्राको झाल हल्लियो । पूजनेले शञ्का ग¥यो सक्कै काँक्रो चोर आइपुग्यो । सबैजना कराउन थाले समात समात¨¨ तल्लो र माथ्लो गह्रा हुँदै चोरको प्रमाण फेला पार्न कुदाकुद मच्चियो । नभन्दै चिम्से विष्टको कटेरोभित्र काँक्रोसहित समातियो कन्सुत्ले । गँड्यौले अझै फरार । खोजेको प्रमाण फेला परेपछि एकपटक सबै जिल्लिए । मान्द्रेले एकलात्ति के बजाएथ्यो कन्सुत्लेलाई । सबैले पालैपाले लात बजाथे कन्सुत्ले माथि । ऊ उत्तानो परेर मरेझैँ भयो । पुर्सिङ्गेले अगाडि बढेर भन्यो कसले बढी गोद्ने भन्न होडले गरी यस्तो भयो होडको लात पायो कन्सुत्लेले ।

कन्कुथी माइली बेपत्तै मापकी थिई । पँधेरामा पुग्नासाथ उसलाई कसैको पालो सोध्नु पर्थेन । ऊ आउनासाथ टेढो नजरले हेर्थे पँधेर्नीहरू । उसलाई यस्ता कुराको कुनै मतलव थिएन । कहिले ढिँडापानी उम्लिसक्या, कहिले तिहुन डढ्या कहिले हात चुठ्ने पानी नभाको भन्दै पालो मिच्ने उसको शैलीलाई आज टुँडालघरे मनपराले सहँन सकिनँ । निमेषभरमा जगल्ट्यार के फालेकी थिई उसले । सबैले अगाडि, पछाडिबाट खुट्टाले हातले हान्न थाले सामान्य तालिम पनि नपाएका महिलाहरूले लात्ताले हान्न खोज्थे । धेरै आफ्नै फरियामा अल्झी भुइँमा डञ्रञ्ग पर्थे । त्यहीबेला आइपुगेको माटे कान्छाले छुट्यायो । भैँसीले हान्याजस्तो तालले पनि केही हुन्छ । गिज्यायो उसले । डन्डिबियो खेल्दै गरेका केही किशोरहरू विवादी भेलमा होम्मिए । भुटौरेले भुल्यायो हाम्लाई । उसको तीन बीसमात्रै थियो अहिले नौबीस भन्छ–
कटुसे काहिँलो करायो । भुटौरे र कटुसेको रन्कारन्कीमा अरु पनि मुछिए कता कता ¨¨ । अन्त्यमा बेपत्तैको बालयुद्ध मच्चियो । त्यतिवेला मुनिघरे बाघमारे काका देखापरे । केको कुखुरे जुधाइ हो यो सबै लात हान्याहान्यै छौँ । सबै एकै छिनलाई अल्मलिए ।

यी माथिका लात सामाजिक जीवनका पेचिला र निम्छरा उदाहरण मात्र हुन् । यिनले राष्ट्रिय जीवनलाई त्यति प्रभाव पार्दैनन् । तपाईँ राष्ट्रिय मामलालाई नियाल्नुहुन्छ भने म उदाहरणको बम्फस्योल बिस्कुन लगाइदिन सक्दछु । नेपालको इतिहासलाई साक्षी राखेर गम्दा अनेकौँ लातको मारमुञ्ग्री नेपालीहरूले थाप्लामा सँगालेका छन् नि ! जङगे लात, जुद्धे लात, सत्रसाले लात, अन्ठाउन्नसाले लात, बामपुड्के लात, लामखुट्टै लात, बाघजुङ्गे लात, खोर्साने लात आदि आदि ।

युवराज सुरेनद्रलाई ललाइ फकाइ श्री ३ को माला भिर्ने जङ्गेको करामतले के जहाँनियाँ शासन जन्मेको हाइन त ? बङ्गलादेशमा परेका केही भू–भाग हाल स्वतन्त्र छन् । तिमीहरू दावी गर हामी मिलाइदिन्छौँ । अङ्ग्रेजहरूले पाँचपटकसम्म भनेका थिए ।

सुरासुन्दरीको भूलभुलैयामा लागेर देशलाई भू–परिवेष्ठितको साङ्लोमा बाँध्ने जुद्दे लातले के देशलाई नडुबाएको हो त ? प्रजातन्त्रको घाँटी निमोठ्दै दुईहजार सोह्र सालमा नेपाली जनताको भावनामाथि कुठाराघात भयो । यदि सत्र सालमा प्रजातन्त्र खोसिएको थिएन भने प्रजातन्त्र प्रौढ भइसक्थ्यो । उही कारणबाट अधकल्चो धामी बोक्सीको एक गाँस भनेझै आज शिशु प्रजातन्त्र फल्नफुल्न नपाउँदै ......। त्यसै गरी बामपुड्केको आधा प्रतिगमनको लात । बाघजुङ्गेको अन्तिम ध्येय भन्दै अन्त्यमा सम्झैतारुपी लात, लामखुट्टेकोको बामपन्थी धुल्याउने षड्यन्त्ररुपी लात र खोर्सानेको अदालतको फैसलाको लात हसुर्दै आज नेपाली जनता वाक्क दिक्क भएका छौँ । तपाईँहरू धार्मिक प्रसङ्गतर्फ ध्यान एको¥याउनुहुन्छ भने त्यस्ता हजाराँै प्रसङ्गको लात पस्कन सक्दकछ । जस्तैः

कैकेयी लात, दुर्योधने लात, दुशासनते लात, रावणे लात, दुर्वासे लात, जरासन्धे लात, कालयवने लात, मचुकुन्दे लात अझै फुकाउनुपर्ला त पोको–पुन्तुरो । लातको प्रसङ्ग, वेप्रसङ्ग, सन्दर्भ र उदाहरणको बग्रेल्ती ठेली दिन सकिन्छ । धार्मिक, अधार्मिक, इतिहास, व्यवहार हरक्षेत्रमा लातको खातैखात बटुलिएको छ । प्रजातान्त्रिकेदेखि अप्रजातान्त्रिकेहरू समेत अमोध अस्त्र ठानी पूजा गर्दछन् । गन्थन, मन्थन, छलफल, कुराकानी र भलाकुसारीमा लातकै घुमाउरो पाराले प्रशंसा हुने गरेको छ । यसको एकमात्र ओखतीले धेरैको भुँडी फुलेको गर्धन र पाखुरीमा बोसो जमेको छ भन्न मिल्ला कि ?

यहाँलाई लाग्ला यसले लातको समर्थन ग¥या हो कि विरोध ? लातले उन्नति हुने हो कि अवनति ? तपाइँ अझै निधार चाउरी पार्नुहोला, लातको सत्तोसराप गर्नेहरू उँभो लाग्लान् कि उँधो ? मैले नढाँटी भनेको हाम्रो देशमा लात र वातको प्रयोगबाट नाक फुलाएको र फाइदा काबुमा पारेको छनक मिल्दैन त ? इतिहासका पाना पल्टायौँभने अधिकांश राजनेता र राजनेतीहरू लातको जोर जबर्जस्तीबाट मौलाएका छैनन् ? मुटु अलि लुलो हुनेहरू कडा वातको काबूमा लुकेकै छन् । भित्र थुप्रै स्वार्थको पुलिन्दा बोकेर पनि लातको त्रास र वातको आघात हजम गर्ने सामथ्र्य नहुँदामात्र धेरै मानिस सुध्रिएको देखिन्छ । दह्रो पेलाइ सहनुपर्ने भएर कुरा सुन्न नसक्नेहरू वातको प्रभावबाट निचोरिएकै छन् भनिन्छ ।

मैले आरोप थोपर्नमात्र खोजेको हैन । आज हामी नेपालीले आफ्नो स्वचरित्र यही दुईवटा भुँडीवाललाई सुम्पिँदै छौँ कि ? तर यही प्रवृत्तिले हामीलाई इतिहासले समेत धिक्कारिरहेको कुने पत्तो छ कि ? तानाशाहको अचुक अस्त्र लात र वातको छिनाझप्टीमा असल नागरिक बन्ने लक्ष्य ओझेलमा पर्ने हो कि । तर्क यति हो थोरै घटना इतिहास र परिघटना स्वभाविक र निरन्तर होलान्, नभए अधिक नेपाली चरित्र यसैको सेरोफेरोमा टुपी तानिरहेछ । तपाइँलाई बम्कन मन लाग्ला यो बबुरो लेखकसँग । तेरा लेखमा पनि लेख्न नहुने कुरालाई लात् मार्दै हुने हुने कुरा मात्रै लेखिस् भनेर तपायँले मलाई भन्न के बेर । यो पनि लातकै भोको रहेछ भन्दै देखाइदिइहाल्नुभो भने के गर्ने ? सुख र दुःख जन्मनु, सर्वत्र कुश्ताकुश्ती झल्कनु, छरपस्ट मामलामा लातको यो रुप र ऊ रुप देखा परिहाल्छ । खेलिरहेको विद्यार्थी बोलिरहेको छोरो, पिइरहेको ज्वाइँ, उँघिरहेको पाले, खोजिरहेको पत्रकार यी सबैलाई तर्साउने आधार लात नै बनेको छ । अहिलेसम्म लात के हो त ? त्यो भने तपाईँकै जिम्मा ।

सिन्धुपाल्चोक