सामान्यतया सङ्घले विशेष उद्देश्य पूर्तिका लागि निर्मित तथा विशेष सिद्धान्तमा आधारित सङ्गठन, संस्था, समूह, जमात, टोली, मण्डली आदि अर्थबोध गराउँछ तर आजकाल यसले विशेष व्यक्तिको उद्देश्य पूर्तिका लागि निर्मित तथा विशेष व्यक्तिमा आधारित समूह भन्ने अर्थसमेत दिन थालेको छ । सङ्घ, सङ्गठन, परिषद्, मञ्च, युनियन आदि लगभग समानार्थी शब्द भए पनि वर्तमान नेपाली सन्दर्भमा यी सबै विशिष्ट पारिभाषिक शब्द बन्नपुगेका छन् । हाल यिनले विशेष दलका विशेष बल भन्ने अर्थ दिन थालेका छन् । सङ्घे बलम् भन्ने परम्पराअनुसार यसलार्ई पनि अग्रगामी निकासकै विशेष कडीका रूपमा लिनुपर्ला !
गहिरिएर विचार गरिल्याउँदा सङ्घ खोल्नु कुकाम नभएर सुकाम नै हो । व्यक्तिहिताय नभई सर्वहितायको उद्देश्यबाट सङ्घ खोल्नु राम्रो कुरा हो र सङ्घ चाहिन्छ पनि । एक्लै गर्न नसकिने काम सङ्घमार्फत सजिलै गर्न सकिन्छ । कसैलाई मुड्क्याउन, बङ्ग्याउन, सोझ्याउन, डन्ड्याउन, ठुन्क्याउन, छोट्याउन, कर्काउन, मर्काउनलगायत जेजे गर्न परे पनि सङ्घका नामबाट गरे भैहाल्छ । यसर्थ सङ्घको महिमा अपरम्पार छ, महिमागान गरेर साध्यै छैन । त्यसैले होला व्यक्ति स्तरदेखि राष्ट्र स्तर हुँदै अन्तर्राष्ट्रिय स्तरसम्मका अनेक सङ्घ–सङ्गठनहरू खोलिएका छन्, खोलिँदा छन् । अहिले व्यक्तिगत स्वार्थपूर्तिको साधन नबनाइएका समाजसेवी सङ्घ–सङ्गठनहरू उन्युँको फूल बनेका छन् । अनि वर्तमान सन्दर्भमा तिनको खासै औचित्य देखिदैन पनि । व्यक्ति स्तरमा बुसेन सङ्घका अगि हुसेन सङ्घ बबुरो भएझैँ राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका सङ्घ–सङ्गठनहरू पनि शक्तिशाली चुपिचन्डालकै मातहतबाट स्वार्थअनुरूप सञ्चालित छन् ।
अहिले संसारको सबभन्दा ठूलो र शक्तिशालीका रूपमा परिचित सङ्घ हो— यु नो अर्थात् तिमी होइनौ । यसलाई बाह्य रूपमा सबैको साझा सङ्घ भनिए पनि त्यसको खास सञ्चालकचाहिँ सधैं उस्तै रूपरङ्गको एउटै बिरालाआँखे रहेको देखिन्छ । सुरुसुरुतिर उसलाई सतर्क तुल्याउने केही चिलआँखेहरू पनि थिए तर अहिले ती सबलाई धुजाधुजा पारी मुसा बनाएर आफ्नो स्वार्थअनुरूप एकछत्र रूपमा सञ्चालन गर्न ढाडे बिरालो सक्षम भएको छ । निजको चारणगिरी जरुरी छ, नगर्नेको हालत हुसेनकै जस्तो हुने पक्का छ । उसको सोचाइ र बोलाइ नै ब्रह्मसत्य हुन्छ । ऊ आफूलाई हाम्रा ब्रह्मा, विष्णु, महेश्वरभन्दा पनि माथिको चौथो रूप ठान्छ । त्यसमाथि होमा हो गरिदिने भाटभटिनीहरूको कुनै कमी छैन । कसैले आफ्नो गोप्य ढुकुटी जाँच्न नदिए ऊ त्यसलाई सुकुटी बनाएर चपाइहाल्छ । विरोधी सखाप र भाटवृद्धि अभियानमा ऊ सर्वाग्रपङ्क्तिमा छ । ऊ आफूले र आफ्नाले बनाएका हातहतियार विश्वसुरक्षाका लागि ठान्छ भने अरूले बनाएका विश्वविनाशका लागि... । उसको अनुमतिविना कसैले बोल्न त के सास फेर्न पनि नपाउने स्थिति छ । पत्नीगमनमा समेत उसैको आदेश पर्खनुपर्ने अवस्था छ, तैपनि ऊ संसारकै सर्वाेत्कृष्ट प्रजातन्त्रवादी ठहरिएकै–ठहराइएकै छ ! नठहराएर के गर्नु ढाडे बिरालाका अगि निरीह मुसाको के नै पो जोड चल्छ र ? यति भएर पनि तिमी होइनौ अर्थात् ममात्र हुँ अर्थबोधक सङ्घलाई पनि व्यक्तिगत नभएर सामूहिक नै भन्न सबै बाध्य छन् । बेलाबखत दाइभाइको ङार्रङुर्रमा मध्यस्थतादि गर्नसमेत यसकै नाम लिने गरेको सुनिन्छ । यस्तो नगरे खल्ती खलास भइहाल्छ के गर्नु ?
अँ, सङ्घ–सङ्गठन खोल्नेबारेका चर्चापरिचर्चा उहिलेउहिले पनि नपाइने होइन तर उहिलेको र अहिलेको परिस्थिति पूरै फरक छ । उहिले यसको अलि बढी सार्वजनिक महत्व थियो भने अहिले यो पूरै व्यक्तिगत पेसा वा स्वार्थपूर्तिको साधनका रूपमा विकसित भएको छ । नहोस् पनि कसरी, फरक नभए त उहिले र अहिले भन्नै पर्ने थिएन नि ! हामीकहाँ उहिल्यै भित्रभित्रै केही सङ्घहरू भए पनि चानचुन डेढ दशक यता सङ्घ, सङ्गठन, परिषद्, मञ्च, युनियन आदि च्याउभन्दा बाक्लै उम्रिएका छन् र उम्रिने क्रम दिनानुदिन बढ्दो छ । यसको कुनै लेखाजोखा छैन, जता फर्क्यो उतै सङ्घैसङ्घ, सङ्गठनैसङ्गठन, परिषदैपरिषद्, मञ्चैमञ्च, युनियनैयुनियन । यी सबै बेग्लाबेग्लै दलका अधीनमा रहने गरी जुराइएका ब्रान्डेड नाम हुन् । अचेल एकथरीले सङ्घ खोल्नेबित्तिकै अर्काथरी होडबाजीका साथ सङ्गठन, परिषद्, मञ्च आदि खोल्न जुर्मुराइ हाल्छन् र त्यसैलाई आफ्नो ठूलो सफलता ठान्छन् । युनियन, सुनियन, घुनियन आदिका चर्तिकलाको त कुरा गरी साध्यै छैन!
राजनैतिक सङ्घ, सङ्गठन आदिको त कुरै छोडौँ, ती उहिलेदेखि नै कुनै न कुनै रूपमा थिए र अहिले पनि छँदैछन् । ती त भयानकै पनि भइहाले । यहाँ समाजसेवाको उद्देश्य लिएर सञ्चालित सामाजिक–सांस्कृतिक भनिएका सरकारी–गैरसरकारी डलर सङ्घ–सङ्गठन पनि कहाँ कम छन् र ? यी पछि खुलेका भनेर के गर्नु, उम्रिँदैका तीन पात भएपछि... । डलरको परिमाण र दाताको इच्छामुताबिक प्रतिवेदन बनाउन र फेर्न ती सारै खप्पिस छन् । द्रव्यवालले तिनलाई आफ्नो इच्छाअनुसार जहिले र जसरी पनि सञ्चालन गर्नसक्ने स्थिति छ ।
विभिन्न जातजाति, जनजाति, भातभाति आदि केके हो केकेका पनि आफ्नाआफ्नै सङ्घ, सङ्गठन, परिषद्, मञ्चहरू छन् । तिनका पदाधिकारी हुन गरिने खिचातानी र दलीय हस्तक्षेप पनि कम मनोरञ्जक हुँदैनन् । यिनको कुरा गरेरै साध्य छैन । हाम्रोजस्तो धर्मी मुलुकमा धर्मधारी सङ्घहरूको त कमी हुने कुरै आएन । अहिले कर्मी सङ्घको पनि बिगबिगी छ । हालसाल यौनकर्मी सङ्घ, समलिङ्गी सङ्घ, तेस्रोलिङ्गी सङ्घको नाम पनि पर्याप्तै सुनिन थालिएको छ । छिटै यसका पनि छुट्टाछुट्टै सङ्गठन, परिषद्, मञ्चसमेत गठन हुने लक्षण नम्बर वानहरूले देखाइसकेका छन् । अन्य सबै पेसाकर्मी, सुरक्षाकर्मीहरूका त सङ्घ गठन भइसकेकै छन् । अरूको त के कुरा बुझकी भनाउँदा लेखक–साहित्यकारहरूका पनि यी सबै नामधारी सङ्घहरू छँदैछन् । बुद्धिजीवी भनाउँदाहरूको त कुरा गरी साध्यै छैन, ती त सङ्घहरूका हिरा नै भइहाले । नेताहरूले भ्रष्टाचार गरे भन्ने लेखक–साहित्यकारहरू तथा बुद्धिजीवी भनाउँदाहरू दोहोरो मात्र के तेहोरो भत्ता, सत्ता एवं निवृत्तिभरण हत्याउनेतर्फ लमलस्ट भई मालिकको चाकडी बजाउनका लागि ढोका कुर्न र तलुवा चाट्नसमेत पछि पर्दैनन् । कतिपय त त्यसलाई भ्रष्टाचार नठानी सदाचारपूर्ण नैसर्गिक अधिकार एवं लोकतान्त्रिक अभ्यास नै ठान्छन् ।
हामीकहाँ दलित सङ्घ त गठन भइसकेकै छ अब छिटै फलित सङ्घ, खलित सङ्घ एवं गलित सङ्घ खोली गणतान्त्रिक लोकतन्त्रतर्फ अग्रसर हुनु वाञ्छनीय छ । यसैगरी नाई, साई, भाइ, दाइ, आइ, जाइ आदि सङ्घ पनि वर्गीय हितको नारा फलाकी भेटेजति हाम गरिरहेकै छन् । आफू केही गर्न नसक्ने र अर्काले गरेको उन्नतिमा डाहिले बनी भुत्भुताउने कतिपय नरपिचासहरू अर्काको प्रसिद्धि र योगदानलाई धमिल्याउनाका लागि पनि यस्तै झालेमाले, छिरबिरे, टाटेपाङ्ग्रे सङ्घ–सङ्गठनहरूकै दुरुपयोग गर्छन् र ठूलै काम गरें भनेर मख्ख पर्छन् । यस्तो क्षणिक सन्तुष्टिमा रमाउने ती बबुरा हरिलठ्ठकहरूको कुरा गर्नु नै बेकार छ ।
कर्मचारीहरूलाई सङ्घ–सङ्गठन खोलेर राजनीति गर्न रोक लगाइँदैछ रे भन्ने हल्ला पनि बेलाबखत सुनिन्छ । कुरा उति नाजायज पनि होइन तर कर्मचारीको नाइके वा मुख्य भनिएकै व्यक्तिका श्रीमतीको नेतृत्वमा समेत गठित सङ्घलाई चाहिँ के भन्ने ? नाइके लोग्नेका श्रीमतीको नेतृत्वमा गठित पदेन श्रीमती सङ्घको मूल उद्देश्य अलि घुमाएर गरिने लेनदेनको सुगम मार्ग हुनसक्छ । लोग्ने दिनभर कर्मचारीले सङ्घ खोल्न पाइँदैन भन्ने निर्देशन वितरण गर्दै हिँड्ने अनि रातभर स्वास्नीलाई सङ्घ खोलेर दानदातव्य असुल्न उद्यत गर्ने वृत्ति पनि कम चाखलाग्दो छ र ? यी सबको आदर्श सेवा प्रदान भए पनि यथार्थचाहिँ मेवा प्राप्तितर्पmकै अग्रसरता देखिन्छ । यस्तै गर्ने भए प्रधानमन्त्री श्रीमती सङ्घ, मन्त्री श्रीमती सङ्घ, जिएम् श्रीमती सङ्घ आदि पनि खोल्नु प¥यो । अरू त ठीकै हो धेरै हुन्छन् तर प्रधानमन्त्री त एकजना मात्र हुनेहुँदा सङ्घ कसरी बनाउने भन्नु होला, उत्तर सहज छ— प्रधानमन्त्री पो एक त श्रीमती त अनेक हुने कुरामा कुनै सन्देह छ र ?
उहिले कुनै बेला मण्डले नामधारी सङ्घ पनि चर्चाको शिखरमै थियो । विरोधीहरूको भौतिक भूगोल बिगार्ने सत्कार्यमा त्यसको विशेष सक्रियता रहन्थ्यो । त्यति बेला म पनि त्यस सङ्घको एक सक्रिय सदस्य थिएँ, अझ भनौँ सी ग्रेडको नेता नै । अहिले दलबदल गरी अर्कै सङ्घका नामबाट सोही खाले कार्य अझ सशक्त ढङ्गले गर्दैछु । पुरानो अनुभवलाई विशेष ग्राह्यता दिई अहिले मेरो प्रमोसन बी ग्रेडमा भइसकेको छ, ए ग्रेडका लागि प्रयत्नरत छु । काम परिवर्तन नगरी नाम मात्र परिवर्तन गरिएका यस्ता थुप्रै प्रमाणहरू छन् । त्यतिखेर निर्दलका नाममा वैयक्तिक दलीय कार्य गरी ढन्डासो खुस्काउने कामसम्म गरिन्थ्यो भने अहिले केके गरिन्छ भन्नै पर्दैन जगजाहेरै छ । वास्तवमा मण्डले भनेको व्यक्तिविशेष नभएर प्रवृत्तिविशेष हो । यसले उपद्र्याहा, छुल्याहा, बदनाम र अरूको अहित मात्र चिताउने बदमासहरूका प्रवृत्तिलाई जनाउँछ । अहिले दलहरूबाट छुट्टाछुट्टै रूपमा विभिन्न नामधारी सङ्घहरूको निर्माण भैरहेकाले सबैजसोका चैते, साउने आदि अनेक ढप र ढा“चाका घोषित मण्डलुहरू छन् र तिनमा दिनानुदिन मण्डलेवृत्ति फस्टाउँदो, पैmलँदो, फक्रँदो र फुल्दो छ । आफ्नै सङ्घका होनहार मण्डलुहरूमार्पmत मानवीय संवेदनालाई समेत व्यापक तोडफोडमा रूपायित गरेरै भए पनि सत्ता जोगाउनु परम धर्मै बनिसकेको छ । नेता भनाउँदाहरू पनि आफ्नै मण्डलुहरूका कुरा सुनेर निर्णयमा पुग्ने हुँदा हरेकतिर दुर्घटनाको चाङ लागेको देखिन्छ । स्वयंसेवकजस्तो पवित्र शब्दलाई समेत स्वपक्षीय मण्डलेहरूको सेवक–रक्षक अनि परपक्षीयहरूको मुण्डक–विध्वंसकका अर्थमा प्रयोग गर्न थालिएको छ । यति मात्र कहाँ हो र ? मालिकको इसाराअनुसार यथावसर सञ्चालित हुने भिजिलान्ते भतुवाहरूको भद्रगोले भड्किलो भाँडभैलोपूर्ण भस्मासुरे स्वयंसेवी सत्कार्य भनेर भनी साध्यै छैन ।
वर्तमानहरूका सङ्घ, सङ्गठनहरूको त कुरै नगरौँ, हालसाल पूर्वहरूका सङ्घ, सङ्गठन पनि छ्याप्छ्याप्ती खुल्दैछन् । पूर्वसैनिक सङ्घ, पूर्वसांसद् सङ्घ, पूर्वउपकुलपति सङ्घ आदि यसका नमुना हुन् । पहिले महिला सङ्घ त थिएथिए अब श्रीमती सङ्घ पनि जाज्वल्यमान भएर देखा पर्दैछन् । सैनिक श्रीमती सङ्घ, प्रहरी श्रीमती सङ्घ, इन्जिनियर श्रीमती सङ्घ, कर्मचारी श्रीमती सङ्घ आदि थुप्रै श्रीमती सङ्घहरू बनिसकेका छन्, सङ्गठन आदिचाहिँ बन्न बाँकी देखिन्छन् तर छिटै बन्ने कुरामा शङ्का छैन, गृहकार्य हुँदैछ । अहिले पूर्व श्रीमती सङ्घ, उत्तर श्रीमती सङ्घ आदि छिटै खोलिने हल्ला पनि व्याप्त छ । पूर्व श्रीमती सङ्घको अदक्षचाहिँ मेरै पूर्व श्रीमती मछली मैया हुने रे अनि मलाई ठेगान लाउने रे भन्ने पनि सुन्दैछु । यस्तालाई तह लगाउन म पनि कहाँ कम छु र ? उत्तर श्रीमती सङ्घ खोलेर उसलाई गँगटी मैयासँग भिडाइदिइहाल्छु नि ! यसरी वर्तमानमा निर्मित नारीवादी, पुरुषवादी, अधिकारवादी आदि सङ्घ–सङ्गठनहरूको त कुरै छोडौँ पूर्वहरूका पनि थुपै्र सङ्घ–सङ्गठनहरू बनेका छन् । नबनेका कतिपयहरू बनाउनु जरुरी छ, जस्तै— पूर्वपालेपियन सङ्घ, पूर्वमुखिया सङ्घ, पूर्वखर्दार सङ्घ, पूर्वसुब्बा सङ्घ हुँदै पूर्वमन्त्री एवं पूर्वप्रधानमन्त्री सङ्घ आदि । यी सबैका श्रीमती सङ्घ पनि बनाएर तिनको कल्याण गर्नु आवश्यक देखिन्छ ।
हामीकहाँ पेसागत सङ्घ–सङ्गठन निकै खुलेका भए पनि कतिपयचाहिँ खुल्न ढिलाइसकेको छ, जस्तै— भ्रष्टाचारी सङ्घ, बलात्कारी सङ्घ, चोरडाका सङ्घ, जुल्पे, चिन्डे, मुन्द्रे, मुजुरे सङ्घ आदि । यिनमा पनि ठूला, मझौला र सानाहरूका बेग्लाबेग्लै सङ्घ–सङ्गठन खोल्नु पर्यो । गोजी भर्ने र बैंक भर्ने, छुस्स गर्ने र पूरै गर्ने अनि सियो चोर्ने, फाली चोर्ने र घर फोर्नेलाई उही कोटिमा राखेर सङ्घ बनाउन त भएन नि ! यस्तै सिर्कनु हान्ने, ढाड मर्काउने, घुँडा खुस्काउने, हातखुट्टा ठुन्क्याउने, ज्यान मार्ने सबका सबलाई एउटै छातामुनि राख्न पनि त मिलेन । ती सबका बेग्लाबेग्लै सङ्गठन, परिषद्, मञ्च, युनियन चाहिए नै !
हाम्रा होचापुड्काहरूले उहिल्यै आफ्नो सङ्घ बनाइसके । यिनका विरुद्धमा लम्बु–लामघारे सङ्घ बनाउन ढिलो भइसकेकाले यसको तयारीमा चाहिँ म स्वयं जुटेको छु र छिटै नै आफ्ना धुपौरेहरूलाई लिएर मेरै अध्यक्षतामा यो सङ्घ बनाएरै छाड्नेछु । मेरो गतिशील र आङ्कुसेरहित नेतृत्व स्वीकार गर्नेजतिलाई लम्बु–लामघारे सङ्घको सदस्यता लिन सूचित गरिन्छ नत्र पछि बाध्य भएर स्वीकार्नु पर्नेछ । यसतर्र्फ मोटा भुँडेहरूले पनि तत्काल ध्यान पुर्याउनु वाञ्छनीय छ तर हाललाई यसमा मेरोचाहिँ संलग्नता हुने छैन ।
अहिले खासगरी सहरी क्षेत्रमा चोरी डकैतीको बिगबिगी छ । बैंक, कम्पनीदेखि गोदाम, सेफ हुँदै गोजी मार्ने क्रम तीव्र हुँदोछ । यिनका विरुद्ध ठाउँठाउँमा प्रतिकार समिति पनि बन्दाछन् तर प्रतिकार समितिमै सम्बद्ध निकायहरूको घुसपेठले झन् असर पारेको छ । दिनभर प्रतिकारको योजना र स्थान निर्धारण गर्नेहरू नै रात पर्नेबित्तिकै पूर्वयोजना र स्थान परिवर्तन गरी अर्कै ठाउँमा प्रतिकार समिति बनाउने स्थिति सिर्जना गर्छन् र उज्यालो नहुँदै पुनः त्यहीँ प्रतिकार समिति बनाउन पुग्छन् अनि योजना निर्माण गर्न थालिहाल्छन् । वास्तवमा निशाचरहरूको पनि सङ्घ–सङ्गठन निर्माण गर्न ढिलाइसकेको छ । अब व्यक्तिगत रूपमा एकएक गरी चोरीडकैती गर्नुभन्दा सङ्घ–सङ्गठनविशेषका नामबाट साङ्गठनिक रूपमै लुटपाट मच्चाउनु बेस हुन्छ ।
यस्तैगरी अर्काले लेखिदिएको भाषणसम्म पनि राम्ररी पढ्न नजान्ने तथा गरिबी निवारणलाई गरिब निर्माण भनी बजेट भाषण गरेर राष्ट्रकै इज्जत संसारभर पैmलाउने मन्त्रीहरूको पनि सङ्घ–सङ्गठन नबनाइ नहुने भएको छ । दलदलबाट जन्मिएका दलहरूकै नातागोताहरूको समेत सङ्घ–सङ्गठन बनाउन ढिलाइसकेको छ । हामीकहाँ दल अदलबदलको परम्परा लामै भए पनि अहिले यसको विकास तीव्र रूपमा भएको छ । राती सुतेको एक दलको नेता बिहान उठ्दा दलबदल गरी कुन दलमा प्रवेश गरिसकेको हुन्छ पत्तै हुँदैन । हुनत उहिल्यै विभीषण पनि रावण दलबदल गरेर राम दलमा प्रवेश गरी भाइमारामा गनिएकै हो । त्यो त खास मूल्य र मान्यतामा आधारित थियो भनिन्छ तर अहिले त व्यक्तिगत सनक र मोलतोल नै पर्याप्त छ, मूल्यमान्यता र सिद्धान्तको केही मतलब छैन । नेतानेतीहरू आफूलाई चर्चामा ल्याउन रातारात जेजसो गर्न पनि तम्तयार भैहाल्छन् भने कार्यकर्ताहरू कसैलाई पत्तै नदिई पाँचथरीका सङ्घ–सङ्गठनको सदस्य बनेका हुन्छन् र आवश्यकताअनुसार परिचयपत्र देखाई स्वार्थसिद्धि गर्न पछि पर्दैनन् । एउटै व्यक्तिको नाम कहिले चन्दने दलमा त कहिले कन्दने दलमा, कहिले जङ्गले दलमा त कहिले मङ्गले दलमा सुनिन्छ । उही व्यक्ति कहिले चरम राष्ट्रवादी त कहिले घोर राष्ट्रघाती कहलाइन्छ । अवसरअनुसार ...कारी जोडेर मोल तोक्न, टाउको ठोक्न वा ...कारी हटाएर टाउकाँ बोक्न वा ओठै टोक्न पनि खासै बेर लाग्दैन । दलबदलकै आधारमा यी सबै शुभकार्यहरू सुसम्पन्न हुन्छन् ।
गहुँत छर्केर स्वच्छताको प्रमाण लिई निवेदन हालेर मन्त्री त के कुरा प्रधानमन्त्री नै बन्न पाइने मुलुकमा स्वच्छ छवि सङ्घ त नभई भएन । गोलाप्रथाबाट विदेशमा कामदार पठाएझैँ गोलाप्रथाबाटै मन्त्री पनि छान्न पाए केही गरी आफ्नो पनि पालो आउँथ्यो कि ? नत्र ज्योतिषीले मन्त्री हुन्छस् भनेको धेरै भइसक्यो खै आजसम्म भइएन । मजस्ता लन्ठुलाललाई त एकपटक मन्त्री भएर विद्वान्मा गनिने र जे पायो त्यही विषयमा जोडदार भाषण गर्ने तीव्राकाङ्क्षा छ भने कपुरी क सम्म जानेकाहरूलाई त नहुने कुरै भएन नि ! मैले क नपढेर के भो त तिगडमगिरीमा म पीएच्. डी.भन्दा माथि नै छु, आजसम्म मलाई जित्ने कोही जन्मिएकै छैन । कोही हाराहारीमा आउन लागे उसको जरोबुटै उडाइदिइहाल्छु । सङ्घ, सङ्गठन, युनियन आदिलाई भिडाएर आफ्नो काम फत्ते गर्न त म चुपिचन्डालै छु नि, छट्टुको पनि उपाध्याय पो हुँत ! अवसरअनुसार अरूका किन्न र आफू बिक्न मजति खप्पिस अहिलेसम्म कोही जन्मिएकै छैन । अनि निकै पछिसम्म जन्मिने लक्षण पनि देखिँदैन ।
हुनत मेरो देशलाई ट्रेड युनियनभन्दा ब्रेड युनियनकै बढी खाँचो छ तर मन्त्री बन्ने बाटो ट्रेड युनियनमार्फत नै खनिने हुँदा म छुट्टै नयाँ ट्रेड युनियन बनाएरै भए पनि मन्त्री बन्ने धोको पूरा गर्ने सोचाइमा छु । मन्त्री बन्नेबित्तिकै आफ्नै निर्देशनमा हडताल गराएरै भए पनि इन्धनादि सब चिजको भाउ बढाएर राहतरूपी कमिसन श्रीमती सङ्घको खातामा जम्मा गरिदियो आफू सत्तामा छउन्जेल बन्द गर्ने, बार भत्काउने, टायर बाल्नेजस्ता कार्यक्रममाथि अध्यादेशबाटै भए पनि प्रतिबन्ध लगायो, सत्ताबाट हट्नेबित्तिकै उही कार्यक्रम जोडतोडका साथ सुरु गरिहाल्यो । आहा ! क्या मज्जा ! विरोधीलाई गाली गरेर नपुगे भिडाएरै भए पनि आफ्नो कालो कुर्सी जोगाउनै पर्यो । सर्वत्र भाउवृद्धि गराएपछि महँगी छानबिन आयोग बनाएर जनताका आँखोमा छारो हाल्नै पर्यो, माथिकालाई रिझाउनै पर्यो । हामीकहाँ आयोग गठन गर्न खासै टाइम पनि त लाग्दैन । अहिलेसम्म दाइदेखि शाहीसम्मका आयोग नाथे त कति गठन गरिए कति ? आयोग गठन गर्ने–गराउनेमा पनि सङ्घ–सङ्गठनहरूकै भूमिका विशिष्ट रहन्छ । हामीकहाँ अहिलेसम्म कति आयोग बने र तिनले राष्ट्रको ढुकुटी कति रित्याए त्यसको कुनै हरहिसाब छैन । यिनकै विवरण तयार गर्न पनि अर्को अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गरी आफ्ना केही कार्यकर्तालाई रोजगारी दिनेतिर पनि सङ्घ–सङ्गठनहरूको ध्यान जानुपर्ने हो । यसका लागि कुनै धारा जगाए वा सुकाए भइहाल्छ । यस्ता अनेक गतिविधिमार्फत अग्रगामी निकास नखोजे डुबेको राष्ट्र उक्सन बेर छैन । कथंकदाचित उक्सिइहाल्यो भने डुबाउनेहरूको त रोजीरोटी नै गुम्ने हुँदा त्यस्ता सङ्घ–सङ्गठनहरू भरसक त्यस्तो हुन दिँदैनन् र दिनु पनि त भएन नि ! राष्ट्रभन्दा व्यक्ति नै ठूलो ठानिने मुलुकमा यसभन्दा बढी के नै पो अपेक्षा गर्न सकिन्छ र ? हुनत अहिले गणेशमानका भेडा अलि बाठा बनिसकेकाले अलि अप्ठ्यारो पर्न थालेको छ, तैपनि... ।
उहिल्यैको अर्धसाक्षर जङ्गे ढेडुले त जबरा दल बनाएर लामो समयसम्म एकलौटी राज्य गरेको थियो भने पछिका, झन् पछिका र अझ पछिका साक्षर चङ्खे बिल्लुहरूले गरेको दल निर्माणलाई गाली गर्नुको कुनै औचित्य छैन । यसलाई परम्पराबाटै हस्तान्तरित र विकसित दल निर्माण प्रक्रिया मानी स्वीकार गर्नुपर्छ, नगरी धरै पनि त छैन नि ! हुन त हामी वीर नेपाली जाति दलबदलमा खप्पिस छौँ, यसो मौका पर्यो कि दल अदलीबदली गरिहाल्छौँ । दल अदलीबदलीको रेडिमेड प्रेस विज्ञप्ति र पाँचसात दलको सदस्यता बोकेरै हिँड्छौँ । मौका पर्नेबित्तिकै जसलाई जे चाहियो त्यही निकालेर देखाइहाल्छौँ । व्यक्ति एक व्यक्तित्व अनेकलाई चरितार्थ गर्नु नै अहिले हाम्रो खास पहिचान भएको छ । वीर, बहादुर, स्वाभिमानी गोर्खाली नामबाट परिचित हामी अहिले ठग, भ्रष्ट, अनैतिक कोर्काली नामले परिचित हुनपुग्दा पनि गौरवको महसुस गरी नाक फुलाइरहेकै छौँ !
मनुष्यवर्गले सङ्घ–सङ्गठनकै नाममा यतिबिघ्न चर्तिकला गरेको देखेरै होला अहिले पशुपक्षीवृन्द पनि उति एक्लैदुक्लै हिँड्न छोडी हुल बाँधेरै हिँडेका देखिन्छन् । यी दुवैमा एकअर्काको पर्याप्त प्रभाव भेटिन्छ । साँढे, कुकुर, बाँदर, रूपी आदिका बेमौसमी हुल बाँधेर हिँड्ने काम मानिसकै सिकोजस्तो छ । साँढे–साँढे अनि गाई–गाईको उक्लाई–ओर्लाई देखेरै होला मानिसले पनि समलिङ्गी सङ्घको निर्माण गरेको । कुकुरले सिनुका लागि गरेको ङ्यार्रङुर्र एवं झम्टाझम्टीकै देखासिकीबाट नेताहरूले सत्तासीन हुनाका लागि गरिने चलखेल सिकेको अनि आफ्नो घर पनि नबनाउने र अर्काको पनि बिगार्ने बाँदरवृत्तिबाट डाहिले र फोरफारे नीति सिकेको हुनुपर्छ । ठूला घराँ हुने संसद्को बैठक र साँझपख बाँसघारीमा हुने रूपीको बैठकमा तात्विक अन्तर देखिँदैन । यस्ता क्रियाकलापचाहिँ सांसद्हरूले रूपीबाट सिकेको हुनुपर्छ । वंशविनाश प्रकरणमा माकुराको प्रभाव हुनसक्छ... । यस्ता उदाहरण त कति छन् कति ?
यति लामो गन्थनको अभिप्राय सङ्घ खोल्ने कार्यको विरोध भन्ठान्नुहोला, त्यो सरासर गलत हो । मेरो आजीविकाको साधन नै सङ्घ भएकाले मैले यसको विरोध गर्ने कुरै आउँदैन । यो सबको चुरो कुरोेचाहिँ नयाँ सङ्घ खोल्नका लागि बाँधिएको भूमिका हो । अरूलाई गाली नगरी आपूm ठूलो नभइने मुलुकमा यतिसम्म त भन्नै प¥यो नि ¤ गाँठी कुराचाहिँ अब मलाई पनि कार्यकर्ताबाट नेता हुन मन लागेकाले म आफ्ना सवर्गीय पूर्व कुखुरा चोर अनि वर्तमान होनहार राष्ट्रसेवकहरूलाई साथमा लिई एउटा छुट्टै सङ्घ खोल्ने तरखर गर्दैछु । विधान बन्दैछ, नाम राख्न बाँकी छ । घोचे सङ्घ, घारे सङ्घ, छुरी सङ्घ, भुरी सङ्घ, फुच्चे सङ्घ, बुच्चे सङ्घ, लुच्चे सङ्घ, चुच्चे सङ्घ, हुक्के सङ्घ, बैठके सङ्घ, टिकेटाले सङ्घ, तार चोर सङ्घ, बार फोर सङ्घ, चुरमुसे सङ्घ, घुरमुसे सङ्घ, जाँडु सङ्घ, गाँडु सङ्घ, टोकुवा सङ्घ, ठोकुवा सङ्घ, बोकुवा सङ्घ, माकुरे सङ्घ, टाकुरे सङ्घ, हुल्याहा सङ्घ, छुल्याहा सङ्घ, मुल्याहा सङ्घ, कुटुवा सङ्घ, लुटुवा सङ्घ, डुलुवा सङ्घ, भुलुवा सङ्घ, लडुवा सङ्घ, भँडुवा सङ्घ, फुटाहा सङ्घ, लुटाहा सङ्घ, सुताहा सङ्घ, भुताहा सङ्घ, सुइरे सङ्घ, लुइरे सङ्घ, धुइरे सङ्घ, कुइरे सङ्घ, बोकाबोकी सङ्घ, परेवापरेवी सङ्घ, भ्रष्टाचारी सङ्घ, बलात्कारी सङ्घ, चमत्कारी सङ्घ, आलु सङ्घ, पिंडालु सङ्घ, फर्सी सङ्घ, कुभिन्डे सङ्घ, अलपत्रे सङ्घ, खलपत्रे सङ्घ, आँडे सङ्घ, पाँडे सङ्घ आदि सङ्घहरू अहिलेसम्म खोल्या देखिएको छैन । मेरो हुनेवाला सङ्घको नामकरण यिनैमध्ये कुनैबाट गर्नुपर्ला अथवा यीभन्दा राम्रा कुनै नाम जुरेमा तिनैबाट गर्नुपर्ला । यसपछि सवर्गीय दुईचार सङ्घ मिलाएर छिटै महासङ्घ नै बनाउनेबारे समेत गृहकार्य भइरहेकाले इच्छुक सवर्गीयहरूले अहिलेदेखि नै सम्पर्क गर्न थाल्नुभए हुन्छ ।
मेरा सङ्घमा पूर्व कुखुरा चोरजतिलाई निःशुल्क सदस्यता दिइनेछ । जम्पिङ र डम्पिङमा निपुणलाई मानार्थ सदस्यता तथा भुटिङ र लुटिङमा दक्षलाई आजीवन सदस्यता दिन सकिनेछ तर यसको निर्णयचाहिँ म स्वयंबाट हुनेछ किनभने यसको स्वघोषित अध्यक्ष मै हुने पक्का छ । मेरो विरोध गर्नेजति यस सङ्घको सदस्यता लिन अयोग्य हुनेछन् । सदस्यता लिइसकेर विरोध गर्नेलाई धुलो काढिनेछ । म इच्छामुताबिक काम गर्न पूरै स्वतन्त्र हुनेछु, कसैले थुनछेक गर्न पाउने छैन । अलिकति मात्र यताउति भएमा आफ्नो पद कायम गर्ने एक सूत्रीय माग राखी भद्रकाली, खुलामञ्च, रत्नपार्क वा यस्तै कुनै सार्वजनिक ठाउँमा खामरण अनसन बसिनेछ । अचेल अनसन बस्न पनि सारै सजिलो छ । बिहानै टन्न खायो, गयो, माला लायो, टिभीमा किच्च दा“त देखायो बस् । मध्यान्हमा केही क्षण गायब भयो । रातीको त कुरै भएन, कसैले देख्ने हैन, जे गरे’नि भैहाल्यो । कसैले डाक्टरी जाँचको कुरा गरेमा उसैका मकै खाने उडाइदिए खेलै खत्तम । यस्ता अनसन बस्न म पूरै बानी परिसकेको छु ।
पूर्व कुखुरा चोर एन्ड कम्पनीहरूको भेला गराई सब कुराकन्थ मिलाएर म तत्कालै एउटा छुट्टै सङ्घको घोषणा गरी त्यसको संस्थापक अध्यक्ष बन्ने सुरसार कस्दैछु । अहिले तत्काललाई म दल स्थापनार्थ चाहिने रकमको जोहो गर्न अलि पल्लै ढाडे बिरालाको मुलुकमा बिरालीको गु सोर्दैछु । केही रकम जम्मा हुनेबित्तिकै फर्किहाल्नेछु । आवश्यक तयारीका लागि लाउकेहरू खटाइसकेको छु । निर्धारित योग्यता पुगेका महानुभावहरूलाई नाम राख्न बाँकी मेरा सङ्घको सदस्यता लिन आह्वान गरिएको प्रेस विज्ञप्ति छिटै प्रकाशित गरिनेछ । योग्यता पुग्न केही बाँकी रहेका व्यक्तिहरूले छिटै योग्यता पु¥याई प्रमाणित सर्टिफिकेट लिइसक्नु होला । मैले योग्यता प्रमाणितकर्ताहरू टोलटोलका कुखुरे बस्तीहरूमा खटाइसकेको छु, तिनीहरूसँग तत्काल सम्पर्क गर्नु होला । अहिलेका बर्डफ्लुको हावाले मेरा सङ्घको सदस्य सङ्ख्यामा केही असर गर्ने छैन । मेरा अगाडि त्यस्ता मुला बर्डफ्लुले केही खालो सार्दैन । कस्ताकस्ता बर्डफ्लु र म्यानफ्लुलाई त नटेर्ने मसँग यस्ता नाथे बर्डफ्लुलाई तह लगाउने जुक्तिबुद्धि कति छन् कति । एकाध टट्टु कुखुरे डाक्टर तथा पट्टु भाडे पत्रकार बोलाएर गोले सम्मेलन र कुखुरे गोष्ठी गरी दुईचार कुखुराका साँप्रा बाँडेरै भए पनि बर्डफ्लुलाई सुइफ्यु पारिहाल्छु । सभामा उपस्थित डाक्टर, पत्रकार सबले निस्फिक्री साँप्रो लुछे हुन्छ । मचाहिँ लुछ्दिनँ किनभने अरूलाई जे भए पनि केही फरक पर्दैन, मलाई कथंकदाचित केही भइहाल्यो भने त देशै डुबिहाल्यो नि ! यसरी छिटै सत्तामा पुगी सवर्गीय सेवा गर्ने पवित्र उद्देश्यद्वारा गठन हुन लागेको मेरा सङ्घको सदस्यता लिई राष्ट्रसेवामा समर्पित हुन तयार रहनु होला । अहिले सदस्यता नलिएमा पछि पछुताएर पुर्पुरे आलु छाम्नुको कुनै विकल्प रहने छैन । मेरो जय होस्, मेरा सङ्घको पूरै जय होस्, मेरामेरीको पनि चानचुन जय नै होस् ... ।
हाल : वासिङ्टन डिसी
फित्कौली, (१/८, २०६३ असार) मा विज्ञान शर्मा छट्टुपाध्याय नामबाट प्रकाशित ।