सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

लोप्पा

Nepal Telecom ad

आफैँले वा अरुले नाकै भाँचिने सोचले निधारबाट सुरू गरी च्यापुमा अडेस लाग्ने शर्तमा दिने दनकलाई लोप्पा भन्लान् । बलले, छलले, मानले, शानले मात्तिदै निमुखा निफरमाथि चल्ने भुसतिघ्रे अस्त्रलाई लोप्पाभन्दा अन्यथा नपर्ला । चोक्टा नान गएकी बूढी, लुठो तह लगाउन गएकी…, घिरौँला जिप्ट्याउने लुते, सिल्टिमूर खुत्याउने खुतेसम्मले पनि ऐन मौकामा पराधिनलाई सोझ्याउने भीषण अस्त्र हो, लोप्पा । तपाईँ ठान्नुहोला । लोप्पा दुब्लाले खाने पुष्टकारी हो तर अनेक रङ्गढङ्गका हुनेखाने, हुँदा खाने र नहुदाँ पनि खानुपर्नेहरूले कहिले तातो, कहिले अर्ध तातो र कहिले मनतातो पानीमा आयुर्वेदिक गोली खाएझैँ यसलाई हजम गर्नुपर्ने बाध्यता त छँदै छ ।

खानीखेलाको व्याजे र मस्याङ्दीको प्याजे गोदाम चौरको साली, लाटीक्वैलीको फुस्रे, पाटीचौरको नेप्टे, सबैले केही न केही, कुनै न कुनै बेला लोप्पारुपी गोलीको झोलीमा मुकुरिनु र भकुरिनु नपरेको कहाँ छ र ? कहिले दृश्यमा कहिले अदृश्यमा र कहिले अल्पदृश्यमा यसको स्वाद नभेट्टाइ कहाँ उम्किन्छन् र । दृश्यमा बाहेक अन्य अवस्थामा कुम्ल्याएको लोप्पा स्वयं व्यक्तिलाई पिरे पनि नातागोतालाई हम्मेसी चिल्न सक्दैन । त्यसबेला इज्जतको नाक ननेप्टिएको छनक मिल्छ । ऊ अरुका अगाडि निर्धक्क कुर्लन्छ लोप्पा पनि देख्ने गरी घिच्ने चीज हो ? आजकाल हरेक क्षेत्रमा लोप्पा खाने खुवाउनेहरूको चौपट्टटकै जमघट छ । शुभ मूहुर्तमा ‘ॐ नम शिवायः’ भन्ने पञ्चाक्षरी मन्त्र नभन्दा पनि केही फरक पर्दैन । फेरि यसो नभने वापत गुमाइहाल्नु पर्ने पनि केही छैन । फेरि लोप्पा बिर्सिए अघि लाग्न नहुने अघि कुदिसक्छ । भेट्टाउन नसक्ने गरी दौँतरीहरू उछिटिन्छन् । ऊ प्रगतिको थुम्काथुम्की निर्माण गरी अक्षतापाती हजम आफैँ गर्न तयार हुन्छ । चिन्ता आफ्नो भन्दा पनि अरुको पो छ । आफ्नो टोपीमा जुम्रो निर्धक्क हिडे हिँडोस् अरुको लंगौटीमा लिखाले सुघ्न नपाओस । आफू नाम कमाउन असमर्थ रहे पनि अरुले जीवनबाट पुल्टुञवाजी खाएको देख्दा पनि बेग्लै स्वाद हुन्छ ।

तपाईँ जुनजुन क्षेत्रमा नजर दौडाउनुहुन्छ, तीती क्ष्त्रमा लोप्पाका दर्जनौँ प्रतिबिम्व भेट्टाउनु हुन्छ । उछिट्टिएका खेलाडी, भकुण्डिएका राजनेता यसको महारोगबाट टाढिन सक्दैनन् । बिहेको बेहुलो, ब्रतवन्धको वटुक, घेवाको तामाङ, बिहेको सुचिकार, यी सबै लोप्पाकै उछिनपाछिनबाठ पग्लिन पुगेका छन् । तपाईँलाई लाग्ला यसले लोप्पाको कुरो गरेर एक झोक्का तीतो ओकल्यो । मैले फिटिक्क त्यसबारेमा गुनासो गरेको होइन । तपाईँ गम्भीर हुँदै जानुहोस् । समाजमा लोप्पाका अनेकौँ अवशेषहरू पूर्णशेषभन्दा पनि वलिष्ट छन् । पृथ्वी लोकको जुनसुकै कुनाकाप्चामा कोल्टिनुस् जहाँ पनि स्वरुप फरक भए पनि प्रारुप उस्तैउस्तै छन् । मानिस अचेल धेरै अरुको बारेमा जान्ने पल्टिएको छ । आफ्नो बारेमा आत्मालोचना पस्कन त भन्दा उसलाई आधा घण्टा धैर्यरुपी चौतारीमा विराजमान् हुन गाह्रो छ । अरुका बारेमा उसले पूरै महाभारत लेखिदिन सक्दछ न कि आफ्नो बारेमा एउटा स्यानो लेख । स्वआर्जनमा लम्किएका आशाका पाखुरेहरूलाई टुसुक्क पीरामा बसी शब्दको गुलेली हान्न पाउँदा ऊ साउनको लिडझैँ फुल्दछ । आदिदेखि आनादिकालसम्म, वरिष्ठदेखि कनिष्टसम्म मैहोस्देखि तैँहोस्सम्म, शिक्षकदेखि दीक्षकसम्म, ओठेभक्तिदेखि कोठेभक्तिसम्म, भूगोलको भीरदेखि नदीको तीरसम्म बेग्लावेग्लै आवरण र बोक्रामा पनि यसको साइनोले नछोएको कुनै संसार छैन ।

महाभारतकाललाई नियाल्नुहोस् । कुन्तीले आफू भुन्टी हुँदै आमा बन्ने सौभाग्य पाइन् । नावालक कर्णलाई आफ्नो कन्या पदवी खोसिदिन आँटेकोमा गुन्टाभित्र कुर्मु¥याइ लोप्पा चखाइदिएकी थिइन् । फेरि कर्णले नूनको सोझो गरेर दुर्योधनको पक्षमा लाग्ने फलामे तर्क राखेर माता कुन्तीलाई लोप्पा खुवाइदिएका थिए । उता किसानको झाँको झार्न पानी नपार्ने किरिया खाएका महादेवले किसानको सत्यताको लबटो खाई मरिचझैँ चाउटिएका थिए । ठूलो र सानोको विवाद टुञ्ग्याउन नसकी बिवादी भेलमा हामफालेका विष्णु र ब्रह्मालाई शिवलिङ्गरुपी पीपलमेट खुवाई महादेव देवादिदेवको सर्टिफिकेट किर्न सफल भएथे ।

पौराणिक प्रसङ्गको उदाहरण दिएर हामीलाई कन्भिन्स गर्न खोज्यो भनेर तपाई जञ्गिनु होला । तपाई अझै सक्नुहुन्छ भने केही क्षण घोत्लिने जमर्को गर्नुहोस् । घोत्लिनै पर्दछ भनी बाध्य पार्ने मसँग कुनै त्यस्तो अस्त्र छैन । आजका ताकतरामहरू गिरिजाप्रसाद र प्रचण्डको हुति र ह्याउ ममा छैन । केवल मैले त यहाँहरूको अगाडि अनुरोध गर्ने मात्र हो । कलमजीवी र सत्ताको स्वाद नपाएका हामीजस्ता सुधाहरूको अस्त्रशस्त्र भनेको अनुरोध नै त हो । अन्तर्राष्ट्रिय जगत्मा हेर्नुहुन्छ भने अमेरिका, जापान, चीन, रसिया, फ्रान्स, जर्मनी र वेलायत अरुलाई पछि लगाउने अभ्यासमा व्यस्त छन् । विश्व विजेता बनेको अमेरिकालाई आर्थिक उन्नतिको झटारो हान्दै चिन सर्वशक्तिमान बन्यो । मानवतावादको दुहाइ दिँदै अटेरी सद्दामलाई लोप्लो घिचाउँदै अमेरिका स्वघोषित बहादुर बन्यो । तपाईँ अझै धैर्य गर्नुहुन्छ ? राजा महेन्द्रले ऋषिकेश शाहलाई राष्ट्रसंघीय महासचिवको सम्मानबाट घोक्रेठ्याक लगाएका थिए ।

गिरिजाप्रसादले महाराजका सामू प्रधानमुन्तरीको पदवी भिर्न दौरा सुरूवाल सिएका माधव नेपाललाई लोप्पाले स्वागत गरेका थिए । …महाराजले प्रजातन्त्रलाई लोप्पा खुवाउँदै बाबुको सक्कली सन्तान बनेथे । लोप्पाले कसैलाई क्षणभरमै लाहुरे र निमेषभरमै माउरे बनाउने तागत राख्दो रहेछ । उँधोउँभो जता लम्किए पनि यसको झटनीको परिणाम हात लाग्दो रहेछ । प्रत्येक मानवको अगति र प्रगतिमा पनि लोप्पाको स्वादिलो चटनी लुकेकै हुँदो रहेछ । सफल असफल मार्गको दुनियाँ यसैको सेरोफेरोमा जम्दो रहेछ ।

लोप्पा इतिहासभन्दा थोत्रो दमाहाको धुनभन्दा धोत्रो छ । यो अन्जान र जानाजान दुवैबाट झुल्कन्छ । अपमान र सम्मान दुवै वाटिकामा मौलाउँछ । कहिलेकाहिँ सभ्य र असभ्यको खेलबाट भौतारिन्छ । उपल्लो र न्युनपल्लोको सङ्घर्षबाट फस्टाउँछ पनि ।

सिन्धुपाल्चोक

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
कन्जुस्याइँ

कन्जुस्याइँ

देवीप्रसाद चापागाईं
सम्मानको मखुन्डो

सम्मानको मखुन्डो

देवीप्रसाद चापागाईं
अङ्ग प्रत्यारोपणको भूकम्प

अङ्ग प्रत्यारोपणको भूकम्प

देवीप्रसाद चापागाईं
दैले ‘द’ को डुक्र्र्‍याइ

दैले ‘द’ को डुक्र्र्‍याइ

देवीप्रसाद चापागाईं
खुचिङ

खुचिङ

देवीप्रसाद चापागाईं
लुतो

लुतो

देवीप्रसाद चापागाईं