हरिकला अड्बाङ्गे घोडा कुदाउने बिछट्टकी घोडचढी हुन् । यिनी कहिले पिठ्यूँमा गजक्क बसेर, कहिले कोखातिर लरक्क लर्केर, कहिले पेटमुनि लिपिस्सै टाँसिएर अनि कहिले पुच्छरमा तुर्लुङ्ग झुन्डिएर घोडा हाँक्ने काम गर्छिन् ।
‘अड्बाङ्गे घोडा’ अमिल्दो र अप्ठ्यारो हुन्छ । लेखनमा हास्यव्यङ्ग्य त्यस्तै खालको घोडा हो । व्यक्ति वा वस्तुको अमिल्दोपनलाई विषय बनाइने हुँदा हास्यव्यङ्ग्य अड्बाङ्गो भई लेख्नाका निम्ति निकै गाह्रो हुन्छ, तर लेखिएपछि यसलाई सबैले मन पराउँछन् । पाठकहरूबाट अत्यधिक मन पराइने र रुचाइने भएको हुँदा हास्यव्यङ्ग्यलाई लोकप्रिय रचनाप्रकार मानिन्छ । ‘घोडचढी’चाहिँ अड्बाङ्गे घोडा चढ्ने हास्यव्यङ्ग्यकार हो । ऊ साधारण नभएर बिछट्टको हुन्छ र उसले अड्बाङ्गे वा अमिल्दा व्यक्ति एवं वस्तुबारे सिपालु कलम घुमाएर घत र घाउ पार्ने ढङ्गमा लेख्छ । त्यस्तै घोडाको ‘पिठ्युँ, कोखा, पेट, पुच्छर’ आदि चाहिँ हास्यव्यङ्ग्यात्मक विषयका विविध पाटाहरू हुन् । यिनै पाटाहरूमा हास्यव्यङ्ग्यकारले हाँसो, विनोद, उपहास, कटाक्ष, आक्षेप, व्यङ्ग्य, उल्टो भनाइ, घुमाउरो भनाइ आदिका धारिला हतियारले चोटिलो आघात गरिरहन्छ र अन्ततः आफ्ना रचनामा हास्यव्यङ्ग्यात्मक प्रभावको असरदार सिर्जना गर्छ । नेपाली हास्यव्यङ्ग्यका क्षेत्रमा ताल ठोक्दै आएकी हरिकला यस्तै सामथ्र्यवान् प्रतिभा हुन् ।

‘चड्कन’ नामक यो कृति यस्तै बत्तीसवटा हास्यव्यङ्ग्यहरूको एउटा बिटो हो । यस कृतिको रचना गर्ने चाहिँ नारीक्षितिजबाट धुमकेतुझैं उदाएकी हास्यव्यङ्ग्यकार हरिकला उप्रेती हुन् । अहिले ‘चड्कन’ दिन तम्सिनु अगावै यिनले ‘उपद्रो’ (२०५८) गरिसकेकी छन् र ‘गोर्खेलौरी’ (२०६४) पनि लगाइसकेकी छन् । हास्यव्यङ्ग्यका यी दुई पुस्तकमध्ये ‘उपद्रो’ हास्यव्यङ्ग्यात्मक कविताको र ‘गोर्खेलौरी’ हास्यव्यङ्ग्यात्मक निबन्धको सँगालो हो । यी दुई सँगालामार्फत व्यङ्ग्यवाणको झरी लगाउने हरिकलाले ‘चड्कन’द्वारा हास्यव्यङ्ग्यको मुसलधारे वर्षा गराएकी छन् । यिनी गद्य र पद्य दुवै माध्यमबाट हास्यव्यङ्ग्यको सफल र सार्थक रचना गर्ने सर्जक हुन् ।

रचनामा हास्यव्यङ्ग्य पैदा गर्न साङ्केतिक वा हलुका भए पनि स्वैरकल्पनाको प्रयोग भएको हुन्छ । सामान्य सिर्जनात्मक कल्पनाबाट हास्यव्यङ्ग्यको प्रजनन कमै हुने हुँदा यसका लागि अतिकल्पना वा स्वैरकल्पना आवश्यक बन्न पुगेको हो । रचनामा यथार्थ (सम्भव) र अयथार्थ (असम्भव) घुलमिल हुँदा स्वैरकल्पना अस्तित्वमा आउँछ । हास्यव्यङ्ग्य एकातिर यथार्थको किनारा र अर्कातिर अयथार्थको किनाराका मध्यमा स्थित मार्गमा हिँड्छ र कहिले यता यथार्थसँग र कहिले त्यता अयथार्थसँग ठोकिएर अघि बढ्छ । हरिकलाको प्रस्तुत सँगालाका अधिकांश रचनाहरूमा पनि हास्यव्यङ्ग्यको प्रभाव उत्पन्न गर्न हलुका वा साङ्केतिक स्वैरकल्पनाको सहयोग लिइएको छ, जस्तै—

(१) ‘‘बुढा बरा ! कुवाको भ्यागुतो, घर छोडेर कतै नहिँड्या । कोशी–कर्णालीको स्वच्छ पानी देख्दा हुन् त उतै बसाइँ सर्दा हुन् । फेरि जाउन् पनि कसरी ? ‘खर्च न बर्च बाटैमा मर्छ’ भने जस्तो न जहाजमा हुइँकने हबिगत छ न त गाडीमै गुड्ने टिकट । भक्तले चढाएको भेटी भट्टले भुइँमा खस्नै नदिई भट्टाभट भ्याइदिँदो रैछ । बिचरा बाजे ! सधैँ बेखर्ची ।’’
— ‘बिचरा बाजे सधैँ बेखर्चीे’ बाट ।
माथि उद्धृत गरिएको अंशमा पशुपतिनाथ अर्थात् ढुङ्गाको मूर्ति बेखर्ची भएर कतै जान नपाएको बयान स्वैरकल्पनात्मक हो । साथै यसमा भट्टले भेटी कुम्ल्याउने तथ्य चाहिँ यथार्थ हो । यिनै सन्दर्भका माध्यमबाट यसमा त्यहाँको दुर्गन्धयुक्त वातावरण र भ्रष्टाचारपूर्ण आचरणमाथि व्यङ्ग्य गरिएको छ ।

(२) ‘‘मैले मनमनै योजना बनाएँ । आगामी ओलम्पिकमा स्वर्णपदक जित्न आजैदेखि प्राक्टिस गर्छु । आठदसओटा स्वर्णपदक त कसो नजितिएला ! प्रत्येकमा एकएक तोला हुँदा पनि आठदस तोला हुन्छ । अनि त शिरबन्दीदेखि पाउबन्दीसम्म सुनैसुनले ढाकेर मेरो सिँगारिने रहर पूरा हुन्छ ।’’
— ‘सुन कमाउने धुन’बाट ।
यसमा आगामी ओलम्पिकमा आठदसवटा स्वर्णपदक जिती आठदस तोला सुनका गहना लगाएर सिँगारिने स्वैरकल्पना गरिएको छ । यथार्थमा यसद्वारा देशमा खेलकुदको हीनतर अवस्था र जलस्रोतको व्यापक बेवास्ता रहेकोतर्फ व्यङ्ग्य गर्न खोजिएको छ ।

(३) ‘‘फुल्टिङ बटार्दै मसी छर्कंदै भावीले केरकार पारेर नबुझिने भए पनि पन्ध्र प्रतिशत भाग्य लेख्याथे भावीका मोबाइलमा फोन आयो । फोनमा राम्रो गाँठ आउने छाँट देखेर होला बरा ! निक्कै झ्वाँक देखाए । झ्वाँकिँदै मेरो भाग्य लेख्या खप्परको पातो कच्याककुचुक पारेर मैतिर फ्याँकिदिए । त्यो पाताले मेरो टाउकोमा टुटुल्को उठ्ने गरी टक्करी लाग्यो ।’’
— ‘लेखान्त’ बाट ।
यसमा लेखान्त लेख्नाका लागि भावीको आगमन हुनु र गरिब बालकको भाग्य लेख्दै गर्दा मोबाइलमा फोन आएर बढी गाँठ पाउने लोभमा ऊ अन्तै प्रारब्ध लेख्न जानु स्वैरकल्पना हो । यथार्थतर्फ हेर्दा यसमा गरिब र धनीको लेखान्तमा हुने विभेदमाथि व्यङ्ग्य गरिएको छ ।

(४) ‘‘नत्र हाम्रै देशमा राज्यै नाथे त हजारौँ हुन्थे । हामी आ–आफ्नै राज्यका राजा, महाराजा या राष्ट्रपति केही न केही पक्कै हुन्थ्यौँ । आज आएर सङ्घीय राज्य चाहियो भनेर पिन्चे रुवाइ कसैले गर्नै पर्ने थिएन ।’’
— ‘भागबन्डा’ बाट ।
यसमा नेपाल सिङ्गो राष्ट्र नभई एकीकरणपूर्वकै सानासाना राज्यहरूमा टुक्रिएकै अवस्था रहिरहेको भए सबैले आफ्नाआफ्ना राज्यमा राजा, महाराजा, राष्ट्रपति वा केही न केही हुन पाउने थिए भन्ने रमाइलो स्वैरकल्पना गरिएको छ । यथार्थतर्फ हेर्दा यसमा विभिन्न दलका मागअनुसार कदाचित नेपाल सङ्घीय राज्य भएका खण्डमा उत्पन्न हुने विभाजित स्थिति र त्यसको भयावहता व्यङ्ग्यात्मक पारामा दर्साइएको छ ।

(५) ‘‘म सानै छँदा सिरान घरका जिबा खसे । मान्छे भेला भए, बाँसको भ¥याङ बनाए । कोही शङ्ख बजाउन थाले त कोही रामनाम सत्य हो भन्ने गीत गाउन थाले । हामी केटाकेटीलाई त गज्जबकै जात्रा भो । जिबालाई घन्चमन्चका साथ सेता सुकिला लुगाले बेरेर ठूलाबडाले पालोपालो बोके । त्यो देख्दा आफूलाई पनि औधि रहर लाग्यो । आफू पनि खस्न पाए त यसै गरी नयाँ लुगा लाएर बोक्दा हुन्, क्या मज्जा हुँदो हो ।’’
— ‘त्रिप्राणी घृणा’ बाट ।
यसमा मृतकलाई सुकिलो कात्रो ओढाएको देखेर नयाँ लुगा लगाउन र अरू मज्जा गर्नका लागि आफू मर्ने रहर गर्नु स्वैरकल्पना हो । यसले जनतामा व्याप्त अभाव एवं विपन्नताको यथार्थ परिदृश्यलाई व्यङ्ग्यात्मक पाराले छर्लङ्याएको छ ।

(६) ‘‘वनकालीको भाकल नबुझाएर पो वनकाली रिसाएर पोखरी नै रित्तिने गरी सिनित्तै पिइछन् । वनकाली पनि बैगुनी बा ! यहाँ तेल नपाएर दुनियाँको कस्तो कन्तबिजोक छ । थपक्क ट्याङ्का पिएर सबैका ग्यालनैपिच्छे पिचिक्कपिचिक्क पार्दै हिँडे त तेल नभेट्या बेला त्यो भीडले भाकल त के भाकलको बाउ, हजुरबाउ सबै बुझाउँथ्यो ।’’
— ‘फर्किएँ’ बाट ।
यसमा वनकालीले पोखरीको पानी सिनित्तै पारेझैँ ट्याङ्करको मट्टीतेल मुखले सोसेर लाम बस्ने सबैका ग्यालेनमा पिचिक्कपिचिक्क ओकलिदिने चाहना गर्नु स्वैरकल्पना हो । यसद्वारा खाना पकाउने मट्टीतेलको अभाव र त्यसको खराब वितरणमाथि व्यङ्ग्य गरिएको छ ।

(७) ‘‘हैन यो लोडसेडिङले बिहे गरेका उम्मेदवार महिलालाई भेटे त ठीकै छ । बिहा नै नगरेका कलकलाउँदा नानीहरूलाई केही जानी भेट्यो भने के गति होला ? गर्भवती भएपछि त सन्तान पनि त जन्मेलान्, अनि त्यसरी जन्मेका सन्तानको बाउको नाम के लेख्ने, नागरिकतामा ? कि यसरी लोडसेडिङबाट जन्मेका सबै सन्तानका बाउको नाउँ लोडसेडिङै हुन्छ ? लौन बा, यसले त बित्यासै पार्ने भयो ।’’
— ‘लबस्तरो लोडसेडिङ’ बाट ।

यसमा लोडसेडिङले आइमाईहरूलाई जथाभावी गर्भवती बनाएर हिँडेको कुरो स्वैरकल्पनाका रूपमा आएको छ । यथार्थ चाहिँ समाचारपत्रमा छापिएको एउटा खबर हो । बढ्दो लोडसेडिङका कारण अँध्यारो एकान्तमा जोडीहरू बस्ता सहवासको अवसर बढी भई गर्भवती महिलाको सङ्ख्या अधिक भएको तथ्य सो समाचारमा छापिएको छ ।
माथिका र यस्तै अरू थुप्रै साङ्केतिक स्वैरकल्पनाका उदाहरणहरू यस सँगालाका रचनामा भेट्टिन्छन् । हरिकलाले हलुका तवरमा स्वैरकल्पनाको सार्थक उपयोग गरी व्यङ्ग्यलाई बढी गहिरो र प्रभावकारी तुल्याएर प्रस्तुत गरेकी छन् । अन्य प्रकारबाट प्रभावकारी ढङ्गले व्यक्त गर्न नसकिने कुरालाई स्वैरकल्पनाका माध्यमबाट सहजै प्रस्तुत गर्न सकिन्छ र हरिकलाले आफ्ना हास्यव्यङ्ग्यमा यसको सक्तो उपयोग गरेकी छन् । सङ्कलित रचनाहरूमा ठाउँठाउँ हास्य नभएको होइन । तर बढी महत्व व्यङ्ग्यले पाएको छ ।

यस कृतिमा विविध समसामयिक विषय टिपेर चोटिलो र पोटिलो व्यङ्ग्यप्रहार गरिएको छ । सङ्कलित बत्तीसवटा रचनामध्ये प्रथम आठवटामा धार्मिक स्थलको दुर्गति, कविकी स्वास्नीको सकस, वर्तमान समाजमा नयाँ दुई जात अर्थात् कुर्ने र कुराउने वर्ग, विगतलाई बिर्संदाको भयावहता र अनुजप्रति अग्रजको अनुदारता, धर्ममा राजनीतिको प्रवेश, गुन र सुनको सन्दर्भबाट खेल, पदक र जलस्रोतको स्थिति, गरिब र धनीको असमानता, सङ्घीय राज्यमा भागबन्डाको खेल आदि विषयहरू समेटिएका छन् । त्यसपछिका आठवटा रचनाहरूमा सहरका विसङ्गतिहरू, पुरस्कारमा ठगी, खाद्यान्नसरह पिण्ड खाने लोलुपता, मट्टीतेलको अभाव र महँगीको प्रभाव, पितृ–सत्तात्मकताको विरोध, लोडसेडिङको आतङ्क, सहिदको अपकर्ष, बन्दका विकल्पको खोजी आदि विषयको प्रस्तुति रहेको छ । अझै पछिका आठवटा रचनाहरूमा पति शब्दको विरोध, बलि दिने कार्यको विरोध, शर्मा जातको चर्चा, विभिन्न थरी चेतावनीको उल्लेख, भोजमा बिजोग भएको अनुभव, छोरा र छोरीको विभेद, अस्पतालको बिथिति, भुटानी शरणार्थी र अमेरिकाली चाल आदि विषयहरू समेटिएका छन् । अन्त्यका आठवटा रचनाहरू चाहिँ बजेट र अर्थमन्त्रीका चर्तिकला, कर्मचारीको न्यून वेतन र घुसखोरी, बहुपत्नीत्वको उछित्तो, कीर्तिमानका सन्दर्भबाट अकीर्तिमानको वर्णन, होलीका विकृतिहरूको विरोध, तोडफोडको समर्थन गर्ने निहुँमा त्यसको विरोध, बोक्सीविद्या र लैङ्गिक विभेद आदि विषयको चर्चा गरिएको छ । यी सबै विषयहरू छोटाछोटा आकारका रचनाहरूमा कसिलो पाराले व्यक्त भएका छन् । हरिकलाको विषयचयन व्यापक छ, प्रतिपादन कसिलो छ र प्रस्तुति मनोविनोदात्मक छ ।

हरिकलाले यस सँगालाका रचनाहरूमा विशिष्ट भाषाको प्रयोग गरेकी छन् । त्यसो त सबै खाले साहित्यिक कृतिहरूमा सामान्य भाषाका सट्टा विशिष्ट भाषाकै प्रयोग भएको हुन्छ, तर हास्यव्यङ्ग्य रचनामा यसको प्रयोग झन् बढी गरिन्छ । सामान्य भाषा नैसर्गिक हुन्छ, तर विशिष्ट भाषा कृत्रिम र सम्पादित हुन्छ । विशिष्ट भाषामा विभिन्न भाषिक युक्तिहरूको बढी प्रयोग गरिने हुँदा यो कृत्रिम बन्न पुग्छ । साथै रचनाकार स्वयंले लेखनक्रममा कृतिगत भाषाको काटछाँट, फेरफार र परिमार्जन गरिरहने हुँदा यो सम्पादित हुन्छ । साहित्यको भाषा कृत्रिम र सम्पादित हुनु दुर्गुण होइन, किनभने साहित्यको सूक्ष्म अभिव्यक्तिगत मागलाई सामान्य भाषाभन्दा संशोधित, परिष्कृत, सम्पादित, विस्तारित एवं कृत्रिम विशिष्ट भाषाले पूरा गर्छ । कृतिमा हास्यव्यङ्ग्यात्मक प्रभाव उत्पन्न गर्न विशिष्ट भाषाको भूमिका झनै अहं हुन्छ । त्यसैले हरिकलाले सङ्कलित रचनाहरूमा हास्यव्यङ्ग्य सिर्जनाका लागि विभिन्न भाषिक युक्तिहरूको उपयोग गरेर विशिष्ट भाषाको यथाशक्य प्रयोग गरेकी छन् । यस सँगालामा प्रयुक्त प्रमुख युक्तिहरू निम्नलिखित छन् ः
(१) तुकबन्दी : मुक्ति–जुक्ति, पाली–काली, नितान्त–एकान्त, धन्दा–फन्दा, भक्ति–शक्ति, नाङ्गा–बाङ्गा, छानी–छामी, कोइला–छोइला, पोतो–सोतो, सहर–रहर, चिनारी–किनारी, सिकारु–तिखारु, फुट्टी–खुट्टी, झत्ते–फत्ते, सर्वाधिकार–एकाधिकार, जानिवकार–मानिवकार, सुकला–बसला, कल–फल आदि ।

(२) समानान्तरता : अक्कले अङ्कलका अहंकारी अक्कल, सुनका चक्करमा यो चण्डाल दिमागले चारै चौरास चहा¥यो, धुम्बे धामीले धुपधुवाँर गरेर धुमधामसँग, आफू परियो पराइबेटी अफिसको पाङदुरे पिउन, चिन्तनले चिमोटेर आधारातसम्म चनाखै हुनु के चानचुने कुरा हो, बिस्तारै बुद्धिको बेकामे बिरुवा बढ्दै गयो आदि ।

(३) शब्दबङ्ग्याइ : अनेखन्न, बिग्नेस, अ‍ैँची, काइँलाउ, प्रेमारिक, धिप्री, स्टकोट, उइन्टर, कुम्मा, हर्साआँसु, पराइबेटी, अन्मार, सिउँसाँझै, सन्जे, अलगढलग, खसपताल, असैय, दुरपती, जाजुल्ले, मैलाहरू आदि ।

(४) परिवर्तित उखान : चोक्टा खान गएको चमेरे झोलमा डुबेर चट्, केमा प¥यो घिउ दालमा, कैलाशको बास सत्यनाश, नेताका सामु जनताको दुहाई, कामकुरो कठैबरी सिंहदरबार सधैँभरि, कामकुरो एकातिर कुम्लो बोकी माइततिर, न रह्यो धन न भयो ज्यान, प्रजा मोटा भए सालिक फोडिन्छ आदि ।

उपर्युक्त युक्तिहरूका साथै हरिकलाले विभिन्न सादृश्य विधान, उल्टो उक्ति, प्रचलित उखान र कथ्य एवं स्थानीय शब्दको प्रयोगद्वारा पनि भाषालाई विशिष्ट तुल्याएर हास्यव्यङ्ग्य उब्जाउने जमर्को गरेकी छन् । अनुप्रासीयताको मोहमा परेर तुकबन्दी र समानान्तरताको अतिशय प्रयोग गर्ने प्रवृत्तिबाट हरिकला सचेत र संयमित हुनुपर्छ । किनभने तिनको प्रयोगबाट रचनामा भाषिक लय त बढ्छ तर हास्यव्यङ्ग्यात्मक प्रभावमा वृद्धि नहुन पनि सक्छ ।
‘चड्कन’मा परेका सबै रचनाहरू निबन्ध हुन् । सबैजसो निबन्ध छोटाछरिता, कसिला र झन्नैझन्नै समान आकारका छन् । आकारमा सानासाना भए पनि तिनमा विषयको चाहिँदो विस्तार भएको छ । सबै निबन्धहरू आकर्षक, प्रभावकारी र मर्मस्पर्शी छन् । तिनमा यत्रतत्र हास्यसमेत रहे पनि समग्रमा व्यङ्ग्यकै प्रधानता रहेको छ । यस सँगालाले हरिकला चानचुने हास्यव्यङ्ग्यकार होइनन् भन्ने मजाले दर्साएको छ । सङ्कलित निबन्धहरूमा विषयको खीप र प्रस्तुतिको सीप निकै पाको र प्रभावकारी छ ।

अन्त्यमा, हरिकला उप्रेतीका रूपमा नेपाली हास्यव्यङ्ग्यले दरो प्रतिभा पाएकोमा खुसी व्यक्त गर्दै यिनको निरन्तर प्रगतिको कामना गर्छु र आफ्नो भनाइ टुङ्ग्याउँछु ।