हजुरबाको टोपी खुइलिँदासम्म

हजुरआमाको मजेत्रो मइलिँदासम्म
गोरु झैं बाबा जोतिँदा पनि
माटोसँगै आमा पोतिँदा पनि
आगनमा वसन्त आउँदै आएन
निधारमा घाम कहिल्यै उदाएन

ब्रहमाण्डको दूरी नाप्नेहरूले
मान्छेको दूरी किन नापेनन् ?
संसार साँघुरिएको देख्नेहरूले
मान्छे टाढिएको किन देखेनन् ?
समृद्घिको सालिक पुज्नेहरूले
विभेदको खाडल किन पुरेनन् ?

यो बाटो खुट्टाले हिँड्नेहरूको भन्दा
मोटरमा गुड्नेहरूको कसरी भयो ?
यो माटो श्रमले सि“च्नेहरूको भन्दा
प्लटिङ् गरेर बेच्नेहरूको कसरी भयो ?

धर्तीमा हावा र पानी
हुकुम चलाउनेले बनाएका होइनन्
हलो समाउनेले फलाएका हुन्
आकासमा घाम र जून
बपौती पाउनेले ल्याएका होइनन्
पौरख रोप्नेले फुलाएका हुन्

पसीनाको समुद्र बहाउने सामु
अभावको पहाड ठडिएपछि
किर्ते कागजमा तोक लाएर
लुटको भकारी भरिएपछि
सामन्ती युगलाई धुलो चटाउन
सभ्यताको कुरुप अनुहार मेटाउन
अब, हत्केलाको ठेला विस्फोट गराउँछु
र महलहरूमा भुइँचालो ल्याउँछु ।

थलारा, बझाङ