(लय : गाउँ–गाउँबाट उठ)

गाउँ–गाउँबाट लुट
बस्ती–बस्तीबाट लुट
यो देशको मुहार बिगार्नलाई लुट
श्रीमतीको अनुहार सिँगार्नलाई लुट

राजतन्त्र यहाँ जाग्दाखेरि राजा बोकी लुट
क्रान्तिको आगो दन्केपछि राजै ठोकी लुट
हिजो–हिजोबाट लुट
अस्ति–अस्तिबाट लुट
आजै मात्र किन, भोलि पनि लुट
राष्ट्रकै धोती, फरिया र चोली पनि लुट

बन्दुक समाउन मान्नेहरू, क्रान्ति भनेर लुट
भाषण फलाक्न जान्नेहरू, शान्ति जपेर लुट
जङ्गलैमा बसी लुट
संसदैमा पसी लुट
यो देशको मुहार बिगार्नलाई लुट
श्रीमतीको अनुहार सिँगार्नलाई लुट

आफूलाई भगवान् भनी, शैतान बनेर लुट
विदेशमा धन थुपार्नलाई खाल्डो खनेर लुट
सारा वंश मारी लुट
भण्डारै निखारी लुट
सडकमा डुली–डुली खरानी घसी लुट
साधु रूप धरी लगौँैटी कसी लुट

सोझा–साझा जनताहरू आगो झैँ बन्नेछन्
यिनलाई देख्नासाथै अनि जनताले भन्नेछन्
देशद्रोही मास्न जुट
छानी–छानी यिन्लाई कुट
जो–जसले देशमा मच्चाउँछ ब्रह्मलुट
घाँटी समाउँ सबको नदिई कुनै छुट ।

जनकपुर