सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

इमानदार कोलोनीमा स्वागत छ

Nepal Telecom ad

म जुन चम्किलो, धुलोविहीन र बिरानो भूमिमा आइपुगेको थिएँ, त्यसको परिचय पाएर म निकै समयसम्म त्यहीं उभिइरहेँ । केही अगाडिको जब्बर सिमेन्टद्वारा (कृत्रिम शिला) को सिरानमा ठूलो–ठूलो अक्षरर खोपिएको थियो– ‘इमानदार कोलोनीमा तपाईंको हार्दिक स्वागत छ ।’

इमानदार कोलोनी– मैले किञ्चित आश्चर्यका साथ एकपटक फेरि विस्तारै उच्चारण गरेँ ।

“कविजी तिमी यहाँ ?” एउटा परिचित स्वर मेरो दाहिने कानको पर्दामा आएर ठोक्कियो ।

त्यो खस्रो तथा तिखो आवाजको दिशातर्फ यसो टाउको घुमाएर हेरेँ । केही परको एउटा तीनतले घर (मास्तिरको सानो मन्दिर आकृतिको तलाले साढे तीन तला) अगाडि मेरो एक टाढाको नातेदार उभिएका थिए । उनलाई देखेर मेरो आश्चर्यमा बढोत्तरी भयो । उनी त जेलमा थिए । आफ्नो कार्यालयको मूल ढुकुटी मास्नुदेखि लिएर झ्याल–ढोकाको पर्दासमेत बेचेर खाएको अभियोगमा लामै समयका लागि जेलमा परेका सरकारी कर्मचारी । कहिले बाहिर निस्के हँ ? आफ्नै नातेदार भए तापनि यस्ता नामुद बेइमानलाई यसरी घोषित इमानदार कोलोनीमा देखेर मेरो मुखबाट अनायास निस्क्यो, “तपाईं यो ठाएँमा कसरी सान्दाइ ?”

“किन, मैले यहाँ हुनुहुन्न ?” उनले बाहिर निस्किएको पेटमुनिको बाक्लो कम्मरमा दुवै हात राखेर मलाई गहिरो आँखाले हेरे ।

“मेरो भन्नुको…मतलव… सान्दाइको…यो कोलोनीमा…के काम ?” म एकदमसँग हडबडाएकोले मेरो बोली लर्बरियो ।

“म यहीं बस्छु, कविजी ।” उनले शान्त स्वरमा भने, “मेरो घर नै यहीं हो ।”

“के यो इमानदार कोलोनी होइन ?”

उनको छेउमा पुगेर मैले आश्चर्य मिश्रित स्वरमा सोधें ।

“ए, बल्ल तिम्रो कुरा बुझें ।” सान्दाइ मोटो गर्दन फुलाएर हाँस्न थाले, “बुझें–बुझें कविजी ।” इमानदार कोलोनीका तमाम् भवनहरू उस्तै देखिन्थे । एक समान । सबैका रङ्ग पनि उही । हलुका नीलो आकासे रङ्ग । कतै–कतै सेता र काला धर्काहरू । (डिजाइन मिलाउन सायद) चिटिक्क परेका झ्याल–ढोकामा गाढा पहेंलो रङ्ग । होइन, सुनौलो । एक–दुई अरु रङ्ग पनि । माथिको मन्दिरमा रातो र हरियो । रङ्गै–रङ्गको घर ।

कालो पिच गरिएको निकै नै फराकिलो सडकको किनारामा हरिया रुखहरूसँग लहरै खडा अत्याधुनिक शैलीका भवनहरूलाई म एकनासले निरीक्षण गरिरहेको थिएँ ।

“कविजी, यी सामान्य घरहरू होइनन् । यसको नक्सा एक विश्वप्रसिद्ध गोरा आकिर्टेक्टले तयार गरेको हो, युरोपियन इन्जिनियरले । यस्तै नर्वे अथवा फिनल्यान्डको हो क्यारे ! हामीले मोटो रकम खर्च गरेर बनाउन लगाएको हो ।” सान्दाइ हाँसो स्थगित गरेर गम्भीर भए, “ल–ल, घरभित्र जाएँ कविजी ।”

स्टील गेटको एकाछेउ सिक्रीले बाँधिएको छोटो पुच्छरको डाङ्ग्रे कुकुर मलाई देखेर जोड–जोडले भुक्न थाल्यो । यो भुकाइलाई एउटा ठूलो फलामे पिंजडामा झुन्ड्याइएको बाजजस्तो देखिने चराले आफ्ना दुवै लामा–लामा पखेटा फट्फटाएर साथ दियो । यस्तो दोहोरो आक्रमणले भयभित भएर म रोकिएँ । पहिले मेरो डराएको अनुहार, त्यसपछि पखेटा चलाइरहेको पाल्तु चरा अनि अन्त्यमा आफ्नो डाङ्ग्रे कुकुरतिर हेरेर सान्दाइले प्रेमपूर्ण पाराले हप्काए, “हम्ङ्खरी–हम्ङ्खरी, चुप–चुप ।”

घरको आन्तरिक भाग पनि उत्तिकै भव्य थियो । अझ बढी नै । मलाई बसाइएको असामान्य बैठक कोठाको त के कुरा गर्नु ? कोठामै एउटा धातुको शिवमूर्ति स्थापित गरिएको थियो । शिवको घना जटाबाट निरन्तर पानी खसेर तलको घुमाउरो नालामा बगिरहेको । वरिपरि स–साना पहाड बनाइएको थियो । त्यहाँबाट नक्कली झरना झरिरहेको । बैठक कोठाको सबथोक भव्यतम् ।

म मिहिन नक्सासी गरिएको बुट्टेदार आसनमा कुचुक्क परेर हेरिरहेको थिएँ । मेरो शिरमाथि विशाल क्रिष्टलको झाड–फानुस हलुका–हलुका हल्लिरहेको थियो ।

“बाबु, के हाल–खबर छ ?” एउटा मीठो स्वर सुनेर म झस्किएँ ।

“धेरै दिनपछि देखिनुभयो ?” भाउजू भनिरहेकी थिइन् ।

“हजुर ।” म हात जोडेर उभिएँ ।

“बडो गजबको ड्राइङरुम रहेछ, सान्दाइ ।” भाउजू गइसकेपछि मैले विस्तारै बसेर सान्दाइसमक्ष आफ्नो प्रतिक्रिया जनाएँ ।

“मैले अघि नै भनेँ, युरोपबाट हामीले सोझै यो घर र बस्तीको डिजाइन ल्याएका हौं । यस्तो नामी र दामी कोलोनीको उतातिर प्रशस्तै चलन रहेको छ । हाम्रो चेयरमैनसाब स्केन्डिभियाइ मुलुकहरूका भ्रमणमा जाँदा अति प्रभावित हुनुभएको थियो ।” उनले प्रसन्नताले मुखमण्डल झलमल पारे, “त्यसैको सिको यहाँ गर्न खोजिएको हो, कविजी ।”

“को चेयरमैन सान्दाइ ?” मैले सोधें ।

“कोलोनीको चेयरमैनसाब ।” उनको प्रसन्नता अत्यधिक बढेको थियो, ”हाम्रो इमानदार कोलोनी व्यवस्थापन समितिका चेयरमैन, भाइस चेयरमैन, जेनरल सेक्रेट्री, सेक्रेट्री सबै एकसेएक छन् । म समितिको ट्रेजरर हुँ ।”

सान्दाइले बताएका इमानदार कोलोनी व्यवस्थापन समितिका पदाधिकारीहरूका नाम सुनेर म छक्क परें । अब यसलाई छक्क पनि के भन्ने ? यो यसभन्दा पनि माथिको केही हुनुपर्छ । कुन्नि किन मलाई यस्तै लाग्यो ! (झन् छक्क !) वास्तवमै सबै एकसेएक बेइमान ! नेपालको भ्रष्टाचार जगतका चिरपरिचित नामहरू । यिनीहरूका काला कर्तुतका के बखान गर्नु ? तर गजब के भने कोही पनि आफ्ना कार्यकालमा भ्रष्टाचारको केसमा परी गिरफ्तार भएनन् । पुराका पुरा बेदाग छुटेका ठूला–ठूला सरकारी हाकिमहरू ।

अहिले शानका साथ अवकाशप्राप्त जीवन बिताइरहेका । अर्थात् इमानदार कोलोनीका एक हुल इज्जतदारहरू !

“के सोचिरहेछौ, कविजी ?” मलाई सोचनीय मुद्रामा पाएर सान्दाइले प्रश्न गरे । “केही होइन ।” म आफू बसिरहेको आसनबाट लगभग उभिएँ नै, “अब म जान्छु सान्दाइ ।”

“किन, के भयो ?” मलाई यसरी उभिएको देखेर उनले भने, “हिजो हामीले अष्ट्रेलियामा रहेकी माइली नातिनीको जन्मदिन यहाँ पनि मनाएका थियौं, केक खाएर जाऊ कविजी ।”

”केक–सेक पछि खाँदै गरौंला सान्दाइ ।” म एक झमटमा बैठक कोठाबाट (सँगसँगै घरबाट पनि) बाहिरिएको थिएँ ।

“इमानदार कोलोनीमा फेरि–फेरि पनि आउनुहोला । धन्यवाद !” कोलोनीको प्रवेशद्वारको यतापट्टि पनि ठूलो–ठूलो अक्षरले प्रस्टसँग लेखिएको थियो ।

अचेल यस्ता आकर्र्षक नामका नयाँ बस्ती धमाधम अस्तित्वमा आइरहेका छन् । जस्तै– सत्यनगर, शान्ति पुरी, निष्ठा गाएँ, आदर्श टाउन, विश्वास समाज, आस्था धाम, नैतिक नगरी, भक्तिटोल, सुन्दर थलो, उमङ्ग बास, आशापुर, धर्म बस्ती, कर्म रेसिडेन्सी, श्रद्धा कोलोनी इत्यादि ।

‘कान्तिपुर’ २०७० माघ १८

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ज्वाइँबाबा

ज्वाइँबाबा

विमल निभा
छेपाराख्यान

छेपाराख्यान

विमल निभा
जुत्ता

जुत्ता

विमल निभा
एउटा ठुलो चोरी

एउटा ठुलो चोरी

हरिशंकर परसाईं
चटकेहरूकाे चटक

चटकेहरूकाे चटक

कुमार खड्का
इमानदारदेखि सावधान !

इमानदारदेखि सावधान !

सुरेशकुमार पाण्डे
हो त नि !

हो त नि !

हरि खनाल
अफसाइड

अफसाइड

कृष्ण शर्मा सुमु