हो गल्ती मेरा हो । मैले नै उनलाई भन्न सक्नुपर्ने । उनले पनि त भनेको भए हुन्थ्यो । तर कसरी भन्ने ? अहिलेसम्म एकपटक पनि त बोलचाल भएका छैन । के थाहा ? उनको सोचाई अर्कै पो छ कि ! दुई चार पटक देखादेख हुँदैमा मैले यस्तो नसोच्नु पर्ने । किन ? के भो मलाई ?

ऊ एक्लै गुनगुनाइरहेको थियो । यत्तिकैमा भित्ते घडीले नौ बजेको घण्टी हान्यो । हत्तपत्त उठेर तयार भई अफिस जाने तरखरमा लाग्यो । ढिलो भैसकेको थियो, त्यसैले अलिकति हतारमा थियो ऊ । तर आज पनि उनी त्यहीँ थिइन् जहाँ सधैं बस्ने गर्थिन् । उनलाई पनि अफिस जान ढिलो भैसकेको थियो, तर शायद उनी पनि ‘ऊ’ नआएकाले गैसकेकी थिइनन् । जे होस् भेट भयो । दुवैजना आ–आफ्नोे तर्फबाट हाँसिदिए ।

आज चाहिँ ऊ बोल्ने हिम्मत गरेर उनको नजिकै गयो । “तपाइँको शुभ नाम ? कहाँ काम गर्नुहुन्छ ? सधै यहीँ देखिन्छ नि !” उनले पनि जवाफमा भनिन्– “अन्जना, एक प्राइभेट कम्पनीमा, अनि तपाइँको नि ?” “मेरो बिमल, म पनि प्राइभेट कम्पनीमै ।” उसले जवाफ दियो । “जबदेखि तपाइँलाई देखेँ, मलाई कताकता अनौठो लागेर आएको छ ।” मन दरो बनाएर अगाडि भन्न थाल्यो । “तपाइँलाई एउटा कुरा भन्नु थियो । खै कसरी भनुँ ?” “भन्नुस् न, किन ? त्यस्तो अप्ठेरो मान्नुपर्ने के नै पो होला र ?” उनले भनिन् । यत्तिकैमा परबाट एकजना भलादमी त्यहीँ आइपुगे । अन्जनाले, बिमललाई– “उहाँ मेरो श्रीमान्” भन्दै उक्त भलादमीसँग परिचय गराइन् । आज अफिस बिदा लिएर आएको पनि बताइन् । उनी त्यहाँबाट आफ्नोे श्रीमान्सँगै गइन् ।

यता ऊ पनि घरमा आई सोफामा थचक्क बसेको मात्र के थियो, उसकी पत्नी आएर– “के भयो ? किन अफिस नजानु भएको ?” भन्दा पो ऊ झसङ्ग भयो । प्रतिउत्तरमा उसले भन्यो– “समयमा पुग्न सकिएन, त्यसैले फर्केर आएको ।”

पोखराथोक, पाल्पा