हरिकङ्गाललाई रातारात धनकुबेरमा परिवर्तित गरिदिने ‘वासुदेव लुइँटेल पुरस्कार’ को घोषणा भएर उप्रान्त मेरो मनस्थिति स्वचालित रूपमा एक्कासि त्यस स्थितिमा पुग्यो जसलाई डाक्टरी भाषामा ‘असामान्य’ र चलनचल्तीको भाषा ‘खुस्किएको’ भन्ने चलन छ । ‘तँ द्रव्यपिचास मुर्दाको मानसिक स्थिति कहिले पो सद्दे थियो र ?’ भन्ने प्रश्न उठ्नु यहाँ स्वाभाविक नै हो, तथापि ‘मर्नुभन्दा बहुलाउनु वेश भन्ने उखानको उपेक्षा गर्न मेरो नैतिकताले अनुमति दिँदैन । ‘नैतिकता’ शब्दलाई शब्दकोशबाट नै बहिष्कार गर्नु उपयुक्त हो कि भनी एउटा राष्ट्रिय स्तरको गोष्ठी नै गर्नुपर्ने वर्तमान परिवेशमा म नाथेले नैतिकताको प्रसङ्ग कोट्याउनुु लुतोको पाप्रो कोट्याउनु झैँ हुने भए तापनि ‘आफूले मानिआएको लुतेधर्म परिवर्तन गर्’ भनी तपाईंले मलाई कर लगाउनु ऐन विपरीत हुने बेहोरा अवगत गर्नुहुन निवेदन गर्दछु ।

म लुते लेखक भएकाले लुतो कन्याउनु मेरो मौलिक हक र कर्तव्य दुवै हो । लुतेले चिन्तन नै गर्न नपाउने भन्ने कुनै कानूनी प्रावधान पनि त छैन । साहित्यमा कस्ताकस्ता पाण्डुरोगीहरू (सन्दर्भ : पाण्डुलिपि) समेत त वाकायदा स्थापित छन् भने मैले लुतेलेख लेख्न किन नपाउनु ? तसर्थ बायाँ हातले हार्दिक रूपमा लुतो कन्याउने र दायाँँ हातले चाहिँ कालजयी रचनाको सृजना गर्नमा म अहिले व्यस्त छु । लेखनका निम्ति चिन्तन र विचारको पनि यदाकदा आवश्यकता नपर्ने होइन तथापि मौका कुमौका अतिथि कलमद्वारा रचित अतिथि पुस्तकको अध्ययनले पनि औधी मद्दत गर्नाका अतिरिक्त कथित चिन्तनलाई थप उर्जा प्रदान गर्दछ । लेख्न बस्दा अतिथि विचारहरू त्यसैगरी ओइरिन थाल्छन् जसरी काठमाडौंको क्षेत्र नं. १ को उपचुनावमा अथिति मतदाताहरू ओइरिएका थिए ।

हास्यव्यङ्ग्यका ‘वरिष्ठ साधक’ वासुदेव लुईटेलज्यूलाई पैसा कहाँ पोखुँ भन्ने औडाहा भएर हो वा मति बिग्रेर हो लाखौँ रुपियाँ अक्षयकोषमा दाखिल गरिदिनुभएछ । ‘बाहुन बिग्रे मोजले, अरू बिग्रे भोजले’ भनेझैँ पिण्ड खाने बेलामा आएर त्यत्रो धनराशि बेफ्वाँकमा आफल्ने कुमति पलाउनु स्वयम्मा एउटा अनौठो विडम्बना र घोर तानाशाही कुकृत्य हो, हो । आफ्ना खसमले त्यत्रो रकम सोतर पार्दा समेत कोठामा विद्यमान कुचो छँदाछँदै उहाँकी अर्धाङ्गिनी के भद्रा हेरेर बसिरहनु भयो ? फेरि उहाँकी छोरीहरू एवम् छोरीज्वाइँहरूले क्रान्ति नगर्नु अर्काे अचम्म ! आफ्ना पिताश्रीले त्यत्रो सम्पत्ति लुटाउँदा छोराले विरोध गरेर टोल, छिमेक र आफन्तहरू जम्मा गराई दन्तबजान गर्नु त परै जाओस् उल्टै ‘बाबाको इच्छा’ भनी सही थापेर प्रेसवक्तव्य प्रसारण गर्ने हुस्सूको शुभनाम विद्यादेव अरे ! खुबै विद्या पढेका रहेछन् । ! अङ्ग्रेजी पढ्नेको बुद्धि हुँदैन भनेको यही हो ! लौ, छोराको त हुती पुगेन, बुहारी कस्ती गोज्याङ्ग्री ? अचम्म पो पर्नुछ बा !

मैले वासुदेवज्यूले जस्तै माटोमा पैसा फ्याँक्ने वाहियात कार्य गरेको भए पहिले प्रथम त मेरी जोईले आप्mनो माइतबाट खलक नै बटुलेर ल्याई मास र्याली र मेरो सामुहिक प्रतिकार सम्पन्न गराउँथिन्, छोरीहरूले आ–आफ्ना पतिदेवहरूलाई घिसारेर मकहाँ ल्याई मेरो घेराउको आयोजना गर्थे, सुपुत्रद्वयले मलाई हार्दिक झ्याइँकुटी पार्दै चारखाल अड्डा पुर्याउँथे र स्थिति कतिसम्म क्लेशपूर्ण हुन्थ्यो भने शेषपछिको बकसपत्र लेखेर समेत छुट्कारा नपाई हालैको बकसपत्र गर्नुपथ्र्याे ! मेरी बुहारी यस्तो सङ्कटकालमा निष्क्रिय भई बस्दिनथी र मेरा सम्धीद्वय लगायत माइतका खलक नै ओसारी रणसंग्राम नै मचाउने थिई । बुद्धि नै बिग्रेपछि कसको के लाग्छ ? जसकी पत्नी शान्ति नामले विभूषित छिन् र छोेरा विद्यादेवको पगरीले चिनिइन्छन् र जो स्वयम् वासुदेव कहलाउँछन् त्यसलाई कुनै ‘दैव ! ले पनि जोगाउन सक्दैनन् ! बुढेसकालमा हुने यिनको बिजोगको कल्पना गर्दा मेरो हृदयमा वासुदेवज्यूप्रति करुणरसको सञ्चार हुन थाल्छ ।

विगत वर्षको वीभत्स बाढीले मेरो सिरिखुरी बगाई लगेको पावन परिप्रेक्ष्यमा मजवुत वासुदेवज्यूसँग मैले केही चन्दा मागेको थिएँ । मेरो माग सुन्नासाथ उहाँको अनुहार अमिलो निचोरेको जस्तो भयो, जुठो सुनेपछि लाउनुपर्नै पाराको गम्भीर अनुहार लगाई ‘हुन्छ ! म हेर्छु !’ भनी मलाई तीन महिनाको तारिख दिनुभयो । ‘हुन्छ ! म हेर्छु” भन्ने यो मौखिक तोक औधी अलच्छिनको हुन्छ । ‘हेर्छन् अरे !’ के हेर्छनु भनी गम्दै थिएँ अनेकौँ जाल, झेल, षडयन्त्र गरी मलाई ‘भैरव पुरस्कार’ भिडाएर मलाई भूत मन्छे झैँ मन्छे । ‘म एक लाखको पुरस्कारको स्थापना गर्दैछु एक वर्ष पख्नोस्’ भनी खसोखास भनिदिएको भए एक वर्ष धैर्य गरेरै भए पनि म ‘वासुदेव लुइँटेल पुरस्कार’ नै थाप्थेँ । उता भैरव पुरस्कार पनि कुनै सत्पात्रले पाउँथ्यो !
मेरो लेखनको स्तर पत्तनोन्मुख भएको बेहोरा प्रमाणित गर्न प्रस्तुत लेखले नै यथोचित दसीको अभावपूर्ति गर्दछ । रून्चे, मगन्ते र दरिद्री साहित्यकारको रूपमा कुनै लेखलाई उभ्याउनु पर्दा साथीहरू यथाशक्य मेरै खोजी गर्ने गर्दछन् । ‘मेरो सम्मान भएन, मेरो देनलाई मित्रहरूले समेत बिर्से, मैले यतिकसा वर्ष फलानाको र ढिस्कानोको सेवा गरेँ, मलाई सान्दाइपर्यन्तले माया गर्नुहुन्थ्यो, मेरो लेख भनेपछि पुष्पलाल दाइ हुरूक्कै हुनुहन्थ्यो । मेरो लेखनीको प्रभाव कस्तो हुन्थ्यो भने हास्यव्यङ्ग्य पढ्दा मानिसहरू रून थाल्थे र मेरा कविता पढेर पाठक हाँस्थे ! भनी अहोरात्र कल्पिरहने यो एड्सभन्दा पनि मापाको रोगले पाकोटोलमा निवास गर्ने काम गर्दा समेत छाडेन । आफ्नोे साहित्य साधना बापत् यथोचित सम्मान पाउनु त कता हो कता, झन् जता कल्पना गए पनि बाह्रहाते पिँडालुले मलाई खेद्याखेद्यै छ । तै, शुद्ध लेख्न नजान्ने तर साहित्यमा अङ्गदका खुट्टा अडान लिएसरह स्थापित चाहिँ भइसकेका लेखक कवि वर्गले मेरो घरखर्च चलाइदिइरहेका छन् ।

अचेल मैले एउटा यस्तो उद्योगको स्थापना गरेको छु जो ड्याग नपर्ने खालको सहारा दैवले जुराए जस्तै’ ‘गरी–खा’ भनी ईश्वरले एउटा न एउटा प्रावधान राखेकै हुँदा रहेछन् । परिणामतः अशेष मल्लज्यूदेखि ज्ञानुवाकर पौडेलज्यूसम्म मेरा स्थायी ग्राहक हुनुहुन्छ । उहाँ दुबै जनालाई ज्यूज्यू गर्नुपर्ने कारण के भने लेखक भनिइने प्राणीहरूको अकारादि क्रम मिलाउँदा उहाँहरूले आदिदेखि अन्त्यपर्यन्त ढाक्नुहुन्छ, र अर्को तथ्य के भने उहाँहरू मेरा निकटतम र आफ्ना समेत हुनुहुन्छ । कसैमाथि जाइलाग्दा सकेसम्म आफन्तलाई नै पात्र बनाउनु बुद्धिमानी र सुरक्षित पाइला ठहर्छ । उहाँहरू कतिसम्म ईमान्दार र उदारचेता हुनुहुन्छ भने ग्राहकहरू पत्ता लगाउने क्रममा अशुद्ध लेख्नमा पारङ्गत भाषाशास्त्रीहरूदेखि प्रज्ञा प्रतिष्ठानपर्यन्तको परिक्रमा गर्ने सुझाव मलाई दिनुहुन्छ । निकट भविष्यमा म स्वयम्को प्राज्ञको रूपमा भाषा भत्काउने फाँटको प्रमुख पदमा बहाली गर्न त्यहाँ जाने निधो भएकोले यस्तो संक्रमण कालमा त्यहाँ जोरी खोज्न जानु आफ्नै काल बोलाउनुजस्तो हुनेहुँदा मेरो नैतिकताले जान दिएन र पो !
म औधी ज्याद्रो पाराको लेखन्दास हुँ । बाहुन हुँदाहुँदै पनि कुनै प्राणी ज्याद्रो छैन भने, यसै पनि, त्यसको शारीरिक र मानसिक जाँच हुनु नितान्त अपरिहार्य मानिन्छ । आफूले जानेसम्म शुद्ध लेख्ने प्रयास सबैको रहन्छ, अब नजानेपछि र सिक्नै नचाहेपछि त्यसमा न त यहाँका पिताश्रीले केही गर्न सक्ने स्थिति हुन्छ न त मेरा बाउले नै कुनै लछारपाटो लाउन सक्छन् । ‘भाषा भत्कन थाल्यो गरिबपरवर’ भनेर गुहार माग्दै हिँडेको पनि छु । तर जोसँग गुहार मागे पनि जोगीसित भिक्षा मागेझैँ धेरथोर भाषिक रोगले सबैलाई पिरेकै छ ।

आफ्ना बारीका एकदुई कान्ला बेचेर महाकाव्य छापाउने कविहरू हामीकहाँ प्रशस्त छन् । साहित्यिक अपुताली कुम्ल्यनेहरू पनि नभएका होइनन्, तर आफूले आर्जन गरेको घर घडेरी, गोठ कटेरो बेचेर हास्यव्यङग्यको अभिवृद्धिका निम्ति गुठी स्थापना गर्ने अचम्मका साहित्यप्रेमी चाहिँ वासुदेव लुइँटेल नै हुन् भनेमा त्यसको विरोध तपाईंले त के, साक्षात् सांसद्श्री विरोधप्रसाद खतिवडा समेतले गर्नुहुने छैन भनी म ठोकुवा गर्छु । अब मलाई कसैले सिद्ध भनोस् कि गिद्ध त्यो पुरस्कार जिप्ट्याउन तँछाडमछाड गर्नू मेरो कर्तव्य हो । मौका परेपछि मान्छेले हीरा त फोर्छन् भने पुरस्कारको निम्ति मैले आफ्नोे टाउको फोर्न तम्सिनु कुन आश्चर्य भयो र ?

अन्त्यमा, अहिले पाए पनि मैले पाउने र पछि पाए पनि मेरै गोजीमा दाखेल हुने त्यस पुरस्कारको रकमबाट केही अंश सापटी पाए म दरिद्रनारायणको उद्धार हुने थियो । किनभने जीवनको उत्तराद्र्ध अवस्थामा रहनुभएका कुनै पनि वृद्धविशेषसँग शेषपछिको बकसपत्र गराइहाल्नु घात, प्रतिघात र अन्तर्घात त परै जाओस् आत्मघात र इमान–जमानको अभाव रहेको वर्तमान ‘उच्छृङ्खल प्रजातान्त्रिक’ परिवेशमा सोह्रैआना साहित्यिक धूत्र्याईं हुनेछ ।