ए हजुर बा ! उहिलेको कुरा खुइलेको भन्नुहुन्छ । राजनीतिको नीति कस्तो थियो नातिलाई नआत्ती भनिदिनु प¥यो । नाति राजनीतिको कपुरी ‘क’ को डाक्टर हुने अरे ।

हेर बाबु ! राजनीति हैन राजअनैतिक कपुरी ‘क’ जान्नुपर्छ । नबुझ्ने डाक्टर पुच्छर हल्लाउने र सीङ सुरेल्ने बोको बरावर बन्छ । बोको डाक्टर र डाक्टर बोको को को हुन् ? आफै हेर, को डोको को बोको, कुन बोको कुन डाक्टर छुट्याउन परिभ्राट ! कुन न्यायाधीश लोके, कुन ढोके, कुन पोके, कुन डोके भनेझैँ भएपछि भनेर भन्नुपर्दा यिनकै मुद्दा छिन्ने को ? हात्ती हैन ‘किसी’ भुँडी चिर्ने भी.सी. ! झिकिदे गाँड भन्दा थपिदे राँड ! यस्तो भाँड र साँढेको राजअनैतिक कपुरी ‘क’ नबुझी बाह्र वर्ष ढुङ्ग्रोमा हाल्दा पनि बरु ढुङ्ग्रो बाङ्गेला बानी सोज्जिन्न बाबु ! कुरोमा कुरो गर्दा कुरो के भने प्रजातन्त्रले रूप फेरी लोकतन्त्र ल्याए पनि लोकको हित साटो ज्वाइँलाई जर्साव, मितलाई महाप्रवन्धक ! खाएन कि चौटा !

के खाउँला भनेर उफ्रेका हुन् । लोकको कुरा गर्दा परलोकको कुरा सम्झे पो आउँछ आलोक । सुध्रन्छ इहलोक । झोँकले चल्छ लोक ? खोई के कुरा गर्नु बाबु ! राजनीति वाजनीति छोडी राजअनैतिक कुरा नखोजी राजनीति साजनीति बुझिन्न । राजअनैतिक कपुरी ‘क’ कै कुरा गर्दा कुरामा कुरा पर्दा कुरै न हो ‘क’ का कलमी लेखकै कुरो गरौँ न । जति हसुरे पनि मरन्च्याँसे हुकुमुखीको अनुहारमा खग्रास हट्ने हैन । भलै फल पाउँछु भनेर तपस्या गर्ने कविको दाह्री बढेर नाइटामुनि पुगेको पूजै छैन । नक्कली तपस्वीले भेट्ने भेट्नो सहितको फल बुद्धिजीवी टाँचावाल ढाँचामा आलाकाँचाको आँखामा छारो हाल्न गाह्रो नमानी फल उडाउने बलमा चलखेल गर्दा पुच्छरमुनि हात ! टाउकामा पुच्छर उमार्नेको ताल हेर ! तिनका निधारमा जोर फल !

अति गरेपछि खति हुन्छ । राजनीतिको शुत्रमित्रु हुन्न । मूर्खको घरमा पानी बराबार ! हेर बाबु ! नेता नै लठेब्रा, डेब्रा, पटके र चटके परेपछि परेन फसाद ! कुरै न हो कुरामा कुरा परेपछि कुरै गर्दा कुरो नै नबुझी के कुरा गर्नु ? लिँडे र ढिँडे । पठैत नै लठैत !

हेर बाबु ! काम गर्ने कालु मकै खाने भालु !
हैन हजुरबा ! त्यसबखत तालतालका मात्र हैन बेतालका पनि मन्त्री भए रे नि त ?
के गर्नु बाबु ! अनुहारमा भ्रष्टाचारले हानेका छ्याकेदेखि हाइज्याके, जुवाका खालेदेखि पूर्खाले मुर्गा साहुनी स्वाँङ सतभतार्नी, मौकाबेमौका लतार्ने, ढोका ढुक्ने, कान फुक्ने, परिआउँदा लुक्ने, कुकुरसँग झुक्ने, सबैले सिध्याएरै देश सुक्ने भएको हो । विदेशी हण्डीदेखि राजनीतिक रण्डीले के गरेनन् बाबु ? त्यो बेला मान्छेलाई कुकुर बनाउन चिचिपापा हैन त्यसलाई खाएर बाँकी विष्टाबाटै काम चल्थ्यो ! घिच्नेले केही बाँकी राखेनन् बाबु !

अचम्मैसँग चलेको थियो । जाँडको सिसीलाई भी.सी., झोली बोकी लोली मिलाउनेलाई प्राज्ञ, गति न पतिका भूतलाई राजदूत, गरीवमारालाई गरीवी उन्मूलनको हाकिम । भकाक टिका ! गोठाला टिके बिके चम्किए लिखे । हैकम कसको हाकिमको हाकिम कसको ? हाकिम्नीको । यिनलाई लप्पु र थप्पु ख्वाउँदै आयो ‘सिंह साधु’ लोकको हित गरेँ भन्दाभन्दै दिन गन्दागन्दै दाह्री जुँगा फुलिसके खोई तिम्रो घरवार भनेझैँ भो ! आउन त आयो हाकिमदेखि पियनसम्मको ठेक्का लठ्ठुले पायो । खाइस् बाबु ढड्डुको शासनमा हनुमान लड्डु !

त्यसबखत बाँदरको विगविगी थियो बाबु ! सबतिर बाँदर । बाँदरकै आदर ! डाटावेसबाट वेस मान्छे कहाँ छान्थे ? पैसा र पदका लागि मान्छेले घाँस खान्थे । हुन त क्या बाबु ! उबेलामा यन्त्रै भए पनि तेल दलेर खुकुलो पार्ने मात्र हो र, ढिम्री कसेर भए पनि ठीकठाक पार्थे । राजनीतिक दाउपेचका राजअनैतिक विज्ञ हैन पङ्गु प्राज्ञ थुप्रा थिए । लोकतन्त्र ‘लकतन्त्र’ भएको पत्तै भएन ? जतासुकै लक अर्थात तालाबन्दी ।

हैन हजुर वा जुनतन्त्र आए पनि जनता हे¥या हेरै । यो के भएको वा !
हेर बाबु ! उहिलेको राजमार्गतन्त्र हिँड्यो । महाराजमार्ग तन्त्र आयो । प्रजातन्त्र भन्दाभन्दै पर जा तन्त्र भयो । लोकतन्त्र जोकतन्त्रै भयो । लोकको ठाउँमा बोकको तोक लागेपछि चोकमा शोक हुने नै भो ! गनतन्त्र बोकेर पसेको गणतन्त्र पनि फनतन्त्रमै फर्कने हो कि ? जुनतन्त्र आए पनि मूलमन्त्र भएको क्या बाबु ! मनतन्त्र हो । मनतन्त्रलाई धनतन्त्र र ‘सन’ तन्त्र बनाएपछि ‘कु’ तन्त्र नआउला भन्न सकिन्न क्या बाबु ! तन्त्रलाई ‘कु’ बाट बचाउन मान्छे ‘सु’ हुनुपर्छ । मान्छे ‘सु’ नभई जनताले ‘चुँ’ गर्न पाउन्नन् । तर ‘सु’मा ‘सु’ गर्ने भए पछि के गर्ने ? गर्ने नै के ?

ए हजुरबा के हो ‘कु’ ? के हो ‘सु’ ? विश्वासै नभएपछि सवै ‘कुसु’ अर्थात कुहिरो सुशासन ।

त्यै त म भन्छु बाबु ! राजअनैतिकले राज गरेपछि अनैतिक राज हुनेभो । भ्रष्टाचारी, दुराचारी, अत्याचारी, व्यभिचारी सबैले एउटै सपथ खान मिल्छ र बाबु ? भ्रष्टाचारी पुरुष भए ‘म सुत्केरी खर्चसम्म खान्न’ भन्नुपर्छ । व्यभिचारीले ‘म तरुनीको नाममा पर्खाल धरी चढ्दिन’ भन्नुपर्छ । अब आयोग आफैँ वियोगमा परेकाले मन्त्रालयले पुनप्र्रयोग गर्नुपर्छ । ‘हण्डी पकड मन्त्रालय’ देखि ‘गोरुबेचे साइनो भर्ना सुयन्त्रण मन्त्रालय’ चाहियो । दुवै मन्त्रालय बलियो बने कुनै तन्त्रालय सन्त्रालय चाहिन्न । उपयोग भन्दा दुरूपयोग नहेरी सदुपयोग हुन्न । हिसाब हेर्छौ भने आन्दोलनमा अपाङ्गको योगदान, अपाङ्ग हुनेको बलिदान हेर । लुटेरा खानदान, फटाहालाई तानदान ! शोध गर्छौ भने प्रतिशोधमा शोध गर । जिसका लाठी उसका भैंस । प्रतिगामी हैन ‘भैँसीगामी’ नै नामी । व्यवस्थैपिच्छे प्रतिगामी भएपछि प्रतिगामीपिच्छे व्यवस्था हुने नै भो । राजनीति वाजनीति भएर काजनीति चल्छ ? जीउ अनुसार घिउ ! मै खाउँ नै जिउँ भन्दा ताल वेताल ! सबै सुइँकिनु पर्ने साश्वत सत्य जस्तै सँधै खान पाइन्न भन्दाभन्दै सँधै हसुर्नै हतार ! गाई र गधा, भाइ र भदा छुट्याउन कसको ‘भैँसी आङ’ शासन ! ‘कु’ राजनीतिमा भर नपर ! राजनीति अराजनीति हैन राजअनैतिक कुरा गर । बुद्धि भए यही राजअनैतिक विषयमा अध्ययन गर । सक्दैनौ भने डाडुमा पानी भर !

जाउलाखेल, ललितपुर