(प्रहसन)

एक दृश्य


स्थान : नयाँ सडकको माझ
समय : वैशाखको साँझ


(सडकको सेरोफेरो तडकभडकले पूर्ण छ । भद्र–भलाद्मीहरू भिन्नभिन्न साना–ठूला टोलीमा बाँडिई गफ गर्दैछन्, कोही बोल्दैछन्, कोही हाँस्दैछन्, कोही एउटा अखबार हातमा लिएर कहिले अक्षरतिर, कहिले सडकको लस्करतिर आँखा लगाउँदैछन् । बारेमजा, ठण्डा बरफ र अखबार बेच्ने केटाहरूको लेघ्रो स्वर सुनिन्छ, उनीहरूको स्वर नसकिंदै मोटरका हर्न बज्छन् ।)
प्रहरी– (चिच्याएर) पेटीपेटी लाग्नुहोस् पेटीपेटी !
(दुई तीनोटा मोटर पास हुन्छन्, फेरि सडकमा मान्छेको थुप्रो लाग्छ)
दुईटा केटा– (एकै स्वरमा चिच्याएर) मन्त्रीहरू फेरिने छाँट, ताजा खबर पढ्नुहोस् “ताजा खबर”... (पूर्व र पश्चिमबाट घण्टी लगाउँदै आएका दुई साइकलचढीको सडकमै जम्काभेट हुन्छ, दुईटैको फेशन अपटुडेट छ)
पहिलो– (साइकलबाट ओर्लंदै) हलो लम्बकर्णज्यू ? के छ ?
दोस्रो– (एउटा खुट्टो भुइँमा टेकाएर) के हुन्थ्यो चाहिन्जो, मन्त्री फेरिने छाँट छ, चंखुलालज्यू । (साइकलबाट पूरै ओर्लन्छ)
चंखुलाल– (हातले शान गर्दै) आफ्नो छाँट छ कि छैन नि ?
लम्बकर्ण– (विस्तार) मन्त्री त चाहिन्जो अहिल्यै होइन, बडाहाकिम हुने गाइँगुइँ त चाहिन्जो सुनेको छु । (रातो टाई हातले सुम्सुम्याउँदै) बडाहाकिम जाबोमा चाहिन्जो के जानु भनेर अडिरहेको छु ।
चंखुलाल– (टाईको टुप्पोले चश्मा पुछ्दै) मैले त तिमी पनि आगौंतिर मन्त्री नै हुन्छौ भन्ने हल्ला सुनेको छु ।
लम्बकर्ण– (कान ठाडा पारेर) हावा नलागी पात हल्लँदैन भन्छन् क्या हो, क्या हो †
चंखुलाल– जाबो पात हल्लाउन के को हावा लाग्नुपर्छ ? हामी जस्ताले फू फू गरी फुकिदिए पात मात्रै होइन, हाँगै हल्लिन्छ । बरू तिमीले भगवान् र भगवतीको कुरो सुन्यौ कि सुनेनौ ?
लम्बकर्ण– (जिज्ञासाको भावमा) कस्तो कुरो हँ ? आफूलाई त पत्तै छैन ।
चंखुलाल– (सिंह चुरोट झिकेर सल्काउँदै) आफूलाई कत्ति न ठूलो बुद्धिजीवी भन्थ्यौ त ? यति प्रख्यात कुरो तिमीलाई अहिलेसम्म पत्तो छैन । नाम छ लम्बकर्ण, मान्छे छौ लम्फूकर्ण (हाँसेर) कि अहिलेसम्म निद्रैमा छौ ए कुम्भकर्ण ?
लम्बकर्ण– (अलि झोक्किएर) बाह्र वर्षमा एउटा सुइँको पाएछ, चाहिन्जो बडो फूर्ति गर्छ, भन न भगवान् र भगवती के त ?
चंखुलाल– हत्तेरी, जम्बूमन्त्री हौला भनेको त जिम्बूमन्त्री हुने जस्ता पो छौ ए तिमी त † होल नेपाल फैलेको कुरो तिमीलाई अहिलेसम्म पत्तो छैन ? (एक छिन गमेर) ल ड्रिङ्क गर्न बारतिर लग्छौ भने सुनाइदिउँ बाबुले लाटागाँडा ठगी कमाएका गैंडा सकिएका होओइनन् त ?
लम्बकर्ण– (अक्क न बक्कको भावमा) कहाँ भूमिसुधार लागेर बिताइहाल्यो नि, पहिले पो सयकडा सयै ब्याज पाइन्थ्यो, नौ मुरी उब्जने खेतमा नौगेडा कसैलाई छोड्नु पर्दैनथ्यो, अब त गयो भाइ, (एक छिन गमेर) तैपनि भन न भोलि स्योर, म प्योर स्कच प्याउँला !
चंखुलाल– (कानैनेर मुख लगेर) बुझ्यौ, भगवान् र भगवतीको गज्जव लभ् परे छ ।
लम्बकर्ण– (जिल्ला परेर) हँ, भगवान् र भगवतीको लभ् ? कुरो त चाहिन्जो इम्पोट्र्याण्ट हो बा (एक छिन गम खाएर) म त सोच्दै थिएँ– भगवान् र भगवती लभ्मा मस्त नभइदिएको भए चाहिन्जो भियतनाममा लडाइँ नै हुन पाउँदैनथ्यो । (साउती गरेर) यस्तो गुप्ती कुरो तिमीले चाहिन्जो कसरी थाहा पायौ त ?
चंखुलाल– (रहस्यपूर्ण स्वरमा) कहाँ भन्छौ, दिनको नौ घण्टा नयाँसडक घुम्ने गरे जे पनि थाहा पाइन्छ । भगवान् र भगवतीको प्रेमको मामिलो मिलाउन स्वयं कर्णघण्टा भगवती नेपालमा प्रकट हुनुभएको छ ।
(परबाट दुई तीनोटा मोटर आउँछन्)
प्रहरी– (चिच्याउँदै) सडकमा न उभिदिनोस् हजूर, हजूरहरूको प्राण मात्रै जान्छ, मेरो त जागिरै जान्छ ।
(ग्रुपहरू खजमजिएर किनारा लाग्छन्, मोटरहरू हर्न बजाउँदै पास हुन्छन्)
लम्बकर्ण– (पेटीमा उभिएको अर्को मान्छेसँग) थाहा पाउनुभयो ? भगवान् र भगवतीको लभ् परेछ ।
(ग्रुप–ग्रुपमा गाइँगुइँ सुनिन्छ)
‘भगवान् र भगवतीको त लभ् परे छ नि”
“लभ् मात्रै ? विवाह हुने भइसकेछ †”
(मोटरको हर्न बज्छ, प्रहरी चिच्याउँछ)
(पटाक्षेप)

दृश्य दुई

स्थानः शोभावगवतीको पाटी
समयः बिहान

(पाटीभरी विभिन्न श्रेणी र पेशाका थुप्रै मान्छे खचाखच छन्, अघिल्तिर एक भव्य बालिष्टामाथि मृगचर्म ओच्छ्याइएको छ, एकजना भुँडे भलाद्भी आइपुग्छन्)
लम्बर्ण– (आदर भावसाथ) नमस्ते साहूजी ! नमस्ते ! साहूजी पनि पाल्नुभएछ त ?
साहू– (रोवदार स्वरमा) अँ, म पनि तपाइँको आइरहेको नि, भगवान् र भगवतीको सहायिका भगवती आएकी छन् रे ! बेला मौकामा तपाइँको केही फाइदा भइहाल्थ्यो कि ?
सु. भ्रष्टानन्द–(विनीत स्वरमा) किन हुँदैनथ्यो साहूजी, उहाँको दया भयो भने त सुनको गजुर लाग्न कत्ति बेर लाग्दैन । भूत, भविष्य तीनै काल उहाँलाई कण्ठ ! नेता रामज्यूलाई पन्ध्र दिनभित्र मन्त्री बन्ने भविष्यवाणी गरिदिनु भएको छ !
(नेपथ्यबाट घण्टा र डमरुको आवाज आउँछ, सबै सकपकाउँदै हत्त र पत्त उठ्छन्)
चंखुलाल– (लेघ्रो तानेर) बोलो भगवती कर्णघण्टा की
सबै– (संयुक्त स्वरले) जय !!!
(दुई कानतिरबाट दुई चुल्ठा खसालेकी, एउटा चुल्ठामा घण्टा र अर्कोमा डमरु झुण्डाएकी, टिन्न कसिएको चोलोमाथि एउटा रुद्राक्ष लगाएकी, ओठमा लाली र गालामा फा दलेकी भगवतीको गाजलु आँखा नचाउँदै प्रवेश)
कर्णघण्टा– (रोवदार स्वरले) कल्याण होस् † सबैको कल्याण होस् !!
सु. भ्रष्टानन्द– (विनीत स्वरमा) मेरो कल्याण भएन देवीज्यू, मलाई विशेष पुलिसले सस्पेण्डमा राखिदियो !
कर्णघण्टा– (आश्वासनको हात देखाउँदै) पख, त्यस पुलिसलाई म ठीक गरुँला (सबैतिर फर्केर) एउटा जरूरी कुराको लागि भगवान्ले सम्झनु भएको रहेछ र डाँडाको टुप्पामा गई ध्यानदृष्टिमा कुरा गरेर आएकी ! (आगन्तुकतिर हेर्छिन्, ऊ नमस्ते गर्छ)
साहूजी– (विनयपूर्वक) परमेश्वर र परमेश्वरीका प्रेमपत्रहरू पनि हजूरसित छन् भन्ने सुनेर आएको । एउटा सानो पत्र सुनाएर कान पवित्र पारिदिनु हुन्थ्यो कि ?
कर्णघण्टा– (एक पटक मुस्कुराएर) बच्चा हो, पत्र त कति छन् कति, तर के गर्नु भगवान्को पत्र मान्त्रिक भाषामा छ, भगवतीको तान्त्रिक भाषामा ! तिमीहरू यान्त्रिक युगका मान्छे कसरी बुझ्छौ र सुनाउँ ।
लम्बकर्ण– (अनुनयको स्वरमा) अनुवाद गरेर चाहिन्जो सुनाइदिनु हुन्थ्यो कि ?
साहूजी– (एउटा लम्बरी नोट अघिल्तिर राखेर) कृपा भए एउटा सानो त सुन्न पाइन्थ्यो कि ?
(भगवती चंखुलालतिर फर्केर मुस्कुराउँछिन्– चंखुलाल उनको पर्सबाट कागज झिकेर टक्र्याउँछ)
कर्णघण्टा– (अस्पष्टसँग किरमिर किरमिर केरेको एउटा पत्र देखाउँदै) बच्चा हो † भगवान्ले आज मात्रै भगवतीलाई पठाउनु भएको पत्र यै हो ।
नेताराम– (पत्रतिर निहालेर) अहा ! भगवान्को अक्षरै कति राम्रो ! (कर्णघण्टातिर फर्केर) राजनीतितिर पनि केही लेखेको छ कि ?
लभमोचन– लभ्लेटरमा पनि राजनीतिको कुरा हुन्छ काजी, जिन्दगीमा कहिल्यै लभ् गर्या भे’ पो, जवान छउञ्जेल पार्टीको पिउन भएर नेतीको बास्केट बोक्यौ ।
कर्णघण्टा– (हात हल्लाउँदै शान्ति बच्चा हो शान्ति ! लौ सुन भगवान्को पत्र पनि म सुनाइदिइहाल्छु ।
भगवती– (सबैतिर नजर घुमाउँदै पत्र पढ्छिन्)
    “हृदयेश्वरी भगवती !
हाम्रो प्रेम समुद्र जस्तै गहिरो र सगरमाथा जस्तै अग्लो छ । कलिजुग लागेकोले अब एकपटक भेट नगरी भएन । मैले सबै बेलिविस्तार बताई कर्णघण्टालाई नेपाल पठाएको छु, आउँदो शनिवार राति गौरीघाटमा तिमी आउनु है !
      तिम्रो भगवान्”
साहूजी– (हात जोडेर) लौ है भगवतीज्यू ! भगवान् र भगवतीको शुभविवाह हुने भए मण्डप बनाएर सेवा गर्ने ठेक्का त मै गरिबलाई सम्झनु पर्ला ।
नेताराम– (हात जोडेर) मेरो त देवीज्यू, व्यापार गरूँ भने क्यास छैन, जागिर खाउँ भने पास छैन, आफ्नो बुद्धिवर्गतले केही गरौंला भन्ने आश पनि छैन । मलाई चुनाव त जिताइदिनै पर्यो ।
सु. भ्रष्टानन्द–(हात जोडेर) देवीज्यू ! जो आएको रकम हजूरलाई चढाएर मात्र खाउँला, जागिर त थामिदिनै पर्यो ।
लभमोचन–(हात जोडेर) आफ्नो त लभकै मामिला सोझिएन प्रभू, साह्रै मापाकी केटी परी ।
लभकर्ण– (लेघ्रो तानेर) आफ्नो त चाहिन्जो उहाँकै भर छ ।
चंखुलाल– भगवती भएसम्म कसलाई के को डर छ ।
(दुई जना प्रहरीको प्रवेश)
प्रहरी– (कर्णघण्टाको अघि जाँदै) कर्णघण्टाज्यू ! तपाइँलाई वारेण्ट छ ।
(प्रहरीहरू गिरफ्तार गर्छन्)
चंखुलाल– (रातो कालो मुख लगाएर) भगवतीलाई के को वारेण्ट !
नेताराम– (कड्किएर) यो मौलिक अधिकारको हनन हो ।
कर्णघण्टा– (नडराएको अभिनय साथ) ममाथि अत्याचार हुन पाउँदैन, पर्सि भगवान् भगवतीको भेटघाटको बेला भेटौंला है !
(पटाक्षेप)

दृश्य तीन

स्थान : गौरीघाट
समय : मध्यरात


(कोही टुसुक्क बसेर, कोही उभिएर, कोही टहलिएर पाटी र सडकमा धेरै मान्छे पर्खिरहेछन्, छेउमा १/२ वटा मोटर र स्कूटर अडिएका छन्, यस्तैमा ट्वाङ ट्वाङ १२ बजेको सुनिन्छ)
लम्बकर्ण– (हाइय गरेर पट्टाएको आवाजमा) लौ १२ बजिसक्यो, चाहिन्जो देवताले अबेर त गर्नु नपर्ने ? घण्टाकर्णलाई पक्रेकोले कार्यक्रम सरे छ कि त ?
पत्रकार– भगवान् पनि नेपालमा आउने भनेपछि नेपाली टायम अनुसार आउलान्, त्यसैले मान्छेले एक घण्टा अबेर गरे देउताले दुई घण्टा गर्नुपर्छ । (यताउति टहलिएर) कर्णघण्टा त हिजै छुटिहालिन् नि, बरू उनीसँग केही कुरा सोध्नु थियो ।
लम्बकर्ण– (अलि झस्किएर) ए तपाइँ पत्रकार हुनुहुन्छ ? मेरो बारेमा केही कुरा थाहा पाउनु भएको होला भन्नोस् न, के छ ?
पत्रकार– (अलि हाँसेर) तपाइँको बारेमा मलाई के थाहा हुनु ? यहाँको शुभ नाम के रे ?
लम्बकर्ण– (अनौठो माने झैं) पत्रकार भएर मलाई नचिनेको कस्तो त ए † बडाहाकिम हुने हल्ला चलेको लम्बकर्ण मै त हुँ नि !
उम्मेदवार–(हतारिएको भावमा) ए लम्बकर्ण भनेको यहाँ नै हो ? मैले त गर्भैदेखि यहाँको नाम सुनेको (हात मोलेर) बरू बडाहाकिमज्यूले मलाई पनि एकातिर झुण्ड्याइदिनु हुन्थ्यो कि ?
नेता– झुण्डाई दिनैपर्ने हो भने नगिचैको वनमा यतिका रूख छन् । एउटामा झुण्ड्याइ दिउँला, होइन जागीर खाने हो भने पख्नोस् म चुनाव जितिहालूँ !
लम्बकर्ण– (फूर्तिको स्वरमा) तपाइँले चुनाव जित्नुहोस् न उनले जागीर पाउन्, (बुज्रुक भावमा) आफू त चुनाव सुनाव जानिन्न, भगवतीको पुकार गरिएको छ, उहाँ यति प्रशन्न हुनुहुन्छ कि हिजो ठानाबाट छुटेपछि आधारातमा मैकहाँ प्रकट हुनुभएछ । अनि भगवान् र भगवतीको भेटघाटमा आज त उहाँ साह्रै व्यस्त हुने, त्यसैले मद्दतको निम्ति मेरी उसलाई पनि आपूm सँगसँगै लैजानु भएको छ ।
पत्रकार– (हत्त न पत्त नोट गर्दै) यो पनि इमोट्र्याण्ट न्यूज हो ।
(भीडमा सनसनी आउँछ)
नेताराम– (आत्तिएर) भगवान् पाल्नुभयो क्यार ?
(फोटोग्राफर क्यामेरा सोझ्याएर अघि सर्छ)
प्रहरी– (कराएर) हूल नगर्नोस् हजूर हूल नगर्नोस् !
लभलोचन– (लेघ्रो तानेर) बोलो, भगवान् दिगम्बर लभेश्वरकी !
सबै– (संयुक्त स्वरमा) जय !!!
(चुइँ चुइँ कराएर दौड्दै एउटा बानर पास हुन्छ)
फोटोग्राफर– (निराश भएर) हत्तेरी, बानर पो रहेछ !
नेताराम– अँ, बानर पो रहेछ, (अलि बुज्रुक भावमा) तर यो बानर पनि भगवान्को सी.आई.डी. होला †
(भीडमा आए आएको आवाज सुनिन्छ, सबै सजग हुन्छन्)
लम्बकर्ण– (कुतुहलको भावमा) पहिले भगवती आइपुग्ने हुन् कि भगवान् ?
लभलोचन– भगवान् नै आइपुग्लान्, मिलनको धोको प्रेमिकालाई भन्दा प्रेमीलाई नै बढी हुन्छ ।
(पूर्वतिरबाट एउटा आए आएको तुमुलध्वनि उक्लँदै आउँछ, पश्चिमतिरबाट पनि त्यस्तै ध्वनि आउँछ)
जय भगवान् की !
जय भगवती की !
लम्बकर्ण– (हत्तारिएर) देख्नुभयो ? भगवान् र भगवती दुवैले हातमा कुचो लिएर पो आएछन् ।
फोटोग्राफर– (क्यामेरा सोझ्याएर) लभ गर्न लागेकी भगवती अपटुडेट भएर आउलिन् भनेको त थोत्रो पटासीमा पो झुल्किन् । अब फोटै नराम्रो हुने भयो ।
(बूढो च्यामे र बूढी च्यामिनीको बीचमा जम्काभेट हुन्छ)
च्यामे– (कामेको स्वरमा) के भयो ?
च्यामिनी– (उस्तै गरी) के भयो, के भयो ?
(भीडमा खैलामैला मच्चिन्छ, घण्टाघरले बिहानको चार हानेको सुनिन्छ)
नेताराम – (जिल्ल परेर हतास स्वरमा) भगवान् र भगवतीको भेट नभए पनि कर्णघण्टा त आउनुपर्ने ?
प्रहरी – (कराएर) तपाइँहरूकी परमेश्वरी कर्णघण्टालाई राति नै हामीले डाँडो कटाइदिइसक्यौं ।
लम्बकर्ण– (आत्तिएर) हो र ? त्यसो भए त चाहिन्जो मेरी धर्मपत्नी पनि....
(रूञ्चेश्वरमा कराएर) ए चंखुलाल ! तिमी कहाँ गयौ ?
प्रहरी– (कराएर) चंखुलाल उसैसँग जोइल गयो ।
पत्रकार– (खित्का छाडेर) हावादारी दुनियाँ भनेको यही हो, बुझ्नुभयो ? हावाको सानू बीउ लगेर नयाँसडकमा रोपिदिनु, कुराको फेद कहाँ हो कहाँ, हल्लाको हाँगाले मेची र महाकाली छुन्छ । आफूलाई त यही पनि समाचारै हुन्छ ।
(भीड तितरबितर हुन्छ, माथिबाट गोरखनाथको घण्टा बज्छ)

(रमझम— वर्ष–३, अङ्क–२, २०२४)