सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जय फेसबुक !

Nepal Telecom ad

हास्यव्यङ्ग्यकार गुरु मनोज गजुरेल फेसबुकलाई ‘बेवकुफबुक’ भन्नुहुन्छ । यसलाई तपाईं ‘सामाजिक सञ्जाल’ भन्नुहुन्छ । अरुहरूले यसलाई केटी पट्याउने वा केटो लठ्याउने प्रेमजाल भन्लान् । कोही कोही यसलाई विज्ञापन गर्न सकिने गतिलो थलो मान्लान् । कसैका लागि यो भातपानी विर्सिने ठाउँ बन्ला । कसैले यसलाई जुवातास, जाँडरक्सीकै नशाजस्तै ठान्लान् र मान्लान् । धेरैलाई यो ‘म्यारिज ब्यूरो’ होला । जसले जे नाम दिए पनि मैले चाहिँ फेसबुकलाई एउटा विशेष नाम दिएको छु । यो नाम चित्त नबुझे दावी–विरोध हाल्नु होला । तर मलाई तपाईंले दावी–विरोध हाल्नु होला भन्ने ‘सय मनमा एक मन’ पनि लागेको छैन ।

फेसबुकलाई मैले ‘सामाजिक जञ्जाल’ भन्ने गरेको छु । मैले यसलाई सामाजिक जञ्जाल भन्नुका पछाडिको कारण पनि काइदाको छ । भैँसी दुहुन गएको भैरव भण्डारीले पाडोले थुन नपगारुञ्जेललाई एउटा ‘स्टाटस’ लेख्न बस्यो । स्टाटस लेखेपछि उसलाई अरुले छोडेका स्टाटस र ‘नोट’ हेर्न हतार भो । केही नोट र फोटामा ‘कमेन्ट’ ग¥यो । तीन जना साथीलाई ‘ह्याप्पी बर्थडे’ लेखिभ्याउँदा पाडोले फाँचोभरीको दुध खाइभ्यायो । त्यसपछि श्रीमतीको सत्तोसराप मिसिएको गाली, कालो चिया र निस्तो भात खायो । अव आफैं भन्नुस्, यो ‘सामाजिक जञ्जाल’ हो रहेछ कि नाइँ ?

राती अबेरसम्म, दिउँसो जागिर खानेले कार्यालयमा, बेरोजगारीले घरैमा, ससुरालीमा, माइतमा, यात्रामा, गोठालोमा, गाडीमा, आँगनमा, पिँडीमा, मझेरीमा, पँधेरीमा, खेतमा, सिँडीमा जहाँ पनि फेसबुक चलाउनेको कमी छैन । विहान आँखा मिच्दै, राती नसुती, दिउँसो उङ्दै फेसबुक चलाउँदै गरेको देखिन्छ । फेसबुक चलाउँन नपाउँदा ज्यानै दिने लिनेहरू पनि देखिएका छन् । कम्प्युटरमा झुत्तिनेहरूको सङ्ख्यामा असङ्ख्य बृद्धि भएकाले फेसबुकले धेरैको बुद्धिमा बिर्को लाएको छ । झन् मोवाइलमा पनि दनन चल्दिनाले ओछ्यानमै दिमाख फनन घुम्छ र निद्रादेवीको ध्यान भङ्ग गरेको छ ।

उपन्यासकारले आधा उपन्यास यही फेसबुकले गर्दा पूरा गर्न सकेको छैन । महाकविले महाकाब्य, खण्डकविले खण्डकाव्य, आदिकविले आधा काव्यलाई अघि बढाउन सकेको छैन । कथाकारले कथाको सार नै बिर्सियो । कविले धेरै कविताहरूलाई फेसबुकमा साथी बनाएर असली कविता लेख्नै सकेन । निबन्धकार फेसबुककै परिबन्धमा परेको छ । गीतकारले गीतिचेत हरायो । गजलकार फजलकार भएर विलय हुँदैछ । नियात्राकार त झन् फेसबुक वाहेक अन्त यात्रा गर्नै छाड्यो । यसरी हेर्दा गँजेडीलाई गाँजाले गाँजेजस्तै फेसबुकले मान्छेको दिमाख र दिललाई अँठ्याको छ । हामीलाई फेसबुक लोग्ने–स्वास्नीभन्दा प्यारो भएको छ र नै लोग्नेले–स्वास्नीले फेसबुक चलाउँदै गर्दा एकअर्कालाई बोलाउँदा बोल्न गाह्रो भएको छ । यसैका कारण धेरैको घर बिग्रेको र सम्पत्ति निख्रेको छ ।

हेर्दाहेर्दै यो फेसबुक चोर, डाका, फटाहा, जाली, धुर्त, ढाँट, अत्याचारी, ब्यभिचारी र भिखारीको बैठक अड्डाजस्तो भएको छ । चोर र डाकाहरूले इनबक्समा म्यासेज गरेर कहाँ, कसरी, कैले चोरी गर्ने योजना यही फेसबुकमार्फत् बनाउँदा हुन् । डाकाहरूले मात्र होइन, डाकाका काकाहरूले पनि डकैतीको योजना र खजानाका बारेमा यही फेसबुकमा छलफल गर्दा हुन् । फटाहा, जाली, धुर्त र ढाँटहरूले यही फेसबुकमा फटाईं, जालझेल, धुर्त्याइँ र ढाँट्ने कर्म गर्दा हुन् । अत्याचारी र व्यभिचारीहरूले सदाचार र व्यावहार शुद्धिको ज्ञान यही फेसबुकमा बाँड्दा हुन् । भिखारीहरूले पनि भिख माग्ने गतिलो थलो यही फेसबुकलाई बनाउँदा हुन् । नोट बाँडेर भोट माग्नेहरूले पनि यही फेसबुकलाई सारथी बनाएका होलान् ।

एउटा ब्यापारी चाउचाउको विज्ञापन यही फेसबुकमा गर्दो छ । एउटी कथाले मागे नमागे अनुसारको शरीर देखाउने मोडल यही फेसबुकमा हेर्न नहुने गरी जिउ देखाउँछे । तीन जना छोराछोरीकी आमा र छ जना छोराछोरीको बाउ यही फेसबुकमा कुमार–कुमारी भएको जिकिर गर्छन् । एउटा अकवि दशजना कविका सयवटा कविताबाट एक एक लाइन कपि गरी पूर्ण कविता बनाउँछ र यही फेसबुकमा महान कवि कहलाउँछ । उसको कविता पढ्नेले लेखिदिन्छ— ‘महाकविपछिको कवि तपाईं नै हो ।’

वादविवाद गर्ने अखडा भएर लोग्ने स्वास्नीको झगडासम्म यही फेसबुकले गराउँछ । तरुनी तन्नेरीहरूले यही फेसबुकलाई स्कुल, कलेज मान्दिन्छन् । धेरैले पढाइ हापेर फेसबुक अपनाएका छन् । खसी मरेकोदेखि तारा झरेकोसम्म, बच्चा जन्मेकोदेखि छोरी अन्मेकोसम्म, विदेशिएकोदेखि रक्सी पिएकोसम्म, भात हानेकोदेखि लात हानेको सम्मका स्टाटस र फोटाले फेसबुकको पर्खाल पोतिदिन्छन् मनुवाहरू । हाकिमले हप्कायो भने यही फेसबुकले दुःख पाउँछ । प्रेमीले सतायो भने यही फेसबुकको अनुहार कालो हुन्छ । रिङटा चल्दा र तालुमा आलु फल्दा पनि यही फेसबुकमा लेखिदिन्छ मान्छेले । एकजना अमेरिकीले यो फेसबूक बनाएर संसारकै दिमाखलाई कैद गरेर राखे वा ! अमेरिकीहरूको दिमाखलाई मान्नै पर्छ गाँठे । खप्पर उस्तै भए पनि तिनको दिमाख अलि उच्च कोटीको हो कि क्या हो ? एउटा दिमाखले अरबौँ दिमाखलाई नियन्त्रणमा लिनु र भएको अलिकति बुद्धिमा पनि बिर्को लाइदिनु सानो कुरो होइन । आऊ कैद गर मेरो दिमाखलाई पनि मार्क जुकरबर्ग ! जय मार्क, जय फेसबुक !!

हाल, दोहा कतार

Fitkauli Publication Books comming soon
Nepal Telecom ad