दैव संयोगले सिन्धुपाल्चोक जिल्लाको भीषण पहिरो र भारतका बलबाहु प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको लगभग एकसाथ आगमन भएको थियो । दुईदिने तुफानी नेपाल भ्रमण सक्याएर उनी भारत फर्किसकेका छन् । पहाडी पहिरोको भीषणता भने यथावतै रहेको छ । यो हाम्रो आफ्नै समस्या हो । हामीसँग केही राष्ट्रिय समस्या रहेका छन् । जस्तो पहिरो, बाढी, सुख्खा, भ्रष्टाचार, कालाबजारी, लोडसेडिङ, नबनाइएको संविधान इत्यादि । यसको समुचित समाधान हामीले नै खोज्नुपर्छ । सदैव विदेशीहरूका मुख ताक्नु उचित होइन ।

भारतीय प्रधानमन्त्री मोदीको औपचारिक नेपाल भ्रमण समाप्त भए पनि उनको प्रतीकको राजनीति भने यहाँ अद्यापि चालु नै रहेको छ । उनी यस्तो राजनीति गर्न खग्गु मानिन्छन् । भारतको आमचुनावताका “चायवाला छोकरा मोदी” को प्रतीकात्मक प्रचार हिट सावित भएको थियो । यस्ता थुप्रै प्रतीकका सहारा लिएर उनले चुनावमा विजय हासिल गरेका थिए । नेपाल भ्रमणमा रचिएको “नेपाली ठिटो जितबहादुरको धर्मपिता” को रूपक गजबको थियो । यो ताजा प्रतीक राजनीतिको नेपाल र भारत, दुवै साइडमा बेस्सरी वाहवाही भइरहेको छ । मलाई पनि यो जितबहादुरको धर्मपिता भएर गरिएको चतुर प्रतीकात्मक कामकारबाही नरमाइलो लागेको छैन । तर सवाल एक गरिब नेपाली धर्मपुत्र जितबहादुर सारु मगरको नभएर नेपाली राजनीतिमा विद्यमान अनेकन राजनीतिक रूपले नै अति गरिब जितबहादुरहरूका होइन र ?

नेपालको राजनीतिमा मात्र होइन, साहित्य, व्यापार, कला, प्रशासन, धर्म, पत्रकारिता, न्याय, उद्योग, संस्कृति, सिनेमा, खेलकुद, शिक्षा आदि क्षेत्रमा पनि धर्मपिता अर्थात् धर्मको रेडिमेड बाउ राख्ने चलन प्रशस्त चलेको छ । अझ सक्नेले त एकभन्दा बढ्ता धर्मबाउ सहज प्रकारले राख्ने गरेका छन् । यस्ता धर्मपुत्रहरू धर्मबाउका अधर्मपुत्र जस्ता पनि लाग्न सक्छन् । तर कुरो पटक्कै यस्तो होइन । यिनीहरू खाँटी टाइपका धर्मपुत्र नै हुन् । अँ, कुनै–कुनै धर्मपुत्रका धर्मबाउ चाहिँ अधर्मबाउ पनि हुने गर्छन् । हामीकहाँ अधर्मबाउहरूका कुनै अभाव छैन । अझ तुलनात्मक हिसाबले अधर्मपुत्रहरू भन्दा अधर्मबाउहरू नै बेसी हुनसक्छन् । तर छाड्नोस्, यो धर्म र अधर्मको अनावश्यक गनथन ! अब म साहित्यतिरको व्यक्ति भएकोले एक प्रतिनिधि साहित्यिक धर्मपुत्रको उदाहरण प्रस्तुत गर्छु । सबै धर्मपुत्र र धर्मबाउहरूको उल्लेख सम्भव पनि छैन ।

एक अतिशय चल्तापुर्जा कविज्यू (नाम लिनमा जोखिम तत्त्व भएकोले म चुप) ले साहित्यमा एक घाघडान व्यक्तित्व मानिने असाहित्यिक एकेडेमीसियनलाई सगर्व आफ्नो धर्मबाउ घोषणा गरेका छन् । तर ध्यान दिनुपर्ने कुरो के छ भने मिडिया (इलेक्ट्रोनिक सहित) को फाँटमा पनि उनको अलरेडी एक धर्मबाउ रहेको छ । यस्तै सत्ताधारी पार्टीको मुख्यालयको मुख्य पदमा रहेका एक ठूलै नेतालाई पनि कविज्यूले विधिपूर्वक आफ्नो धर्मबाउ बनाएका छन् । सायद यतिले पनि अपुग भएकोले एक व्यापारी अर्गनाइजेसनको प्रधान प्रोपाइटरलाई पनि हालै धुमधामले धर्मबाउ रोजेका छन् । यसरी कुल मिलाएर कविज्यूको चारचार धर्मबाउ हुनगएको छ । अतएव धर्मपुत्र एक धर्मबाउहरू अनेकको रमाइलो दृश्य उपस्थित हुनगएको छ । याने चार थान धर्मबाउहरू । यी त खुला धर्मबाउहरू हुन् । कविज्यूका त गोप्य धर्मबाउहरू पनि रहेका छन् भन्ने सुनिन्छ । उनले सबैजसो ठूला पुरस्कार गुठीमा एक एकवटा धर्मबाउ बनाएका छन् रे ! यसकारण कविज्यूका तमाम धर्मबाउहरूका गणना गर्नु सहज छैन । (ओरिजनल बाउलाई चाहिँ नमिलाइएको) यतिका धर्मबाउ भएकाले कविज्यू कविता कम र धर्मपुत्रत्वको निर्वाह गर्नमा बढी व्यस्त रहने गर्छन् । यसको स्वाभाविक परिणामस्वरुप उनलाई फाइदै भएको छ । तर यसको तुलनामा नेपाली साहित्यलाई नै बेसी लाभ भएको छ भन्नेहरू कम्ता छैनन् ।

जहाँसम्म प्रतिनिधिमूलक धर्मबाउको कुरो छ, यिनीहरू भाँतभाँतका हुने गर्छन् । उदाहरणका लागि तस्करहरूका धर्मबाउ पुलिस डिपार्टमेन्टका हाकिम हुन्छन् । यसरी दुई नम्बरी कारोबार गर्ने साहुका उच्च सरकारी कुर्सीलाई नै आफ्नो साक्षात धर्मबाउ स्वीकार गर्छन् । तुमी हो माता तुमी पिता... । र ठग, डाँका, पकेटमार, हत्यारा, बलात्कारीहरूका खास धर्मबाउ अरुतिर नभएर न्याय विभागमा हुने गर्छ । अन्ततः यिनीहरूलाई पनि न्यायको अवसर चाहिएन ? संक्षेपमा भन्ने हो भने कुनै पनि कमजोर व्यक्तिले पहलमान टाइपलाई धर्मबाउ बनाउने प्रयास गर्छ । यस्तै कमजोर नेताहरूका पेटेन्ट धर्मबाउ बडेनेता हुन्छन् । जस्तो भर्खरै नेपाल भ्रमणमा आएर फिरिसकेका ठूलो देश भारतका बलशाली प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी । उनले आफ्नो प्रतीक राजनीतिको अत्यन्त नाटकीय प्रदर्शन गरी एक नेपाली केटो जितबहादुरलाई धर्मपुत्र बनाएका छन् । यसलाई अर्को शब्दमा भन्ने हो भने उनी सफलतापूर्वक धर्मबाउ भएका छन् । तर मैले अघि नै उल्लेख गरिसकेँ यहाँ एक जितबहादुरको नभएर अनेकन जितबहादुरहरूको कुरो भइरहेको छ । यी जितबहादुरहरू निविर्वाद धर्मपुत्र हुन् । राजनीतिक धर्मपुत्रहरू । अब धर्मपिता एवं धर्मपुत्रको यो अशंकास्पद रूपले मौजुद मामलामा यी नेपालका राजनीतिक जितबहादुरहरू साँच्चिकै जितबहादुर नै हुनेछन् या हारबहादुर, यो हेर्न बाँकी नै छ ।

इ–कान्तिपुर डटकम