तेरोभन्दा मेरो जुँगा हेर कति लामु
तेरो लामो हुनखोज्यो अगुल्टाले डामु
ए–कताको डङ्क पिटी हनुमान जुटाउँ
भैगो कमरेड् आफ्नो पार्टी हामी आफैं फुटाउँ ।

यस्को घिच्रो लामो किन यस्को भने छोटो
यस्को पेट दाप्सिलो भो उस्को पेट माटो
इज्जत् खोलाखोल गरी बाँकी सबै लुटाउँ
भैगो कमरेड् आफ्नो पार्टी हामी आफैं फुटाउँ ।

तेरोभन्दा मेरो धेरै हैन ? खुइलो तालु
कस्ले के पो नाप्या छ र मै हुँ ठूलो ठालु
तँ तँ म म तेरो मेरो साइनो नाता टुटाउँ
भैगो कमरेड् आफ्नो पार्टी हामी आफैं फुटाउँ ।

कुनै बेला गाउँबस्तीमा खाइहिंड्थे गिठ्ठा
मै मात्र हुँ माक्र्सवादको पोथा पढ्ने डिठ्ठा
म सक्कली तँ नक्कली सिर्फ चुड्की चुटाउँ
भैगो कमरेड् आफ्नो पार्टी हामी आफैं फुटाउँ ।

मलाई भन्दा तँलाई धेरै कमिशन मीठो
लौ भन त त्यो पजेरो कस्को कुद्छ छिटो
महल पनि कस्को ठूलो ? अर्को खम्बा उठाउँ
भैगो कमरेड् आफ्नो पार्टी हामी आफैं फुटाउँ ।

हैन बाबा ठाकुरे हो ¹ कस्ता लाटाबुङ्गा
उस्ले उस्लाई दनक दियो उचारेर ढुङ्गा
मोबिल र मोसो घस्तै उस्ले उस्लाई कुटाउँ
भैगो कमरेड् आफ्नो टाउको हामी आफैं फुटाउँ ।

मेरोभन्दा तेरो धेरै तन्किएको चोसो
तेरोभन्दा मेरो धेरै टल्किएको मोसो
क्रान्ति यै हो आपसमा आफ्नो खून बगाउँ
भैगो कमरेड् आफ्नो ज्यान अब आफैं जोगाउँ ।

कलङ्की, काठमाडौं