यो जो सुकै, जो कसैलाई पनि नौलो विषयवस्तु होइन । नौलो अनुभव, नयाँ स्वाद, नयाँ भोगाई, अन्य सबै नयाँ केही पनि होइन भन्दा हो भन्ने जाँगर ननिकाले हुन्छ । सियो भएर छिर्ने, हात्ति भएर निस्कने, दियो भएर सल्कने, डढेलो भएर सल्काउने, वचनमा अमृत ओकल्ने, सबैलाई विष खुवाउने, सबैथोक गर्ने गराउनेलाई मात्र निहुरी ‘न’ माने नेताहरू भन्दा पञ्चैबाजा घन्काएर स्वागत गरे हुन्छ । आफूलाई पर्दा निहुरी ‘न’ भएर बुद्धि, विवेक, टाउको सबै निहुरीमुण्टी लगाउँछन् र अरूलाई गर्नुप¥यो भने, अरुको लागि केही उद्दार गर्नुपर्ने आवस्था श्रृजना भयो भने आकासे ‘अ’ भएर उकालो बाटो पछाडि नफर्किकन सुइँकुच्चा ठोक्छन् । हामीहरूले कपुरी ‘क’ सिक्दा पनि नेताहरू ‘न’ र ‘अ’ दुवै अवस्थामा पार हुन खप्पिस नै थिए, हाम्रै कुरा छाडेर बाजे, बराजुको पालामा पनि नेताहरू अहिलेका नेता जस्तै–जस्तै नै थिए अरे । हामीहरूले प्रत्यक्ष अनुभव गर्न नपाए पनि अप्रत्यक्ष रूपमा कोरिएका इतिहासका पानाको प्रसारणबाट ज्ञात हुन आउँछ । “ताक परे तिवारी नत्र गोतामे, सबै मिले दरबारमे, नत्र कोठामे, चुनाव हुँदा पोस्टरमे, नत्र फोटामे” हुने नेताहरूलाई नचिन्ने, नदेख्ने, नहेर्ने त भए नेताहरू नै हुन्, अरु त को नै पो होलान् र ?
ने...तँ...ता...आ... शब्दै ऐँजेरू जस्तो । काम पनि त्यस्तै हुने भएर हो कि कुन्नि । बुद्धिविवेक मरू, सबै नेताहरू । तपाइँहरूलाई अनुभव भएकै होला, ज्ञातभएकै होला बोलीमा बनाउने, शब्दमा बनाउने, भाषणमा बनाउने, भनेता पनि गर्ने बेलामा आफ्नो आशन बलियो र मोटो बनाउने भन्दा अरु सबै बिगार्ने घर बिगार्ने, गाउँ बिगार्ने, समय बिगार्ने, जिल्ला बिगार्ने, अञ्चल बिगार्ने, क्षेत्र बिगार्ने, राष्ट्र बिगार्नेदेखि विश्वलाई नै तहसनहस बनाएर बिगार्न सक्ने नेता जस्तो बलवान् र शक्तिमान अरू कोही होला र ? मनमा साँचेर, औँला भाँचेरै खोजे पनि ठ्याम्मै उस्तै त कोही पनि पाउनुहुन्न । कहिले पूँजीवाद कहिले सामन्तवाद, कहिले जनवाद, कहिले साम्यवाद भन्दै सडक टोपल्ने, भाषण ओकल्ने कामबाहेक भएको र गरेको भनेको नेतावाद नै हो । बाह्रैमास नेतावादको उद्दारमा नै चुर्लुम्म डुबेर, आफ्नै भुँडी भकुर्नेहरूले यति धेरै वादहरूमा किन विवाद गरेका होलान् कुन्नि ? अचम्म छ वा “काम सबै नेतावाद, ल्याउने भन्छन् साम्यवाद” ।
बाहिरका कुरा छाडेर घरभित्रकै कुरा गर्ने हो भने पनि, हाम्रै साख्खै नेताहरू अहिले वादसाद छाडेर तन्त्रमन्त्रतिर सल्किएका छन्, यतैतिर पल्किएका छन्, यतैतिर हल्किएका छन् । नत्र भने पहिले निरङ्कुशतन्त्रका मन्त्र जप्तै प्रजातन्त्र ल्याउन आन्दोलन गरे । प्रजातन्त्र पनि ल्याए । प्रजातन्त्र ल्याए पनि प्रजातन्त्र फस्टेन, नेतातन्त्र नै मौलायौ । नेतातन्त्रको नै विकास द्रूतगतिमा भयो । “के पाउन् कठै प्रजाहरू ल्यायौँ भन्छन् प्रजातन्त्र, त नेताका झुपडी महल भए फस्टायो केवल नेतातन्त्र” । जनता लडेको लड्यै छन्, जनता मरेको म¥यै छन् । विचरा नेताहरू जनताको रगतले, कार्यकर्ताको रगतले आफ्नो भुँडी भरेका भ¥यै छन् । भाषणमा विकास छेरेका छे¥यै छन् । के गरून् विचरा बृद्धबच्चाहरू नेतातन्त्रलाई प्रजातन्त्रले पनि पेट भराउन सकेन । फेरि भाषणमा वाक्न थाले । यहाँ प्रजातन्त्र होइन, पूर्ण प्रजातन्त्र चाहिन्छ, लोकतन्त्र चाहिन्छ । बुद्धु जनता ओर्ले सडकमा, पौडे रगतमा, नेताका सेवकले गोली ठोके, पुगे एमलोकमा । विचरा जनतालाई, ज्यानको बलिदान दिनेहरूलाई कसले कठै भनोस्, कसले विचरा भनोस् । जीत जनताको होइन, नेताको ने भयो, साँच्चै लोकतन्त्र त आयो । लोकतन्त्र आएपछि निहुरिन जान्नेहरू एकै पटक आकासे पुल हुनथाले । लोकतन्त्र मात्र होइन ‘ग’ तन्त्र देखि ‘ण’तन्त्र नै चाहिन्छ पनि भन्नथाले । उनीहरूलाई भने भयो, आन्दोलन गर्न त उनीहरूकै नजरमा भुसुना छँदैछन् । नेताहरूलाई भुसुनाको के को अस्तित्व हराओस् कि मिचिओस्, किचिओस्, आफूआफूहरू त म्युजिकल चियर रेस खेल्नथाले, आ–आफूमै कुर्ची तानातान, मुड्की हानाहान, लुकिछिपी होइन हजुर सबै जानाजान ।
तपाईंंहरूलाई थाहा नै छ निहुरमुण्टी ‘न’ बाट नो बन्छ । नो भनेको हैन, छैन भन्ने हुन्छ, यो भनेको नेताहरूले भाषणमा मात्र ओ.के. को ओ. भन्छन् तर काम र व्यवहारमा भने सबै नो नै हो । नेता नो निदर नर यी सबै निउरी ‘न’ का प्रयायवाची हुन् । अब त हामी पनि कार्यकर्ता नै भए पनि उनान्सय पोइन्ट उनान्सय प्रतिशत त बुझियो नि नेताको बानी, बाग्मतीको पानी, नेताको बानी, व्यवहारमा सब नानी, नेताको बानी सबको टाउको खानी आदि–आदि । हामीले जानेकै हो, हामीले भनेको नै हो । जानेर के गर्नु ? भनेर के गर्नु । बगेको पानी र न को बानी सेम माने उस्तै हो । बगेको पानी बाँध ठूलै बाँध पनि तलतिर नै बग्छ, त्यस्तै ‘न’ को बानी पनि एकोहोरो आफ्नै सबै थोक भर्ने बाटोमा एकोहोरो अनवरत अगाडि बढिरहन्छ, प्रगतिमा नै सडिरहन्छ, स्टेट बाटो पनि मोडिरहन्छ । भाषणमा लागेको लत, आसनमा लागेको लत, लागेपछि ज्यान गए पनि को पो छोड्न सक्छन् र ?
अब हामी एकपटक फेरि शीर्षकतिरै शैर गर्न सक्छौँ । ‘न’ माने नेता पनि हो । ‘न’ बाटै नर्क, नरक, नराम्रो, नहुनी, नपुग्नी... सबै अशुभ लक्षणका शब्दहरू थुप्रिन्छन् भने यस्ताको काम, यस्ताको व्यवहार यस्ताको परिपाटी... आदि कस्तो–कस्तो हुन्छ कुन्नि मलाई पनि अहिलेसम्म चाहेर पनि छर्लङग भएको छैन । यदि तपाईंहरूलाई पनि मलाई जस्तै भएको छ भने एकपटक सबै मिलौँ र निहुरी ‘न’ लाई आकासे ‘अ’ बनाउन मेडिकल सर्जर गर्ने दिन फिक्स गरौँ हुन्न र !
वालिङ, स्याङ्जा
(फित्कौली– अङ्क १३ मा प्रकाशित)