सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

केरा दर्शन

Nepal Telecom ad

कर्म कुकर्म जे गरे पनि फल पाइन्छ ! तर फल पनि हेर्नाका छन् । त्यसैले त लाटाले केरा हेरेको ! फलको आस नगरी काम गरे पाइन्छ– अझै ठूलै फल ! बल नगरी फल खस्नेदेखि जति बल गरे पनि झर्दै नझर्ने विचार गर्दा फलले मान्छेलाई कुर्सीले राजनीतिलाई जस्तै लोभ्याएकै हुन्छ । त्यसैले त आस्थाका बन्दी राजनीतिका कैदी नेताका पछाडि यसरी दगुर्छन् त्यसरी साँढेको पछाडि स्याल के दगुर्लान् ! तर पशुपतिको बसाहाले छेकेझैँ के दर्शन पाउँथे । अनि लाटाले केरा हेरेझैँ नहेरे के हेर्नु ?

लुतेलुते खाले जनता चाहिँ राजनीतिका लाटा कार्यकर्ताझँै आलुमुला भए । लुतेखाले यता न उता पारिभित्ता भए । त्यसैले त ढोका नढुकेर भूमिगत भए । साँचै भन्ने हो भने आलु खाए । नेता मुला चाहिँ ठूला भए । आलुमुला मिले पार्छ मुला आलु के काम ! जति मलजलमा बल गरे पनि फल खुम्रे किराले खलास ! टुसाल छ भने पनि चैते झुसिलकिरा लागेर हाइचेट ! नत्र त सात सालमा शिशु भएको सन् सातमा पनि शिशुका शिशु नै किन हुन्थ्यो ? भाँडाबर्तन एउटै भएपछि परिवर्तन उही आलुप्याज ! प्याजआलु !

समय पुगेपछि स्याउ पनि झर्दो रै छ । तर स्याउ फल्न पाएको हुन्न गुरुत्वाकर्षणको विरुद्ध बोटमै गायब ! अर्थात् प्रजातन्त्र ठोकतन्त्र हुँदै भित्रेको लोकतन्त्रमा पनि स्याउ बोकतन्त्र आएपछि स्याउ र झ्याउमा जनताले खाने उही आलु ! ठूलो हुने उही मुला ! त्यसैले त जति आए नेता आलुको आलु, मुलाको मुला ! मुतको न्यानोमा मख्ख पर्छन् मुलाहरू ! आलु त झन् भेट्यो कि फुलेल । आलु मुला को स्याना को ठूला !
नेताको घिरांैँला जत्रो नाक भएपछि मान्छे फर्सी हुन के बेर ! कुर्सीमा अटाइ नअटाई चटाइमा बसेको फर्सी सभापतिसँग तर्सी टाउको तातेर चिचिण्डो बनेको पत्तो हुन्न ! यसैले त म भन्छु तरकारी राजनीति !
तरकारीको सभा बस्यो
फर्सी सभापति
खोर्सानीले भाषण गरे
पीरो भयो अति !

जिरे खोर्सानी जस्ता जिरेगान्टा समय परिस्थितिले बीउको आलु चाउरेझैँ जीउ चाउरेर मरिच भएपछि के लाग्छ ? स्याउ जस्ता गाला झ्याउ जस्ता रौँले ढाकेपछि राजनीति कहिले आलु कहिले मुला !
राजनीति आलुमुला हो कि मुला आलु हो । राजनीतिकै मान्छेले आँखा छैन भने पनि छामेर निचरेर, धोएर छोएर हेर्नोस् ! अनि पत्ता लाग्छ राजनीति तरकारी हो कि तरकारी राजनीति !

तरकारी राजनीति !

राजनीति उम्रियो राजनीति फुल्यो
राजनीति झङ्गियो राजनीति ढल्यो
गोलभेँडा भयो राजनीति भ्रष्टाचारले गल्यो
हिजो पुर्पुरो बल्यो आज पखाला चल्यो ।

क्या परिवर्तन भो चिचिलो पनि कुभिण्डिएर
उम्रिए घुम्रिए, लर्किए, भुण्डिए, भकुण्डिए
टुसो थियो नाक घिरौंला भो राजनीति
पाक्दै झर्ने झर्दै पाक्ने बस्यो बेथिति ।

कतै चुच्चे झुसे भई झुल्यो राजनीति
भित्र तीते तीतो खोई के फल्यो राजनीति ?
काँक्रो, फर्सी जस्तै झुण्डियो राजनीति
आलु, मुला जस्तै भूमिगत भो राजनीति ।

राजनीति मुला हो कि नेता डल्लो आलु
चिप्लो चिप्लो सुन्दरी रामतोरियाँ चालु
खतरनाक छ राजनीति आलु नै आलु
एउटा आलु कुहियो कि राजनीति नै भालु ।

कतै खोर्सानी भई भाषण पिरै चर्को
कतै छोडाउने त कतै तास्ने झर्को
केरा हो कि राजनीति वा पिँडालु नै हो
कस्तो हो राजनीति मुला आलु कि आलु मुला नै हो ।

यस्ता आलु मुलाको कुरा सुन्ने हो भने आलु खाइन्छ मुला ! दाल भात तरकारी अरु सवै सरकारी । यस्तै छन् आज भोलिका कुरा ! अर्थात कुराको उल्टो राकुका कुरा ! सरकारी कुरा गर्नुभन्दा तरकारीको कुरा गर्नु जाति ! आलुमुला खाँदाखाँदा वाक्क लागेर कुन सज्जनले तरकारी फेर्न नपाएको झोँकमा केरा हेर्न पुगेछ ।

जमीनमुनिको तरकारी त यो बिघ्न मीठो हुन्छ भने हावामा हल्लने केराको स्वाद कस्तो होला ! हो न हो फल खाने कुरालाई बल गरेर तरकारी बनाएछ ! तपाइँले आलुमुला खाइसक्नु भयो । अब केराको तरकारी खानुस् । चपाएर, चुसेर निलेर लिनुस् परिवर्तित नयाँ स्वाद !

केराको तरकारी ! छ्या ! काँचो केरा सम्झंदै हर्रोबर्रोझैँ टर्रो भन्नु होला । महिलाले पाए ट्याप टिपेर काँचो केरा काम छैन भन्दै फाल्न अथवा तातो तावामा हाल्न बेर हुन्न ! पाकेको पाए त बूढीहरू समेत गिजाले टोक्ने रहर गर्छन् ।

केराको पकवान् पकाउँदा पाकविज्ञका अनुसार केरा पहिला धोई पखाली पानीमा चुर्लुम्म हाली डुबाएर उमाल्ने भन्नु होला । एकैपल्ट घिउ हाले हुन्न । नुन फाल्ने चिनी हाल्ने ग¥यो भने गुलियो हुन्छ । खोर्सानी त छुवाउनै हुन्न । बरु चाउरे मरिच अलिअलि छुवाए हुन्छ । उम्लिन नपाउँदै पाक्छ । जहाँ पाक्यो त्यहाँ चाख्यो । केराको तरकारी पकाउन नजान्ने कोही हुन्न । काँचो पकाउन हुने, पाकेको पक्याउन हुने ! यसैले त यस्तो फलको महिमा अपरम्पार छ ! के चीज होला यस्तो भनेरै लाटाहरू तीन छक्क परेर हेर्छन् !

यही छक्क परेर पक्क पर्दै हेर्ने हुनाले लाटाले केरा हेरेझैँ के हेरेको भनेको होला ! हो मान्छेहरू लाटाले केरा हरेझैँ के हेरेको भन्छन् नहेरून् पनि किन ? रुपै केरा रङ्गै केरा ! पात हेर्यो पंक्षीका पाखुरा वा हवाइजहाजका पखेटा जस्ता गाथ हेर्यो पट्ठीका पुट्ठा जस्ता । कमलको कोपिलाझैँ घोप्टे कलेजी बुङ्गो । तिघ्रा जस्तो थाममा मकैका घोगा जस्ता कोसाको काँगिंयो निकाल्ने बुङ्गोको नाममा सद्धे मान्छेलाई पनि लाटोबुङ्गो भन्छन् । यही बुङ्गोसँग गाँसिएर होला लाटाले केरा हेरेको । केराको कोसो बाहिर, बोक्रो भित्र बोसो ! देखिँदा सानो ज्यान हेर्दाहेर्दैै बडेमान । अनि केराको शान नहेरे के हेरुन् । पहिला टर्रो पछि गुलियो झर्रो ! पहिला हरियो पछि पहेंलपुर ! केरा वास्तवमै अनौठो भएर केरा केरा भएको हो । अनि सद्धे मान्छेसमेत लाटाले केरा हेरेझैं नहेरे के हेरून् ?
केरा कमालको माल भएरै भन्छन् मालभोग । केराको भोग लगाउँदा भोक हराउँछ । केराको कम महत्व छैन । हेर्नोस् तरुप ! तैं चुप मै चुप ! केरा दर्शन कमाल छ । त्यसैले मालभोगको भोगले भोक हर्छ । जहाँ केरा त्यहीं के जातिको डेरा भने झैं केरा पाए बाँदर वा सो सरहलाई केही चाहिन्न । बोक्रा खुतलाउने, च्यात्ने, छोडाउने, झार्ने, नङ्ग्याउने र ओठले च्याप्दै चपाउँदा सुलु ‘सुलु’ जाने । उस्तै साहित्यकार भए श्रृङ्गार रसको कविता लेख्न बेर हुन्न । यौन विशेषज्ञ भए मौन बस्न सक्तैन । धर्मकर्मवाला केरा चढाए स्वर्ग पुग्छन् । केराको आकार चन्द्राकार ! मुखमा पुग्न पाउँदैन जस्तो बाङ्गो पनि सोज्जिन्छ । गर्नोस केराको सिकार हट्छ हजार विकार !

केरा बाँदरलाई मन पर्छ भन्छन् । त्यसैले बाँदर पुर्खे मान्छेलाई मन नपर्ने कुरै छैन । पुर्खौलीदेखि खाँदै आएकोले मान्छेलाई पनि कम स्वाद दिन्न । बाङ्गो बाङ्गो भएर के भो ? खाँदा सोझै खान सकिन्छ । पहिला टर्रो भएर के भो पछि गुलियो बन्छ बन्छ । यही बङ्गो टेढो र गुलियो गतिलो भएकोले केरा केरा हो । केरा हेर्दै बुढाहरू ¥याल चुहाउँछन् । अझ कुरकुरे बैंसका भेटिए भने केरा तेरा कि मेरा भन्दै हाम फाल्न वेर हुन्न । त्यसै लाटाले केरा हेरेर गम खाएको छैन । जहाँ केरा त्यहाँ डेरा भन्ने विद्वान् वर्ग केरा देख्दै हत्ते हाल्ने मात्र हो र ? मरिहत्ते गर्छन् । खुकुरीको चोट अचानोलाई थाहा हुन्छ । केराको महत्व अझ महिलालाई थाहा छ पुरुषले रहस्य बुझेका भए लाटाले केरा हेरेझैँ हेर्दैनथे । अर्गमा केराको पूजा दूध चढाएर गर्ने हुँदा लाटी गृहिणीले समेत केराबाट फल प्राप्ति गर्ने कुरा प्रमाणित हुन्छ । नपाएकालाई स्वाद के थाहा ? केरालाई पूजा गरेको देखी कतिका श्रीमान् लाटाले केरा हेरेझैँ हेर्छन् । पूजा गरेपछि फल पाइन्छ भनेरै पूजा भए गरेको हो !

केरा पनि किसिम किसिमका छन् । बाहिर हेर्दा काँचो भए पनि भित्र पाकेकोदेखि बढी पाकेर कालै गिलै भएका केराको व्यापार पनि चल्ने हैन । जहाँ पायो त्यहीँ ओसार पसार गरेपछि केरा कुहिन के बेर । सद्धे सग्ला मालभोग केरा महंँगा छन् । झाप्रे केरा एउटैले टन्न हुने हुँदा यो पचाउन भुँडी बलियै चाहिन्छ । मालभोग कोच्याउन पर्दैन । जति खाए पनि नपुग्नेदेखि केराको स्वाद केरा केरैसँग । काँचो पकाएर खानुभन्दा बोटमै पाकेको केरा उत्पात हुन्छ । तर बोटमा पाकेको केरामा आँखा लाग्यो भने चमेराले पनि उडाउँछन् । यस्ता जुठा केरा परे किरा परे सरह हुन्छ । केरा छान्न र मौका तान्न जानेन भने बोक्रामा चिप्लेर उत्तानो टाङ हुन बेर हुन्न ! मात्रा मिलेन कि जात्रा । केरामा भुल भयो कि सुल भयो । यसैले चुलबुल भएर जुन पायो उही जहाँ पायो

त्यहाँ, जस्तो पायो त्यस्तो केरा खायो कि हण्डर खायो भने हुन्छ ।
वास्तवमा लाटाले केरा हेरे जस्तो मान्छेहरू केरा मात्र हेर्दैनन् । मन्त्रीले भाषण गर्दा हो न हो केरै पाइने भो भनेर नेताको आवश्वासन सुन्दै गर्दा पनि नेताको नाकलाई ताक गर्दा लाटाले केरा हेरेभन्दा कम हुन्न । यस दृष्टिमा नेताको नाकलाई केरा भन्नुमा कुनै आपत्ति छैन । नेता भने यस्ता लाटालाई पुरानो कुहिया केरा देखाएर भए पनि नयाँ केराको नारा दिन्छन् । यसको पछिल्लो उदाहरण राजनीतिको नयाँ बनाउने नयाँ नारा हो । नयाँ पनि के, क्या हो के क्या हो ! अर्थोक त अर्थोक केरालाई कुकुरको पुच्छरझैँ सोझो फलाउने कुरा गर्छन् । केरालाई पनि नयाँ केरा कसरी बन्छ ? यही केरा बुद्धि भएपछि सवथोक नयाँ भन्दै आफ्नै नाक केराझैँ बनाउने हुन् कि ?
वाह ! क्या क्या नयाँ ! प्राज्ञ नयाँ विज्ञ नयाँ । कलम नयाँ पलङ नयाँ ! छिँडी नयाँ छडी नयाँ । घडा नयाँ घडी नयाँ । नोठ नयाँ भोट नयाँ । कमिज नयाँ तमिज नयाँ । नेता नयाँ अभिनेता नयाँ । कवि नयाँ छवि नयाँ । विद्वान्, विवेकी व्यङ्ग्य विद्रोही सबै आलु । नाटकी चटकी ‘नौटङ्की आयो भालु । लिखुरे लिखे नेता, पाखुरे भुक्के अभिनेता, हात्ती छापे चप्पल पजेरो पलपल ! यो नयाँको प्रमाण टाउकामा जुत्रा, खानामा खुट्टा ! रौं जर्कने गीत, झिँगोमा झर्कने मित । कान फर्कने भाषण । लुते ल्वाङेलाई आसन । बलियालाई रासन । खाए खा नखाए घिच । ठूलालाई पिच सानालाई किच । अर्काको आङको जुम्रामा सप्ताह लगाएर भाषण छाँट्दै जनता ढाँट्दै आसन जमाउन र रासन कमाउन पाए के चाहिंयो ?

दुई दिन पानी नपाए रीत्तो गाग्राको जुलुस जाने, दसौँ दिन थोपा नझर्दा गम खाने भएपछि शान्ति नाकाचालले आउँछ । सबै चुपचाप बसेपछि अझ भैँसी बोकेर सुतेपछि शान्ति आउँछ आउँछ । पुरानो गलामा नयाँ गीत को गाउँछ ?  नयाँ गीत सुन्दा मनमा गुन्दा के भएछ त नयाँ भन्दा नाक थुन्दै निस्किएँ गन्ध बन्ध बन्दसँग लड्दै पड्दै । जता गए नि नयाँ रुप तैं चुप मैं चुप । लाटाले केरा हेरैझैँ हे¥या हेरै भएँ । धन्य जात्रै धन्य जात्रा !

संसारमा कतै नभएको जात्रा पाँडे गाउँमा ! नयाँ नेपालमा सबथोक नयाँ भएपछि केरा कस्तो हुने होला ? छोटो लामे हुने हो कि ? लामो छोटो अथवा पातलो मोटो हुने हो कि माटो पातलो । पातलो सुकेको केरा जस्तो मान्छे मन्त्री भएपछि मलजल पाउँदा झाप्रे केराझैँ पूुरा शरीर नभए पनि तिनका नाक त केरा हुन्छ हुन्छ । नेताले केरै खाएर मोटाएका हुन् कि ? नेता र केरामा के सम्बन्ध छ । जङ्गलविज्ञ राजनीतिशास्त्रीले बताउलान् ! नयाँ केरा कस्तो होला ? भन्नु होला हेर्नोस् रङरङका केराको भाषण गर्ने नेताले भाषण नै केरामय बनाएका छन् । केरामा वार्ता चल्यो । हुँदाहुँदा चुनाव चिन्ह पनि केरा । जनताले पनि नेतालाई केरै खाओस् भनेर केरै कोसेली लगे ।
नयाँ केराको कविता वाचन गर्ने नयाँ केरा कवि आए । रेडियोमा केराको गीत बज्यो । जता गयो उता केरै केरा । कविका केरा कविता बाटा दोबाटामा देखिए । केरा हेर्न, केरा सुन्न, केराको तस्विर खिच्न, केरा बारे अन्तरवार्ता लिन केरा पत्रकार, केरा सम्पादकदेखि केरा आयोगका अध्यक्ष समेत अगाडि आए । केराको गुणगान गर्नेलाई केरा पुरस्कार प्राप्त भयो । कुनै केरा कविता बाहिर केरा जस्तो कुनै भित्र केरा जस्तो लोकलय अर्थात् फोकलयमा ल्याइयो । केरा सम्मेलनमा केरा जस्तै आकारको बाजा बजाइ केरैको गीत गाइयो । केरा कविको केरा गीत गाउनेलाई बडेमानको केरा नै मान–सम्मान पुरस्कार हातमा थमाइयो । मन्चमै केरा कोच्याउँदै ख्वाइयो । तर दुर्भाग्य नयाँ केरा भन्दै बाहिर झिलझिले लगाएर छोपेको कुहिएको केरा परेछ । यही भए पनि भेटिने भो भन्दै केरा खाँदै मुलानुगत विगतका केरा कविले धमाधम केराको धमाका दिन थाले । छोडाएको केरा जस्तो टाउकै मुण्डन भएकोे कवि अगाडि आयो । क्या मिलिजुली झिलिमिली रुप ! हुकुकोझैँ नाक मुख र आँखा मात्र देखिन्थ्यो । तर उसको असली उपनाम ‘मुण्डन’ थियो । अर्थात् उसलाई कसैले मुडेपछि केरा जस्तै चिल्लो ज्यान भएको थियो । केरा मार्काको नाकको तल्तिर झ्यापुल्ले रौं बीचको फुस्रो ओठ फरफराउँदै पानीको तुर्को तान्दै पड्कायो मालदार तान्त्रिक नयाँ निर्माणको केरा कविता !

झुप्पै केरा बोटका हामी
एउटै केरा हातमा ली
सवै भाम भई फुलेका
आफ्नै नाक समाती !

जाउलाखेल

 

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दस दनक

दस दनक

रामकुमार पाँडे
धन्य नेताको नाक !

धन्य नेताको नाक !

रामकुमार पाँडे
टाउकाको खेल

टाउकाको खेल

रामकुमार पाँडे
कानमा तेल

कानमा तेल

रामकुमार पाँडे
खुइलिएको तालु

खुइलिएको तालु

होम सुवेदी
दौरासुरुवाल र टोपी आतङ्क

दौरासुरुवाल र टोपी आतङ्क

तिलकराज शर्मा पाैडेल
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
लक्ष्मणरेखा

लक्ष्मणरेखा

श्रीप्रसाद पाेखरेल
दस दनक

दस दनक

रामकुमार पाँडे
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे