राजधानीका लाखौँ बेरोजगारमध्येकै एउटा बेरोजगार हो मि. लखरठ्याक । साह्रै दुःख गरेर उसले डिग्री तहसम्मको पढाइ पनि पूरा गरेको छ । मान्छे निकै चल्तापुर्जा पनि हो । उसको चालढाल र डाल हेरेर कसैले पनि बेरोजगार भन्नै सक्दैन । तर ऊ राजधानीको पक्का बेरोजगार हो । दुई कौडीको आम्दानी हुने उसको कुनै पेसा वा व्यवसाय छैन । दिनभरि सडकतिर डुल्नु, ऊजस्तै बेरोजगार साथीहरू जम्मा भएर मेलो न मेसोका गफ चुट्नु, चियापसलमा पसेर पसलेको गालीसँगै उधारो चिया सुक्र्याउनु उसको दैनिकी बनेको छ ।
लखरठ्याक पहिलोपटक राजधानी पस्दा एक्लै थियो । एक्लो ज्यान पाल्दै पढ्न उसलाई त्यति असजिलो लागेको थिएन । रहँदा बस्दा उसले बि.ए. मात्रै होइन, बिहेसमेत गरेर आफूसँग अर्को एउटा बेरोजगार जीवनसाथी थप्यो । ससुराली आर्थिक रूपले कमजोर नै त थिएनन् तर छोरीले आफूखुसी वर छनौट गरेको कुराप्रति बाबुआमाको असहमतिले लखरठ्याकलाई अहिलेसम्म नकारात्मक प्रभाव पारी रहेको छ । ससुरा बा उपसचिव हुँदा उनैको मातहतको एउटा संस्थानमा लिइएको सेवा आयोगको परीक्षामा लखरठ्याक फेल भयो । त्यो पनि लिखितमा चार नम्बरमा नाम निकालेर अन्तर्वार्तामा फेल हुनु कम नमज्जाको कुरो थिएन । उपसचिव ससुराले वास्तै गरेनन् । छोरी नै लगिसक्यो भने यसरी उसलाई वास्ता नगर्नु मनासिव त छँदै थिएन तर भयो त्यस्तै ।
लखरठ्याकका अहिले दुईवटा छोरा र एउटी छोरी छन् । ऊ र उसकी पत्नीसमेत पा“चजनाको परिवार राजधानीमा कसरी प्राण धान्दैछन् यो उदेकलाग्दो एउटा प्रसङ्ग हो । फर्केर दूरदराज गाउँको घर जान पनि ऊ सक्दैन । गाउँमा गएर झन पाइन्छ नै के र ? उताका त यतै ओइरिरहेका छन् । विगत आठ वर्षदेखि राजधानीमा खुलेका सबै सरकारी वा संस्थानीय आयोगका परीक्षामा ऊ सामेल भएको छ । लिखितमा नाम निकालेकै छ तर अन्तर्वार्तामा पास कहिल्यै भएन ।
प्रमुख राजनीतिक पार्टीहरूमध्ये कुनै पार्टीको सदस्यता उसले लिएको छैन । राजनीतिलाई ऊ एकदमै आदर गर्दछ तर पार्टीको सदस्य भएर त्यसको धर्म निर्बाह गर्नु चानचुने कुरो लागेन उसलाई । अरु सबै योग्यता भएर पनि कुनै राष्टि¬य पार्टीको सदस्य नहुनु उसको सबैभन्दा ठूलो अयोग्यता साबित भयो । आयोग खुल्दा एउटा पार्टीको सरकार हुन्छ त त्यही आयोगको परीक्षा र परिणाम घोषणा हुने बेलासम्ममा अर्कै पार्टीको सरकार बनिसकेको हुन्छ । सरकार पार्टीको हुने भयो अनि लखरठ्याकको नाम कुनै पार्टीको सदस्यता सूचीमा परेको हुँदैन । लौ भन्नोस् त यस्तो स्थितिमा उसले जागिर कसरी फेला पारोस् ? त्यसो त पार्टीका कार्डहोल्डरहरू, चुनावमा आफ्नो पार्टीको उम्मेद्वारलाई जिताउन ज्यान फालेर लागिपर्ने खाँटीखाँटी कार्यकर्ताहरूलाई समेत रोजगारी दिन सकिरहेका छैनन् पार्टीवालाहरूले भने अरुको कुरै के भयो र ?
रोजगारका निम्ति अहिले गैरसरकारी क्षेत्र पनि निकै चम्केको छ । लखरठ्याकले त्यता पनि निकै जोरजुलुम प्रयत्न नचलाएको कहाँ हो र ? त्यता झन अर्कै खालको उखरमाउलोले लखरठ्याकलाई अत्यायो । नाताको लहरो त्यता झन लहराएको र व्यक्तिवादी झण्डा झन् औधी फहराएको देख्यो । आयोगको अन्तर्वार्ता पास गर्नुभन्दा कठिन लाग्यो उसलाई गैरसरकारी क्षेत्रका गैरसरकारी कार्यालयहरूमा काम पाउन । रगतको साइनो नभै त्यता त झन् चिहाउनै नपर्ने ओहो ! बेरोजगारी अन्त्य गर्ने सरकारी घोषणा सुनेर लख्ठ्याकको मुटुमा प्राणवायु सञ्चार भयो । लौ अब चाहि“ केही हुने भो । त्यस दिन सडक नाप अभियानबाट अलि छिटै फुर्सद लिएर ऊ डेरा पुग्यो ।
ऊ डेरा के पुगेको थियो अरिँगालको गोलोभित्र पसे झैं भयो । उधारो दूधवाला, उधारो खाने गरेको पसलको पसले, नौ महिना अघिदेखि तीन हजार सापट लिएको सापटी साहू र यस्तै अन्यान्य सरोकारवालाहरू लखरठ्याकको डेरामा धर्ना र अनशनमा जुटेका थिए । उनीहरू सबैको एक सूत्रीय नारा थियो– “बेइमान लखरठ्याक मुर्दावाद ! मुर्दावाद !!” “हजुर ! म मुर्दा हैन ज्यूँदै छु । तपाईंहरू कसैको बाँकी, उधारो र सापट वा ऋण फच्चे नगरी म कहाँ मर्छु र !” लखरठ्याकले यत्ति भन्न के भ्याएको थियो सबकासब धुरिएर कराउन थाले– लौ अहिले तिर, दूधको यति, पसलको यति, कपडा पसलको यति, मासु पसलको यति, पत्रिका पसलको यति....अदिआदि । “त्यसो भए म सबैको बाँकी उधारो अहिले नै तिर्छु, लौ मलाई भित्र पस्न देओ ।” सबैले उसलाई बाटो छोडिदिए ।
लखरठ्याक सटासट भित्र पस्यो– भित्र उसकी पत्नी दराजबाट केटाकेटीका स्कुल फी, ड्रेस, कितावकपि आदिका उधारा विलहरू झिकेर अध्यारो मुख लगाई जोड्दै रहिछन् । उसलाई देख्नासाथ चिच्याइन्– बाइस हजार सात सय चौँतिस् । डेराको ढोका बाहिर खैलाबैला चलिरहेकै छ– ए लखरठ्याक छिटो बाहिर निस्क पैसा लिएर, छिटो बाहिर निस्क । उनीहरू आज यत्तिकै लखरठ्याकलाई छोड्ने मुडमा थिएनन् । “ज्यान बचे देखा जाएगा” उसले निकै सोचविचार गरी एउटा निष्कर्ष निकाल्यो– “कुनै पनि हिसावले म यहाँबाट उम्किनै पर्दछ ।” ऊ तुरुन्तै ग्रिलबेगरको झ्यालको खापा खोलेर ज्यापुको काउलीबारीमा हाम्फाल्यो र बारीबारी बेतोडस“ग दगु¥यो । धर्नाधारीहरूले सुईंकोसम्म पनि पाएनन् । त्यसपछि लखरठ्याककी पत्नीले के कस्तो परिस्थिति बेहोर्नुपर्यो होला यो अवर्णातित छ ।
यसरी यनकेन ज्यान बचाएर लखरठ्याक त्यस दिन त उम्कियो । तर सधैं यसरी उम्किन सम्भव थिएन । स्थायी समाधानका निम्ति जागिर पाउन अन्तिम दम लगाएर एउटा प्राइभेट कम्पनीको डाइरेक्टरसमक्ष उपस्थित भयो । बडो सहानुभूतिका शब्दहरूमार्फत डाइरेक्टरले उसलाई विदा गरे– “तपाईंको बायोडाटा छोडेर जानुहोस्, त्यसैमा तपाईंलाई सम्पर्क गर्न सकिने ठेगाना र फोन पनि उल्लेख गर्नु होला । म तपाईलाई आफै खबर गर्ने छु ।” लखरठ्याक भने निकै आश्वस्त भएर त्यहीं टेबुलको रफ कागज लिई आफ्नो बायोडाटा तयार पार्न थाल्यो :

बायोडाटा
नाम : लखरठयाक् आजीवन बेरोजगार
उमेर : ३५ वर्ष पुग्न ६१ दिन बाँकी
ठेगाना : प्रायजसो सडक, चियापसल र कहिलेकाही ज्यापुको काउलीबारी
शैक्षिक योग्यता : दुईदुई विषयमा डब्बल एम्.ए.
अनुभव : विगत आठ वर्षदेखि राजधानीमा खुलेका कुनै पनि सरकारी वा संस्थानका सेवा आयोगहरूका लिखित परीक्षामा लगातार सामेल भई लिखितमा कहिल्यै फेल नभएको र अन्तर्वार्तामा कहिल्यै पास नभएको ।
सम्पर्क फोन : ४४२०१८८ .........


कलङ्की, काठमाडौँ
narnath@gmail.com