सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बाहिर

Nepal Telecom ad

म काठमाडौँ बाहिरको बासिन्दा भए तापनि त्यहाँको वतावरणसँग मेरो साइनो गाढा थियो । त्यसैले म काठमाडौँको रहनसहनसँग धेरथोर परिचित नै थिएँ तर म त्यहाँका बासिन्दाको ज्यादै प्रियशब्द वा अझ भनौँ स्थानसँग सम्वद्ध ‘बाहिर’ शब्दसँग भने अनभिज्ञ नै रहेँ । जब म काडमाडौँ निवासी आफूसँग सम्बद्ध व्यक्तिकहाँ पुग्थेँ र आफूले खोजेको व्यक्ति नभेटिएपछि अर्काे व्यक्तिसँग जिज्ञासा राख्थेँ अनि उताबाट सोझो उत्तर पाउँथे ‘बाइर’ (बाहिर) । टेलिफोनको ‘हेलो’ पछि पनि उत्तर उही आउँथ्यो– ‘बाहिर’ । ती उत्तरबाट कति टाढाको बाहिर हो स्पष्ट र व्यापक परिवेश बोकेको बाहिर शब्दको अन्त्य भेट्न मलाई सधैँ नै धौधौ हुन्थ्यो । किनभने मेरो मस्तिष्कले ‘बाहिर’ शब्दको अर्थ व्यापक रूपको स्थान भन्ने अर्थमा बुझेको हुन्थ्यो । मेरो शब्दकोशले ‘बाहिर’ भन्नाले कोठा–चोटाबाहिर, घरबाहिर टोलबाहिर, जिल्लाबाहिर, देशबाहिर दीपबाहिर र संसारबाहिर पनि अथ्र्याउँथ्यो । काठमाडौँका सभ्य नागरिकहरूले व्यापक अर्थ बोकेको यस ‘बाहिर’ शब्दलाई किन प्रयोग गरेका होलान् मेरो मस्तिष्कमा धेरै समयदेखि यही कुरा खेलिरहन्थे । जब मोफसलका सभ्रान्ततातिर उन्मुख व्यक्तिहरूका घरमा पनि यस ‘बाहिर’ शब्दले क्रमशः प्रश्रय पाएको देखेपछि भने मेरो मस्तिष्क हुँडलिनसम्म हुँडलियो ।

मलाई कहिलेकाहीँ गजबसँग गोप्य रहस्य खुल्ने गर्छ तर त्यो रहस्य खुल्नचाहिँ कुनै न कुनै लगन भने जुर्नु नै पर्छ । अज गजबसँग त्यो लगन जुरेछ क्यारे, अन्यथा मेरो मुलुक नेपाल बहिर्मुखी किन भएको हो भन्ने रहस्य यसरी खुल्ने नै थिएन । ठूलाठूला भनाउँदा नेपालीहरू अन्तर्मुखीभन्दा बहिर्मुखी नै बढी छन् भन्ने कुरा यहाँका ठूलाठूला राजनीतिक नेताका व्यवहारबाट महान्महान् धनाढ्यका आचरणबाट र ठूलाठूला उपाधिधारी विद्वान्हरूका क्रियाकलापबाट स्पष्ट हुँदैगएको हो ।

राजनीतिक दृष्टिले हामी नेपालीहरू बहिर्मुखी छौँ, त्यसैले त हाम्रा मुलुकमा राष्ट्रिय झण्डाभन्दा अन्तर्राष्ट्रिय झण्डा हावी भएको पाउँछौ । बाहिरी राष्ट्रमा जन्मिएको भए तापनि सार्वभौम विचारलाई आफ्नै झण्डामुनि बसेर उपभोग गरेपनि त हुने थियो नि ! विचारको दर्शनको र साहित्यको पनि केही सीमित भूगोल हुन्छ र ? तर हाम्रो बहिर्मुखी मस्तिष्कमा अन्तर्मुखी त्यो सोच आउँदै आएन । उदाहरणका लागि केही राजनीतिक परिघटनाहरू हेर्नुहोस् न । मानिलिउँ हाम्रा मुलुकमा सूर्यबाबु नामका मान्छे महामात्यमा नियुक्त हुन्छन् अनि हामी तत्कालै सोझो प्रतिक्रिया व्यक्त गर्छौ र यस पटक हाम्रो देशको राजनीतिमा नयाँदिल्ली हावी भएछ । अनि कुनै बेला कीर्तिबाबुको मुख्यमन्त्रीमा नियुक्ति हुन्छ अनि हामी हत्त न पत्त प्याच्च भन्न भ्याउँछौँ– यस पटकको मन्त्रिपरिषद्को गठनमा हावी हुने पालो पेचिङको परेछ । यसरी नै कुनै मन्त्रिपरिषद्का चेहरामा हामी वीजीपीको अनुहार देख्छौँ भने कुनै प्रधानमन्त्रीका चेहरामा वासिङ्गटन डी.सी. मुखारित भएको आभास पाउँछौँ । त्यतिमात्र कहाँ हो र जब देशमा राजनीतिक अवस्था जटिल हुन्छ, अनि हाम्रा वरिष्ठ शासकहरू आ–आफ्ना अभीष्ट बाह्य मुलुकहरूमा गएर अभिमन्त्रणा गरेको खबर सुन्छौँ । त्यतिबेला खबरपत्रहरूमा धमाधम छापिन्छन्– ‘अमुक राजनीतिक समस्या सुल्झाउन नेताहरू दिल्ली दरबार पुगे रे ! केही नेताहरू पेचिङ दरवारमा पुगेर गन्थन गर्दैछन् रे अनि कोही ह्वाइटहाउसको ढोका घचघच्याउँदै छन् रे ! इत्यादि इत्यादि ।

यसरी बाहिर मन्त्रणाबाट हाम्रो आन्तरिक नीति निर्माण भएको थाहा पाउँछौँ । त्यसैले राजनीति पूर्णतः बहिर्मुखी भएपछि सिङ्गो देश अन्तर्मुखी हुने कुरै भएन । जुन मुलुकका बासिन्दाहरूमा बहिर्मुखी प्रवृत्ति हावी छ अन्तर्मुखी प्रवृत्ति दबिएको छ त्यसको परिणाम अवनतिमात्र हुन्छ । जब देशको राजनीति बाहिरबाट सञ्चालित हुन्छ स्वतः त्यो देश ओह्रालो लाग्छ । घर त छिमेकीले चलाउने होइन, घरमूलीले नै जाँतो रिगाउँनुपर्छ । होइन र ?

राजनीति बहिर्मुखी भएपछि हाम्रो अर्थनीति अन्तर्मुखी हुने कुरै आएन । त्यसैले देशको बजेट बनाउनु पूर्व नै हाम्रा अर्थमन्त्रीहरू बाहिरी मुलुकहरूमा गएर भिक्षाटन गर्छन् र स्वदेशमा फर्किएर आउँछन् अनि बजेटको तर्जुमा गर्छन् तर अचम्म हाम्रा लागि भनेर आएको सम्पत्तिचाहिँ बाहिरै गएर थिग्रिन्छ । अन्यथा सबैभन्दा गरीब देशका जनताका सबैभन्दा बढी धनी शासकको जन्म यसै मुलुकमा हुने नै थिएन । यो धनी हुने क्रम शासकमा मात्र सीमित नभएर प्रशासक, उपप्रशासक जस्ता विभिन्न तहसम्म पनि फैलिएको छ, विकेन्द्रित भएको छ । अमेरिका र स्विटजरल्याण्डका बैङ्कहरूका ठूला खाता यिनै राष्ट्रसेवकहरूका छन् । अझ अचम्म लाग्ने अर्को कुरा के पनि छ भने सहयोगका रूपमा स्वदेशमा भित्रिएका रकमहरू पनि नामान्तर गर्दै बाहिरिन्छन् सल्लाहकारका रूपमा विशेषज्ञका रूपमा । ब्वाँसाहरू भित्रिन्छन् र सहयोगको रकमको आन्द्राभूँडी लुछ्छन् । ऋण र सो ऋणको महङ्गो ब्याज हामीले डलरमा रूपान्तर गर्दै तिर्दै जान्छौँ । यही नियति नेपालको रहिआएको छ । त्यसैले हिजोआज नेपाली शिशुहरू तेह्र हजार ऋण बोकेर गर्भमा पस्न थालेका छन् । नवप्रसूता आमाहरूले पनि तेह्र हजार रुपियाँ ऋण बोकेका बच्चाबच्चीहरू धमाधम जन्माउन थालेका छन् ।

यो बाहिरिने क्रम रकमको मात्र होइन मानव संसाधनको पनि उत्तिकै छ । गच्छेअनुसार नेपालीहरू गाउँबाट सदरमुकाममा बाहिरिन्छन्, सदरमुकामबाट राजधानीमा बाहिरिन्छन् र राजधानीबाट भिसा बनाउँछन् र देश देशान्तरतिर फैलिन्छन् । यो क्रम ज्यादै तीव्र छ । प्रतिदिन पाँच सय जनाजति नेपाली युवाहरू बाहिर उड्छन् रे सम्बन्धित निकायका प्रतिवेदनहरूमा यिनै कुरा लेखिएका छन् । स्वदेशको साँगुरो घेरामा बस्न उदार नेपालीलाई सुहाउने कुरा पनि भएन । यो क्रम नपढेका नेपालीका हाराहारीमा नै पढेलेखेका नेपालीको पनि छ । बाहिरी बजारमा आफ्नो मूल्य चर्को छ भनेर ठूलाठूला शैक्षिक उपाधिधारीहरू पनि बाहिरिने दौडमा कुदिरहेका छन् । बाहिर गएका युवाहरूको कमाइ नै राजस्वको मूलआधार भएपछि अनि त्यसै पूँजीको आधारमा देशाको वजेट बन्ने भएपछि राष्ट्रवादी युवाहरूले बाहिर नजाने कुरा पनि आएन । बाहिर धाउनु नै नेपालीहरूको हालको राष्ट्रियता हो ।

यो बाहिरी मोह कर्म स्वीकृतिप्रति पनि उत्तिकै छ । भाषा र भेषमा पनि तीव्र छ । महिलाले लगाउने मिनिस्कर्ट र पुरुषले भिर्ने हाफ प्यान्टमा पनि बाहिरी संस्कारकै योगदान छ । हिजोआज हाम्रो गुन्यौँचोलो पाखे पोशाक भएको छ भने दौरासुरुवाल महङ्गो पहिरनमा गनिन थालेको छ । पढाइने पाठयक्रम र सो पाठ्यक्रमको भाषा र विषय पनि मुलुकबाहिरकै परिवेशसँग सम्बन्धित भएपछि नेपालीहरूको बाहिरी मोहको इयत्ता कसले नाप्न सक्छ र ?

परापूर्व कालमा पृथ्वीनारायण शाहले बाहिरियाहरूलाई गौर र पर्साभन्दा उत्तरतिरको पहाड चढ्न नदिएर बाहिरी शक्तिको तिरस्कार गरेछन् । “नाचगान र बजानमा स्वदेशी बन” भन्नेले उर्दी पिटाएर नेपालीहरूलाई बाहिरी नृत्यकलाको ज्ञानबाट बञ्चित गराएछन् । घरको कुरा पर नलैजानू, भित्रको कुरा बाहिर नफिँजाउनु जस्ता प्रतिक्रियावादी कुरा गरेछन् अनि ती सङ्कीर्ण विचारका बूढाले त “कपडा पनि आफ्नै तानमा बुनेका लगाऊ” पो भनेछन् । बाहिरका मान्छेहरूलाई आन्द्रालुछ्ने ब्वाँसासँग तुलना गरेर देशलाई उन्नति गर्न नदिएर उनले डुबाएछन् । आजको युवापुस्ताले पनि पृथ्वीनारायणले जस्तै बाहिरको महत्व नबुझेको भए, अथवा आफूलाई नसमालेको भए आजसम्म यो मुलुक गहिरै खाडलमा भासिन्थ्यो होला । धन्य जागरूक युवाहरूले मुलुकको वास्तविकता थाहा पाएछन् र पो अन्यथा यस मुलुकको गति कस्तो हुँदा हो केवल कल्पना मात्र गर्न सकिन्छ ।

मलाई हिजोआज मात्र बाहिरको महत्व थाहा भएको छ । मैलेभन्दा पहिल्यै नै मेरी हजुरआमाले ‘बाहिर’ को महत्व बुझ्नुभएको रहेछ त्यसैले त उहाँ भन्नुहुन्थ्यो– “भित्र भनेको ओडार हो, बाहिर भनेको भँडार हो” यो मन्त्र पृथ्वीनारायण पछिको हुनुपर्छ । उहाँले भन्दा पनि पहिल्यै राजधानीका बासिन्दाहरूले पनि बाहिरको महत्व बुझेछन् र पो त बाहिर बाहिर भन्ने मन्त्र जप्दा रहेछन् । यही जापसिद्ध भएपछि पढेलेखेका मान्छेहरू यूरोप अस्ट्रेलिया र अमेरिका जस्ता ठूलाठूला बाहिरी मुलुकहरूमा जाँदा रहेछन् भने पाखुरामा बलबुता भएका विशेषत, मोफसलका नेपालीहरू भने अरबका खाडी राष्ट्रहरूमा पसिना बगाउँदा रहेछन् । आफ्नो राष्ट्रियता बचाउनमा जबदेखि हाम्रो मुलुकबाट ज्ञानशक्ति र बलशक्ति बाहिरिन थालेको थियो, त्यसै बेलादेखि हाम्रो मुलुक आन्तरिक रूपमा अगाडि बढेको छ । त्यसैले हामीले भन्नु परेको छ– “बाहिरको मूल्य अपरम्पारको छ ।” अब पनि हामीहरूले बाहिरको मुख ताक्न परम्कर्तव्य बन्न गएको छ । त्यसैले सबै नेपालीले ‘बाहिर, मुलुकबाहिर र अझै बाहिर’ भन्ने महामन्त्र जप्नुपरेको छ, किनभने ‘बाहिर’बाट नै हामी सबै नेपालीको कल्याण हुने गरेको छ ।

पोखरा, कास्की

Fitkauli Publication Books comming soon
Nepal Telecom ad