लभराज, प्रेमकुमार, मायानाथ तीनैजना– जनजागृति उमाविमा पढ्ने एकै उमेरका छात्रहरू हुन् । हुने बिरुवाको चिल्लो पात भनूँ वा नहुने बिरुवाको फुस्रो पात भनूँ– उनीहरू सानैदेखि छुच्चा, धूर्त र फटाहा थिए । पढाइमा तिनीहरूको एकरत्ति ध्यानै थिएन । कक्षा एक देखि नै प्रत्येक कक्षामा दुई दुई वर्षका दरले फेल हुँदै आउँदा, पोहोर ७ कक्षामा तिनीहरू प्रत्येकको उमेर, १७–१७ वर्ष पुगेको थियो । उनीहरूको रिजल्ट सप्रन नसक्दा, उनीहरू र अभिभावक त दुःखी थिए नै । त्यसभन्दा पनि बढी दुःखी हुनेहरू, शिक्षक थिए ।

संयोगको कुरा, पारिपट्टिको समाजसुधार उमाविमा पनि लभकुमारी, प्रेमकुमारी र मायादेवी तीनवटी एकै उमेरका छात्राहरू पढ्थे । उनीहरूको पनि पढाइको हालत उही थियो । सानैदेखि सिंगार–पटार र नक्कल–झक्कलमा भने खुबै ध्यान दिन्थे । प्रत्येक चाडबाडको निहुँ गरी नयाँनयाँ लुगा किनिदिन बाबुआमालाई करकर गर्नु र फेरी फेरी नयाँ लुगा लगाएर स्कुल जानु उनीहरूको सोख र दिनचर्या नै थियो । उमेर बढेसँगै उनीहरू झन् राम्री देखिन थाले ।

वारिपारि दुवैतिरका शिक्षकहरू त आजित भएकै थिए । बाबुआमाहरू पनि अब त आजित हुन थाले । अन्तिम उपायको रुपमा, केटाहरूका बाबुआमाले सल्लाह गरी आफ्ना छोराहरूको विवाह गरिदिने निश्चय गरे । संयोगले बुहारी हुनेहरू उनै लभकुमारी, प्रेमकुमारी र मायादेवी रहेछन् । ७ कक्षाको रिजल्ट निस्कँदा फेल भएकै दिन, उनीहरूको भित्रिने भित्र्याउने काम भएको थियो ।
यो साल तीनवटै जोडीलाई पुत्रलाभ भयो । उनीहरू जम्मा भएर एकआपसमा कुरा गर्दै थिए, “यसपटक भने रिजल्ट राम्रै निस्क्यो ।”

कमलाकुञ्ज, ओखलढुङ्गा