दशैंको पूर्वसन्ध्यामा रत्नपार्क चोकको आकाशे पुलमा उभिएर राजधानीको साँघुरो आकाश हेर्छु । आकाशभरि चिडियाभन्दा चङ्गा बेसी उडेका देखिन्छन् । यो आतङ्कित समयमा चराहरूको निर्बिघ्न संसारमा पनि मानवनिर्मित चङ्गाले नराम्रोसँग आतङ्क मच्चाइदिएको भान हुन्छ । मानूँ ती चङ्गा होइनन्, कुनै अघोषित आतङ्ककारीको खोजीमा उडेका मानवरहीत बमवर्षक विमान हुन् । र, आतङ्क निर्मूलनको नाममा तिनले प्रतिआतङ्क मच्चाइरहेका छन् ।

उत्तरआधुनिक युगको भार थेग्न नसकेको धर्तीभरि हेर्छु । उसैगरी मानव र उसका उत्तरआधुनिक क्रियाकलापले अस्तव्यस्त र सन्त्रस्त परिवेश कहालिएर भाग्न खाजेको भान हुन्छ । सिङ्गो टुँडीखेललाई बिट मारेर घुमिरहेको कालो सडकभरि मानवका उत्तरआधुनिक बाहनहरू बेपरबाह ढङ्गले आआफ्नै गन्तव्यतिर भागिरहेका छन् । उत्सव, जन्मोत्सव र महोत्सवका खातिर रङ्गीन गुच्छा र निर्दोष फूलहरू अकालमा चुँडिएर ती बाहनभित्र गुडिरहेका छन् । हुन सक्छ, समग्र जीवन र खुसी खोसिएका तिनै गुच्छा र फूलहरू कसैले आँखाभरि बनावटी संवेदना बोकेर कसैको अनपेक्षित लासमा श्रद्धाञ्जलीका खातिर बोकिरहेको छ ।

छेवैमा खिस्स परेको रत्नपार्क नहेरी सुखै छैन । जति हेरे पनि पढ्न नसकिने, जति छामछुम गरे पनि बुझ्न नसकिने पार्क हो भन्ने थाहा पाएर पनि कैयौँ पटक मैले यहाँको धुलो मिचेको छु । नचाहँदा नचाहँदै स्वाससँगै धुलो निलेको छु । तैपनि यो पार्कको पूरा स्वाद मलाई थाहा छैन । कैयौँ पटक कैयौँ मानिसले चाहेर÷नचाहेर यो पार्कको परिक्रमा या भनुँ प्रदक्षिणा गरेका छन् । कैयौँ मान्छेले कैयौँ पटक पान–पराग चपाएर यहाँ थुकेका छन् या भनुँ देशको सरकारलाई थुकेका छन् । कैयौँ पटक कैयौँ मान्छेले सिंहदरबार अगाडिको यो पार्कमा लाजै नमानी मुतेका पनि छन् । कैयौँ पटक यही पार्कमा मान्छेकै एउटा तप्का सुतेको छ, अर्को तप्का यतैबाट धुलोझैँ उठेर आकाशका तारा झार्लाझैँ गरी बुलन्द आवाज घन्काएको छ । कैयौँ पटक कैयौँ मानिसले यही पार्कमा नेताज्यूका बोलीकमलबाट निस्कने गुलियो स्वाद लिई लिई चाटेका छन् । कैयौँ पटक तिनै मानिसले तिनै नेतालाई लाजमर्दो गरी गाली गरेका पनि छन् ।

यो पार्क राजधानीकै मुटु मानिने न्यूरोडको नजिकै पर्छ । उता देशकै आत्मा मानिएको सिंहदरबारबाट पनि नजिकै छ । इतिहाससँगै आफ्नो अस्तित्व हराएको बागदरबारबाट पनि टाढा छैन । उता कैयौँ थरी झण्डादेखि लिएर कैयौँ ठूलाबडाका लास गुडेर बारम्बार ठप्प पारिने बागबजारबाट पनि टाढा छैन । अनि पिठ्यूँसँग पिठ्यूँ जोडेर घोडेजात्रा र गणतन्त्र दिवसमा परेड खेल्ने सैनिक मञ्चभन्दा टाढा हुने कुरै आउँदैन ।

हिउँद लाग्नुअघि नै चिसोले मुटु काटिसक्छ यहाँ । यिनै दिनहरूमा बागबजारका चिसा छिँडी छल्दै उदाएको घाम सुनसान उभिएको ट्रमा सेन्टरको छतमाथिबाट अस्ताउँछ । यस पार्कलाई भने घाम उदाए पनि सुख छैन, अस्ताए पनि छैन । घाउ चह¥याइरहेका आर्तदेखि लिएर भिरिङ्गी कन्याइरहेका फिरिङ्गीसम्मकाले कैयौँ रात अबेरसम्म यस पार्कलाई डिस्टर्ब गरिरहेका हुन्छन् । दिउँसोको त के कुरा गर्नु, लट्ठीबाहकदेखि लिएर पजेरोबाहकसम्मले यो पार्कलाई धुलीखेल नबनाएको दिनै छैन । मान्छेका क्रियाकलापले दिनहुँ भइरहने सयौँ थरी हल्ला (टेन्सन ?) सहन नसकेर यो पार्कले कैयौँ दिन आत्महत्याको असफल प्रयास नगरेको होओइन । आफै पनि बुढिँदै गएर थला पर्न लागेको वीर अस्पतालले यस पार्कको घाउ कहिल्यै निको पार्न सकेन ।

अचेल यो पार्कमा अचाक्ली नै भीड लाग्छ । उसो त न्यूरोडका गल्लीगल्लीहरूमा पनि खुट्टा छिराइनसक्नु हुन्छ । भूकम्पको आदेश पर्खेर धराप बनी उभिरहेका दशौँ तलाका भवनहरूले कतिबेलै यही गल्लीमा मान्छेको खिचडी बनाउने हुन्, थाहा छैन । यो थाहा न युगौँयुगको साक्षी बसिरहेको घण्टाघरलाई छ, न त बीसौँ तलाका भवनहरूद्वारा उचाइ खोसिएको धरहरालाई । तैपनि मान्छेलाई आफू खिचडी बन्ला भन्ने डर रत्ति छैन । र त ऊ जिन्दगी बाँच्न चाहन्छ रमाएर । यसरी निश्चिन्त रमाउने सिजन दशैँ–तिहारमा त यहाँ मान्छेको भीड झनै तात्छ । उम्लिएर छताछुल्ल बनिदिन्छ । पुषमाघको ठण्डीमा ढाड सेकाउन पुनः त्यही भीड बौरिएर उठ्छ रत्नपार्कको छातीभरि ।

पार्क हुन नसकेको पार्क हो– रत्नपार्क । मान्छे हुन नसकेका मान्छेहरू सबभन्दा बढी यही पार्क वरिपरि भेटिन्छन् । तिनै उत्तरआधुनिक जगतमा मान्छे हुन नसकेका÷नजानेका अमान्छेहरूले नै सबभन्दा बढी यस पार्कलाई अपार्क बनाइरहेका छन् । आफ्नो स्वार्थका लागि भूमिलाई (अरूलाई) नाङ्गेझार पार्नु मान्छेको नियत भएको छ ।

गणतान्त्रिक हुन नसकेको गणतन्त्र नेपालको सबैभन्दा समावेशी पार्क हो– रत्नपार्क । पूर्व मेचीदेखि पश्चिम महाकाली र दशगजादेखि हिमाल पारिसम्मका मान्छे÷अमान्छेहरू यहाँ भेटिन्छन् । लिम्पियादेखि केचना र कञ्चनपुरदेखि कञ्चनजङ्घासम्मको क्रसभेट यहाँ हुन्छ । यो पार्कलाई जातभात, धनीगरिब, उचनीच, टाढानजिक, नरनारी, अपाङ्ग सपाङ्ग, मधेसी–मुस्लिम, दलित–गलित, शासक–शासित आदि विभेदको कुनै मतलब छैन । किनभने यो पार्क आफूलाई उत्तरआधुनिक समावेशीताको उच्चतम नमूना भनाउन चाहन्छ । एक धरो लाउन नपाएर एक सरो प्राण कुरिरहेकाहरू (समाजको नजरमा नर्कका कीरा) देखि लिएर सुटबुट र पजेरोमा सुखको मैदानतिर दगुरिरहेकाहरू (समाजको नजरमा स्वर्गका हीरा) सम्मलाई यो पार्कमा आउन कसैले रोक्न सक्दैन, कुनै नीति–विधानले छेक्दैन ।

सस्ता वस्तुदेखि सस्ता मान्छेसम्मको व्यापारिक केन्द्र हो– रत्नपार्क । यहाँ कुनै नेताज्यूले कुनै मूल्यबिनाका जनता सजिलै उपभोग गर्न पाउँछ । राजनीतिले मदोन्मत्त भएको नेताज्यू नाङ्गो मञ्च या भनूँ खुल्ला मञ्चमा आफू नाङ्गिन कुनै सङ्कोच मान्दैन । उसको यस्तो साहसिक नङ्ग्याइ हेर्दा हेर्दै अभ्यस्त भइसकेका दीनहीन जनता र जुझारु कार्यकर्ता कत्ति पनि लाज मान्दैनन् । चारचार स्वास्नीले पनि तृप्त हुन नसकेका हुँडारहरू सस्ती वेश्या खोज्नुप¥यो भने दिनदहाडै वा रातविरातै यो पार्कको चक्कर लगाउन भुल्दैनन् । तर सस्ती छोडेर महङ्गीसँग मस्ती गर्न चाहनेका लागि यो पार्क दुर्भाग्य हुनेछ । त्यसका लागि त पाँचतारे होटेल र ठुल्ठूला डान्सबारहरू खुलिसकेका छन् नि । सस्ता जुत्ताचप्पल, सय ठाउँ च्यातच्युत गरिएका पाइन्टहरू र अन्य सेकेन्डह्याण्ड, थर्डह्याण्डका थरीथरीका वस्तुहरू सौदा गर्न पल्केका थरीथरीका मान्छेहरू दिनहुँ यही पार्कको छाती कुल्चिरहेका हुन्छन् । यसरी कसैको छाती मिच्न र कुल्चनका लागि संविधान लेख्न नसकेको नेपालको संविधानले सुविधा दिएको छ ।

लाग्छ, आजको यो दुनियाँमा मान्छेको जीवन रत्नपार्कमा बेच्न राखिएका सस्ता वस्तुभन्दा पनि सस्तो हुँदै गइरहेको छ । कालो जुत्ताजस्तो यो जिन्दगी सेकेण्डह्याण्ड, थर्डह्याण्ड केके बनेर पनि बिक्न छोडेको छैन । तैपनि अझसम्म मेरो कालो जुत्तासँग प्रेम छ ।

जादू देखाउनेदेखि लिएर लादु हल्लाउँदै हिँड्नेहरूको भीड यहाँ देखिन्छ । बङ्गागी एसोसिएसनहरूको दुर्गापूजादेखि लिएर तिरुपाती विवाहसम्मको दर्शन यहाँ गर्न सकिन्छ । प्रेमहारादेखि लिएर प्रेममारा, बगलीमारा र ज्यानमारासम्म यहीँ पाइन्छन् । धर्मढोँगीदेखि लिएर सर्वस्व त्यागेर वनबास हिँडेका जोगीहरू अचानक यहाँ भेटिन सक्छन् । सुन्दरीमा सुन्दरी र कुरूपमा कुरूपसम्मका यहाँ देखिन्छन् । रविभन्दा पनि पर पुग्ने कविहरू यहाँ नभेटिने कुरै भएन । सजीवदेखि निर्जीव– जिपसम्मको पार्क बनेको छ यो । नुगेका, झुकेका, सुकेका बोटाबोटीदेखि लिएर कुहेर लेउ जमेका पोखरीहरू यहाँ पाइन्छन् । भनेपछि यो पार्कमा नपाइने चीज केही छ ?

यो पार्क वास्तवमै जादूमय छ, किनभने यहाँ विविधखाले जादूहरू देख्न पाइन्छ । हिँड्दा हिँड्दै अचानक नसोचेको पात्र भेट्टिइदिन्छ । निर्बन्ध, निर्लज्ज, निर्धक्क सम्भोगरत कात्तिकका कुकुरहरूले देखाउने लाज नजिकै मञ्चमा पूर्वघोषित वा अघोषित सभामा तालीका पर्रासँगै बोलीका खर्रा उफार्ने नेताज्यूले विस्थापन गरिदिएको देख्दा झन् आश्चर्य मान्नुपर्ने छैन ।

हातमा एकतारे, मादल, खैँजडी आदि केके मर्न नजानेका बाजाहरूसँगै तीतो जिन्दगीको टर्रो गीत गुन्जाइरहेका बिचराहरूको मागिखाने (गरी खाने ?) थलो कुनै छ भने सम्झनुस् त्यो रत्नपार्क नै हुन सक्छ । ‘ताजा खबर...’ भन्दै पत्रिकाको खात बोकेर कराउँदै आएको मान्छे कैयौँका आँखामा हेरेर मन पढ्दा पढ्दै नजरबाट हराएको थाहा हुँदैन । हातमा ‘चिसो पानी’ भन्दै तातीसकेको पानीको बोत्तल झुण्ड्याएर मान्छेका मनमनसम्म पुग्दै फर्किंर्दै बदाम बेचेर बारम्बार ओहोरदोहोर गरिरहेकी किशोरी÷युवती÷अधबैँसेलाई देख्दा झन् हेरिरहूँ लाग्न सक्छ । घुरमैलोयुक्त चहुरभरि प्याट्ट बदाम फोड्दै कोही समूहमा गफ चपाइरहेका, कोही एक्लाएक्लै विचार या भनूँ शोक, चिन्तन केके चपाइरहेका देख्दा नौलो लाग्ने छैन । बास्नादार मासुसँगै रत्नपार्कको अलिकति धुलो र घुरमैलो (मसला ?) पनि पकाएर बेचिरहेकी काली–मोटी युवतीहरू, मासु बेच्दाबेच्दै आफ्नै मासु पनि बेच्न लायकको भइसकेको पत्तो नपाइरहेका देखिन्छन् । वरिपरि गफसँगै मासु–चिउरा चपाइरहेका अल्लारेहरू देख्दा लाग्छ, तिनले कहिल्यै आफ्नो जिन्दगी यसरी स्वाद लिईलिई चपाउन सकेका थिएनन् । पशुपतिका पण्डा पनि यहाँ आइपुगे भने महिष (महिषासुर ?) पाकेको मासुको मीठो बास्ना नलिई फर्कनै पाउँदैनन् ।

मान्छे कति सानोसानो उद्देश्यमा पनि कसरी झुण्डिएर बाँच्दो रहेछ । हजार पीडाको भारीले थिचिएर पनि जिन्दगी कसरी हाँस्दो रहेछ । जिन्दगीको आँगनभरि घरी दुःख, घरी सुख, यता दुःख, उता सुख कसरी विचित्रसाथ नाच्दो रहेछ । मलाई एकनाश टोलाएर सोचिरहन मन लाग्छ ।

धूपीका झाङमुनि जाल थापेर ढुकिरहेका उत्ताउलीहरू झिँगा पर्दैमा सन्तुष्ट नहुँदा रैछन् । आफ्नो जालमा भगेँरालाई समेत अल्झाएरै छोड्दा रैछन् । ती निर्बिघ्न संसारकी उत्ताउली को हुन् ? वरिपरि तमाशा बनेर उभिरहेको बहुरूपी पुरुषको शिकारी नजरले शङ्काको बाण प्रहार गर्छ र फररर एक लहर हाँसो खेलाइदिन्छ । तीर छोड्नमा पारङ्गत भइसकेको त्यो सिकारी हुल आजकाल यहाँ जति पनि नौली युवतीहरूलाई उत्ताउली देख्छ ।

पुलबाट पार्कको अर्धहरियो चहुरभरि हेरिरहेथेँ । बदाम बेच्दा बेच्दै आफ्नै अस्मिता बेच्न पुगेकी युवती एकदिन झल्याँस्स आफूलाई कुमारीआमा बनेको पाउँछे । शरीरमा अर्धनग्नखाले लुगा छन्, लाज भने ढाकेकी छे । लाज ढाकेकीले राम्री छे । लाजै नढाक्नेलाई कसरी राम्री भन्नु ? राम्री हुनलाई नाङ्गिनै पर्ने रहेनछ । हल्का लाली दलेकी छे, अनि हल्का नाङ्गिन खोजेकी जस्ती । मैले अनुमान लगाएँ, उसको बैँस अझै तृप्तिको चरमोत्कर्षतिर लम्कँदै छ । नजिकै क्वाँटी बेचिरहेको मधेसी केटासँग ऊ पाँच रूपियाँको क्वाँटी माग्छे ।

रत्नपार्कको पुलमै एउटा अचम्मकी दिदी भन्न लायककी केटी भेटिइन् । मुस्किलले एक हात जति हुँदो हो उनको समस्त उचाइ । खुम्चिएर पुट्ठामा बसेका खुट्टाले उनी पेन्गुइन हिँडेजस्तो विस्तारै हिँडेर आइन् । पुलको डिलबाट रत्नपार्कतिर हेरेर उमङ्गसाथ संसारै देखेजस्तो गरी कराइन् । दुबै हात पनि बाङ्गिएका, तैपनि हातभरि थोत्रा–मैला चुरा छन् । उनको नाम गीता, उमेर सत्र वर्ष, घर स्याङ्जा । नेत्रहीन दाइसँगै गीत गाएर यो संसारमा (पुलमा) बाँच्न भनेर आएका रे ! मैले उनको फोटो खिच्दा खिसिक्क हाँसिन् । नेपालको संविधानले समावेशी बन्न दशैँको छुटजस्तो छुट दिएका थरीथरीका मान्छेहरू एउटै पुलमा जम्मा भएर उनलाई हेर्न थाले, घेर्न थाले । कस्तो विचित्रको छ यो संसार, कति जादूमय अचम्म लाग्ने खालको छ यो पार्क !

उत्तरतिर फर्केको ओडारजस्तो एउटा खुला मञ्च हेर्छु । खुला मञ्च हुनाले नै त्यसलाई सहिद मञ्च भनिन्छ । सहिद मञ्च हुनाले नै त्यो सबैको मञ्च हो । किनभने सहिद आफ्ना लागि भनेर सहिद बनेका होइनन्, अरू सबैको मुक्तिका लागि हुन् । म सोच्न थाल्छु, सन्तानब्बे सालदेखिका हजारौँ सहिदका आत्माहरू दिनहुँ यहाँ घुमिरहेका हुँदा हुन् । अनि कैयौँ सहिद दिवसहरूमा नेताहरूले खाएका वाचा–कसम–भाषण सुनिरहँदा हुन् । तिनको व्यवहार, देश र जनताको हालत एकएक गरी नियालिरहँदा हुन् । अनि सम्झिँदा हुन्– आफू सहिद बन्न हिँडेको त्यो क्षण । र, आज यही सहिदमञ्च वरिपरि भौतारिँदै भन्दा हुन्– ‘हत्तेरी ! कस्तो फन्दामा परिएछ ! हामी झुक्किएर सहिद बनेका रहेछौँ । हाम्रो रगत् अझै देश र दुनियाँको मुक्तिका लागि बगेको रहेनछ, रहेछ त केवल धूर्तहरूको रङ्गीन स्वार्थ र मस्तीका लागि ।’ अनि विरहमा परेका आफन्तजनझैं भाग्य धिक्कारेर पश्चात्ताप गरिरहेका हुँदा हुन् । सोच्दा सोच्दै मलाई भित्र कतै दुखेर आउँछ ।

अन्तमा मलाई के लाग्यो भने यो पार्क न त सहिदहरूको हुन सक्यो, न त रत्नराज्यलक्ष्मी देवी शाहको नै रह्यो । बरु उत्तरआधुनिक जगतमा समावेशीता खोज्दा खोज्दै त्यही भीडमा हराएका र उन्नतिको सिँढी चढ्दा चढ्दै बारम्बार चिप्लिएको देशका बासिन्दा सबैको भइदिएछ । त्यसैले यसो भन्न मन लाग्यो— यो पार्क सबैसबैका बाउको हो, किनभने यो उत्तरआधुनिक समावेशीताको उच्चतम नमूना हो ।

हाल– काठमाडौं
‘विमोचन’ मासिकबाट